३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ऊ प्रेमी, म प्रेमिका !

रीना मोक्तान

काठमाडौँ — अक्सर एकअर्काको हात समातेरै हिँड्न रुचाउँछन्, उनीहरु । उमेर समान । शारीरिक बनोटले दुवै पुरुष । बाटोमा दुईलाई देख्नेबित्तिकै मानिसहरुको आँखा अप्ठ्यारो, असहज, अमिल्दो भावमा उनीहरूतिरै अडिन्छ । आँखाबाट ओझेल नहुञ्जेल दुवैलाई हेरिहन्छन् । पछाडि खासखुस गर्छन्, 'केटा हुन् कि केटी ? केटा-केटा भएर के यसरी हिँडेको !'

ऊ प्रेमी, म प्रेमिका !

अटल मगर र मनोज रोक्कालाई यस्तो नजरको बानी परिसकेको छ । आँखैले धेरै बोल्ने नजरलाई पर्वाह नगरी हिँड्छन् । मानिसका आँखामा घृणा, आशंका, प्रश्नहरुको वाण देख्छन्, जुन उनीतिरै तेर्सिरहेको हुन्छ । यी दुईलाई यस्तो व्यवहारको खासै वास्ता हुँदैन । 'केटी हो कि केटा हो ?' आँखाको इसाराबाट प्रश्न गर्नेहरुले कहिल्यै उनी दुईको अगाडि सोधेका छैनन् । मुखै अगाडि कसैले यस्तो प्रश्‍न राखे अटललाई भन्‍न मन छ, 'म केटी हुँ' ।

झट्ट हेर्दा उनी केटीजस्तै देखिन्छन् । मिलेका परेली, कुमसम्म झर्ने सिल्की कपाल, ओठमा लाली । हो, उनको शरीर पुरुष संरचनामा बनेको छ । आवरणमा पुरुष देखिए पनि मनदेखि उनी महिला हुन् । त्यसैले उनलाई पुरुष पार्टनर मनपर्छ । १० वर्षको उमेरदेखि मेकअप गर्न रुचाउँथिन् अटल । केटीसाथी जस्तै हुन मनपराउँथिन् । बाल्यकालमा धेरैले 'छोरी जस्तै देखिने' भन्दै माया गर्थे । विस्तारै उनले आफूभित्रको यौनिकताबारे बुझिन् । समाज र परिवारमा खुलेर आइन् । आँखामा गाजल, ओठमा लाली लगाएर चिटिक्क बनेर हिँड्न थालिन् । यसरी चिटिक्क बन्दा दाइ भन्ने गर्नुहुन्थ्यो, 'किन गरेको यस्तो । यस्तो नगर ।' अहिले त दाइले पनि उनलाई बुझेका छन् । घरको कान्छो भाइ अटल ट्रान्सजेन्डर भएकी छन् । अटल र मनोज ।

कक्षा ९ मा पढ्दा हो मनोजले आफ्नो यौनिकताबारे बुझेको । घरका जेठा छोरा मनोज । सुरुवातमा आफ्नो यौनिकताबारे परिवारलाई केहि भनेनन् । विस्तारै आफ्नो मिल्ने साथी हुँदै केहि नजिकका साथीसँग आफ्नो यौनिकताबारे खुले । नजिकका साथी र नातेदारहरुमा खुल्न उनलाई खासै गाह्रो भएन ।

आमालाई पनि कोरोना महामारीबीच भनिदिए । 'आमा रिसाउनु होला, प्रेसर बढ्ला' भन्ने डर थियो उनलाई । 'लकडाउनमा परिवारसँग धेरै समय बिताएँ । दिदी बहिनीलाई पहिल्यै थाहा थियो । मलाई त आमालाई प्रेसर बढ्ला भन्ने तनाव थियो । कुरा सुनाएको बेलुकी रिसाए झैं गर्नुभयो तर बिहान बोल्नुभयो,'मनोज सुनाउँछन् ।

परिवार र साथीहरुले बुझिदिएकै कारण उनलाई अन्य लैंगिक अल्पसंख्यकलाई झै समस्या भएन । अहिले उनी आफूलाई निर्धक्क समलिंगीको परिचय दिन्छन् । अटल भने खुलेर आउन थालेको डेढ वर्ष भयो । उनी दुईलाई आफ्नो यौनिकताबारे खुल्न परिवार र समाजबाट त्यति समस्या भएन ।

