घिमिरे युवराज भन्छन् : 'नागरिकलाई नसुन्नु भनेको कलालाई पनि नसुन्नु हो, हामी अब लड्न तयार छौं'

रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीले करिब १० महिना नाटकघर बन्द भए । लकडाउनबीच सरकारले विभिन्न क्षेत्रहरु खोल्ने/नखोल्ने निर्णय गर्यों । यातायात, कार्यालय, फिल्म हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, जिमखानालगायतका लामै सूची तयार भयो । सूचीमा रंगमञ्च कतै अटाएन । नाट्यकर्मीहरुले आफ्नो क्षेत्रलाई केही शीर्षक (प्रदर्शन, सम्मेलन, भेला)मै राखेर सरकारको निर्णय पालन गरे ।

घिमिरे युवराज भन्छन् : 'नागरिकलाई नसुन्नु भनेको कलालाई पनि नसुन्नु हो, हामी अब लड्न तयार छौं'

लकडाउनमा रंगमञ्चलाई सरकारले विधाको रुपमा स्वीकार गर्न नसकेको कुरा स्पष्ट भएको बताउँछन् नाट्यकर्मी घिमिरे युवराज । 'बन्द हुने भन्दा पनि हामीलाई बन्द गर भनेन । हामीलाई खोल भनेको पनि छैन,' घिमिरेले भने, 'हामीले त एक सचेत नागरिकको हिसाबले सार्वजनिक स्थल बन्द हुनुपर्छ भनेर बुझेरै नाटकघर बन्द गर्‍यौं । त्यही चेतले खोल्यौं ।'

सत्तामा बसेकाहरुको साँस्कृतिक चेतले कलालाई फुर्सदमा गरिने मनोरञ्जनको रुपमा मात्र लिएको उनको भनाइ छ। 'सत्तामा पुगेका मानिसहरुको साँस्कृतिक चेतना र राज्यको साँस्कृतिक नीतिले समाज कता जान्छ भनेर निर्दिष्ट गर्छ । यी दुवैकुरा छैन अहिले,' उनले सुनाए,' कलालाई महत्व दिइएन ।'

नेतृत्वमा रहेकाहरुको साँस्कृतिक चेतना देखेर दु:ख लाग्ने बताउँछन् उनी । 'प्रचण्डले यो नाटकै हो, ओलीले नौटंकी नै हो भन्नु एकदमै केटाकेटीजस्तो व्यवहार हो । विधागत रुपमा कलालाई उनीहरुले आदर गरेनन् । यसले त नेतृत्व गर्नेहरुको सभ्यता के हो भन्नेमै प्रश्न उठाउँछ । त्यस्तो नेतृत्वले कसरी हामीलाई स्वीकार गर्छ त ?' उनी प्रश्न गर्छन् ।

सत्ताले कलालाई नबुझेकै कारण आफूहरुको जिम्मेवारी र संघर्ष ठूलो रहेको उनी बताउँछन् । लकडाउनको समयमा सडकमा होस् या डबली, विभिन्न अभियानदेखि नागरिक आन्दोलनसम्म सक्रिय रुपले घिमिरेको टिमले खबरदारीको काम गर्दै आएको छ । नाटकघर बन्द हुँदा पनि खुल्ला रंगमञ्चमार्फत शिल्पीले खबरदारी प्रस्तुति गरे ।

माघ १ देखि नाटकघर खुल्यो । घिमिरेले आफ्नै लेखन र निर्देशनमा 'छ पात्रको एकालाप'मार्फत् जात, लिङ्ग, वर्णका आधारमा हुने विभेदको विषयलाई उठाए । नाटक हेर्न दर्शक आउँलान्/नआउँलान् भन्ने डर थियो उनलाई । नाटकको अभ्यास गर्दा कोभिडको उस्तै डर । दर्शकको उपस्थिति र प्रतिक्रियाले उत्साह थपिदिएको उनी बताउँछन् । '५० प्रतिशत दर्शक राखेर मञ्चन गरेको हो नाटक । दर्शकहरु आउनु भयो । अन्तिम दिनसम्म पनि दर्शकको उपस्थिति पायौं । आशा पलाएको छ । एक किसिमको माहोल बन्यो जस्तो लाग्छ । हामी उत्साहित छौं,' उनले भने ।

