चिया गफबाट सुरु भएको संकटाको ‘अम्ब्रेला स्ट्रिट’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया गफबाट सुरु भएको संकटाको ‘अम्ब्रेला स्ट्रिट’

काठमाडौंको ‘अम्ब्रेला स्ट्रिट’ को कथा
दिपेन्द्र रोक्का

काठमाडौँ — केही समययता काठमाडौंको तबाहालस्थित संकटा मन्दिर वरपरको स्वरुप फेरिएको छ । कारण हो सडकमाथि राखिएका रंगीचंगी ४ सय वटा छाताहरु । संकटा मन्दिर क्षेत्र वरपरका सडक अहिले ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेका छन् । सामाजिक सञ्जाल पनि यस क्षेत्रमा खिचिएका तस्बिर र भिडियोहरुले भरिएका छन् । यस क्षेत्रको स्वरूप परिवर्तन हुनमा मुख्यतया एक व्यक्तिलाई श्रेय जान्छ र उनी हुन् आशिषमान सिंह ।

लकडाउन खुलेपछि न्युरोड वरपरका पसल खुलेतापनि खासै व्यापार हुँदैनथ्यो । यो देखेर स्थानीय व्यापारीहरु आजित भइसकेका थिए । बिहान चिया पसलमा कुरा गर्दै जाँदा आशिषमानले एउटा जुक्ति फूराए । उनले आफ्नो मोबाइल फोनमा पोर्चुगलको अगुइदास्थित ‘अम्ब्रेला स्ट्रिट’ को स्क्रिनसट लिएको तस्बिर आफ्ना साथीहरुलाई देखाए । यसरी छाताहरु राखी सजाउन सके आफ्नो क्षेत्रमा मानिसहरु आउने र व्यापार बढ्न सक्ने ठम्याइमा उनीहरू पुगे ।

लगत्तै उनीहरुले रकम जुटाउनमा लागिपरे र टोलछिमेकबाट उठेको ३ लाख रुपैयाँले छाताहरु किनेर टांग्न सुरु गरे । ‘यो काममा वडा, स्थानीय बासिन्दाहरु र संकटा क्लबको धेरै साथ सहयोग रहृयो,’ उनी सम्झिन्छन् । फोटोमा हेरेको सडकको कल्पना व्यवहारमा उतार्न निकै गाह्रो भयो उनीहरुलाई । करिब १० दिन समय लिएपछि सडकमाथि छाताहरु राख्ने काम सम्पन्न भयो । छाता राखेपछि तबाहाल क्षेत्रको स्वरूप एकाएक फेरियो ।

चिया पसलमा सुरु भएको विचारमा उनीहरुले काम सम्पन्न भएपछि ४ देखि ५ हजारको हाराहारीमा मानिसहरु आउने विश्वास लिएका थिए । तर सोचेभन्दा उल्टो भइदियो । अम्ब्रेला स्ट्रिट सुरु भएको १६ दिन सम्ममा मानिसहरूको उल्लेखनीय उपस्थिति रहेको छ । सिंहका अनुसार दैनिक १५ देखि १६ हजार मानिसहरुले यो ठाउँ घुम्ने गरेको अनुमान गर्छन् । लकडाउन खुलेपनि शान्त हुने यो ठाउँ अहिले खचाखच भएको छ । कारण हो सडकमाथि राखिएका रंगीचंगी छाताहरु र यसले लोभ्याएका मानिसहरूको भीड ।

काठमाडौंकी सुष्मा केसी टिकटकमा भिडियो बनाइरहन्छिन् । साथीहरुसँग भिडियो बनाउन यो ठाउँ घुम्न आएकी उनले ठाउँ धेरै राम्रो लागेको र यस्ता ठाउँहरु अझ धेरै खोलिनुपर्ने बताइन् । तबाहालमै बस्ने नमिता गौतम सडक राम्रो र आकर्षित भए पनि यहाँ आउने मानिसहरूले कोरोनाको समयमा सामाजिक दूरी केही पालना नगरेको गुनासो गर्छिन् ।

