१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

०१७ साल भाग-३ !

सर्जकले जनहितमा काम गर्न सरकारलाई सधैं खबरदारी गरिरहने बताएका कवि पराजुली भन्छन्– कहीं दुई तिहाइको बहुमत प्राप्त सरकारले प्रतिनिधिसभा भंग गर्छ ?
जनकराज सापकोटा

काठमाडौँ — प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाजस्ता घटनाक्रमको विकास हुनुभन्दा चार दिनअघि कवि अर्जुन पराजुलीले धर्के कापीमा सफा अक्षरमा लेखिएको कविता फेसबुकमा पोस्ट गरे ।

०१७ साल भाग-३ !

दोस्रो जनआन्दोलनताका सडकमा शक्तिशाली कविता वाचन गर्ने र नागरिकलाई लोकतन्त्रका निम्ति उत्प्रेरित गर्ने कविले लेखेका थिए–

जंगबहादुर हुनुहुँदो रहेछ तपाईं

जुँगा उखेल्नुभो हजुरले जुगको

थुकौं भने पनि तपाईंलाई

अपमान हुनेभो मेरो थुकको ।

पराजुलीको यस्तो कविता फेसबुकबाट अन्य ट्वीटर, इन्स्टा र टिकटकजस्ता अन्य सामाजिक सञ्जालमा पनि फैलियो । यसैको चार दिनपछि दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विग्रह सुल्झाउनुको साटो निर्वाचित संसद् विघटन गरेर राजनीतिको नयाँ कोर्स समाते । पछिल्ला राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका कवि पराजुलीलाई शासकहरूले यसरी लोकतन्त्रकै मर्ममाथि ठाडो प्रहार हुने कदमहरू चालेको देख्दा मान्छेले राज्य चलाउँछन् भनेको हैन रहेछ कि क्या हो भनेजस्तो महसुस भएको छ ।

त्यसो त राजनीतिको बिग्रँदो स्वरूप र यसले लोकतन्त्रको मर्म कुल्चिरहेको देखेर उनले हरेक दिनजसो लामा–छोटा कविता लेखिरहेकै छन् । ती प्रत्येक कविताको भावमा दलका नेताहरूको संकीर्ण राजनीतिक चेहरा, गुटका झगडा र त्यसबाट लोकतन्त्रको मर्ममाथि भइरहेको प्रहारलाई बुझाउँछ । कवि पराजुलीलाई पछिल्ला दिनहरूमा आफूले लेखेकामध्ये ‘जंगबहादुर हुनुहुँदो रहेछ तपाईं’ कविता नै अरूभन्दा बलियो लागिरहेको छ । उनले रोष पोख्दै भने, ‘मान्छेले त यतिसम्म गर्दैनन् नि । आफ्नो सपना पूरा गर्न सहिदका सपना झुन्ड्याउन पाइन्छ ?’

पछिल्लो राजनीतिक घटनाक्रमलाई युगकै कलंकका रूपमा आएको भन्दै उनले दुई तिहाइ बहुमतको अनादर गर्ने कदमलाई घृणा गर्ने कुनै बिम्ब नै आफूले नपाएको बताए । ‘यसलाई पुग्ने गरी भन्ने कुनै शब्द भेटेको छैन,’ उनले भने ।

नेपाली राजनीतिक इतिहासमा जनताको मतको घोर अपमान हुने राजनीतिक कदम चालिएका घटनाहरू यसअघि पनि नभएका होइनन् । कवि पराजुलीले पछिल्लो राजनीतिक कदमलाई भने २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले पञ्चायत लादेको समयसँग तुलना गरेका छन् । उनले सोमबार दुई लाइनको अर्को कविता लेखेर फेसबुकमा पोस्ट गरे । जसमा छ–

चुनाव त अब अठहत्तर सालमा हुन्छ महोदय

गन्नोस् कति वर्ष बाँकी छ, हिजोमात्रै सत्र साल आयो ।

जनताले लोकतन्त्रको संवर्द्धन गर्न भनेर दिएको मतको अपमान हुने गरी चालिएको पछिल्लो कदमलाई उनले सत्र साल भाग–३ को नाम दिएका छन् । उनले सुनाए, ‘यो चुनाव गर्ने नियतले चालिएको कदम नै हैन । कहीं दुई तिहाइको बहुमत प्राप्त सरकारले संसद् भंग गर्छ ?’ तोकिएको मितिमा चुनाव पनि नहुने र हुर्किंदै गरेको गणतन्त्र पनि मास्ने गरी राजनीतिक कदम चालिएकाले उनले सत्र साल दोहोरिएको बताएका हुन् । उनले भने, ‘छँदाखाँदाको संसद् विघटन गर्ने यो कदम राजा महेन्द्र र ज्ञानेन्द्रको भन्दा निरंकुश काम हो । त्योभन्दा ठूलो अपराध हो ।’

समय फेसबुक र टिकटकको हो र मानिसहरू लामो कुरा पढ्न, लामो कुरा हेर्न फुर्सदिला छैनन् भन्ने बुझेका कविले व्यवस्थाविरुद्ध जाने गरी चालिएको पछिल्लो कदमले आफूलाई बेचैन बनाएको र त्यसैबाट छोटा–छोटा कविता जन्मिएको बताए । उनले भने, ‘दुई पानामा भन्न नसकिने कुरा दुई लाइनमै भन्न सकिन्छ भने किन लामो लेख्नु ?’

