कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

आविष्कार अभियन्ता

संकटका बेला जति सामान बने, ती सबै निःशुल्क उपलब्ध गराइए । कसरी ? प्रश्न झर्न नपाउँदै महावीर पुनले सरकारले ‘हुन्न’ कहिल्यै नभनेको तर ‘हुने गरी सहयोग’ नगरेको अप्ठ्यारोमाझ म्यागासासे पदक लिलाम बिक्रीमा राखेकोदेखि आफ्नो २८ रोपनी जमिनसमेत आविष्कार केन्द्रलाई दिएकोसम्मका क्षण सम्झिए ।
देवेन्द्र भट्टराई

काठमाडौँ — कोभिड–१९ को संक्रमणले बाहिरी विश्वझैं नेपाली समाज पनि एकैसाथ आक्रान्त बनिरहेका बेला सधैंभरि योजना र सपनाको भर लिएर हिँड्ने म्याग्देली महावीर पुन कता होलान् ? 

आविष्कार अभियन्ता

संकट र संक्रमणकै यो घडीमा पनि म्यागासासे विजेता महावीर चुप लागेर बसेकै थिएनन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को खाली स्थानमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न पाएको धेरै भएकै थिएन । झन्डै डेढ वर्षअघि कीर्तिपुरको यो रिकास्ट स्थलमा आएर व्यावहारिक विज्ञानका अनुसन्धान र प्रयोगात्मक काम थालेका मात्रै थिए, कोरोना कहर आइपुग्यो । ३२ किसिमका आइडिया र अन्वेषणात्मक व्यावहारिक कामको थालनी भइसकेको थियो ।

‘केन्द्र बामे सर्नै थालेको थियो, त्यही बेला लकडाउन सुरु भइहाल्यो । यत्रो विश्वव्यापी महामारी सुरु भएको र कहीं कसैको नियन्त्रण प्रयास सफल नभइरहेको बेला हामीले के गर्ने, कसो गर्ने भन्ने अन्योल कायमै थियो । यो त स्वास्थ्य क्षेत्रकै जिम्माको कुरा हो भन्ने लागेको थियो,’ कीर्तिपुरको केन्द्रमा मौरीको घार मिलाइरहेका महावीरले सुनाए, ‘अब यो केन्द्र पनि केही महिनालाई बन्द गर्नुपर्ला भन्ने सोचाइमा पहिलो रात काटिएको मात्रै थियो, तर भोलिपल्ट बिहानैबाट नसोचेका र नगरेका काम गर्नैपर्ने भनेर आग्रह आउन थालिहाल्यो ।’

कस्तो भइदियो भने लकडाउन सुरु भएको भोलिपल्ट बिहानै टिचिङ हस्पिटलका एक डाक्टरले महावीरलाई फोन गरेछन् । ती डाक्टरको एउटै वाक्यको बोली थियो– ल, यो कोरोना नियन्त्रणमा बल पुग्ने गरी आविष्कार केन्द्रले केही जरुरी चीज बनाउनुपर्‍यो ।

लगत्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंकै वीर अस्पताल, सैनिक अस्पताल आदिबाट पनि त्यही एउटै भाषाको अनुरोध दोहोरिँदै आयो ।

सबैतिरबाट पीपीई बनाउनुपर्ने कुरा आयो । ‘उहाँहरूले नै पहिलोपटक पीपीई बनाउनुपर्‍यो, बजारमा पीपीई अभाव छ भनेर सुनाउनुभयो । कोरोना केसमा उपचार क्रममा डाक्टर–नर्सलाई अनिवार्य हुने रहेछ पीपीई, यसकारण यो चाहियो नै,’ महावीरले सम्झिए, ‘तर, त्यसबेलासम्म यो पीपीई कुन चराको नाम हो, मलाई थाहा थिएन । मैले देखेको र सुनेकै थिइनँ । अनि स्याम्पल मगाएर बनाउने काम सुरु भयो । यो त रेनकोटजस्तो पो रहेछ । बजारमा तत्कालै वाटरप्रुफ कपडा खोज्यौं, सिलाइका लागि फेसबुकमार्फत आह्वान गर्‍यौं । सिल गर्ने, टेपिङ गर्ने पद्धति पहिल्यायौं अनि अनुरोध आएको २ दिनमै पीपीई बन्यो ।’