तस्बिरहरु : कविन अधिकारी/कान्तिपुर

हजारौंको भीडले स्थानीय र विचारमा सहमत भएर आर्थिक रकम सहयोग गरेका व्यापारीहरु पनि अहिले दुःखी भएका छन् । ‘यो छाता राखेदेखि व्यापार डामाडोल भएको छ । अहिले सामान किन्न आउने भन्दा पनि फोटो खिच्ने र टिकटकमा नाचेर भिडियो बनाउनेहरूको घुइँचो छ । ‘यसैकारण हामीहरु यो छाता निकाल्नुपर्ने निर्णयमा पुगिसकेका छौं,’ स्थानीय व्यापारी ईश्वर बस्नेतले भने । नजिकैका अर्का कपडा व्यापारी गोविन्द मगर पनि भीड धेरै भएर पनि व्यापार नभएको सुनाउँछन् । यही भीडका कारण उनीहरूको सामान ढुवानीमा समस्या परेको छ ।

‘हामीहरुले यतिधेरै भीड जम्मा हुने सोचेकै थिएनौं । अहिले टाढाबाट मानिसहरु छाताहरु हेर्न आउनुहुन्छ । तस्बिर खिच्नुहुन्छ, भिडियो बनाउनुहुन्छ । आफूले सोचेको कल्पना पूरा हुँदा खुसी त लागिहाल्छ तर व्यापारीहरुको दुःख सुनेका कारण पनि अब अंग्रेजी नयाँ वर्षपछि यी छाताहरु निकाल्ने सोचेका छौं,’ आशिषमानले भने । कोरोनाकाल र लकडाउनमा खस्किएको व्यापार र व्यापारिक केन्द्रहरुले यस्तै कामको अनुसरण गरेर मान्छे आकर्षित गरी व्यापार गर्न सकिने सिंहको बुझाइ छ ।

प्रकाशित : पुस १७, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

कथा नेपालको पहिलो बन्जी मास्टरको

दिपेन्द्र रोक्का

काठमाडौँ — हामी कसैले भोटेकोसीमा बन्जी जम्प अथवा स्विङ गरेका छौं भने एउटा अनुहार दिमागमा आइहाल्छ । जम्परलाई सुरक्षा सामग्री लगाइदिनदेखिफाल हान्ने र माथि तान्ने प्रक्रियासम्म सघाउन १९ वर्षदेखि खटिइरहेको त्यो अनुहार हो, बन्जी मास्टर प्रकाश प्रधानको । उनी नेपालका प्रथम बन्जी मास्टर पनि हुन् । बन्जी मास्टरको जिम्मेवारी जम्परहरूलाई सुरक्षित तरिकाले फाल हाल्न लगाउने, उनीहरूको मनोबल खस्कन नदिने र यस गतिविधिमा खटिएका मानव स्रोतहरूसँग समन्वय गर्नु हो ।

सन् १९९९ देखि २०१८ सम्म नेपालको पहिलो बन्जीस्थल ‘दि लास्ट रिसोर्ट’ मा प्रधानले १९ वर्ष काम गरे । त्यसपछि अवकाश लिने निर्णय गरे ।दुई वर्ष आराम गर्दै थिए । यसैबीचमा नेपालीकै लागतमा बन्न लागेको नेपालकै ठूलो बन्जी साइट ‘द क्लिफ’ बाट उनलाई ‘बन्जी मास्टर’ भई सम्पूर्ण जिम्मा लिन र अन्य ‘बन्जी क्रु’लाई तालिम प्रदान गर्ने प्रस्ताव आयो ।

विश्वकै लामो स्विङ तथा विश्वकै दोस्रो अग्लो तथा एसियाकै सबैभन्दा अग्लो बन्जीस्थल निर्माण हुन लागेकाले पनि उनले त्यो प्रस्ताव स्वीकार गरे । त्यसमाथि पनि आफ्नै चेला राजु कार्की अध्यक्ष भएको संस्थाको प्रस्ताव उनले नकार्न सकेनन् ।