तस्बिर : दिपेन्द्र रोक्का/कान्तिपुर

अब उनको टिम नयाँ नाटक गर्ने तयारीमा छ । विदुशी गार्गीको कथामा आधारित नाटकलाई फागुनमा हुने लिट्रेचर फेस्टिभलमा मञ्चन गर्ने तयारी रहेछ । रमेशरञ्जन झाको लेखन र घिमिरेको निर्देशनमा बन्ने नाटक माघ २० गतेबाट रिहर्सलमा जाँदैछ । शिल्पी थिएटरमात्र होइन माघदेखि देशभरका नाटकघर विस्तारै चलमलाउन थालेको छन् । नाटकघरमा जमघट हुन थालेको छ । यस्तै जमघट नै नाट्यकर्मीको जीविकोपार्जनको आधार हो । १० महिना यो जमघट ठप्प भयो । चलायमान बन्दै गएको नाटकघर पूरानै अवस्थामा फर्कने कोसिसमा छ । 'हाम्रा लागि त छँदैछ । आम मानिसको लागि एउटा सास फेर्ने, भेट्ने छलफल गर्ने ठाउँ त चाहिन्छ नि त । हामी पूरानो समयमा फर्कने कोसिसमा छौं विस्तारै,' उनले भने ।

लकडाउनबीच रंगमञ्चले पनि डिजिटल विकल्पको अभ्यास गर्‍यो । शिल्पी थिएटरले पनि केही नाटक युट्युबमा सार्वजनिक गर्योौ । लकडाउनमा उनको टिमले सांगीतीक नाटक 'आइसोलेसन' रिहर्सल गरेको थियो । खुल्ला रंगमञ्च (सडक, डबली)मा देखाउने योजनासहित । तर कोभिडको बढ्दो त्रासले गर्न पाएनन् । अब केही समयपछि खुल्ला वातावरणमा नाटक प्रस्तुत गर्ने सोचमा छन् घिमिरे ।

२५ मिनेट लामो प्रस्तुति रहने नाटकमा गिरिस सुवेदीको संगीत संयोजन छ । त्यसमा घिमिरे आफैंले पनि अभिनय गर्नेछन् । 'ओपन एयर (खुल्ला रंगमञ्च) गर्ने भन्दै गर्दा हामीले त्यसको रिहर्सल गर्यौं ,' उनले नाटकको प्रसंग जोडे, 'प्रकृतिमा सबैजना बाँचिरहेका छन् । अचानक एउटा महामारी आउँछ । त्यसले मानिसलाई एकान्तवासमा लान्छ । त्यसपछि उनीहरु आफैंलाई बचाउँदा अरुलाई कसरी बचाउने बिर्सन्छ । तर विस्तारै एकअर्कालाई सहयोग गर्दै सामान्य जीवनमा फर्कने कथा समेटिएको छ ।'

लकडाउनबीच अधिकांश क्षेत्र खुले । हल खुल्यो । त्यसपछि मात्र रंगमञ्च खुल्यो किन ?