पीपीई बनाउन आग्रह गर्ने डाक्टरलाई नै त्यो स्याम्पल देखाइयो, डा. भगवान कोइरालासमेतले ‘अहिलेलाई काफी छ’ भनेर स्याम्पल पास गरिदिएपछि केन्द्रको नयाँ आविष्कार बन्यो– पीपीई ।

त्यसपछि काठमाडौं उपत्यकाका अस्पताल मात्रै होइन, देशभरका सरकारी तथा निजी अस्पतालबाट पीपीईको माग आउन थाल्यो । माग बढ्दै गएपछि पेप्सिकोला, सानेपा र सीतापाइलाका गार्मेन्ट कम्पनीले पीपीई सिलाइको जिम्मा लिए । ‘यसरी ३० हजारजति पीपीई बनेछन् । ५९ जिल्लाका अस्पताल, स्वास्थ्य चौकीमा यो पुग्यो । यसो गर्दा प्रतिसेट ८ सय रुपैयाँ पर्‍यो । सबै निःशुल्क रूपमा उत्पादन र वितरण गर्‍यौं,’ महावीरले कोरोना काल सम्झँदै भने । पीपीईसँगै फेससिल्ड बनाउन माग आयो । यो पनि २३ हजारजति उत्पादन भएर वितरण निःशुल्क गरियो । फेससिल्ड उत्पादनमा भने प्रतिगोटा १ सय रुपैयाँ मात्रै पर्‍यो । ‘हामीले यो कोरोना केन्द्रित स्वास्थ्य सामग्रीको उत्पादन थालेको सूचना बाहिर जानासाथै देश–विदेशका शुभेच्छुकले स्वतःस्फूर्त रूपमा पैसा सहयोग पठाउन थाले,’ उनले सुनाए, ‘त्यसपछि अनेक आइडिया र योजना लिएर स्वास्थ्य सामग्री उत्पादनका लागि केन्द्रमा आउन थालिहाले, हामीले आह्वान गर्नै परेन ।’

लगत्तै स्वाब संकलन प्रक्रियाबारे कुरा आयो । स्वाब संकलनको बाकस (बार) बनाउनुपर्ने भयो– स्वाब परीक्षणमा जाने व्यक्ति र संकलकबीचमा श्वास सम्पर्क नरहने तथा बारभित्र पोजिटिभ प्रेसर भएको । ‘यो पनि स्याम्पल बनाइहेर्‍यौं, पास भयो । अनि हामीले तय गरेकै मोडलमा भद्रपुर, धरान, इटहरी, जनकपुर, वीरगन्ज, भैरहवा, नारायणघाट, सुर्खेत, महेन्द्रनगर, पोखरा, बागलुङ, बुटवललगायतमा आफैं बनाए । एउटा यस्तो बाकस बनाउन ४५ देखि ७० हजार रुपैयाँसम्म लागेको थियो । त्यो पनि ६५ वटा बन्यो,’ महावीरले भने ।

त्यसपछि संक्रमित बिरामीलाई सुताएर राख्ने ‘एरोसोल’ बक्सको पालो आयो । त्यो पनि ४ हजार रुपैयाँ गोटामा ४५ वटा बन्यो । बिरामीको चाप बढ्दै गएपछि ट्रमा सेन्टरका विद्यार्थीले भेन्टिलेटर आवश्यक रहेको र बिग्रिएकै भेन्टिलेटर रिपेयर गर्नुपर्ने आग्रह गरे । केन्द्रमा रहेका बायोमेडिकलका अनुसन्धाता विद्यार्थी ट्रमा सेन्टर, वीर अस्पतालतिर पुगे ।

