मियाहारा जसले खुम्बुमा पर्यटन क्रान्ति गरे- फिचर - कान्तिपुर समाचार

मियाहारा जसले खुम्बुमा पर्यटन क्रान्ति गरे

स्थानीय महिलाको आय होस भन्ने हेतुले मियाहाराले धेरै समयसम्म पानी तान्ने मेसिन होटलमा जडान गरेनन । खुम्जुङ गाँउबाट पानी बोकाएर आगन्तुकलाई दिए । खुम्जुङमा पर्यटकीय चहलपहल बढेर स्थानीयका अन्य आम्दानीका स्रोत फेला परेपछि मात्रै पानी बोक्ने चलन होटल एभरेस्टमा बन्द भयो ।
विराट अनुपम

लोकसेवा तयारी कक्षा र विभिन्न हाजिरीजवाफ कार्यक्रममा प्रायः सोधिने प्रश्न होः विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? प्रश्नको उत्तर होः होटल एभरेस्ट भ्यू, नेपाल । 

सगरमाथालगायतका हिमालचुलीहरु आँखै अगाडि उभिएको देख्न सकिने सोलुखुम्बुको यो होटललाइ गिनिज बुक अफ वर्ल्ड रेकर्डले समेत सूचीकृत गरेको छ । सन् २००४ मा समुद्र सतहबाट सबैभन्दा अग्लो स्थानमा रहेको होटल भनेर एभरेस्ट होटल सूचीकृत भएको हो ।

नेपाल र नेपाली पर्यटनलाई हस्पिटालिटिको क्षेत्रबाट विश्व मानचित्रमा पुर्‍याउने होटल एभरेस्टका संस्थापक हुन् जापानी मेकानिकल इन्जिनियर ताकासी मियाहारा । गत वर्ष मंसिर ८ (नोभेम्बर २४)मा ८५ वर्षको उमेरमा क्यान्सरले ज्यान गुमाएका मियाहाराका पर्यटकीय योगदान भने दीर्घजीवी छन् ।

मुकुट हिमाल आरोहणपछिको नेपाल प्रेम

पेसाले मेकानिकल इन्जिनियर मियाहारा हिमाल आरोहणमा उत्तिकै पोख्न र सक्रिय थिए । उनी सन १९६२ को वसन्त ऋतुमा पश्चिम नेपालको सात हजार मिटर मुनिको मुकुट हिमाल आरोहण गर्न आए । आरोहण सफल भयो । आरोहण गरेर जापान फर्किएपछि उनको नेपाल मोह झनै बढेर गयो ।

चार वर्षपछि उनी पुनः नेपाल फर्किए । नेपाल फर्किएर उनी लघु तथा साना उद्योग विभागमा दुइ वर्षे करार जागिर मिलाएर बसे । तर, लघु तथा साना उद्योगको नेपालमा सम्भावना देखेनन् मियाराहाले । मियाहाराकी छोरी सोनिया भन्छिन, ‘सस्तो भारतीय आयातले लघु तथा साना उद्योगलाई समस्या परेको बुझेपछि बुबाले पर्यटनमै नेपालको सम्भावना देखेर त्यता काम थाल्नु भयो ।’

तेङ्बोचेमा कुकुरले टोकेपछि जन्मिएको होटल एभरेस्ट

सन १९६२ मा २८ वर्षको उमेरमा पहिलो पटक नेपाल आएका मियाहारा सगरमाथा क्षेत्रमा भने सन १९६८ को फेब्रुअरीमा मात्रै पुगे । एक जापानी साथीलाई हेलिकप्टर उद्धार गर्ने सिलसिलामा मियाहारा सगरमाथा क्षेत्रमा पुगेको छोरी सोनिया सुनाउँछिन् । आफ्ना साथी उद्धारका क्रममा सगरमाथा क्षेत्रको तेङ्बोचेमा पुगेका मियाहारालाई स्थनीय ‘भोटे कुकुर’ले टोक्यो । उनी उपचार गराउन सगरमाथाका दुई प्रथम आरोहीमध्येका एक एडमन्ड हिलारीले खुन्देमा खोलेको क्लिनिकमा पुगे । क्लिनिकमा उनलाई न्युजिल्यान्डबाटै आएका डाक्टर जोन म्याककिनोनले उपचार गरे ।