'द क्लिफ'मार्फत कुस्मा र बागलुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल निर्माणका क्रममा पनि उनी सहभागी भए । निर्माणसम्पन्न भए पनि कोरोना महामारीका कारण ‘द क्लिफ’ ले आफ्नो व्यापार सुरु गर्न सकेन । तीन महिनासम्म मात्र काम गर्ने डोरी र रबरहरू फेरि विदेशबाट मगाउनुपर्ने भयो । करिब ६ महिनापछि सुरक्षाका सबै मापदण्ड पालना गरेर 'द क्लिफ' सञ्चालनमा आयो । त्यसपछि प्रधान पुरानै लयमा फर्किए ।

अहिले उनी कुस्मा र बागलुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा जम्प गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बन्जी र स्विङ गराउँछन् ।‘कोड वर्ड’मा सहकर्मीहरूसँग जम्पर्सको सुरक्षा–साधनबारे जानकारी लिन्छन् ।अनि सबै कुरा ठीक भएको पहिचान गरेर मात्र जम्पर्सलाई फाल हाल्न लगाउँछन् ।

काठमाडौं कालिमाटीका बासिन्दा प्रधानलाई सन् १९९९ सम्म बन्जी र स्विङको ज्ञान पनि थिएन । हिमालयन विद्या मन्दिरबाट एसएलसी दिएका उनले पिपल्स क्याम्पसबाट बीकम गरे । त्यसपछि स्नातक तहको बीचमै साथीहरूसँग अमेरिका जाने निर्णय गरे तर अमेरिकी दूतावासले भिसा नदिएपछि उनी स्वदेशमै बसे । साथीहरू भने अमेरिका गए । नेपालमा त्यतिबेला र्‍याफ्टिङ निकै प्रचलित थियो ।

उनी घरनजिकैका साथीहरूसँग रमाइलोका लागि ‘द लास्ट रिसोर्ट’को रिवर साइड रिसोर्टमा काम गर्न जाने निर्णय गरे । उनलाई त्यहाँ र्‍याफ्टिङको काम गर्न रमाइलो लागिरहेको थियो । यसैबीच द लास्ट रिसोर्टले नेपालमा पहिलोपटक बन्जीस्थल खोल्यो । त्यति बेला मुस्किलले १०–१५ जना विदेशी बन्जी गर्न आउँथे । त्यो संख्या पनि उनलाई धेरै लाग्थ्यो । विदेशी बन्जी मास्टरले जम्प गराएको देख्दा उनलाई अचम्म लाग्थ्यो ।

ती मास्टरहरू उनी काम गर्ने ‘रिभर साइड’ रिसोर्टमा ‘लन्च’का लागि आउँथे । त्यही क्रममा द लास्ट रिसोर्टका विदेशी संस्थापक डेभिड अल्लार्दिसले उनलाई सोधे, ‘बन्जी गराउन सक्छौ ?’ पहिले त उनी आत्तिए र सक्दिनँ भने । पछि रिसोर्ट मात्र हेर्ने बहानामा उनी त्यहाँ आबद्ध भए । उनलाई त्यहाँको माहोल रमाइलो लाग्न थाल्यो । ‘त्यतिबेला नेपालीहरूको तुलनामा विदेशी धेरै आउँथे, नेपालीहरूलाई बन्जीका बारेमा ज्ञान थिएन र देख्नेहरू पनि डराउँथे,’ उनी सम्झिन्छन् ।

सन् २००० को दशकमा उनले स्विजरल्यान्डका जिगी सेगिलसँग बन्जी जम्प गराउन सिके । त्यतिबेला ३–३ महिनामा विदेशी जम्प मास्टरहरू त्यहाँ जम्प गराउन आउँथे । उनले ती विदेशी बन्जी मास्टरहरूसँग धेरै ज्ञान लिए । आफ्नो बन्जी करियरमा स्विजरल्यान्डका जिगी सेगिलको भूमिका अतुलनीय रहेको उनी सम्झिन्छन् ।

