‘नयाँ’ नरैनापुर- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नयाँ’ नरैनापुर

११६ जनामा संक्रमण र कोरोनाबाट जिल्लामै पहिलो मृत्यु भएपछि एकाएक चर्चामा आएको नरैनापुरमा अहिले बिजुली पुगेको छ । स्वास्थ्य केन्द्रमा चिकित्सक खटाइएका छन् । गाउँलेले सरसफाइमा ध्यान दिन थालेका छन् ।
ठाकुरसिंह थारू

बर्दिया — क्वारेन्टाइनमा रहेका बाँके नरैनापुर गाउँपालिका–५ का ६ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष कृष्णचन्द्र मौर्य आत्तिए । संक्रमितलाई कहाँ राख्ने ? कसरी व्यवस्थापन गर्ने ? अब वडा नै ‘हटस्पट’ बन्ने त होइन भन्ने चिन्ता र त्रास थपियो । ती संक्रमितलाई जेनतेन नेपालगन्जको आइसोलेसनमा बस्ने व्यवस्थापन मिलाए तर कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमित थपिँदै गए ।

स्थानीय विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ का २५ वर्षीय अनिश नाउको वैशाख ४ मा मृत्यु भयो । अनिश मृत्युको घटनाले जिल्लाभर ‘आतंक’ फैलियो । उनको शव छुने आँटसमेत कसैले गरेनन् । दिनभर विद्यालय परिसरमा अलपत्र शव राति मात्रै नेपाली सेनाले व्यवस्थापन गर्‍यो । गत वर्ष दसैं मनाएर भारत गएका उनी त्यहाँ लकडाउन सुरु भएपछि वैशाख ३० मा घर फर्किएका थिए । स्थानीय नाकाबाट भित्रिएका उनी क्वारेन्टाइनमा बसेका थिए । उपचार नपाएर उनको त्यहीं मृत्यु भएको हो ।

अव्यवस्थित क्वारेन्टाइन र लापरबाहीले बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुर अन्ततः कोरोना हटस्पट बन्यो । कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु भएको पहिलो घटना नरैनापुरकै थियो । ‘मेरो वडाका स्थानीयमा पहिलोपल्ट कोरोना देखिएपछि होसै गुम्यो, एक जनाको मृत्यु भएपछि गाउँमा आतंक फैलियो,’ वडाध्यक्ष मौर्य भन्छन्, ‘तर अहिले नरैनापुरमा कारोनाको त्रास हटिसकेको छ । कोरोनाका कोही बिरामी पनि छैनन् ।’

नरैनापुर भौतिक पूर्वाधार र विकासमा पछि छ । त्यसैले भारतबाट फर्किएका स्थानीयलाई विद्यालयमै क्वारेन्टाइनमा राखिएको थियो तर तिनै क्वारेन्टाइन कोरोनाको हटस्पट बनेका थिए । पालिकाले भारतबाट भित्रिनेका लागि भन्दै चैतमै ४ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । त्यतिबेला भारतबाट अन्दाजी ५ सयको हाराहारीमा स्थानीय फर्किने अनुमान गरिएको थियो । त्यसरी नै तयारी गरियो । लकडाउनको सुरुवाती सातामा त १ सय ५० जना मात्रै घर फर्किए । उनीहरूलाई क्वारेन्टाइनमा राखियो तर त्यसपछिको तीन दिनमा ९ सय जना आएपछि धान्न सक्ने अवस्था रहेन । पालिकाले वैशाख ३० देखि दोस्रो चरणको क्वारेन्टाइन निर्माण सुरु गर्‍यो । १९ स्थानमा क्वारेन्टाइन बनाइए । त्यहाँ कोचाकोचको अवस्था थियो । सामाजिक दूरी कायम गर्न समस्या थियो । एउटै शौचालय, एउटै धारो धेरैले प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सरकारले नेपाल–भारत सीमा चैत ९ देखि बन्द गर्‍यो तर भारतबाट घर फर्किने नेपालीको सीमामा ओइरो लाग्यो । स्थानीय प्रशासनको पहलमा सीमामा आइपुगेका स्थानीयलाई क्वारेन्टाइनमा राखिन्थ्यो । एउटै क्वारेन्टाइनमा सय जनाभन्दा बढीलाई राखिएका कारण संक्रमण छिटो विस्तार भयो । १ सय १६ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएपछि अवस्था भयावह बन्यो । नरैनापुरमा आइसोलेसन नभएकाले संक्रमितलाई नेपालगन्जको डेन्टल अस्पताल, खजुरा क्यान्सर अस्पताल र कोहलपुरस्थित कृषि विकास बैंकको खाली कोठामा राखियो । घरछेउमा आइसोलेसन राखेको भन्दै स्थानीयले विरोध जनाए तर प्रशासनको सहयोगमा विवाद सुल्झियो । १४ दिनको आइसोलेसन बसाइपछि नरैनापुरका सबै संक्रमित संक्रमणमुक्त भई घर फिर्ता भए । क्वारेन्टाइनमा बसेका पनि धेरै जना परीक्षणपछि घर फर्किए । क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदै गएपछि पालिकालाई सहज बन्दै गयो ।