क्लिनिकमा कुकुरले टोकेको उपचार मात्रै भएन । त्यहाँको पर्यटकीय सम्भावनाको छलफल पनि भयो । मियाहाराले राम्रो होटल खोल्ने इच्छा व्यक्त गरे । डाक्टर म्याककिनोनले होटल खोल्ने उचित स्थान देखेको बताए । र, पत्ता लाग्यो एक सुन्दर ठाँउ । जहाँ अहिले उभिएको छ विश्वकै आइकोनिक होटल एभरेस्ट भ्यू ।

होटल एभरेस्ट सन १९६८ बाट सुरु भएर सन १९७१ मा निर्माण सम्पन्न भयो । मियाहाराले सन १९६८ मा खोलेको आफ्नो ट्राभल एजेन्सी ट्रान्स हिमालयन टुरको आधिकारिक वेबसाइटमा उल्लेख गरेअनुसार होटल बन्न २ लाख घन्टाको श्रम परेको छ । होटलका भित्ता उभ्याउन हातैले बनाएर २५ हजार सेता ढुंगाहरु प्रयोग भएका छन । १२ कोठे होटलका हरेक कोठाबाट सगरमाथा र आसपासका हिमाली शृंखलाहरु देखिन्छन । होटल बनाउँदा देखिएका ठूल–ठूला ढुंगाहरु फुटाइएन । बरु, जस्ताको त्यस्तै राखिएको छ ।

अझ रोचक कुरा त स्थानीय महिलाको आय होस भन्ने हेतुले मियाहाराले धेरै समयसम्म पानी तान्ने मेसिन होटलमा जडान गरेनन । खुम्जुङ गाँउबाट पानी बोकाएर आगन्तुकहरुलाई दिए । खुम्जुङमा पर्यटकीय चहलपहल बढेर स्थानीयका अन्य आम्दानीका स्रोत फेला परेपछि मात्रै पानी बोक्ने चलन होटल एभरेस्टमा बन्द भयो । मियाहाराले त्यो बेला होटल एभरेस्ट खोले जब सगरमाथा राष्ट्रिय निकुञ्ज स्थापना भएकै थिएन । निकुञ्जभन्दा आधा दशक जेठो हो होटल एभरेस्ट भ्यू । अहिले जस्तो खुम्बु क्षेत्रमा पर्याप्त होटलहरु पनि थिएनन् त्यो बेला ।

खुम्बुमा मियाहारा योगदान : स्याङ्बोचे विमानस्थलदेखि टनेल खेतीसम्म

मियाहाराले खुम्बु क्षेत्रमा होटल एभरेस्ट भ्यू मात्रै खोलेनन । उनले विश्वको सबैभन्दा अग्लोमध्ये गनिने स्याङ्बोचे हवाई मैदान बनाउने नेतृत्व लिए । तत्कालीन सरकारले पाँच लाख सहयोग गरेर जनश्रमदानबाट बनेको सोलुखुम्बुको सबैभन्दा अग्लो स्थानमा रहेको स्याङ्बोचे विमानस्थालको अवधारणा पनि उनैको हो ।

यति मात्रै होइन मियाहाराले हरियो तरकारी नफलाउने खुम्बुमा जापानबाट बिरुवा ल्याएर हरियो सागसब्जी उत्पादनमा समेत काम गरे । खुम्बु पासाङल्हामू गाँउपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार मियाहाराले टनेल बनाएर हरियो सागपात उत्पादन गर्न थालेपछि खुम्बु क्षेत्रमा सागपात स्थानीय रुपमै उत्पादन सुरु भएको बताए । यस्तै अधिकारीले खुम्बुमा काठका सुन्दर घर बनाउने अवधारणा पनि मियाहाराले नै सुरु गरेको बताए ।

