कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जसले बदले अस्पतालको अनुहार

जिल्ला अस्पतालको सेवामा सुधार आएसँगै चर्को शुल्क तिरेर निजी संस्थामा उपचार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । अचेल निजी स्वास्थ्य संस्थामा बिरामीको चाप घटेको छ ।
वसन्तप्रताप सिंह

बझाङ — सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा दिन भनेर खोलिएको जिल्ला अस्पताल सिमखेतमा आउने बिरामीको संख्यान्यून हुन्थ्यो । अस्पताल प्रांगणसँगै जोडिएका निजी मेडिकलहरूमा भने मानिसको घुँइचो लागेको हुन्थ्यो । बिरामीको चाप थाम्न निजी मेडिकललाई भ्याइनभ्याई थियो ।

जसले बदले अस्पतालको अनुहार

कतिपय मेडिकलले गैरकानुनी तबरले बिरामीलाई बेडमा भर्ना गरेरसमेत उपचार गराइरहेका थिए । सदरमुकामका निजी अस्पतालमा उस्तै भीड हुन्थ्यो । अस्पतालमा निःशुल्क गर्न सकिने उपचारका लागि पनि सर्वसाधारणले हजारौं रकम खर्च गर्नुपर्थ्यो । मेडिकलमा उपचार गर्दा लागेको खर्च तिर्न घरजग्गा बेच्न बाध्य भएकाहरू ऋणमा डुबेका र परिवारका सदस्यको उपचारकै लागि भनेर मुग्लान पसेका घटना देख्दासुन्दा र अस्पतालको दयनीय हविगत देख्दा डा. सन्दीप ओखेडाको मन कटक्कै खान्थ्यो ।

यो दुई वर्षअघिको अवस्था हो । बझाङकै देउलेकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. ओखेडाको जिल्ला अस्पताल आउँदा देखिने यस्ता दृश्यले मथिंगल हल्लाउँथ्यो । कुनै लासको पोस्टमार्टम गर्नुपर्ने भयो भने उनलाई खबर गरिन्थ्यो । देउलेकमा ६ महिना बस्दा उनी १५ पटकभन्दा बढी झन्डै ८० किलोमिटर यात्रा गरेर पोस्टमार्टम गर्नकै लागि जिल्ला अस्पताल पुग्थे । जतिपटक जिल्ला आउँथे, उनी अस्पतालको हालत देखेर दिक्क मान्दै फर्किन्थे ।

‘अस्पताल फोहोरको डंगुरजस्तै थियो, शौचालयमा पस्न सकिँदैन थियो । बिजुलीको व्यवस्था नहुँदा राति मोबाइल बालेर बिरामीको उपचार गर्नुपर्थ्यो,’ ओखेडाले भने, ‘गर्भवती महिलाले खानुपर्ने क्याल्सियमजस्ता औषधि पनि मेडिकलमै किन्न पठाउनुपर्थ्यो, उपकरण र प्रविधिको अभाव उस्तै थियो, यहाँको अवस्था हेर्दा दिक्क लाग्थ्यो,’ गुणस्तरहीन सेवा र लथालिङ्ग व्यवस्थापनका कारण अस्पताल जिल्लामा बेथितिको पर्यायका रूपमा बदनाम थियो । डाक्टर दुई जनामात्रै थिए । जनरल ओपीडीदेखि लिएर इन्डोर, इमर्जेन्सी र प्रशासनसम्म उनीहरूले नै धान्नु परिरहेको अवस्थामा संयोगले ओखेडाको सरुवा जिल्ला अस्पतालमै भयो ।

सेवा प्रवेश गरेदेखि नै सरकारी सेवा चुस्त र व्यवस्थित हुनुपर्छ भन्ने वकालत गरिरहेका ओखेडाको काँधमा अस्पतालको जिम्मेवारी आइलाग्यो । स्वास्थ्यकर्मीको अभाव त छँदै थियो, भएका कर्मचारीले पनि जिम्मेवारी ठीक ढंगले निभाइरहेका थिएनन् । सञ्चारमाध्यममा अस्पतालका अनियमितता र गुणस्तरहीन सेवाका समाचार आइरहन्थे । २९ वर्षीय ओखेडा पहिलोपटक अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा अब कसो गर्ने ? कसरी अस्पतालको सेवा सुधार्ने ‘विस्तारै बिजुलीको समस्या समाधान भयो, अस्पतालले गरेको कामको तथ्यांक व्यवस्थित गर्न लगाएँ, आर्थिक व्यवस्थापन चुस्त बनाउन लगाएँ,’ उनले भने, ‘अस्पताल आउने धेरैजसो बिरामी गरिब र विपन्न हुन्थे । सबैले औषधि किन्न सक्दैनन् भनेर सरकारले तोकेकाभन्दा थप केही आधारभूत औषधि निःशुल्क दिने व्यवस्था मिलायौं,’ उनले भने, ‘विस्तारै अस्पतालमा सुधारका संकेतहरू देखिन थाले । हामी पनि उत्साहित हुन थाल्यौं । अब गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गयो ।’

