काठमाडौँ — पुस ९ : नेकपा विभाजन भएको तेस्रो दिन रामबहादुर थापा प्रष्टरुपमा खुले र केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भए । त्यहाँ उनले भने, ‘नेकपाबाट एउटा गुट अलग भएको छ । प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन् । जनता दुखित भएका छन् । प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ । उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ । हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्नेछौं ।’
असार १७ : झम्सिखेलमा नेकपाको ओलीविरोधी समूहको भेलामा थापा सहभागी थिए । भेलामा थापाले सरकार र पार्टी नेतृत्वबाट ओलीलाई नहटाए देशमा प्रतिक्रान्ति हुने सुनाएका थिए । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा थापा सरकार बचाउने वा गिराउने कुन पक्षमा लाग्छन् भन्ने चासो भइरहेका बेला झम्सिखेल भेलामा सहभागी भएर उनले अब ओलीबाट देश र पार्टी चल्न नसक्ने निष्कर्ष नै सुनाएका थिए । थापाले भनेका थिए–‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन र उपलब्धि जोगाउन अहिलेको सरकारको नेतृत्वबाट सम्भव छैन अब बदल्नुपर्छ । अहिले प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको लडाइँ चलेको छ । त्यसैले पार्टी र सरकारमा नयाँ नेतृत्व ल्याउनुपर्छ ।’
करिब ६ महिनाको अन्तरमा गृहमन्त्रीसमेत रहेका थापाका यी परस्पर अभिव्यक्तिले उनले आकलन गरेको राजनीतिक परिस्थिति मात्रै होइन, उनको अस्थिर मनस्थितिको पनि तस्वीर देखाउँछ । निकै ठूलो शक्ति संघर्षबाट गुज्रेको नेकपा पुस ६ सम्म आउँदा विभाजनमा पुग्यो । कम बोल्ने स्वभावका थापा आफ्ना पूर्व सहकर्मी सबैलाई दाहाल–नेपालको जिम्मा लगाएर एक्लै ओली समूहमा गए । पार्टी विभाजनको तीन दिनसम्म कहिले बालुवाटार त कहिले खुमलटारको समूहसँग पटक–पटक संवाद गरेका थापाले अन्तत: ओलीले छेडेको युद्धको सिपाही भएर मैदानमा उत्रने निर्णय लिए ।
थापाको यो कदमलाई लिएर उनलाई नजिकबाट बुझ्नेहरुका विभिन्नखालका अड्कलबाजी छन् । उनीहरु मध्येका केहीको बुझाई छ– थापाको ओलीसँगको सहकार्य संसद पुनस्थापना हुँदैन भन्ने सन्देश हो । थापासँग लामोसमय काम गरेका नेकपा (दाहाल–नेपाल) का स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘संसद पुनस्थापना हुन्छ भन्ने लागेको भएको भए थापाले सम्भवत: ओलीको साथ दिँदैनथे । संसद पुनस्थापना नहुँदा आफूहरुको कदम संवैधानिक थियो भन्ने राजनीतिक आधार बन्न सक्ने थापाको आकलन देखिन्छ ।’ यो मुद्दा सर्वोच्च अदालतमा छ ।
थापानिकट मानिने तर अहिले नेकपाको दाहाल–नेपाल समूहमा रहेका एक केन्द्रीय सदस्यले थापाले ओलीसँग सहकार्यको हात बढाएर बैशाखमा चुनाव हुँदैन भन्ने संकेत गरेको विश्लेषण सुनाए । कसरी ? उनले भने, ‘थापाको अहिलेको कदम राजनीतिक रुपमा स्वभाविक र प्राकृतिक देखिँदैन । आफ्ना सहकर्मी सबैले असहयोग गर्दा पनि उनी ओलीसँग सहकार्यको तहमा पुगे । थापा बैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्क छन् ।’ राष्ट्रियसभा सदस्य रहेकाले थापाका लागि प्रतिनिधि सभाको चुनावको अन्य नेताहरुलाई जति महत्वपूर्ण छैन ।
नेकपाकै दाहाल–नेपालसमूहका अर्का एक सदस्यले राजनीतिक–वैचारिकरुपमा विचलित भएर थापाले पदकै लागि ओलीसँग सहकार्य गरेको विश्लेषण गरे । उनले भने, ‘सरकार गठन भएको तीन बर्ष भयो । ओली मन्त्रिपरिषद्मा उनी शक्तिशाली मन्त्री बने । अहिले गृहमन्त्रीको पदलाई सुरक्षित गर्न ओलीसँग नजिक भए । र, यसमा गृहमन्त्री चार महिनामात्रै होइन लामो समय बसिन्छ भन्ने थापाको बुझाई छ । संसद पनि पुनस्थापना नहुने र बैशाखमा चुनाव पनि नहुने हो भने थापाको कार्यकाल लम्बिन सक्छ ।’ गृहमन्त्रीका रुपमा अहिलेसम्म थापाको कार्यकाल औसत छ । उनका कार्यकालमा निर्मला पन्त बलात्कार र हत्यालगायतका केही गम्भीर अपराध अनुसन्धान निष्कर्षमा पुगेका छैनन् ।
हाल थापासँगै रहेका ओली नेकपाका एक केन्द्रीय सदस्यको बुझाईमा थापाले दाहाल–नेपालतिर भन्दा ओलीतिर राजनीतिक सम्भावना देखे । कसरी ? उनले विश्लेषण सुनाए, ‘वामदेव गौतम दाहाल–नेपाल समूहमा सहभागी नभए थापाको वरियता पाँचौ हुने थियो र गौतम सहभागी हुँदा छैठौँ । यदि गौतम नखुल्दै थापा दाहाल–नेपाल समूहमा जोडिएको भए उनी दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठपछि पाँचौ वरियतामा हुन्थे । तर, थापाले ओलीलाई समर्थन गरेर हाल दोस्रो वरियता सुरक्षित गरेका छन् । यद्यपि गौतम ओली खेमामा गए भने थापा तेस्रो वरियतामा हुनेछन् । ओली समूहको दोस्रो नेता हुन छाडेर थापाले अर्को समूहमा पाचौँ वा छैठौँ वरीयता रोज्न तयार भएनन् ।’
दाहाललाई फेरि धोका !