नरैनापुरमा संक्रमण पुष्टि भएका १ सय १६ जनामध्ये क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका एक जनाबाहेक अरू सबै भारतबाट आएका थिए । लकडाउन सुरु भएयता नरैनापुरमा मात्रै कम्तीमा २ हजार जना भारतबाट फर्किए । संक्रमितको संख्या बढ्दै गएको र भारतबाट आउनेको क्रम पनि नरोकिएपछि जेठ १० मा नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र नै लेखेर संक्रमण नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै उच्चस्तरीय चिकित्सकको टोली पठाइदिन र थप सुरक्षाकर्मी परिचालन गरिदिन आग्रह गर्‍यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि गृह मन्त्रालय र प्रदेश ५ सरकारलाई पनि त्यस्तै आग्रहसहितको पत्र पठाइयो । सरकारले नरैनापुरका लागि चिकित्सकसहित स्वास्थ्यकर्मी पठायो । संक्रमण नियन्त्रणमा आयो ।

पालिका र स्थानीय प्रशासनको सहयोगमा कोरोना संक्रमण नियन्त्रणका लागि नरैनापुर नमुना बनेको छ । ‘समुदायमा फैलिएको संक्रमण सबैको प्रयासमा नियन्त्रण गर्न सफल भयौं,’ पालिका प्रमुख इस्तियाक अहमद साह भन्छन्, ‘आइसोलेसन नहुँदा निकै समस्या भएको थियो । स्थानीय प्रशासनको सहयोगमा संक्रमितलाई नेपालगन्जको आइसोलेसनमा ल्याइएको र कन्ट्याक्ट ट्रेसिङमा जोड दिइएका कारण समयमै संक्रमण नियन्त्रण सम्भव भयो ।’ हाल नरैनापुरमा कोरोना संक्रमित छैनन्, त्यसो त परीक्षण गरिएको पनि छैन । ‘नेपाल–भारत सीमा भएर सर्वसाधारणको आउजाउ भइरहेको छ तर संक्रमण पूर्ण रूपमा नियन्त्रणमा छ,’ साह भन्छन्, ‘यहाँ कोरोनाको त्रास हटेको छ । विद्यालय खुलिसकेका छन् ।’

पहिलो चरणमा हटस्पट बनेको नरैनापुरमा कोरोना संक्रमण शून्यमा झरेको अभिलेख सार्वजनिक गरिएको छ । पीसीआर परीक्षण पूर्ण रूपमा बन्द गरिएपछि संक्रमण शून्यमा झरेको देखिएको हो । सरकारले कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्रै पीसीआर परीक्षण गर्ने निर्देशिका ल्याएयता नरैनापुरमा कसैले पनि परीक्षण गराएका छैनन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँ भन्छन्, ‘कोरोनाको लक्षण छ भनेर पनि कोही सम्पर्कमा आएका छैनन् ।’ सुरुमा क्वारेन्टाइनमा अटाउनै समस्या भएको पालिकामा अहिले कोही पनि क्वारेन्टाइन र आइसोलेसनमा छैनन् । ‘पीसीआर परीक्षण नगरेपछि संक्रमण कसरी देखिन्छ ? संक्रमण नदेखिएपछि आइसोलेसन खाली हुने नै भए,’ खाँले भने ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले नरैनापुरलाई एउटा ‘क्लस्टर’ बनाएर कोरोना महामारी नियन्त्रणका लागि प्रयास गर्दा सफल भएको बताए । क्वारेन्टाइनमा बसेका एक सयभन्दा बढी जनामा संक्रमण देखिएलगत्तै कन्ट्याक्ट ट्रेसिङमा बढी जोड दिइएकाले समयमै महामारी नियन्त्रण भएको उनले बताए । ‘संक्रमितहरूको सम्पर्कमा रहेका सबैजसोको पीसीआर परीक्षण गरिएकाले महामारी नियन्त्रणमा सहज भयो,’ उनले भने ।