मियाहाराको नेपाल मोह : पर्यटनदेखि राजनीतिसम्म

ट्रान्स हिमालय टुर सन १९६८ मा खोलेका मियाहाराले आइकोनिक होटल एभरेस्ट भ्यू सन १९७१ बाट सुरु गरे भने सन १९८७ मा होटल हिमालय चलाए । उनी आफ्ना जीवनको अन्तिम क्षमणमा पनि पोखराको सराङ्कोटमा बनेको होटल अन्नपूर्ण भ्यूको शुभारम्भपछिको खुसीयालीमा थिए ।

यसरी विभिन्न पर्यटन परियोजनामा जोडिएका मियाहारा नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्राउने पहिलो पुस्ताका उद्यमी पनि हुन् । सन १९८७ मा होटल हिमालयमा लगानी गर्ने जापानी रियल स्टेट कम्पनी मित्सुई फुदोसान नेपालमा लगानी गर्ने पहिलो गैरभारतीय विदेशी कम्पनी हो ।

नेपालमा निरन्तर बसाइको चार दशकपछि मियाहाराले नेपाली नागरिकता लिए । नेपालस्थित जापानी दूतावासको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार उनले सन २००५ मा नेपाली नागरिकता लिए । नेपाली नागरिकता लिएको अर्को वर्षमै उनले नयाँ नेपाली राजनीतिक दल खोले । सन २००६ मा नेपाल राष्ट्रिय विकास पार्टी खोलेका मियाहाराका विकासे एजेन्डाहरु अत्यन्तै लोभलाग्दा थिए ।

जापानको टोक्योमा रहेको निहोन विश्वविद्यालयका स्नातक इन्जिनियर मियाहाराले नेपाली राजनीतिक एजेन्डाको आफ्नै नक्सा कारेका थिए । जसमा काठमाडौंको जनघनत्व धेरै भएकोले राजधानी चितवन सार्नुपर्ने, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण सुरुङसहितका दु्रत मार्ग र पर्यटकीय पाहाडहरुमा केबलकार बनाउनुपर्ने जस्ता आकर्षक मुद्दा थिए मियाहाराका । पहिलो संविधानसभामा एक सिट पनि जित्न नसकेका मियाहारले आफ्ना अन्तर्वार्ताहरुमा पार्टीले नजिते पनि आफ्ना एजेन्डाहरु जुनसुकै दलले पूरा गरे पनि खुसी हुने बताउँदै आएका थिए ।

सगरमाथाको काखमा अन्त्येष्टिको इच्छा पूरा

नेपालमा आएर विभिन्न सपनाहरु सजाएका थिए मियाहाराले । उनका केही सपनाहरु अधुरा रहे । जस्तो सगरमाथा चढ्ने उनले सपना अधुरो रह्यो । उनी सन १९९५ मा सगरमाथाको चुचुरोमा भन्दा ५० मिटर मुनिबाटै हिँउले आँखा बन्द (स्नो ब्लाइन्ड) भएर फर्किन बाध्य भए । राष्ट्रिय विकास पार्टीलाई नेपालको मूलधारको पार्टीको रुपमा स्थापना गरेर नेपाली पूर्वाधार क्षेत्रमा क्रान्ति ल्याउने उनको सपना पनि पूरा भएन । तर, नेपाली नागरिक हुने र मरेपछि सगरमाथाकै काखमा आफ्नो अत्येष्टि होस् भन्ने मियाहाराको सपना भने साकार भयो ।

२०१९ को मार्चमा कामको सिलसिलामा जापान पुगेका थिए मियाहारा । अप्रिलमा स्वाथ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएपछि उनलाई पेटको क्यान्सर देखियो । त्यसअगाडि नै उनको मुटु र किड्नीमा समस्या थिए । क्यान्सरको उपचारपछि मियाहारा सन २०१९ को अक्टोबर ११ (असोज २४) मा नेपाल आए । नेपाल आएको करिब डेढ महिनापछि नोभेम्बर २४ (मंसिर ८) मा उनको मृत्यु भयो । मृत्यु भएको तीन दिनपछि अक्टोबर २७ (मंसिर ११) मा मियाहाराको अत्येष्टि स्याङ्बोचेमा भयो । उनको चाहनाअनुसार खुम्जुङमा लामाहरुले पढेको मन्त्रहरुसँगै उनको अन्येष्टि भयो ।