२०२८ सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएका दाहाल र र २०३७ देखि पार्टी सदस्यता लिएर पूर्णकालीन भएका थापाबीच निकै घनिष्ट सम्बन्ध रहेको इतिहास छ । तर, नेकपा विभाजनसँगै फेरि एकपटक पुराना मित्र दाहाल र थापाको मन पनि विभाजित भएको छ ।
दाहाल र थापाबीच सम्बन्धको लामो इतिहास छ । उनीहरु कहिले धेरै नजिक भएका छन् त कहिले टाढा । दुवै विज्ञान विषय पढेका र एउटै उद्देश्य राखेर राजनीतिमा पनि होमिएका थिए । तर, सम्बन्ध भने उतारचढावपूर्ण रह्यो । ०३५/०३६ सालतिर उनीहरुबीच गजबको मित्रता थियो । तर, माओवादीको शसस्त्र युद्ध सुरु भएदेखि नै दाहाल र थापाबीच कहिले राजनीतिक त कहिले सांगठनिक विवाद भएको इतिहास छ । २०५३ को माघमा त दाहालले थापामाथि ‘अराजकता’ निम्ति ‘अनुशासनात्मक कारबाही’ गरेका थिए । त्यसबेला थापालाई ‘लिनप्याओवादउन्मुख प्रवृत्ति’को आरोप थियो । २०६२ को चुनवाङ बैठकमा मात्रै थापामाथिको ‘लिनप्याओवाद’को आरोप खारेज भयो । चुनवाङ बैठकमा थापाले रुँदै रुँदै मन्तव्य राखेका थिए ।
२०६९ मा दाहालसँग अलग भएर मोहन वैद्यको साथ लागेका थापा २०७३ जेठमा दाहालसँगै सहकार्य गर्न फर्केका थिए । २०७३ बैशाख २८ गते पार्टी एकताका लागि १३ बुँदे साझा सहमतिको मस्यौदा तयार बनाएपछि दाहाल–थापा एकै ठाउँ हुने अवस्था पुगेको थियो । त्यसैअनुसार उनीहरुबीच २०७३ जेठ ६ गते एकता अधिवेशन आव्हान भयो । पार्टी एकता भई नेकपा (माओवादी केन्द्र) बन्यो ।
त्यही माओवादी केन्द्रपछि तत्कालीन एमालेसँग एकता भएको थियो । एमाले र माओवादीबीचको एकता भई बनेको नेकपा विभाजन भएपछि थापा ओलीतिर लागे । त्यसबेला बादलसँगै एकतामा आएका मणि थापाले पनि ओलीलाई साथ दिएका छन् । एमालेसँगको एकतामा रामबहादुर थापा नेकपाको नौ सदस्यीय सचिवालयमा परेका थिए ।
थापा २०७४ को संघीय चुनावमा चितवनबाट प्रत्यक्ष लड्न चाहेका थिए । तर, तत्कालीन वामगठबन्धनको टिकट वितरणमा दाहाल र थापा एउटै जिल्लामा चुनाव लड्न सम्भव नभएपछि राष्ट्रियसभा गएका थिए । यसले दाहाल–थापाबीच केही मनमुटाव बनेको थियो । तर, दोस्रो संविधानसभामा भने वैद्य–थापाले दाहाल नेतृत्वको माओवादीलाई हराउन भूमिका खेलेको आरोप थियो । थापा आफैंले पनि सांकेतिक मतपेटिकालाई रत्नपार्कमा घनले हानेका थिए । अहिले भने उनी चुनावका पक्षपाती भएर निस्केका छन् ।
तत्कालीन एकीकृत माओवादीको मोहन वैद्यको समूहले २०६९ असार २ देखि ४ सम्म बौद्धमा राष्ट्रिय भेला गरी ५ असारमा नेकपा–माओवादी पार्टी घोषणा गरेको थियो । रामबहादुर थापा, देव गुरुङ, सिपी गजुरेल, पम्फा भूसाललगायतका नेताहरूलाई साथमा लिएर वैद्यले पार्टी गठन गरेका थिए ।
माओवादीको मूल नेतृत्व नवसंशोधनवादी भएको आरोप लगाउँदै वैद्य र थापा अलग भएका थिए । शान्ति प्रक्रियापछि पार्टीमा दाहालको वर्चश्व थापाले मन पराएका थिएनन् । धोविघाट मोर्चामा थापाले वैद्य र बाबुराम भट्टराईलाई साथ दिएका थिए ।
भारतीय लाहुरे कर्णबहादुरका छोरा थापा र सामान्य किसान परिवारमा कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल राजनीतिमा समकक्षीजस्तै हुन् । हिजोसम्म थापाका लागि दाहाल कमान्डर बने । तर, आज थापाका कमान्डर ओली भएका छन् । दाहाल र वैद्यलाई जस्तै थापाले ढिलोचाँडो ओलीको पनि साथ छोड्छन् कि ओली–थापा सम्बन्ध उदारणीय बन्छ, यसको परिणाम केही समयपछि देखिने छ ।
प्रकाशित : पुस ९, २०७७ १९:३४