शोकमग्न हङकङ 

हङकङ २४ घण्टै जागा रहने संसारकै सबभन्दा सुरक्षित र बसोबासका लागि महँगोमध्येको एक सहर । तर, जब ३० कात्तिकमा ८ जना नेपालीको ज्यान जानेगरी हङकङको आगलागीको घटना बाहिरियो, नेपाली र हङकङ सरकार मात्र होइन, विश्व नै स्तब्ध हुन पुग्यो ।
डम्बरकृष्ण श्रेष्ठ

काठमाडौँ — कहाँ गयो जुरेली किन गीत गाउँदैन
तिम्रोजति माया त लालुमै किन होला कसैको लाउँदैन...

हङकङमा ३० कात्तिकमा आगलागीमा परेर ८ नेपालीले ज्यान गुमाए । घटनाको एक साताअघि २२ कात्तिकको साँझ जोर्डनकै कंगन रेस्टुरेन्टमा माथिको गीतमा पूजा नेपाल (तुलसी) श्रीमान राज नेपालसँग नाचिरहेकी थिइन् । उक्त नाच फेसबुकमार्फत लाइभसमेत गरेकी थिइन् ।

शोकमग्न हङकङ 

त्यस दिन पूजाको जन्मदिन थियो । भोलिपल्ट पूजाले आफ्नो जन्मदिनको पारिवारिक तस्बिर फेसबुकको प्रोफाइलमा राख्दै लेखेकी थिइन्, ‘जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन । जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन । मेरो सानो सुखी परिवार ।’

आफ्नो जन्मदिन मनाएको एक सातापछि ३० कात्तिकमा पूजा सपरिवार भदाहा (दाजु युवराज कँडेलको ३ वर्षे छोरा) को जन्मदिन मनाउन पुगेकी थिइन् । तर, यो दिन पूजाका लागि बज्रपात बनेर आयो । श्रीमान् राज र ९ वर्षीय जेठा छोरा अब उनीसँग रहेनन् । त्यो भयानक आगलागीले उनको संसार उजाड बनायो ।

‘तिमीबिनाको जिन्दगी, जिन्दगी नै भन्दिनँ म जिन्दगी नै भन्दिनँ’, दुई साताअघि पूजाले श्रीमान् राजसँगको तस्बिर राख्दै फेसबुकमा यस्तो लेखेकी थिइन् ।

घटनाको तीन दिनअघि २७ कात्तिकमा उनले एउटा टिकटक पोस्ट गरेकी थिइन्, जसले कतै अनिष्टको आभास पहिल्यै त थिएन भन्ने पनि लाग्छ । टिकटकमा उनले गाएकी थिइन् : बादल फाट्यो उराठै दिन आयो/खुसीका दिन गयो कि झैं भयो...।

अझ १९ कात्तिकमा यी दम्पतीले बनाएका २ वटा टिकटक हेर्दा दुवैलाई एकअर्काको साथ छुट्ने डर र विछोडको संकेत भएझैं लाग्छ । टिकटकमा राजले गाएका छन् : तिमी टाढा भए जिन्दगीमा/मनभित्र मेरो तस्बिर/सजाइराख है.../सँगसँगै बिताएको त्यो साथ नभुल्नू है/आफैँ सम्झी गरेका ती बात नभुल्नू है/तिमीलाई माया गरिरहन्छु...।

०००

हङकङ २४ घण्टै जागा रहने संसारकै सबभन्दा सुरक्षित, चल्तीको व्यापारिक केन्द्र, बसोबासका लागि महँगोमध्येको एक सहर । विज्ञान–प्रविधिमा फड्को मारेको संसारकै उदाहरणीय भूगोल । बाहिरी संसारले यसरी नै सम्झिने, बुझ्ने, चिन्ने सहर हो हङकङ ।

अझ नेपालीमाझ त हङकङको तुलना युरोप–अमेरिका–अस्ट्रेलियासरह हुने गर्छ । किनभने, संसारका अरू ठाउँको तुलनामा नेपालीको औसत कमाइ हङकङमै बढी छ । तर, जब ३० कात्तिकमा ८ नेपालीको ज्यान जानेगरी हङकङको आगलागीको घटना बाहिरियो, नेपाली र हङकङ सरकार मात्र होइन, विश्व नै स्तब्ध हुन पुग्यो ।

‘वर्थ डे ब्वाय’ लाई आमाले शौचालयको झ्यालबाट बाहिर फ्याँकेर बचाउन सफल भइन् । भवनको पछाडिको भाग र बच्चालाई बाहिर फाल्दा अर्को घरको खाली ठाउँमा अझै छुटेको जुत्ता । तस्बिर : डम्बरकृष्ण श्रेष्ठ

विगत ४ वर्षदेखि म हङकङमा छु । कामपछिको समय बचाएर पत्रकारिता पनि गरिरहेको छु । नेपाली समाजलाई नजिकबाट नियालिरहेको छु ।