महामारीपछि परिवर्तन

नरैनापुरले कोरोना संक्रमण नियन्त्रणबाहिर गएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि गृह मन्त्रालय र प्रदेश ५ सरकारलाई पनि पत्र पठाएपछि सरकार उसको आग्रह सुन्न बाध्य भयो । नेपालगन्जबाट ३४ किलोमिटर पूर्व–दक्षिण लागेपछि पुगिने नरैनापुरमा पहिलोपल्ट बिजुली पुगेको छ । राप्ती नदीको कटानलाई मात्रै छोड्ने हो भने भारतको उत्तरप्रदेशको श्रावस्ती जिल्लासँग जोडिएको नरैनापुर दुर्गम गाउँ होइन तर दुर्गम देखिनका लागि यो गाउँपालिकासँग पर्याप्त विशेषता छन् ।

गाउँवासीले बिजुलीको पोल देखेको दुई दशकभन्दा बढी भइसक्यो तर कोरोनाको हटस्पट बनेपछि मात्रै बिजुली बलेको देख्न पाएका हुन् । बिजुलीविहीन नरैनापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने भन्दै विद्युतीकरण गरिएको हो । विद्युत् प्राधिकरणको पहलमा रातदिन काम गरी बिजुली पुर्‍याइएको छ । ‘बिजुलीको पोल गाडेको २० वर्षभन्दा बढी भइसकेको थियो तर बिजुली आएको थिएन, अस्पतालमा बिरामी राख्न भए पनि गाउँमा बिजुली आएको छ,’ स्थानीय त्रिभुवन यादव भन्छन् । उक्त पालिकामा १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र छ तर त्यहाँ मुस्किलले दरबन्दीसहितका चिकित्सक भेटिने भएकाले स्थानीयवासीले आधारभूत स्वास्थ्य सुविधाका लागि नेपालगन्ज धाउनुको विकल्प थिएन । कोरोना महामारी सुरु भएपछि नरैनापुरले चिकित्सक पाएको छ । स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी र सुविधा बढाइएको छ । स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउन थालेका छन् ।

गरिबी, भूमिहीनको ठूलो संख्या र कमजोर साक्षरताका कारण नरैनापुरको दुःख चर्को छ । यहाँको दैनिक जीवन भारतीय सहरसँग जोडिएको छ । सरसफाइको अवस्था निकै दयनीय थियो, कोरोनाको महामारी सुरु भएपछि स्थानीयले सरसफाइलाई पनि महत्त्व दिन थालेका छन् । घरअगाडि गोबर फाल्थे, बालबालिका सडकमै दिसापिसाब गर्थे, कोरोनाबाट बच्न सरसफाइमा जोड दिइएपछि सर्वसाधारणमा केही हदसम्म सचेतना आएको स्थानीय बताउँछन् । ‘कोरोना महामारी पहिलेभन्दा अहिले गाउँमा परिवर्तन आएको छ । बिजुली आयो । स्वास्थ्यचौकीमा पनि स्वास्थ्यकर्मी बस्न थालेका छन्,’ यादवले भने ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्

संविधान कोमामा भए हामी सबै कोमामा छौं : एमिकस क्युरी पाठक 

'संविधानभन्दा माथि कोही पनि छैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — एमिकस क्युरी गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए नेपाली नागरिक नै कोमामा गएको बताएकी छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासलाई राय दिँदै वरिष्ठ अधिवक्ता पाठकले सुनुवाइका क्रममा त्यस्ता कुरा उठेको र त्यसो भएमा सबै कोमामा गएको बताइन् । 

प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ४ गतेदेखि जारी बहसमा अन्तिम कानुन व्यवसायीका रूपमा एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, 'यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।'

उनले थपिन्, 'संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।'

प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बिरामी संविधानलाई उपचार गर्नका लागि विघटन सदर गर्नुपर्ने तर्क राखेका थिए । उनले भनेका थिए, 'संविधानले फंक्सन गर्न सकेन भने, अड्कल लगाएर हामी निर्णयमा पुग्न सकेनौँ भने भोलि त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ । यो संविधान बिरामी परेको छ ।’

पुस ५ गते प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस र राष्ट्रपति कार्यालयबाट विघटनको घोषणा भएको विज्ञप्तिले विभिन्न प्रश्न उठाएको पाठकको भनाइ थियो । उनले ती संवैधानिक छन् कि छैनन् भन्ने प्रश्न उठेको बताइन् । त्यस्तै, न्यायिक पुनरावलोकनको विषय हो कि राजनीतिक विषय हो भन्ने कुरा पनि उठेको उनको भनाइ थियो ।

सबैले निकाय संविधानबमोजिम चल्नुपर्ने पाठकको भनाइ थियो । उनले भनिन्, 'संविधानभन्दा माथि कोही पनि छैन ।'

प्रकाशित : फाल्गुन ७, २०७७ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×