‘उनले मलाई सधैं सकारात्मक तरिकाबाट आत्मविश्वास दिए । २००६ मा कम्पनीलाई अब विदेशी बन्जी मास्टर चाहिँदैन, प्रकाशले नै बन्जी र स्विङ गराउन सक्छन् भनेर मलाई बन्जी मास्टरको पद छोडेर गए,’ उनी भन्छन् ।

त्यो समयमा हरेक वर्ष विदेशी जम्प मास्टरहरू प्रकाशले कसरी काम गरिरहेका छन् भनेर परीक्षा लिन आउँथे र प्रधानले आफ्नो नयाँ पेसामा दाग लाग्न दिएनन् । उनले बिस्तारै अरू नेपाली ‘बन्जी क्रु’ हरूपनि तालिम दिँदै गए ।त्यतिबेला उनी र नेपालको अर्का पुरानो बन्जी मास्टर शैलेश चौधरी मात्र काम गर्थे ।

यसरी हरेक दिन १९ वर्षसम्म उनले नयाँ र पुराना अनुहारहरूलाई बन्जी र स्विङ गराउनमा खर्चिए । २०१८ मा द लास्ट रिसोर्टसँगको यात्रा बन्द गरी बन्जी मास्टरबाट अवकाश लिने निर्णयमा पुगे ।आफूलाई जिगी सेगिलले जिम्मा दिएजस्तै जस्तै गरी उनले पनि नयाँ पिढीलाई बन्जी मास्टरको जिम्मा सुम्पिदिए । उनले सिकाएका जुनिएर जम्प मास्टरहरूले अहिले द लास्ट रिसोर्टमा जम्प गराउँदै आएका छन् । यो सम्झिँदा उनी खुसी व्यक्त गर्छन् ।

नेपालमा साहसिक पर्यटनको क्षेत्र निकै ठूलो भएको विश्वास लिएका प्रधान त्यसपछि द क्लिफमा आबद्ध भएका छन् । यहाँ उनको टिममा नयाँ–पुराना दुवै अनुहार छन् । उनले बिहानै उठेर डोरीहरू हेर्नपर्छ । सबै ठीक छ कि छैन भनेर बिहानपख ‘क्रु’कै एकजनाले जम्प गर्नुपर्ने हुन्छ । जम्परहरूको सुरक्षा नै सबैभन्दा ठुलो कुरा हो । एउटा आशंकित मानिसलाई उसको मानसिकता बुझेर जम्प गराउने र माथि तानेपछि उनीहरूको मुहारमा आउने खुसी र हाँसोलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् प्रधान ।

पर्वतको कुस्मामा भखरै सुरु भएको द क्लिफमा पुग्नेहरू उनलाई पहिले द लास्ट रिसोर्टबाटै चिनेको बताउँछन् । काठमाडौंकी दिव्याले पनि पहिलोपटक प्रकाश प्रधानकै संयोजनमा द लास्ट रिसोर्टबाट बन्जी जम्प गरेकी थिइन् ।अहिले पर्वतको कुस्मामा विश्वकै अग्लो स्विङ पनि प्रकाशकै संयोजनमा गरेको उनी बताउँछिन् । भन्छिन्, ‘प्रकाश दाइ एकदमै मिलनसार र काममा निकै लगनशील हुनुहुन्छ, उहाँमार्फत जम्प गर्न पाउँदा आफूलाई निकै सुरक्षित अनुभव हुन्छ ।’

त्यसो त बन्जी मास्टरहरू शारीरिक र मानसिक दुवैमा रूपमा सबल हुनुपर्ने प्रधानको बुझाइ छ । हरेक कुरा ठीक ठाउँमा छ कि छैन, जम्परहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझिरहनुपर्छ । जम्पर्सहरूको शारीरिक बनावटका आधारमा डोरी र हार्नेस तयार गर्नुपर्ने हुन्छ । उनले भने, ‘यदि जम्प मास्टरहरू मानसिक चिन्ताबाट गुज्रिरहेका छन् भने राम्रो जम्प हुन सक्दैन र टिममा तालमेल हुँदैन, त्यसकारण पनि जम्प गराउने समूह चनाखो हुन जरुरी छ ।’