घटनास्थल याउ मा तेई जिल्लाको जोर्डन क्षेत्र नेपालीहरूको बाक्लो बसोबास भएको ठाउँ हो, जहाँ पाइलैपिच्छे नेपाली भेटिन्छन् । त्यसैले बजार भर्न होस् या पारिवारिक जमघट अन्य क्षेत्रमा बस्ने नेपालीका लागि समेत मुख्य थलो बनेको छ– जोर्डन । तर, जोर्डन अहिले शोकमग्न छ ।

हङकङजस्तो हरतरहले सुरक्षित र सुविधा सम्पन्न ठाउँमा आगलागीकै कारण एकसाथ कसरी यत्तिका मान्छेको मृत्यु सम्भव भयो ?

सन् २०११ पछि हङकङको आगलागीमा धेरैजना हताहत भएको यही घटना हो । त्यसबेला हङकङ क्षेत्रमा भएको आगलागीमा ९ को मृत्यु र ३४ जना घाइते भएका थिए ।

म बसेको ठाउँबाट आगलागी भएको घटनास्थल याउ मा तेई क्षेत्रको क्यान्टोन रोडस्थित क्लब जिरे खोर्सानी एक मिनेटको पैदल दूरीमै पुगिन्छ । त्यसो त अरू बेला पनि यहाँ आगलागीका घटना नहुने होइन । तर, क्षणभरमै साइरन बजाउँदै आउने दक्ष जनशक्तिसहितको वारुणयन्त्र र फायर ब्रिगेडका सामु आगोले सामान्य क्षतिबाहेक केही गर्दैन । तर, यसपटक त्यस्तो भएन । सूचित गरिएको तीन मिनेटमै आएको वारुणयन्त्रले आगो निभाए पनि मान्छे बचाउनचाहिँ सकेन ।

व्यक्तिगत र कार्यस्थलको सुरक्षाका लागि अत्यन्तै संवेदनशील हङकङलाई यो घटनाले झस्काइदिएको छ । किनकि यहाँको हरेक निर्माण क्षेत्र, ब्यापारिक भवन, होटल, रेस्टुरेन्टमा ‘सेफ्टी फर्स्ट’ नियम लागू हुन्छ । सेफ्टी तालिमबिना यहाँ काम नै पाइँदैन । यहाँका ८० प्रतिशत नेपालीले ‘सेफÞ्टी’ तालिम लिएर खल्तीमा ग्रिन कार्ड बोकेका छन् । यो घटनाले नेपालीलाई आफुले लिएको तालिम र काम गर्दाको अनुभव घर–समाज, व्यवहारमा पनि लागू गर्नुपर्ने पाठ सिकाएको छ ।

त्यसो भए चूक कहाँ भयो त ? हङकङ सरकार र यहाँका बासिन्दालाई यो आगलागीको घटनाले धेरै कुरा सोच्न बाध्य बनाएको छ ।

आगलागीका केही मानवीय कारण पनि छन् । काउलनको यो क्षेत्रमा ५० वर्ष पुराना धेरै भवन छन्, जसमा आकस्मिक ढोका र आगो निभाउन प्रयोग हुने फायर स्प्रिङ्कल जडान गरिएका छैनन् । नयाँ घरहरूमा जस्तै पूर्ण ‘फायर सेफ्टी’ नहुनु पनि धेरै हताहत हुनुको एउटा कारण हो ।

व्यक्तिगत ‘सेफ्टी’ प्रतिको मानवीय हेलचेक्र्याइँ पनि घटनाको अर्को कारण बन्यो । ‘साउन्ड प्रुफ’ का लागि प्रयोग हुने प्रज्वलनशील सामग्रीसहितको ढोका–भित्ता हुनु र ‘फायर एक्सटिङ्ग्युसर’ समेत नराख्नु लापरबाहीको पराकाष्ठा नै हो । त्यसमाथी आगो लाग्नासाथ बारुणयन्त्र बोलाउनुको साटो आफैं निभाउने प्रयास गर्नु अर्को कमजोरी बन्यो ।

घटनालगत्तै हङकङ सरकारका प्रमुख क्यारी लामले घटनास्थलको निरीक्षण गरी अबका दिनमा यस्ता घटना दोहोरिन नदिन निर्देशन दिइसकेकी छन् । पुराना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ सरकारले चासो दिन थालिसकेको छ ।

०००

परम्परागत नेपाली खाना पाइने नेपाली ‘रेस्टुरेन्ट’ मा ३ वर्षे बालकको जन्मदिन मनाउन तिहारको रमझम र साँझ डिनरका लागि एक नेपाली समूह पुगेका थिए । तर, तिहारका लागि बालिएको मैनबत्तीबाट सल्किएको आगोकै कारण ज्यान गुमाउनेमा एकै परिवारका ५ जना छन् ।