प्रेम र लिभिङ टुगेदर

फेसबुकबाट मनोज र अटलको प्रेम सुरु भयो । म्युचल फ्रेन्डको सहारामा मनोजले अटललाई 'फ्रेन्ड रिक्वेस्ट' पठाए । उनलाई अटल हेर्नेबित्तिकै राम्री लागेको थियो । अटलले एक हप्तापछि रिक्वेस्ट असेप्ट गरिन् । फेसबुक साथी हुँदै फोनमा घण्टौं बोल्ने प्रेममा परिणत भयो उनीहरुको सम्बन्ध ।

धरानका मनोज कामका लागि काठमाडौं बस्थे । ४ वर्षअघिको दसैंमा घर जाँदा मनोजले पहिलोपटक अटललाई भेटे । अटललाई भेट्न लेटाङ पुगेको क्षण कहिल्यै बिर्संदैनन् उनी । 'चार बहिनीको हुलै लिएर ऊ मलाई भेट्न आएकी थिई । बहिनीहरुको कपाल सबै रातै थियो,'मनोजले अटलसँगको भेट सम्झे ।

त्यो भेटको ३ महिनापछि दोस्रो भेटमा उनले अटललाई प्रेम प्रस्ताव राखे । '३ वर्षअघिको भ्यालेन्टाइनको भोलिपल्ट उसले मलाई प्रपोज गरेको थियो,' छेउमा रहेको मनोजको हात समाउँदै अटलले भनिन्,'रातो गुलाफ, चकलेट र पेस्ट्री लिएर प्रपोज गर्न आएको थियो ।'

आफ्नो बनाउन मन लागेको व्यक्तिले प्रेम स्वीकार गर्दा मनोज खुसीले गदगद भए । ८ महिनापछि अटल काठमाडौं आइन् । मनोज काठमाडौंमै थिए । आफन्त कहाँ बस्नु भन्दा मनोजसँगै बस्न उचित ठाने अटलले । त्यसपछि दुवैजना कपनमा लिभिङ टुगेदरमा बस्न थाले । काठमाडौंको संघर्ष, अभाव र केही सहजताका बीच ३ वर्ष लिभिङ टुगेदरमा बिताइसकेका छन् उनीहरुले । 'हामीलाई खासै संघर्ष भएन सँगै बस्न । घरभेटी राम्रो पायौं । हामी दिनभरि घरमा हुन्न थियौं,' मनोजले अटललाई हेर्दै भने,'उसँग बस्दा घरमै बसे झैं लाग्छ । कहिले काहीँ झगडा पर्छ हाम्रो । जसको गल्ती हुँदा पनि मैले नै फकाउनुपर्छ ।' अटलले ठट्यौली शैलीमा थपिन्, 'किनकि म राम्री छु ।'

अटल र मनोज ।

मनोज धुलिखेलको द्वारिका होटलमा सेफ थिए । तर लकडाउनका कारण अहिले बेतलबी बिदामा छन् । अटल मेकअप आर्टिस्ट हुन् । मेकअप प्रशिक्षण गर्नुका साथै अभिनेत्री करिश्मा मानन्धरको टिमभित्र रहेर मेकअप गर्छिन् ।

३ वर्षदेखि सँगै बस्दा उनी दुईले कसैको रोकटोक सुन्न परेन । यसअर्थमा आफूहरुलाई भाग्यमानी ठान्छन् उनीहरु । उनी दुई झैं खुलेर प्रेम गर्ने हकमा सबैलाई उस्तै परिवार मिल्दैन । समाजको सोच अझै संकुचित भएकै कारण अन्य जोडीले चाहेजस्तै जीवन जिउन नपाएको मनोज बताउँछन् । 'गाउँको के कुरा काठमाडौं मै पनि ट्रास्सन्जेन्डरमाथि दुर्व्यवहार हुन्छ । उनीहरु जे हुन् त्यही भएर हिँडेकै कारण हिंसा सहन बाध्य पारिएका छन् । यो अर्थमा हामी भाग्यमानी छौं,' मनोजले भने ।