दशकौं नेपाली पर्यटन क्षेत्रमा योगदान गरेका मियाहाराको अत्यसँगै अहिले उनको व्यावसायिक नेतृत्व उनकी छोरी सोनियाले सम्हालेकी छिन् । अमेरिका तथा बेलायती विश्वविद्यालयमा अध्ययन गरेकी सोनिया बुबाको ‘लिगेसी’ पछ्याउँदै छिन् । जापान तथा सिंगापुरको लोभलाग्दो जागिर छाडेर नेपाल आएकी सोनिया भन्छिन्, ‘बाबाले जस्तै नेपाली पर्यटन क्षेत्रमा मैले योगदान पुर्याउन सकुँला नसकँुला त्यो त थाहा छैन । बाबाले बनाएको बाटोलाई भने निरन्तरता दिनेछु ।’

प्रकाशित : मंसिर २६, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

भीसी लिम्बु : गोर्खा सैनिकका जीवित इतिहास

विराट अनुपम

सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा नेपालका गोर्खाली सैनिकहरुले देखाएको वीरताको विश्वभर प्रसंशा भयो । तत्कालीन गोर्खा अफिसर सर राल्प टर्नरले गरेको प्रसंशा भने अहिलेसम्म चर्चित छ । उनले गोर्खाहरुको प्रसंशा गर्दै भनेका थिए, ‘वीरहरुका पनि वीर, उदारहरुका पनि उदार, तपाईंहरु भन्दा विश्वसनीय मित्रहरु भएको कुनै देश देखेको छैन ।’

टर्नरले दिएको वीरहरुका पनि वीर भन्ने प्रसंशा जोगाउन हजारौं नेपाली गोर्खाहरुले बेलायती सेना भएर आफ्नो ज्यानको आहुति दिएका छन् । सन् २०१० मा लेखिएको एक बीबीसी फिचरका अनुसार पहिलो र दोश्रो विश्वयुद्धमा २ लाखभन्दा बढी गोर्खाहरु सहभागी थिए । सहभागीमध्ये ४३ हजारले ज्यान गुमाएका थिए । गोर्खा अधिकारको क्षेत्रमा काम गर्नेहरु भने योभन्दा ठूलो संख्यामा गोर्खाहरुको विश्वयुद्धमा ज्यान गएको दावी गर्छन् । पहिलो र दोस्रो विश्वयुद्धबाहेक पनि बेलायतले लडेका हङकङ, मलेसिया, साइप्रस, बोर्नेओ, फोकल्यान्ड, कोसोबो हुँदै इराक तथा अफगानिस्तानमा समेत गोर्खाहरुले लडेका छन्, ज्यान गुमाएका छन् ।

टर्नरले भनेको ‘वीरहरुका वीर’ गोर्खाहरुका पनि वीर ‘भिक्टोरिया क्रस’ नामक पदक पाउनेलाई मानिन्छ । २ सय वर्ष बढीको गोर्खा भर्तीको इतिहासमा अहिलेसम्म १३ जना गोर्खा सैनिकहरुले यो पदक पाएका छन् । जसमध्ये एकमात्र जीवित व्यक्ति हुन्, रामबहादुर बेघा लिम्बु ।