'हामीले अभ्यास गरिरहेका थियौं । लकडाउन हुने बित्तिकै नेपालभरको नाटकघरहरू मिलेर जुम मिटिङ गर्यौंर । एकेडेमीलाई निवेदन बुझायौं । संकटको समयमा स्वतन्त्र रंगमंञ्च र रंगकर्मीलाई सहयोग गर्नुपर्ने बतायौं,' उनको जवाफ छ । थप्छन्, 'सरकारको ध्यान हामीतर्फ छैन । लामो संघर्ष हामीले गर्नपर्ने छ र हामी त्यसका लागि तयार छौं । राज्यले साँस्कृतिक नीति नबनाए पनि हामी लडिरहन्छौं । हिजो राणाकालमा नागरिकको आवाज नसुन्ने अराजक शासकजस्तै प्रवृति छ अहिले । नागरिकलाई नसुन्नु भनेको कलालाई पनि नसुन्नु हो । हामी अब लड्न तयार छौं ।'

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

संसद् विघटनको विरोधमा भइरहेको नागरिक आन्दोलनमा पनि घिमिरेको सक्रिय उपस्थिति छ । सहिद दिवसमा नागरिक आन्दोलनले गरेको विरोध कार्यक्रममा उनले सहिद शुक्रराज शास्त्रीका रुपमा अभिनय गरे । शास्त्रीलाई फाँसी दिइएको स्थल टेकुमा उनले फाँसीको अभिनय पनि गरे । घिमिरे नाटक र कलालाई अभिव्यक्तिको माध्यम मान्दछन् । 'कलाकार भनेको राजनीतिक सुझबुझ चेतसहितको व्यक्ति हो । राजनीति वा समाजमा केही गलत भइरहेको छ भने त्यसमा हामीले विरोध गर्छौं, आफ्नो मत जाहेर गर्छौं । त्यसका लागि कलात्मक विधि प्रयोग गर्छौं,' उनले भने ।

उनका अनुसार कोभिडले निम्त्याएको संकटबाट बाहिर निस्कनलाई रंगमञ्चतर्फ सरकारले चासो दिनुपर्छ । उनीहरुका आवाज सुनिदिनुपर्छ ।सरकारले अझै नागरिकको आवाज नसुने ठूलो विद्रोह हुने घिमिरे बताउँछन् । 'यीनका अराजकता, बदमासी, गैरजिम्मेवारिता बाहिर आउँछ । हामी बोल्छौं,' उनले भने ।

महामारीले गर्दा नाटकघरले १० महिनाको भाडा त्यतिकै तिर्नुपर्यो । आर्थिक मारमा परेको रंगमञ्चलाई सरकारले राहत दिनुपर्ने उनको माग छ । 'नाटकघर महामारीमा कसरी सर्भाइभ भइरहेको छ । १० महिना बन्द भएको नाटकघरलाई राहत त दिनै पर्थ्यो,' घिमिरे भन्छन्, 'सुख सुविधासम्पन्न जीवन बाँचिरहेका छन् सत्तामा हुनेहरु, उनीहरुको १ महिनाको तलब दिए पनि पुग्छ ।'

सँस्कृति मन्त्रालयअन्तर्गत एकेडेमीको बजेट राहतका लागि दिनुपर्ने सुझाउँछन् घिमिरे । एकेडेमीले सम्बन्धित स्वतन्त्र नाट्य (नाटक घर नभएका) समूहसँग काम गर्नुपर्ने उनको तर्क छ । 'फिल्मले वा नाटकले अन्तर्राष्ट्रियस्तरमा केही उपलब्धि हासिल गर्योा भने श्रेय लिन्छन् उनीहरु । त्यसरी श्रेय लिने तर काममा सहयोग नगर्ने, यो त दरिद्र मानसिकता भएका शासकहरु सत्तामा पुगेपछि हुने कुरा हो, 'सुनाउँछन्, '५० वर्ष राजनीतिमा लागेको व्यक्ति एउटा ठाउँमा पुगेर सेवा लिन्छ भने ५० वर्ष कलामा समर्पण गरेको व्यक्तिले किन सेवा लिन सक्दैन ? राज्यसँग विधिको शासन छैन ।'