पारलैंगिक समुदायका मानिसहरु आफ्नो खुट्टामा उभिए समाजबाट त्यति हिंसा भोग्‍न नपर्ने मनोजको भनाइ छ । 'समाज त गलत छँदै छ । तर हामी पनि कहीँ गलत छौं कि ! आफ्नो करियर र जीवनको विषयमा धेरै सोच्दैनौं,' उनले भने,'आफ्नो खुट्टामा उभियौं भने त हाम्रो आलोचना गर्ने, छक्का, हिजडा भनेर हेप्ने काम हुँदैन थियो होला । त्यसकै कारण आत्महत्या गर्ने कम हुन्थ्यो होला ।'

समाजमा वर्जित ठानिने यस्तो प्रेमका लागि खुला समाजको आवश्यकता ठान्छन् उनी । 'हामी बाँच्नलाई खुल्ला विचार चाहिन्छ। अब पुरानो विचार राखेर हुँदैन । अझैकति साथीहरु समाजमा खुल्न सक्नु भएको छैन,' उनले भने,'उनीहरु बलियो भएर खुलेर आउन उत्साह दिन चाहन्छु । भित्र र बाहिरको दुईवटा जीवन बाँच्न धेरै गाह्रो छ ।' निकट भविष्यमा उनी दुई बिहे गर्ने सोचमा छन् ।

समलिंगी प्रेम

आफ्नो उमेरका साथीहरु फुटबल खेल्दा तेन्जु योञ्जन भाँडाकुटी खेल्न रुचाउँथे । केटी साथीहरुसँग 'बेहुला बेहुली' बनेर खेल्दा सधैं उनलाई बेहुली बन्नुपर्थ्यो । त्योबेला परिवारले उनको व्यवहारवाई बालापन नै ठाने । उनी केटा भन्दा केटी साथीहरुसँग बढी घुलमिल हुन्थे । पाँच कक्षा पुगेदेखि नै उनलाई केटी बन्ने रहर जाग्यो । आफूले लगाउन नपाए पनि आमालाई नङमा पालिस लगाएर आनन्द लिन्थे, तेन्जु ।

नृत्यमा सानैदेखि माहिर । विद्यालयको हरेक कार्यक्रममा नृत्य प्रस्तुत गर्थे । विद्यालयमा शिक्षकले उनलाई केटा बनाएरै नचाउथे । नाच्न पाउँदा गालामा रातो लिपिस्टिक लगाइदिन्थे । उनी त्यसैमा मख्ख हुन्थे । कक्षा ७ मा हुँदा उनले केटीको भेषमा 'चाहिँदैन हिरा र मोति' बोलको गीतमा नृत्य प्रस्तुत गरे । त्यतिबेला धेरैले नृत्यको तारिफ मात्रै होइन उनलाई केटी बन्दा सुहाउँदो रहेछ भन्दै प्रतिक्रिया दिए । उनी त्यही प्रतिक्रियाले पनि हौसिए । एकदमै राम्री भएर बस्न मन पर्थ्यो तेन्जुलाई । तर व्यवहारमा व्यक्त गर्न सक्दिन थिइन् उनी । 'समाजले के भन्ला ?' भन्ने डर हुन्थ्यो उनलाई ।तेन्जु योञ्जन । तस्बिरः दीपेन्द्र रोका

घरको एक्लो छोरो तेन्जु काकाकी दुई छोरीसँगै भैंसीपाटीमा हुर्के । कक्षा ९ मा पढ्दाआफ्नो शरीरको विकास र भित्री मनको चाहना ठिक विपरीत पाए । हाउभाउ केटी तर बढ्दै गरेको दाह्रीमा उनले आफूमा भएको फरकपनको आभास गरे । 'त्यतिबेला मलाई केटा मनपर्दो रहेछ भन्ने पनि थाहा भयो,' उनी सम्झिन्छिन् ।

शिक्षक सधैँ उनलाई यो 'नक्कले छ' भन्दै जिस्काउथे । 'हाउभाउ केटीकोजस्तो भए पनि, बच्चादेखि यो यस्तै हो भनेर परिवारले सामान्य लिनुहुन्थ्यो,' आफ्नो परिवारबारे तेन्जु भन्छिन् । कक्षा ९ मा पढ्दा उनी एक पुरुष साथीसँग आकर्षित भए । गृहकार्य गरिदिने, आफ्नो वास्ता गरिदिने उक्त साथी उनलाई मन पर्थ्यो । तर उनले त्यो बेला आफूलाई बाँधेर राखे ।