संविधानको कुन धाराअन्तर्गत पछिल्लो कदम चालिएको हो भनेर भन्न नसकिएको भन्दै उनले यो राजनीतिक अपराध भएको र सरकारी पैसा खाएका बाहेकले यो कदमलाई ठीक नभन्ने बताए । उनले पार्टीभित्रै पनि यस्तो कदमको पक्षमा मानिसहरू नरहेको बताए । जनताको बलमा स्थापित गणतन्त्रलाई निर्वाचित सरकारले हत्या गरेको बताउँदै उनले अरूले भन्न नसक्ने कुरालाई आफूले कवितामार्फत भनेको बताए । हामीले बाहिरबाट हेरेजस्तो हल्का तरिकाले मात्रै यो कदम नचालिएको र अब झनै गलत राजनीतिक कदमहरू चालिन सक्ने अनुमान उनले सुनाए । उनले अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्रको कुनचाहिँ जुलुसमा हिँडेका थिए, कहिले, कहाँ, के भाषण गरेका थिए भनेर पनि हेर्न सुझाए ।

गणतन्त्रप्रति माया नै नभएकाहरूको हातमा सत्ता पुगेको र उनीहरूले काखमा राखेर गणतन्त्रको हत्या गरेको बुझाइ आफ्नो रहेको उनले बताए । ‘गणतन्त्रवादीले यो हदसम्मको कदम चाल्नै सक्दैन,’ उनले भने ।कवि पराजुलीले प्रत्येक दिन विकसित राजनीति घटनाक्रम र त्यसले पक्रिरहेको बाटो देख्दा आफूलाई दुःखमात्रै लाग्ने गरेको सुनाए । मंगलबार बिहान त सिंगो सहर नउठ्दै उनी ३ बजे नै ब्युँझिएका थिए । त्यतिबेला पनि मनमा कुरा खेलिरहेको थियो । नजिकै रहेको कापी ताने र लेखे–

लगौटी लगायौं हामीले तिम्रो संविधान

अब लुगा लगाउनुपर्छ भन्ने कर छैन

पेसा राम्रो प्रतिगमन हो

अरू पेसाको भर छैन ।

केही घण्टापछि उनले यो कविताको पनि फोटो खिचे र फेसबुकमा पोस्ट गरे । उनले गणतान्त्रिक व्यवस्थामा भन्दा पनि यसलाई सम्हाल्नेहरूमा समस्या रहेको प्रस्ट्याए । भने, ‘हामीले राम्रो घर बनायौं । तर घर मालिकले घरमा आगो लगाइदियो भने हामीले घडेरीलाई दोष दिन मिल्छ र ?’ उनले योभन्दा उत्तम व्यवस्था अरू हुन नसक्ने तर नीति, नियम, कानुन र संविधान केही पनि नमान्ने शैलीले समस्या निम्तिएको बताए ।

बोल्न नसक्नेहरूको बोली आफूले बोलिदिनुपर्नेछ भन्ने भाव रहेको र जुनसुकै सरकार आए पनि आफू सरकारविरोधी हुने उनले बताए । किन ? उनले अर्थ्याए, ‘किनकि सरकारले जनताको हित गर्ने गरी काम गर्दो रहेनछ ।’

समृद्धि ल्याउँछु भन्ने वाचा गरेको सरकारसँग उखु किसानहरूले काठमाडौंसम्म धाएर आफ्ना हिसाब मागिरहेको देखेर नै उनको कवि मन उद्वेलित भएको थियो । गत शुक्रबार उनले दुई लाइनको कविता लेखेका थिए–

विश्वमा एउटा यस्तो पनि ठाउँ छ

जहाँ उखु पेल्दा रस आउँदैन आँसु आउँछ ।

पछिल्लो राजनीतिक कदमले जनजीविकाका यावत् समस्याहरू छायामा परेको बताउँदै उनले समस्याको झनै ठूलो बुल्डोजरले जनताका समस्याहरूलाई किचिदिएको बताए । उनले भने, ‘अबका दिनमा हाम्रो समस्याको गुणन हुने भए घटाउ हुने भएन ।’

प्रकाशित : पुस ८, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?