‘वर्थ डे ब्वाय’ लाई आमा गीता कँडेलले शौचालयको झ्यालबाट बाहिर फ्याँकेर बचाउन सफल भइन् । तर, उनकी १३ वर्षीया छोरी कीर्तिका र श्रीमान् युवराजचाहिँ बचेनन् । आफू पनि झ्यालबाट फाल हानेकी घाइते गीता अहिले उपचाररत छिन् ।

आगोको लप्काले युवराजका ज्वाइँ राज नेपाल, उनका ९ वर्षीय छोरालाई पनि निल्यो । उनका ७ वर्षीय अर्का छोरा र बहिनी पूजा भने बँचे । युवराजका भाइ कृष्ण कँडेलकी छोरी १८ वर्षीया सुरेखाको भने उपचारकै क्रममा निधन भयो । कृष्णकी श्रीमती र छोरा तीन जना अझै अस्पतालमा जीवनका लागि संघर्षरत् छन् ।

तीन वर्षअघि मात्र प्रेम विवाह गरेका मुकेश श्रेष्ठ र विनिता तामाङ जोडीका रूपमा अब कहिल्यै भेटिने छैनन् । रेस्टुरेन्ट सञ्चालकसमेत रहेकी विनिताको शव अस्पतालमा राखिएको छ भने मुकेश गम्भीर अवस्थामा उपचाररत् छन् ।

घटनामा निधन भएकीमध्ये अनिता निरौला आमा शान्ता (नार्कित) थापा र १३ वर्षीया छोरीका साथ बस्दै आएकी थिइन् । त्यस दिन सन्चो नभएर घरै बसेकीले नातिनी जोगिएको उनी सुनाउँछिन् ।

घटनास्थल नजिकै ७ तले भवनको साँघुरो कोठामा छोरी गुमाएकी आमा शान्ति र आमा गुमाएकी छोरीको एकोहोरोपन र पीडादायी अवस्था देख्दा जो कोहीको मन रुन्छ । घटनाको चौथो दिन साउथ चाइना मर्निङ पोस्टका सञ्चारकर्मीको सहयोगीका रूपमा हजुरआमा र नातिनीलाई भेट्न पुग्दा हामीसँग सान्त्वनाको कुनै शब्द थिएनन् ।

आगलागीका कारण अस्पताल भर्ना भएका ११ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । मृतकका परिवारप्रति सहानुभूति र घाइतेको स्वास्थ्यलाभका लागि घटनास्थल अघिल्तिर सडकमा सेतो फुल, धूप, पानीका बोतल चढाएर प्रार्थना गर्ने र दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नेको ताँती लागिरहेको छ ।

६ मंसिरमा चिनियाँ समुदायले परम्परागत रूपमा मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै धर्मगुरुहरू राखेर पूजापाठ गरे । यो भीडमा मृतकमध्येका शेरबहादुर गुरुङका नाबालक छोरा–छोरीेले आफ्ना बुबालाई श्रद्धाञ्जली अर्पण गरे ।

०००

घटनामा सरकारले राहत सहयोग घोषणा गर्न बाँकी नै छ । तर, समुदायका लागि खुलेका कतिपय संघ–संस्थाका अगुवाहरू यतिबेला पनि व्यक्तिगत स्वार्थ र ‘इगो’ साध्न केन्द्रित देखिन्छन् । परदेशमा रहेका नेपालीजनमा यति ठूलो घटना हुँदा एकजुट हुने, एउटै आवाज लिएर सरकार र यहाँका मिडियासँग छलफल गर्न सकिरहेका छैनन् ।

तर, स्थानीय निकायले यहाँका ५० वर्ष पुराना भवनहरूमा आगलागीलगायतका अन्य जोखिम रहेको बरोबर बताइरहेको अवस्थामा कसरी आफ्नो समुदायलाई सचेत गर्ने र यस्ता घटना दोहोरिन नदिन के गर्ने भन्नेमा सामाजिक संघ–संस्था मौनप्रायः छन् ।

सोसल मिडिया भ्रम छर्ने औजार बनिरहेको छ । कतिपय सामाजिक अगुवा त अस्पतालले प्रमाणित नगर्दै मृतकको संख्या बढाउन अघि सरेका देखिन्छन् । अझ अनौठो त के भने पीडितका आँखामा आँसु बाँकी छँदै, मृतकका परिवार, घाइते र प्रभावितहरूलाई दरिलो साथ, सान्त्वनाको र हौसलाको साटो उनीहरूलाई समेत जानकारी नदिई पीडितका नाममा आफूखुसी सहयोग संकलनको हानथाप चलेको छ । तर, उदारमनका हङकङका धनाढ्य ली का–सिङ ३ मिलियिन हङकङ डलर (करिब रु.४ करोड ५० लाख) र अर्को एक संस्थाले एक मिलियन (करिब रु..डेढ करोड) सहयोग दिने घोषणा गरिसकेका छन् ।

प्रकाशित : मंसिर १२, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?