कलेज सुरु भएपछि उनी नृत्य कक्षामा जोडिए । त्यता समलिंगी साथीहरु भेटिए । तर आफ्नो यौनिकताबारे अझै खुल्न सकेनन् । 'कतिले तिमी समलिंगी हो भनेर प्रश्‍न गर्दा होइन भनेर पन्छिन्थें, ' उनले पुराना दिन सम्झिन् । तर विस्तारै आफ्नो यौनिकताबारे उनको बुझाइ फराकिलो बन्दै गयो । कलेज पढ्न थालेपछि भिडियोमा कोरस भएर नृत्य सुरु गरिन् । त्यता पनि आफूजस्तै साथीहरु देख्‍न थालिन । त्यसपछि उनी परिवार र समाजमा समलिंगी भएर खुलिन् । परिवारलाई आफू समलिंगी भएको नखुले पनि उनको व्यवहारबाट सबैले बुझ्दै गए । साथ दिए ।

१२ को पढाइपछि इन्टर्न गर्न मलेसिया पुग्दा तेन्जुको भेट एक पाकिस्तानीसँग भयो । 'हामी बस्ने होटलकै ७ फ्लोवरमा बस्नुहुन्थ्यो उहाँ । म आफ्नो कोठा पुग्न पौडी पोखरी घुमेर पुग्नुपर्ने । म आउँदा र जाँदा सँधै उहाँ त्यही पोखरीमा बसिरहेको हुनुहुन्थ्यो,' उनले पाकिस्तानी पुरुषको भेट सम्झिन्छिन् ।

तेन्जु एउटा पसलमा 'पार्ट टाइम' काम गर्थिन् । ती पाकिस्तानीले उनलाई त्यहाँसम्म पछ्याउन थाल्यो । एक दिन रातो गुलाफको गुच्छासहित काम गर्ने पसल अगाडि आएर फिल्मी शैलीमा प्रेम प्रस्ताव पनि राख्यो । दुईबीच प्रेम अंकुरायो । लिभिङ टुगेदरमा बस्न थाले । पाकिस्तानी युवकले आफ्नो परिवारलाई तेन्जुको सम्बन्ध खुलाएका थिए । उनको परिवारले आफू दुईलाई साथ दिएको देख्दा तेन्जुलाई लाग्यो,'यस्तो सम्बन्ध त प्राकृतिक नै रहेछ । सामान्य नै हुँदो रहेछ । मैले केही पाप गरेको रहेनछु । ममा झनै कन्फिन्डेट आयो,' तेन्जुले सुनाइन् ।

उसको परिवारले 'बहु' भनेर सम्बोधन गर्दा तेन्जु खुसीले भुत्तुकै हुन्थिन् । सम्बन्ध सुरु भएको १ वर्षपछि पाकिस्तानीलाई बिहेको दबाब आयो । 'इन्डोनेसियामा भएको केटीसँग उसको लभ परेको रहेछ । परिवारले मिलाइदिएको रहेछ । पछि उसको गर्लफ्रेन्डसँग भेट भयो,' तेन्जुले सुनाइन्, 'सबैजना समलिंगी नै हुँदैन । उहाँ बायसेक्सुअल हुनुहुन्छ भनेर पछि थाहा पाएँ ।'

पाकिस्तानी प्रेमीले परिवारको दबाबमा बिहे गर्ने निर्णय लियो । प्रेमीसँगको वियोगमा आत्महत्याको प्रयाससमेत गरेकी तेन्जुले युवकसँगको प्रेम, यादहरुलाई मलेसियामै छोडेर काठमाडौं फर्किन् । काठमाडौंमा आफ्नो नृत्यको करियर थालिन् । कोरोयोग्राफीमा उदायमान तेन्जुले फिल्म 'ऐश्वर्य', 'कस्मिक लभ,' 'खुर्पा' लगायत ३ दर्जन बढी भिडियोमा काम गरिसकेकी छन् ।

