कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसरी तंग्रियो भुल्के

गाउँ सिल गरेर संक्रमितको परिवारै र अरू परिवारबाट एक जनाको दरले स्वाब परीक्षण गरियो । संक्रमित भेटिएकाका परिवारलाई क्वारेन्टाइनमा पठाइयो । सामाजिक दूरीमा कडाइ गरियो । त्यसपछि संक्रमित भेटिएनन् ।
डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा कोही जमाती (मुस्लिम धर्म प्रचारक) रोटी पकाउँदै थिए, कोही रोटी खाँदै थिए । एक्कासि प्रहरी टोलीले मस्जिद घेरा हाल्यो । रोटी पकाउने र खाने क्रम रोकियो । प्रहरी र स्वास्थ्यका कर्मचारीले जमातीलाई मस्जिदबाट निकालेर एम्बुलेन्समा हाले र लगे ।

यसरी तंग्रियो भुल्के

जमातीलाई कोरोना संक्रमण देखिएपछि समुदायबाट अलग राख्न र उपचार गर्न गत वैशाख ५ गते बिहीबार साँझ नुरी मस्जिदबाट एम्बुलेन्समा लगिएको थियो । संक्रमित जमातीसँग समाजका धेरै जनाको घुलमिल भएको थियो । यसैले स्थानीय बासिन्दामा त्रास फैलियो । अर्कोतिर, मुस्लिम समुदायमा जमातीलार्ईर्र् सम्मानका साथ हेरिन्छ । बस्ने, खानेलगायत सम्पूर्ण बन्दोबस्ती गरिन्छ । उनीहरू समुदायमा आएपछि कहिले जाने भनेर सोधिँदैन । यसरी एक्कासि जमातीलाई एम्बुलेन्समा लगिँदा भुल्केवासीको मन कुँडियो ।

झुल्के ५ गते साँझदेखि नै सिल गरियो । त्यसपछि स्थानीय बासिन्दाका लागि झन्डै ४० दिन कष्टपूर्ण रह्यो । घरको करेसो जोडिएका मुस्लिम समुदायले आपसमा भेटघाट गर्न पाएनन् । आँगनबाहिर निस्कन निषेध थियो । उनीहरू झन्डै ५० मिटरको दूरीमा बातचित गर्थे । गाउँ सुरक्षाकर्मीको घेरामा थियो । संक्रमण नफैलियोस् भनेर बस्ती सिल गरिएको थियो । ‘अरू प्राकृतिक प्रकोपजस्तो नहुँदो रहेछ, कोही बिरामी भइहाल्यो भने सहयोग गर्न पनि नसकिने,’ भुल्केका मजिबुल मियाँले भने ।

प्रदेश १ मै पहिलोपटक भुल्केमा धेरै जनामा कोरोना संक्रमण देखिएको थियो । कोही संक्रमण देखिएर उपचारमा गए, निको भएर फर्किएकाले पनि घर पस्न पाएनन् । उनीहरूलाई गाउँभन्दा झन्डै अढाई किलोमिटर टाढा मोतिगढाको क्वारेन्टाइनमा राखियो ।

भुल्के उदयपुर सदरमुकाम गाईघाट बजारमा हरियो तरकारी आपूर्ति गर्ने मुख्य गाउँ हो । संक्रमण देखिएको खबरपछि भुल्केमा उत्पादन गरिएको तरकारी र दूध गाईघाट बजारमा बिक्री हुन छाड्यो । अरू मानिस भुल्केवासीसँग बोल्नै छाडे, पैसा चलेन । ‘यतिसम्म कि भुल्केवासीलाई हेर्दासमेत कोरोना लाग्छ कि जस्तो गर्थे,’ स्थानीय वासु खतिवडाले भने । करिब १० महिनाअघिको यो घटना अहिले स्थानीय बासिन्दालाई सपना जस्तो लाग्छ । यति बेला जनजीवन सामान्य छ । ‘लकडाउनको नियम पालन गरेर घरभित्र बसिरहेका बेला अचानक धेरैलाई संक्रमण देखिएको थियो,’ स्थानीय अनिश मियाँले भने, ‘आफूलाई पनि कोरोनाले भेट्ला कि भन्ने डर सबैमा थियो । तर कोरोना बिस्तारै नियन्त्रणमा आयो । गाउँको अवस्था सामान्य हुँदै गयो ।’