प्रधानका अनुसार उनीहरूले न्युजिल्यान्डको बन्जी आचारसंहिता पालना गर्दै आएका छन् । डोरी र रबरहरू विशेष खालको प्रयोग गर्छन् जुन बाहिरबाटै मगाउनुपर्छ । यी डोरी र रबरपनि पनि तीन महिनाको अन्तरालमा परिवर्तन गर्नुपर्ने हुन्छ । यी सबै सुरक्षा र विदेशी मापदण्ड पालना गरेर जम्प गराइने भएका कारण पनि बन्जी र स्विङ ९९ प्रतिशत सुरक्षित रहेको बुझाइ प्रधानको छ ।

एउटा बन्जी गराउन तीनदेखि चार‘क्रु’ परिचालित हुन्छन् । यसमा हार्नेस अपरेटर, जुनियर जम्प अपरेटर,सहायक बन्जी मास्टर र बन्जी मास्टर आबद्ध हुन्छन् । सुरुवाती दिनमा ‘क्रु’हरूलाई हार्नेस गर्न सिकाइन्छ । हार्नेस अपरेटरहरूको ६ महिनाको परीक्षण अवधिपछि जुनिएर जम्प अपरेटरमा पदोन्नति गरिन्छ । समयावधिसँगै सहायक बन्जी मास्टर र बन्जी मास्टरसम्म यात्रा तय हुन्छ । बन्जी मास्टरसम्मको यात्रा अलि कठिन छ । बन्जी मास्टर हुनलागि एकजनाले २ हजारपटक जम्प गराउनुपर्ने हुन्छ । त्यससँगै उनीहरूले गराउने जम्पको सुरक्षा मापन गरिन्छ । सुरक्षासम्बन्धी परीक्षा उत्तीर्ण गरेपछि मात्र उनीहरूलाई बन्जी मास्टर बनाइन्छ । सुरक्षाका माध्यमबाहेक ‘बन्जी क्रु’मा एकआपसमा तालमेल पनि उत्तिकै आवश्यक पर्छ । आफूले काम सम्पन्न गरिसकेपछि सबै जना ठूलो स्वरले काम सम्पन्न भएको जानकारी गराउँछन् । बन्जी मास्टरले यी सबै गतिविधि नियालेर बस्छन् र जम्प गर्न संकेत दिन्छन् । बन्जी मास्टरको संकेतबिना कसैले पनि जम्प गर्न पाउँदैन ।

प्रधानले सन् १९९९ मा सुरु गर्दाको पेसा र अहिले निकै फरक पाएका छन् । हातको औँलामा गन्न मिल्ने ‘बन्जी क्रु’हरू नेपालमा कार्यरत छन् । बिस्तारै नेपालमा बन्जी साइटहरू खुल्न थालेको र विदेशीको तुलनामा नेपाली पर्यटक यसमा आकर्षित भएको देख्दा उनी खुसी व्यक्त गर्छन् । यससँगै काम सिक्न आउने नयाँ अनुहार पनि बढ्दै गएको उनी सुनाउँछन् ।साहसिक पर्यटनको स्रोत पत्ता लगाई यहीँ यस्ता साहसिक खेलहरूको प्रवर्धन गर्न सके भविष्यमा नेपाललाई विश्वसामु चिनाउन सकिने बुझाइ उनको छ । आफ्नो जीवनको १९ वर्ष बन्जीमा खर्चिएका प्रधान आउँदा दिनमा पनि यही काम गर्ने इच्छा राख्छन् । उनको जोस र परिश्रममा कुनै कमी आएको छैन ।

प्रकाशित : पुस १५, २०७७ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×