उनै लिम्बुसँग भेट जुर्‍यो गत वर्षको एक बिहानी । असी वर्ष उमेर कटेका र कान कम सुन्ने फुर्सदिला लिम्बुको समयसीमा भने अहिले पनि सैन्य जीवन जत्तिकै कडा छ । बिहान ९ बजे झापाको दमक ६ स्थित घरमा अन्तरवार्ता दिन बोलाएका लिम्बुसँग पाँच मिनेटमात्रै ढिलो पुग्दा उनी एकदम आक्रोशित देखिए । रिसाउँदै भने, ‘अब पत्रकारलाई नै समयको महत्व छैन भने अरुलाई के हुन्छ ?’ उनी यत्तिमै रोकिएनन्, ‘पाँच मिनेट भनेको सानो ढिलाइ हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव क्षेत्रसमेत रहेको दमकमा प्रधानमन्त्रीकै कार्यक्रमको समयमा पनि उनले आक्रोश पोखे । ‘अस्ति प्रधानमन्त्री आउने भनेर भनेको समयमा म पुग्दा आयोजक पनि आएको थिएन,’ उनले भने, ‘किन ढिलो गरेको भन्दा तिम्रो पो काम छैन चाडै आयौ, हाम्रो त काम छ भने । प्रधानमन्त्री पनि कार्यक्रममा भनेको भन्दा ढिलो आयो । प्रधानमन्त्रीकै समय ठिक नभएको देश कसरी विकास हुन्छ ?’

समय बारेमा सचेत लिम्बु युद्धमा एक–एक सेकेन्डको महत्व हुने सुनाउँछन् । हाल मलेसियाका पर्ने सवारक भन्ने स्थानको जंगली क्षेत्रमा युद्ध गरेर देखाएको वीरताको कदरस्वरुप लिम्बुले भिक्टोरिया क्रस पाएका थिए । सन् १९६३ देखि ६६ सम्म भएको युद्धमा लिम्बुको घमसान भिडन्त भने सन् १९६५ को नोभेम्बर २१ मा भएको थियो । सवारक क्षेत्रमा गस्ती गर्दैगर्दा दोहोरो भिडन्त भयो । भिडन्तमा लिम्बुका दुईजना साथीलाई गोली लाग्यो । एकजनाको टाउकोमा गोली लागेको थियो भने अर्काको हातमा । आफ्नो समूहलाई आक्रामण गर्ने दुस्मनलाई लक्षित गरेर ग्रिनेड हाने लिम्बुले । उनको निशाना सही ठाँउमा लाग्यो । दुस्मनको बंकरमा मान्छे छिर्ने दुलोबाट ग्रिनेट भित्र छिरेर पड्क्यो । धेरैको ज्यान गयो ।

ती दिन सम्झिँदै लिम्बु भन्छन्, ‘मैले ग्रिनेड हानेपछि दुस्मनको गोली आउनै छाड्यो । त्यसपछि म घाइते भएको र मरेको दुवै साथीहरु बोकेर सुरक्षित स्थानमा पुगे ।’ लिम्बुलाई पछि थाहा भयो उनको ग्रिनेडले तीसजनाको ज्यान गएछ ।

साथीको मृत्यु र घाइते भएकाबेला एक्लै भिडेर दुस्मनको विशाल समूहलाई ध्वस्त पारेका लिम्बुलाई बेलायत सरकारले अन्ततः उच्च सम्मान दियो ।

उनलाई सन् १९६६ को जुलाइ २२ मा बेलायती महारानी एलिजाबेथ दित्तियाले बकिङ्घम दरबार परिसरको एक बिशिष्ट समारोहमा ‘भिक्टोरिया क्रस’ पदक प्रदान गरेकी थिइन् । सन् १९६० देखि १९८५ सम्मको आफ्नो सैन्य करियरमा मात्रै हैन बाँचुन्जेल र मरेपछि पनि लिम्बुलाई बचाँउने छ भिक्टोरिया क्रस पदकले । सबैभन्दा कम उमेर अर्थात् २६ बर्षकै उमेरमा भिक्टोरिया क्रस पाएका लिम्बुको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत सुरक्षित छ ।

जब भिक्टोरिया क्रस चोरी भयो...