हिजोआज कतिले तेन्जुलाई भन्छन्,'तपाईं मेरो आइडल हो । मलाई तपाईंजस्तै बन्नु छ ।' उनी मनमनै भन्छिन्,'म जस्तो नबन्नु । म जस्तो कहिल्यै नहुनु । सक्छौं भने आफूलाई परिवर्तन गर ।'

उनी अझै अल्पसंख्यक समुदायको लागि समाज उदार नरहेको बताउँछिन् । 'हाम्रो समाज कपटी छ । तपाईंहरु अगाडि बढ्नुपर्छ भन्नेहरुले पछाडि योसँग केटाहरु बच है भनिरहेका हुन्छन् । मलाई त्यसैमा दुःख लाग्छ,' उनले भनिन्,'मानिसको समझ कहिले परिवर्तन होला भनेर चित्त दुख्छ । जुन प्रकारले मेरो परिवारले मलाई बुझेको छ । त्यो प्रकारले अरुले पनि बुझिदिएको भए हाम्रो समाज कति परिवर्तन हुन्थ्यो । त्यसपछि मलाई आइडल मान्नेहरुलाई जस्तो बन्न मन छ बन भन्न सक्थें । '

उनी भन्छिन्,'समाजमा हामीले जस्तो छौं त्यो होइनौं भनेर बाँच्नु नपरोस् । हामीले जस्तो दु:ख नपाओस् अरुले । हामी हाम्रो नागरिकताको पहिचानको लागि लड्दै छौं । अझै मेरो नागरिकतामा लिंगको परिचयमा पुरुष भनिएको छ ।'

नखुलेको प्रेम

'गाउँमा सबैको बिहेमा हजार/पन्ध्र सय दिँदै आएको छु । यसकै बिहेमा सब पैसा फिर्ता ल्याउनुपर्छ,' आमाले यसरी बिहेको सपना बुनिरहँदा रोनिशको मन चसक्क घोच्छ । गत तिहारमा गाउँ जाँदा परिवारका उनको बिहेको योजना बनाउँदै थिए । चार दिदीहरु भन्दै थिए,'एउटा भाइको बिहे त धुमधामले गरिन्छ । चार दिन अगाडिदेखि नाचगान गर्नुपर्छ ।'

बिहेको योजना बुन्दै गरेको माहोलमा रोनिश आफूलाई एक्लो पाउँछन् । उमेर बढ्दै गएपछि उनलाई बिहेको दबाब बढ्न थालेको छ । भेट्ने जति आफन्तले उनलाई 'बिहे त गर्नैपर्छ । वंश बचाउनैपर्छ' भनेर सल्लाह दिन्छन् । परिवार र बुढी आमाका लागि आफ्नो इच्छालाई दबाएर बिहे गरिदिउँ भन्ने सोच्छन् पनि । तर झूटमा कसैको जिन्दगी बिगारिदिने मन छैन उनलाई ।

'केटा नैसँग बिहे गर्नुपर्छ भन्ने छैन । तर केटीसँग त बिहे गर्दिँन,' रोनिशले भने । उनी समलिंगी हुन् । समाज र परिवारसँगको डरका कारण २५ वर्षीय उनी अझै खुल्न सकेका छैनन् । अहिले सामान्य हुँदा गरिने व्यवहार समलिंगी भएको थाहा पाएपछि उस्तै नहोला भन्ने डर उनमा छ । 'खुलेर आउनेहरुलाई सलुट छ मेरो । तर मसँग खुलेर आउने हिम्मत छैन । यही समाजमा बस्छु । तर यही समाजको डर लाग्छ,' उनले आफ्नो पीडा सुनाए ।

पार्टनर पनि बिहे गर्दै

१७ वर्षको उमेरमा रोनिशले आफ्नो यौनिकताबारे थाहा पाएका हुन् । कक्षा ११ मा पढ्दै गर्दा साथीहरुले जिस्काउन थालेको युवतीसँग प्रेम टुसाउन थालेको थियो । तर फेसबुकमार्फत उनी आफूजस्तै साथीहरुसँग नजिकिन थाले । समलिंगीबारे खोज अनुसन्धान बढ्यो ।