अस्पतालको सेवा सुधार हुन थालेपछि बिरामीको चाप बढ्न थाल्यो तर जनशक्ति अभाव उस्तै थियो । दुई जना डाक्टरले दैनिक ३/४ सय बिरामीको उपचार गर्न असम्भवजस्तै थियो । नर्स र अन्य कर्मचारीले बिदा नबसी काम गर्नुपर्थ्यो । ‘कहिलेकाहीँ त चौबीसै घण्टा काम गर्नुपर्थ्यो, धेरैपटक उहाँहरूसँगै नाइट, डे र इभिनिङ ड्युटी गरेको छु,’ अस्पतालका सिनियर अहेव देवराज रतालाले सम्झिए ।

ओखेडाले यो विषयमा सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराए । स्वास्थ्यकर्मीको संख्या थप्न पटक–पटक अनुरोध गर्दा पनि प्रगति भएन । उनले अस्पतालमा आउने विभिन्न खालका बिरामीको संख्या र आफूले सीमित जनशक्तिका बाबजुद दिएको सेवाको तथ्यांक बोकेर मन्त्रालयका अधिकारीसामु प्रस्तुत गरिसकेपछि बल्ल मन्त्रालय स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न सहमत भयो । ‘नेतृत्व राम्रो भयो भने अस्पताल सुधारहुन बेर लाग्दैन रहेछ,अहिले त ७ जना डाक्टर नै हुनुहुन्छ, हामीलाई पनि धेरै सुविधा भएको छ,’ रतालाले भने । जनशक्ति व्यवस्थापन भयो तर अस्पतालको संरचना, उपकरण र प्रविधिको अभाव नै थियो । कुनै बिरामीलाई रगत चाहियो भने सैनिक–प्रहरीलाई गुहार्नुपर्थ्यो ।

दम र फोक्सोसम्बन्धी समस्या भएर आएका गम्भीर बिरामीले समयमा उपचार नपाएर ज्यानैसमेत गुमाइरहेका थिए । इमर्जेन्सी उपचार कक्षको अभाव थियो । यहीबीचमा कोभिड–१९ को महामारी आयो । सरकारका कार्यक्रम कोरोना संकट टार्नका लागि स्वास्थ्य क्षेत्रमा लक्षित गरिए । यही मौकाको सदुपयोग गर्दै ओखेडाको टिमले अस्पतालको भौतिक र प्रशासनिक संरचनालाई मजबुतमात्रै बनाएन, कुनै समय सेवाग्राहीको विश्वास गुमाइसकेको अस्पताललाई सुदूरपश्चिमका पहाडी जिल्लामै नभएको सेवा पाइने विशेषज्ञ अस्पतालका रूपमा रूपान्तरण गर्न सफल भयो ।

कोरोना कालमा स्थानीय तह, प्रदेश सरकार र संघीय सांसदलाई अस्पतालको स्तरवृद्धिमा सहयोग गर्न अनुरोध गर्दै ओखेडाको टिम गाउँदेखि केन्द्रसम्म पुग्यो । ‘कोरोनाको कहरबाट त्रसित भएका जनप्रतिनिधिलाई जिल्लामा एउटा गतिलो अस्पताल नभए समस्या हुने कुरा बुझायौं, समय पनि त्यस्तै भएर होला, सबै क्षेत्रबाट भनेजस्तो सहयोग पायौं,’ ओखेडाका अर्का सहकर्मी डा. मिलन रावलले भने । ‘छोटो समयमै वर्षौं प्रयास गर्दा नभएका ब्लड बैंक, इमर्जेन्सी कक्ष, हाइडिपेन्डेन्सी युनिट, भेन्टिलेटर, पीसीआर प्रयोगशाला, फार्मेसीलगायत सेवा दिन सक्ने अवस्थामा पुगेका छौं, यो अस्पतालको ठूलो सफलता हो,’ उनले भने । अब निकै जटिल अवस्थाका बिरामीबाहेकले शल्यक्रियासहितको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।

जिल्ला अस्पतालको सेवामा सुधार आएसँगै चर्को शुल्क तिरेर निजी संस्थामा उपचार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्यमात्रै भएको छैन, कुनै बेला बिरामीको भीड देखिने निजी स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या पनि निकै घटेको स्वयं मेडिकल तथा क्लिनिक सञ्चालकहरू बताउँछन् । ‘पहिला अस्पतालको सेवामा मानिसहरूलाई विश्वासै थिएन, बिरामीको लाइन मेडिकलतिरै लाग्थ्यो,’ सदरमुकामको एक मेडिकल तथा स्वास्थ्य क्लिनिक सञ्चालक अशोक मल्लले भने, ‘अहिले मानिसहरू मेडिकलमा भन्दा अस्पताल नै बढी जान थालेका छन्, अस्पतालको सेवामा सुधार भएपछि मेडिकल आउने बिरामीको संख्या निकै घटेको छ,’ उनले शल्यक्रियालगायत सेवा अस्पतालबाटै पाउन थालेपछि उपचारका लागि बाहिरी जिल्ला जानेको संख्या पनि घटेको बताए ।