पछि टिचिङ, गंगालाल, सैनिक अस्पताल, भक्तपुर, धरानका अस्पतालबाट बिग्रिएका भेन्टिलेटर आविष्कार केन्द्रमा थुप्रन थाले । ‘९५ वटा बिग्रेका भेन्टिलेटर यहाँ थुप्रिए,’ महावीरले सम्झिए, ‘तीमध्ये ३३ वटा मर्मत गरियो, अरू भने अलिक पुरानो मोडल भएकाले स्पेयर पार्ट्स नपाएर थन्किए ।’ सिक्ने र अन्वेषण गर्ने क्रममै केन्द्रका अनुसन्धाता विद्यार्थीले टिचिङ, सैनिक, गंगालाल, भक्तपुर, वीर अस्पतालसहितका १८ वटा किड्नी डायलसिस मेसिन पनि रिपेयर गरिछाडे । ‘आफैं नयाँ भेन्टिलेटर बनाउन सुरु गरेका थियौं । तर, यहाँका डाक्टरले अलिक विश्वास गरेनन्,’ कोरोना कालमा बेहोरेको संकट र समस्या समाधानका अवसरबारे उनले सुनाए, ‘त्यही बेला अमेरिकाको स्टान्डफोर्ड युनिभर्सिटीका रिसर्चरले हाम्रो टिमलाई पनि भेन्टिलेटर बनाउने योजनामा सामेल गराए– भर्चुअल रूपमा । भारत, केन्या, नेपाल र अमेरिकाका अनुसन्धाता त्यसमा थिए । यो केन्द्रका विद्यार्थीले भने सफ्टवेयर–हार्डवेयर डिजाइनमा जिम्मेवारी लिए । यो भेन्टिलेटर अब क्लिनिकल ट्रायलको चरणमा पुगेको छ ।’

माग र आवश्यकताअनुसार आविष्कार केन्द्रले कोरोना कालमै मृतकको शव राख्ने थैलो (डेड बडी ब्याग) पनि बनाउन भ्यायो । यस्ता ५५ वटा ब्याग वीरगन्ज, काठमाडौंसहितका अस्पतालले लगेका थिए । पछि अमेरिकाकै नेपाली डाक्टरहरूले एक किसिमको मास्क ‘पापर’ (पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर) बनाउन सुझाएनन् मात्रै, उनीहरूले यो मास्कको स्याम्पल पनि पठाइदिए । फ्यानजडित र अनुहारमा हावा आइरहने आईसीयू डाक्टरले लगाउने यो मास्क पनि मागअनुसार सयवटा जति बनाउनुपर्‍यो ।

‘यो संकटमा जहाँ इच्छा त्यहाँ उपायको कुरा मात्रै रहेन, आवश्यकताको पूर्ति गर्न उपाय त जसरी पनि निकाल्नैपर्‍यो,’ महावीरले सम्झिए, ‘पाटन अस्पतालका डाक्टरले एउटा हुड ल्याएर देखाए, भेन्टिलेटरमा राख्ने बिरामीलाई चाहिने । यही हुड चाइनाबाट ल्याउँदा १८ हजार रुपैयाँ पर्ने रहेछ । त्यो पनि २ सय वटाजति बनायौं । यो पनि प्रतिगोटा ३ हजार रुपैयाँमै बनेको थियो ।’ फेरि सैनिक अस्पतालका डाक्टरले भने– कोरोना संक्रमितको कक्षमा औषधि पुर्‍याउने रोबोट चाहियो । त्यो पनि आविष्कार केन्द्रले बनायो, ८ वटा । यो पनि उपयोगी बनिहाल्यो ।

‘डाक्टर र विज्ञको माग, सल्लाह–सुझाव तथा आइडियामा अहिलेसम्म कोरोना रोगसम्बद्ध १३ किसिमका स्वास्थ्य सामग्री हामीले बनाएका रहेछौं,’ महावीरले भने, ‘कोरोना संक्रमित बिरामीलाई अलगै राखेर हेलिकप्टर वा एम्बुलेन्सबाट ओसारपसार गर्न सकिने आइसोलेसन च्याम्बर पनि बनायौं । विभिन्न हेलिकप्टर कम्पनीले ६ वटाजति च्याम्बर लगे । यही कुरा चीनबाट ल्याउँदा ३ लाख रुपैयाँ पर्ने रहेछ । यहाँ हामीले निःशुल्क उपलब्ध गरायौं ।

संकटको ‘आविष्कार’

यो संकटका बेला यत्तिका धेरै सामान बने र ती सबै निःशुल्क उपलब्ध छन् । किन र कसरी ?