कोभिडपछिको रंगमञ्च

तस्बिर : बिजु महर्जन/कान्तिपुर

कोभिड-१९ ले गर्दा अधिकांश थिएटर कलाकार पलायन भएका छन् । कति कलाकारमा नैराश्य छाएको छ । अब ती कलाकारलाई रंगकर्ममा फर्काउन रंगमञ्चले निरन्तर विभिन्न गतिविधि गर्नुपर्ने घिमिरे बताउँछन् । नाटक मञ्चन पनि निरन्तर हुनुपर्यो । 'नयाँ काम भटाभट हुन थालेपछि कलाकार आउन थाल्छन्,' उनले भने, 'यो संक्रमणमा दु:ख छ, गाह्रो छ । यस्तै समयमा कलाकारको मिहेनतको अर्थ लाग्छ । अब उत्पादन गर्नुपर्यो दु:ख गरेर भए नि । २/४ महिनाको समयपछि अलिकति राहत हुन्छ होला !'

दर्शकलाई रंगमञ्चसम्म डोर्यानउन राम्रा नाटकको आवश्यकता छ । घिमिरे भन्छन्, 'दर्शकमा भएको डरलाई चिर्नका लागि क्वालिटीको नाटक चाहिन्छ ।' उनी रंगमञ्चलाई साँस्कृतिक अभियान बताउँछन् । अन्य कलाझैं यो व्यवसायिक छैन । टिकटबाट आएको पैसासँग मात्रै यो जोडिँदैन । यो समाजले स्वामित्व राख्ने कुरा रहेको उनको व्याख्या छ । अब उनी यसअघि शिल्पीमा मञ्चन भएको 'बाथटब', मण्डलामा मञ्चन भएको 'महाभोज'जस्ता नाटक बन्नुपर्ने बताउँछन् ।

अहिले नाटकघर खुले पनि मञ्चनमा कुनै नाटक छैन । यसलाई रंगमञ्चको 'संक्रमण' बताउँछन् घिमिरे । 'अहिलेको संक्रमण भनेको नाटकघर खोल्ने त भन्यौं तर नाटकघर खुले पनि नाटक छैन,' उनले भने । कोभिडको अनिश्चितताले यो समस्या सिर्जेको उनको भनाइ छ । आगामि फागुनदेखि नाटकघर पुरानै स्थितिमा फर्कने आशामा छन् उनी । कोरोनाअघि रंगमञ्चले अनुवादित नाटकमात्रे धेरै गरेको आरोप लाग्थ्यो । उनी यसलाई स्वीकार्दैनन् । अनुवादित नाटकमै पनि हाम्रो कथा आउने भएकाले यसमा उनी समस्या देख्दैनन् । शिल्पीले सत्यमोहन जोशी, अभि सुवेदी, फूलमान बल, कुमार नगरकोटीका नाटक गरेको उदाहरण दिँदै उनी भन्छन्, 'अनुवादित नाटक त कमै गरेजस्तो लाग्छ।'

'अनुवादित नाटक गर्नुमा खराबी छैन । हामीले त विश्वभरीको नाटक ल्याउनुपर्छ भन्छौं । नाटकको सीमा हुन्न । यो त राजनीतिक रूपमा बनाइएको सीमा हो । हामी त्यो भत्काउँदैछौं,' उनले भने, 'हामीकहाँ विदेशी संगीत सजिलै सुन्न सकिन्छ । विदेशी किताब सजिलै ल्याउन सकिन्छ । विदेशी फिल्म प्रदर्शनमा आउँछन् । नाटक विदेशी गर्न हुन्न भन्नु साँघुरो सोचाइ हो । कलामा सीमा बाँधियो भने त संकीर्ण हुन्छ ।'

उनी नेपालीबाहेकका भाषामा पनि नाटक मञ्चन हुनुपर्ने बताउँछन् । सहरकै कथा रंगमञ्चमा कम आएको लाग्छ उनलाई । भन्छन्, 'सहरको मध्यम र उच्च मध्यम वर्गहरुको कथा धेरै कम छ । अब सहरमा बसेका मानिसहरुको कथा ल्याउनुपर्छ ।'

प्रकाशित : माघ १९, २०७७ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?