स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था गर्नुका साथै स्थानीय बासिन्दाले स्वास्थ्य मापदण्ड राम्ररी पालना गर्दा संक्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताए । संक्रमित बस्तीमा सरकारी र गैरसकारी क्षेत्रबाट आएको राहतले संकटपछि पहिलेकै अवस्थामा फर्कन सजिलो भएको स्थानीय बताउँछन् । संक्रमित क्षेत्र भुल्केमा मुस्लिम समुदायका ५७ सहित ३ सय १५ परिवारको बसोबास छ ।

मस्जिदमा १६ जना जमाती थिए । भारतमा जमाती समूहले कोरोना फैलिएको हल्ला फैलिएको थियो । नेपालमा पनि जमाती प्रवेश गरेका समाचार आउन थालेका थिए । त्यसैले मस्जिदहरूमा ट्रेस गर्ने क्रममा भुल्केको नुरी मस्जिदमा परीक्षण गरिएको थियो । उनको आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट) गर्दा संक्रमण देखिएको थिएन । उनीहरूले ‘अब हामीलाई कोरोना भाइरस नेगेटिभ भएको सर्टिफिकेट चाहियो’ भनेर माग गरे । त्यसपछि पीसीआर गर्ने कुरा भयो । विज्ञहरूका अनुसार कोरोना संक्रमण भर्खर सुरु भएका बेला (विन्डो पिरियड) शरीरमा एन्टिबडी बनिसकेको हुँदैन र त्यतिबेला आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आउँछ । नभन्दै स्वाब संकलन गरेर पीसीआर विधिबाट काठमाडौंमा परीक्षण गर्दा १२ जना जमातीको रिपोर्टमा पोजिटिभ आयो । १६ जना जमातीलाई विराटनगर लगिए पनि संक्रमण पुष्टि भएकालाई कोसी अस्पतालको आइसोलेसनमा र अरू चार जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि जमातीलाई उपचारका लागि विराटनगर लगेर भुल्के क्षेत्र सिल गरिएको थियो । मुलुकभर ५ जनालाई मात्रै संक्रमण देखिएका बेला भुल्केमा एकै पटक यति धेरै संख्यामा संक्रमित भेटिएका थिए । त्यसपछि मुलुककै ध्यान भुल्केमा केन्द्रित भएको थियो । संक्रमण फैलिन नदिन स्थानीय जनप्रतिनिधि, प्रशासन, प्रहरी र स्वास्थ्य टोली परिचालन गरियो । प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयका प्रतिनिधि सम्मिलित ‘केस इन्भेस्टिगेसन ट्रेसिङ कमिटी (सीआईटीसी)’ ले जमातिको ‘ट्राभल हिस्ट्री’ खोतल्दै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्‍यो ।

जमाती मंसिर अन्तिम साता जोगवनी हुँदै मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिद घुमेर फागुन २७ गते उदयपुरको सिवाई छिरेको र त्यहाँबाट चैत १ गते नै भुल्के आएको खुल्यो । सैनिक मुख्यालयबाट स्वास्थ्य टोलीले ६ गते हेलिकप्टरमार्फत भुल्के आई २ दिन लगाएर मस्जिद आसपासका २ सय ६१ जना र सेना, प्रहरी तथा स्वास्थ्यकर्मी गरी ३ सय ५१ जनाको स्वाब संकलन गरेर काठमाडौं लग्यो । वैशाख ९ गतेसम्म गरिएको परीक्षण रिपोर्टपछि संक्रमितको संख्या २८ पुग्यो । निरन्तर स्वाब परीक्षण गर्दा वैशाख अन्तिम साता ३ महिलासहित ४ जनामा थप संक्रमण देखियो । तर सबै संक्रमित परिवारकै सदस्य थिए ।