‘सुरुमा यति धेरै गर्न सकिएलाजस्तो लागेको थिएन,’ ओखेडाले भने, ‘सुरुवात सजिलो कामबाट गर्दै गयौं । विस्तारै महत्त्वाकांक्षी प्लान बनायौं । अहिले र पहिलेको सेवाको गुणस्तर निकै फरक भइसकेको छ । यो सबै गतिलो टिमवर्कले गर्दा सम्भव भएको हो ।’ अहिले जिल्ला अस्पताल बझाङले अन्तरंग, बहिरंग, इमर्जेन्सी, शल्यक्रिया, प्रयोगशाला, प्रसूति, एनआईसीयूलगायत सेवा दिइरहेको छ । वार्षिक करिब एक लाख जनाले यहाँबाट सेवा पाउने गरेको डाक्टर ओखेडाले बताए । ‘सेवाग्राहीको विश्वास जितेका छौं जस्तो लाग्छ, पहिला वर्षमा मुस्किलले ७/८ हजारजतिले सेवा लिन्थे, अहिले सामान्यदेखि गम्भीर बिरामीको उपचारका लागि पनि अस्पताल आउनेको संख्या बढिरहेको छ,’ उनले भने । जिल्ला अस्पतालमा कम्तीमा दुई बेडको आईसीयू कक्ष स्थापनाका लागि आफूहरूले पहल गरिरहेको र त्यो पनि छिट्टै स्थापना हुने उनले बताए ।

कोभिड नियन्त्रणमा पनि अब्बल सीमित जनशक्ति, प्रविधि र साधनहरूको उच्चतम परिचालन गर्ने ओखेडा नेतृत्वको टिमले बझाङमा कोभिड संकट न्यूनीकरणका लागि खेलेको भूमिकाको पनि प्रशंसा गरिन्छ । भारतलगायत अन्य मुलुकबाट आएका २० हजारभन्दा बढीलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नेक्रममा जिल्ला अस्पतालका डाक्टरसहितको टिम स्वास्थ्य सेवा र सचेतना सेवा दिनका लागि गाउँगाउँमा खटिएको थियो ।

क्वारेन्टाइनमा तथा पालिकास्तरका आइसोलेसनमा रहेका र बिरामी भई गाह्रो भएकालाई उद्धार गर्न चौबिसै घण्टा एम्बुलेन्ससहितको टिम परिचालन गरियो । फलस्वरूप आपत्कालीन अवस्थाका २ सय जनाभन्दा बढीको जीवनरक्षा भयो । जिल्ला अस्पतालमै २५ बेडको आइसोलेसन र आईसीयूजस्तै सुविधा भएको हाइडिपेन्डेन्सी युनिट सञ्चालन गरी गम्भीर अवस्थामा रहेका पाँच सयभन्दा बढी संक्रमितको जिल्लामै उपचार सम्भव भयो ।

बझाङमा २ हजारभन्दा बढी संक्रमित हुँदा पनि एक जनाले मात्रै ज्यान गुमाउनु भनेको सेवाको गुणस्तरकै कारण भएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । ‘अस्पतालमा यस्तो अब्बल नेतृत्व र सक्रिय टिम नभइदिएको भए स्वास्थ्य कार्यालयले मात्रै यो सबै गर्न सम्भव थिएन,’ उनले भने, ‘कोरोना नियन्त्रण र व्यवस्थापनमा अस्पतालका कर्मचारीहरू रातदिन नभनी खटिएका कारण हामीले अरू जिल्लाजस्तो ठूलो क्षति भोग्नुपरेन,’ ६ महिनाअघिसम्म उच्च जोखिममा रहेको यो जिल्ला अहिले कोभिडको लोरिस्क जोनमा सीमित भएको र अस्पतालको टिम अझै पनि प्राथमिकतासाथ कोभिड लक्षित भएर सेवा दिन खटिरहेको उनले बताए ।

यो सबै सफलताको श्रेय आफ्नो ऊर्जाशील टिम र सरोकारवालाको रहेको बताउने डा. ओखेडा भने अस्पतालको सुविधा र जनशक्ति व्यवस्थापनप्रति अझै सन्तुष्ट छैनन् । आईसीयूसहित गम्भीर प्रकृतिको शल्यक्रिया गर्न सक्ने जनशक्ति बझाङ ल्याउनका लागि उनी विभिन्न ठाउँमा धाइरहेको बताउँछन् । ‘उपचार गर्ने खर्च नपाएकै कारण कसैले मर्न नपरोस् । आपत्कालीन अवस्थाका बिरामीलाई सकेसम्म बाहिर रिफर गर्न नपरोस् भनेर लागिरहेका छौं । सबैको सहयोग भयो भने कसो सम्भव नहोला ?’ उनले भने ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?