प्रश्न झर्न नपाउँदै सामाजिक अभियन्ताका सही परिचायक महावीर पुन केही गम्भीर बने । उनले अनुसन्धान, अन्वेषण र व्यावहारिक विज्ञानको उपयोगमा लागिपर्छु भनेर नेपाल सरकारको पछिपछि लागेर बिताएका ४ वर्ष सम्झिए ।

सरकारले ‘हुन्न’ कहिल्यै नभनेको तर ‘हुने गरी सहयोग’ नगरेको अप्ठ्यारोमाझ आफ्नै म्यागासासे पदक लिलाम बिक्रीमा राखेकोदेखि पोखरा, बेगनासमा रहेको आफ्नो २८ रोपनी जमिनसमेत आविष्कार केन्द्रलाई दिएकोसम्मका क्षण सम्झिए ।

‘दाताहरूले हामीलाई स्वेच्छाले दिएका हुन् । हामीले कुनै दातृ निकायतिर हेरेका छैनौं, न सरकारमै गएका छौं । हामीलाई यसरी दान गर्नेमा आफैंले दुःख पाएका र सकारात्मक सोच भएका मध्यम वा निम्न मध्यम वर्गका धेरै नेपाली छन् । ठूला धनीमानी वा पैसा भएका दाता त १ प्रतिशत मात्रै होलान्,’ महावीरले धरातलकै कुरा सम्झाए, ‘हाम्रो पालामा दुःख पायौं, हाम्रा छोराछोरीका पालामा केही हुन्छ कि भन्ने आसमा निम्न र मध्यम वर्गीय दाता यहाँ आएका छन् । यो सूचक आफैंमा अनौठो छ ।’

उनको बुझाइमा मान्छेले दुःख नपाएसम्म दिमाग खुल्ने कुरै भएन । यो एउटा व्यक्ति, समाज र राज्यमै समेत लागू हुने कुरा हो । ‘अहिलेको महामारीमा सरकारले किन प्रभावपूर्ण केही काम देखाउन सकेन त ? सकारात्मक सोचाइ र दृढ संकल्प नभएकै अवस्था हो,’ आफूले गरेका कामको सूचीमाझ महावीर समीक्षाको स्वरमा बोले, ‘महामारी वा विपत्जस्ता यी परिस्थितिमा जुध्न अलग कानुन छुट्याउनैपर्छ । रहे–भएका मौजुदा कानुनले काम गर्ने अवस्था यसपटक पनि देखियो । यसले त काम हुनै सक्दैन । यता महामारी चलिरहेको छ, उता प्रक्रियागत निर्णय गर्न महिनौं लगाइएको छ । सरकारले यस्तो परिस्थितिमा जुध्न अध्यादेश ल्याओस् र त्यसमार्फत काम फटाफाट होस् भन्नेहरू धेरै थिए तर सुनुवाइ कहींकतै भएन । अनि हामी महिनौंसम्म प्रक्रियामै अल्झिरह्यौं, त्यही भएर असफल हुँदै आयौं ।’

‘सित्तैमा पाए नेपालीले अलकत्र पनि खान्छन्’ भन्ने आहानलाई के–कसरी सम्झने र कसरी बुझाउने भन्ने प्रयोगको क्षण पनि बन्यो– कोरोना काल । यत्ति धेरै स्वास्थ्य सामग्री बनाइएका छन् र, केन्द्रले सित्तैमा दिइरहेको छ भनेपछि यसमा दुरुपयोगको सम्भावना पनि रहनुपर्ने हो तर त्यस्तो भएन । ‘दुरुपयोग किन भएन भने जोलाई जे चाहिने हो, त्यही सम्बद्ध व्यक्ति/संस्था यहीं आएर सामान माग्दा हामीले दियौं । काठमाडौंबाहिर भने प्रामाणिक रूपमा कार्गो गरेर पठायौं,’ उनले सुनाए ।