रोचक कुरा के रहेछ भने, उनले पाएको भिक्टोरिया क्रस पदक भारतबाट रेलमा नेपालतर्फ आउँदा चोरी भयो । पदक पाएको दोस्रो वर्ष भारतीय रेलको यात्रामा आँखा झुपुक्क हुँदा सामान चोरिएको लिम्बु बताउँछन् । पछि उनले हराएको सट्टामा अर्को पदक पाए ।

दोस्रो विश्वयुद्धपछि भिक्टोरिया क्रस पदक पाउने एक्ला नेपाली गोर्खा सैनिक पनि लिम्बु नै हुन् । टेन्थ प्रिन्सेस मेरिन फर गोर्खाज राइफल्सको सेकेन्ड बटालियनका सदस्य हुँदा उनले यो पदक पाएका थिए ।

पाँचथरको याङ्वकर गाँउपालिकाको च्याङ्थापुमा ८५ वर्षअघि जन्मिएका लिम्बु आफू समयका कारण सफल भएको ठान्छन् । भन्छन्, ‘समयमा सही काम सही तरिकाले गरेर यत्तिको भैयो ।’

सक्रिय सैन्य पेशाबाट अलग भएको साढे तीन दशक बढी भयो लिम्बुको । अहिले उनी आफ्नी दोस्री श्रीमती पुनीमाया र चार छोरासँग बस्छन् । पहिली श्रीमती टीकामायाको २०२२ सालमा अकालमै ज्यान गएको एक वर्षपछि उनले पुनीमायासँग बिहे गरे । दुई श्रीमतीतर्फका दुई/दुई छोराका धनी लिम्बु भिक्टोरिया क्रस पाउनेहरुमा मात्रै होइन आफ्ना दाजुभाइ दिदीबहिनीहरुमा पनि एक्ला जीवित हुन् । बुबा टेकवीर र आमा तुनीमाया बितेको धेरै भयो । उनले चार दाजुभाइ र दुई दिदीबहिनीसमेत गुमाएका छन् ।

आमाबाबु, पहिली श्रीमती तथा दाजुभाइ–दिदीबहिनी गुमाएका लिम्बु आफू जीवनमा पाएको चिज नै समाजको मायालाई मान्दछन् । तर, यो माया उनले भिक्टोरिया क्रसका कारणमात्रै पाएका भने होइनन् । उनले समाजलाई धेरै सहयोग गरेका छन् । उनले दमकमा २ कट्ठा बढी क्षेत्रफलमा धर्मशाला र सचिवालयसहितको ‘किराँत युमा माङ्हिम’ बनाएका छन् । २०५९ मा बनाएको यो माङ्हिम (मन्दिर) जस्तै अन्य माङ्हिमहरु बनाउन उत्तिकै सहयोग गरेका छन् । आफ्नो जन्मगाँउ पाँचथरको च्याङ्थापुमा बनाइएको सडकमा उनले धेरै अगाडि ११ लाख सहयोग गरेका थिए । अन्य बेलायती सैनिकसरहको सेवासुविधा नेपाली गोर्खाहरुले पाउनुपर्छ भन्ने आन्दोलनमा सक्रिय सहभागी भएका उनले गोर्खा सैनिक संघका विभिन्न परियोजनाहरुमा समेत सहयोग गरेका छन् । आगामि दिनमा सकेसम्म यस्तै समाजसेवाहरुमा बाचुन्जेल सक्रिय हुने इच्छा भएको उनी बताउँछन् ।

बेलाबेला बेलायतमा हुने भिक्टोरिया क्रस पाउनेहरुको सम्मानमा हुने समारोहमा पुगिरहन्छन् लिम्बु । बेलायतमा र नेपालमा के फरक छ भन्ने प्रश्न झर्नै नपाइ लिम्बुसँग रेडिमेड उत्तर छ– ‘समय फरक छ । त्यहाँ एक वर्षपछि हुने कार्यक्रमको सबै कुरा अहिले नै थाहा हुन्छ । नेपालमा आजै हुने कार्यक्रमको पनि कतिखेर हुन्छ आजै पनि थाहा हुँदैन ।’

प्रकाशित : मंसिर १०, २०७७ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×