संक्रमितको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङले जमातीबाट नभई भारतको उत्तर प्रदेशबाट चैत ११ गते घर फर्केका विद्यार्थीबाट कोरोना भाइरस सरेको पत्ता लाग्यो । त्यसपछि दोस्रो चरणको परीक्षण गरियो । वैशाख २७ गते २६ पत्रकारसहित ६१ जनाको स्वाब परीक्षणका लागि पठाइयो । जेठ ३ गते रिपोर्ट आउँदा २५ वर्षीय पत्रकार राकेश नेपाली संक्रमित देखिए । उदयपुरमा ३३ संक्रमित पुगे । जेठ दोस्रो सातासम्ममा ५ सय हाराहारीको स्वाब परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । त्यसपछि संक्रमण नियन्त्रणमा आएको निष्कर्ष निकालियो । ‘भुल्के केन्द्रित भएर रातदिन नभनी खटेपछि कोरोना नियन्त्रणमा आयो,’ स्वास्थ्य प्रमुख सुवेदीले भने, ‘सुरुमा आशंका गरिएजस्तो जमातीबाट संक्रमण फैलिएको होइन रहेछ ।’

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार नुरी मस्जिदमा जमाती चैत ४ र ५ गते आएका थिए । त्यसबीचमा भारतबाट केही विद्यार्थी पनि फर्किएका थिए । चैत २८ सम्म जिल्लामा कसैलाई संक्रमण देखिएको थिएन । स्वास्थ्यकर्मी र प्रहरीसँगै खटेका त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले स्थानीय बासिन्दाको सामान्य कमजोरीले भुल्के कोरोनाको चक्रव्युहमा फसे पनि सबैको प्रयासबाट नियन्त्रण गर्न सफल भएको बताए ।

संक्रमण फैलिएसँगै चिन्ता र निराशाको बादल मडारिएको भुल्केको आकाशमा ४० दिनपछि उज्यालो छायो । संक्रमित निको भएर घर फर्किए । ‘कोरोनाले भेट्दा बाँचिँदैन कि भन्ने चिन्ता सबैलाई लागेको थियो,’ स्थानीय साविर मियाँले भने, ‘तर कोरोना पोजिटिभ भए पनि अधिकांशमा लक्षण थिएन ।’ साविर पनि लक्षणबिनाका संक्रमित थिए । उनको परिवारमा ७ जनालाई कोरोना संक्रमण भएको थियो । सुरुमा उनी, उनका छोरा, बहिनी, ज्वाइँ र भान्जामा संक्रमण देखिएको थियो । त्यसपछि आमा र भतिजी संक्रमित भए । परिवार नै संक्रमण देखिँदा उनीहरूले ३८ दिन आइसोलेसनमा बस्नुपर्‍यो । ‘त्यो हाम्रा लागि अँध्यारो समय थियो,’ साविरले भने, ‘३८ दिनपछि आफ्नै गाउँघर, परिवारमा पुग्दाको खुसी भनिसाध्य छैन ।’

कोरोना संक्रमण जितेर अस्पताल र क्वारेन्टाइनबाट आउनेलाई गाउँमा स्वागत गरिएको थियो । ‘घरबाट एम्बुलेन्स चढेर जानुपर्दा नरमाइलो लागेको थियो,’ इद्रिस मियाँले भने, ‘तर घर फर्किंदा फूलका गुच्छाले स्वागत पाइएपछि त्यो नरमाइलो बिर्सियौं ।’

नियन्त्रणमा ‘भुल्के मोडल’

कोरोना संक्रमण पुष्टि हुनासाथ भुल्केमा सिल गरिएको थियो । कोरोना संक्रमण देखिएको व्यक्तिको परिवारका सबै सदस्य र अरू मुस्लिम परिवारको प्रत्येक घरबाट बढी हिँडडुल गर्ने एक जनाको स्वाब परीक्षण गरियो । संक्रमित परिवारको सदस्यमध्ये केहीलाई घरमा र केहीलाई बाहिर क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा बस्दा पनि एक्लै बाहिर निस्कन दिइयो । अस्पतालबाट निको भएर आएकालाई क्वारेन्टाइनमै राखियो । सामाजिक दूरी कायम गर्न लगाइयो । संक्रमितलाई आइसोलेसनमा राख्ने र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूलाई ट्रेसिङ गर्ने विधि अपनाइयो । समुदायमा संक्रमण दरभन्दा निको हुनेको दर कम भयो भने त्यसले महामारीको रूप लिन सक्छ भन्नेमा स्वास्थ्यकर्मी सचेत थिए । संक्रमणको दरभन्दा ‘रिकभरी’ दर बढाउन सफल भएकैले ‘रेड जोन’ लाई ‘ग्रिन जोन’ बनाउन सफल भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?