फेसबुकबाट आफ्नो यौनिकताबारे थाहा पाएपछि उनी खुसी भए । आफ्नो यौनिकताबारे बुझ्न उनलाई अझ रहर जाग्यो । अनलाइनहरुमा खोजतलास गर्न थाले । विस्तारै उनमा पुरुषप्रति रुची बढ्न थाल्यो । 'केटासँग भेटिरहुँ, कुरा गरिरहुँ' लाग्थ्यो उनलाई ।

त्यसपछि कलेजकी ती युवतीसँगको सम्बन्धलाई 'ब्रेक' दिए । 'खासमा म समलिंगी रहेको खुलाएर उनीसँगको सम्बन्ध तोड्न खोजेको थिएँ,तर सकिनँ । मायाको नाटक गरेको बताएर उनीसँगको सम्बन्धलाई पूर्णविराम लगाइदिए,' उनले भने ।

कक्षा १२ सम्मको अध्ययन सकेपछि उच्च शिक्षाका लागि रोनिश काठमाडौं आए । फिल्म क्षेत्रमा काम गर्न थाले । काठमाडौंमा आफूजस्तैहरूसँग उनको संगत बढ्न थाल्यो । गाउँमा भन्दा काठमाडौंमा केही स्वतन्त्र अनुभव गरे रोनिशले । उनी भन्छन्, 'मलाई थाहा थियो, फिल्म क्षेत्रमा मजस्तै साथीहरु भेटिन्छन् । यहाँ स्वतन्त्र विचार भएका व्यक्तिहरु हुन्छन् ।'

काठमाडौं आएको केहि महिनापछि फेसबुक मार्फत उनको एक युवकसँग प्रेम बस्यो । उनी सकेसम्म विवाहित र विदेश जाने युवकसँगको प्रेममा पर्न चाहँदैन थिएँ । सम्बन्धमा बसेको १५ दिनपछि रोनिशले आफ्नो प्रेमी विवाहित र विदेश जाने तयारीमा रहेको थाहा पाए । प्रेममा डुबुल्की मार्न नपाउँदै उनीहरुको सम्बन्धमा काँडा भेटियो ।

रोनिशले चाहँदैन थिए कि आफूले प्रेम गरेको युवकको वैवाहिक सम्बन्ध टुटोस् । त्यसैले उनले सम्बन्धलाई पूर्ण विराम लगाउन खोजे । मायाको अगाडि कसको के लाग्दो रहेछ, ती विवाहित युवक पनि रोनिशसँगको प्रेममा परिसकेका रहेछन् । आफू पनि समलिंगी भएको कुरा श्रीमतीलाई सुनाउँदै उनले वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाए । त्यसपछि उनीहरुबीच प्रेम गाढियो, लिभिङ टुगेदरमा बस्न थाले । यो तीन वर्षसँगै बस्दा उनीहरुबीचको सम्बन्धलाई लिएर समाजले ‌औंला उठाएको छैन ।

उनीहरु दुवै उस्तै देखिन्छन् । घरबेटीलाई आफूहरु दाजूभाइ भनिदिन्छन् । तर मनमा भने घरबेटीले आफूहरुको यौनिकताबारे थाहा पाइसके कि भन्ने डर रोनिशलाई लागिरहन्छ । ' जहाँ जाँदा पनि हामीसँगै हुन्छौं । कसैले थाहा पाउँछ कि शंका पो गरेको छ कि भन्ने डर छ,' रोनिश भन्छन् ।

अहिले दुवैलाई बिहेको दबाब आउन थालेको छ । डिभोर्सी प्रेमीलाई आफूलाई भन्दा धेरै बिहेको दबाब आएको रोनिश सुनाउँछन् । 'उसको जहिल्यै बिहे कै कुरा भइरहेको हुन्छ । उसको परिवारले केटी हेरिरहेको कुरा सुनिरहँदा मन दुख्छ,' रोनिश भन्छन् । उनी आफैं भने बिहेको दबाबबाट कसरी मुक्त हुने सोचिरहेका हुन्छन् । फ्याट्ट आफ्नो यौनिकताबारे खुलौं कि भन्ने छ उनलाई । तर उनी समाज र परिवारको डरले नै बाँधिएर आफूभित्रको यौनिकतालाई लुकाउँदै हिँड्न बाध्य छन् ।

प्रकाशित : फाल्गुन २, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?