यो आवश्यकताको घडीमा मनकारी दाताले पैसा मात्रै पठाएनन्, अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीले ६० लाख रुपैयाँ बराबरको सामान सहयोग गर्‍यो । भाइरल फिल्टर, न्यु मास्क कभर, भेन्टिलेटर पार्टपुर्जा आदि सामान यो संकटमा निकै उपयोगी रहे । ‘यसरी खुला हृदयले सहयोगी–समन्वयी भएर काम गरेपछि जापान, अमेरिका, कोरिया, युरोपतिर रहेका नेपालीले आफैं रकम पठाउन थाले,’ महावीरले भने, ‘यही कोरोना अवधिमा झन्डै ५ करोड रुपैयाँ हामीले अन्वेषण र उत्पादनका लागि पायौं । यसकारण हाम्रो उत्पादन र वितरण पनि निःशुल्कै रह्यो । यो संकटमा अरूभन्दा पनि मानवीय संवेदनालाई बचाउनुपर्छ भनेर हामी लाग्यौं, हामीसँग जोडिएकाहरू पनि लागे ।’ ‘कुनै नयाँ आइडिया र आविष्कारका कुरा कसैले लिएर आयो भने केन्द्रमा सदैव स्वागत छ, यहाँ पैसाको कुरा रहेन, केन्द्र स्वयंले खर्च बेहोर्नेछ’ भनेर महावीरले सबैलाई खुला रूपमा भन्दै आएका छन् । यही आइडिया र योजनाका भरमा २ लाखदेखि २० लाख रुपैयाँसम्म लिएर ‘व्यावहारिक उत्पादन’ का काम गर्नेहरू अहिले पनि केन्द्र परिसरमा दर्जनौं व्यक्ति वा समूह भेटिन्छन् ।

यस्ता अन्वेषणका कुरामा बी–भेनम (मौरीले चिल्दा आउने विष) को संकलनमा एउटा समूह लागेको छ । यसको मूल्य सुनको बजार भाउभन्दा ७ गुणा महँगो हुने रहेछ । नेदरल्यान्ड्सका एक प्रोफेसरले सिकाएको यो पद्धतिमा ‘बी–हाइभ इनहेलेसन थेरापी’ पनि पर्ने रहेछ । केन्द्र परिसरमै च्याउ खेतीका लागि अटोमेटिक फार्मिङ, स्याटेलाइट परियोजना, ड्रोन निर्माण, बेबी वार्मर, प्लास्टिक रिसाइकलबाट इन्धन निकाल्ने, कार वासिङ मेसिन, धान रोप्ने मेसिन, कुखुरा भुत्ल्याउने ट्यांकी, मौरीको घार ओसार्ने ट्रली, फलफूल–तरकारी सुकाउने सोलार ड्रायर आदि निर्माण तथा परीक्षण चलिरहेको छ । यस्तै, कुनै लेखिएको सामग्री (टेक्स्ट) बाट सिधै ब्रेल–लिपिमा प्रिन्ट गर्ने प्रविधि पहिल्याउने काम काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थीले केन्द्रमै बसेर गरिरहेका छन् ।

सचेतना र संस्कार

महावीर पुनलाई कतिपयले ‘लहडी पात्र’ पनि भन्छन् । भिन्न योजना र सपना लिएर हिँड्ने महावीर सुरुका दिनमा सिंगो सरकार, मन्त्रीगण र राज्य संयन्त्रलाई सम्झाइ–बुझाइ गर्न लागिपरेका थिए । तर त्यो सम्भव थिएन ।

‘यस्ता नयाँ आविष्कार र व्यावहारिक काम नगरी उँभो लागिँदैन भन्ने सरकार वा मन्त्रीहरूले सुरुमा बुझ्नैपर्छ । सुरुका वर्षहरू म सरकारको चाकरीमा हिँडिरहें, त्यत्रो समय सिंहदरबार वरपर घुमेरै बिताएँ तर केही भएन,’ नेपालको राज्य पद्धति र संयन्त्रबाट दिग्दारी बेहोरेपछि आफू थप ‘ज्ञानी’ बनेको अनुभव सुनाउँदै महावीरले भने, ‘सरकारमा वा योजनामा बस्ने अधिकारीमा अन्वेषणबारे संस्कारले ठाउँ नपाइन्जेल केही हुन सक्दैन । हुन्न नभन्ने तर काम नगर्ने यो सोचाइ भनेको हामीमाझ संस्कार नभएरै हो । मैले अनुसन्धान तथा आविष्कारमा मन फुकाएर खर्च गर्नुपर्छ भन्ने संस्कार नरहेको पाएँ । यो संस्कार नभएको पहिलेदेखिकै हो ।’

यी ६५ वर्षे अभियन्ताका बुझाइमा, हाम्रो संस्कारमा यथास्थितिवाद मात्रै छ, अन्वेषण र आविष्कारको संस्कार छँदै छैन । ‘हाम्रा नेतागणलाई गाली गरेर केही हुन्न । बरु तिनमा संस्कारको विकास जरुरी छ । यही संस्कारको विकास गर्ने ‘फेज’ मा यो केन्द्र छ, आविष्कार–अनुसन्धान त पछि आउने कुरा हो,’ उनले भने, ‘सचेतना र संस्कार फरक कुरा हो । भाषणमा सीमित हुन सक्ने कुरा हो सचेतना, संस्कार भने व्यावहारिक हुन्छ, हुनैपर्छ । गोष्ठी, भाषण वा चेतना बढाउने कुराले संस्कार बस्दैन । सचेतना र संस्कार आफैंमा फरक कुरा हुन् ।’

आविष्कार केन्द्रमा देश–विदेशमा रहेका स्वैच्छिक दाताले आर्थिक सहयोग गर्दै आएका छन् । केन्द्रको मासिक खर्च औसतमा १० लाख रुपैयाँजति छ । अनुसन्धान र व्यावहारिक प्रयोगमा आउनेलाई चाहिने सामानदेखि खानपिन र स्थानीय खर्चसमेत केन्द्रले बेहोर्ने गरेको छ । काठमाडौं बाहिरबाट आएकालाई निर्वाह खर्च (बढीमा मासिक १५ हजार रुपैयाँ) समेत दिने गरिएको छ । ‘अब भने स्रोतसाधनमा संकट आउने स्थिति छ । जनताबाट सधैं दान आइरहला भन्ने छैन । यसलाई दिगो बनाउन हामी योजना बनाउँदै छौं ।’

उनले सुनाए, ‘अब खाद्य प्रविधिको उपायबाट खानेकुरा, पेय पदार्थ बनाएर व्यवसायीकरणमा जाने भन्ने छ । नेपालको भौगोलिक स्थितिमा उपयुक्त हुने कृषि औजार उत्पादनको उद्योग खोल्ने योजना पनि छ ।’

अहिलेको संकट र संक्रमणका बेला पनि महावीर पुनले नेपाली समाजमा सकारात्मकताको सन्देश दिइरहेकै छन् । उनको भाषामा यस्ता सकारात्मक सोच र सपनाका कुरामा अरूभन्दा निम्न तथा मध्यमवर्गीय जनसाधारणले साथ दिने गरेका छन्, भरोसा पनि उनीहरूमाथि नै छ ।

‘सपना देख्नैपर्छ, सपनाले अघि हिँड्न डोर्‍याउँछ,’ उनी भन्छन्, ‘तर सपनाले मात्रै पुग्दैन । सामान्य पीपीई बनाउने आइडिया पहिल्याउँदै हामी हिँडेजस्तै केही गरिछाड्ने अठोट र योजना पनि साथमा हुनैपर्छ ।’

यसो भनिरहँदा माघ २९ को अपराह्नमा महावीर पुनले आफ्नो ट्वीटमा सामान्य तर अर्थपूर्ण उपलब्धिको सूचना हालेका थिए । आविष्कार केन्द्रका अन्वेषक विद्यार्थीले गरेको उपलब्धिको सूचना उनले पोस्ट गरेका थिए, ‘हेर्नुहोस्, त्रिभुवन विश्वविद्यालयभित्र ४० वर्ष अगाडि बनेको तर मर्मतसम्भार नपाएर जीर्ण अवस्थामा रहेको हावाबाट पानी तान्ने पम्पलाई आविष्कार केन्द्रका भाइहरूले खोलखाल, घोटघाट र रङरोगन गरेर पूर्ण रूपमा मर्मत गरे । पुरिएको इनार पनि खनेर सिमेन्टको नयाँ रिङ हाले, अहिले पानी तानेको छ ।’

प्रकाशित : फाल्गुन ७, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?