१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्याराडोनासँग तस्बिर खिच्‍न नपाउँदा

हिमेश

काठमाडौँ — जति बेला विश्व फुटबलमा डिएगो म्याराडोनाको उदय भइरहेको थियो, त्यसकै वरिपरी नेपाली फुटबलले पनि आधुनिक युगमा प्रवेश गर्न लागेको थियो ।

म्याराडोनासँग तस्बिर खिच्‍न नपाउँदा

सन् १९८२ को नयाँ दिल्ली एसियाली खेलकुद नेपालले खेलेको पहिलो औपचारिक प्रतियोगिता थियो । त्यही वर्ष म्याराडोनाले स्पेनमा भएको विश्वकप खेलेका थिए । यो उनको पहिलो विश्वकप थियो ।

सन् १९८६ मा उनकै नेतृत्वमा अर्जेन्टिनाले विश्वकप समेत जित्यो । त्यसको चार वर्षपछि सन् १९९० मा म्याराडोनाले अर्जेन्टिनालाई फेरि विश्वकप फाइनल पुर्‍याए, तर यसपल्ट टिम उप–विजेतामै सीमित रह्यो । संयोग कस्तो भने सन् १९८६ को विश्वकपका लागि नेपालले पहिलो पल्ट छनोट खेलेको थियो र यो त्यहीँ पुस्ता हो, जसले आधुनिक फुटबल कस्तो हुन्छ, त्यसको अनुभव गर्‍यो ।

अर्को संयोग के पनि रह्यो भने यही पुस्तालाई नेपाली फुटबलमा ‘स्वर्णिम पुस्ता’ पनि मान्‍ने गरिन्छ । यो पुस्ता म्याराडोनाको खेल जीवनसँगै हुर्क्यो, बढ्यो । एक प्रकारले म्याराडोनाकै प्रशंसक पनि रह्यो । यो पुस्ताका सुरुआती कप्तान थिए, रूपकराज शर्मा । त्यति बेला त हो, नेपालले पहिलो दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेको ।

त्यसपछि सुरेश पन्थी र श्रीराम रञ्जितकारले पनि छोटो समयका लागि टिमको नेतृत्व गरे । तर लामो समय कप्तानीको भूमिकामा रहे, गणेश थापा । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका थापा नै त्यस्ता एक्ला नेपाली रहे जसले प्रतक्ष्य रूपमा म्याराडोनासँग भेट्ने अवसर पाए ।

तर यसका लागि पनि कडा मिहिनेत गर्नु परेको थियो । थापाले लामो समय एसियाली फुटबल महासंघका विभिन्न पदमा बसेर पनि काम गरे, त्यसमध्ये सबैभन्दा माथिल्लो पद उपाध्यक्ष्य रह्यो । त्यस अर्थमा उनले विश्व फुटबलका अधिकांश ठूला नामसँग भेट्ने अवसर पाए, जसमा सबैभन्दा ठूलो नाम त पेले नै रह्यो । पेले र म्याराडोनालाई त सर्वकालीन महान खेलाडी मानिने ।

यो सहजताको भेट थियो, पेले आफैं त्यस अवसमा सौहार्दपूर्ण रहे । तर थापाको सबैभन्दा ठूलो इच्छा म्याराडोनासँग भेटेर तस्बिर खिचाउने थियो, तर उनले यो पनि पूरा गर्न पाएनन् । खाली भेटमै मात्र सीमित रह्यो, त्यो । थापाका लागि विश्व फुटबलमा प्रिय एकै जना मात्र खेलाडी रहे र ती म्याराडोना नै थिए । उनी हाकाहाकी भन्छन्, ‘म म्याराडोनाको ठूलो प्रशंसक हुँ ।’

जापान र दक्षिण कोरियाले सन् २००२ को विश्वकप आयोजना गरेको थियो र थापा त्यस प्रतियोगिताको अनुशासन कमिटीका सदस्य थिए, उनले काम गर्नु पर्न जापानमा थियो, त्यही बेला उनले सुने, त्यहाँ म्याराडोना आउँदैछन् । उनका लागि विश्वकपमा त्यो भूमिका निभाउनु भन्दा पनि म्याराडोनालाई भेट्न पाउने अवसरले बढी उत्साहित बनाएको थियो ।

फाइनल ब्राजिल र जर्मनीबीचको थियो । त्यही खेलका लागि म्याराडोना जापान आएका थिए । तर खेल सुरु हुने बेलासम्म पनि म्याराडोना रंगशालमा आएनन् । थापाका लागि छुट्याएको कुर्सीको लगभग नजिक नै म्याराडोनाका लागि पनि कुर्सी छुट्याइएको थियो । सबै कुरिरहे तर म्याराडोना आखिरमा आउँदै आएनन्, आफू बसेको होटलमै रहे । थापाले उनलाई भेट्नै पाएनन् ।

सन् २००६ को विश्वकप जर्मनीमा आयोजना भएको थियो र त्यति बेला पनि थापा अनुशासन कमिटीकै सदस्य थिए । म्याराडोना पनि त्यहाँ आउने भए, आए पनि । संयोगले अर्जेन्टिनाले खेलेको एउटा खेलमा म्याराडोना र थापाका लागि छुट्याएको कुर्सी नजिक थियो । एउटै लहरमा म्याराडोना, उनकी छोरी र थापाको कुर्सी । यसपल्ट भने म्याराडोना खेल हेर्न आए, त्यो पनि च्यातिएको जिन्स पाइन्टमा ।

खेलका क्रममा उनी आफ्नो देशको समर्थन गर्दे उफ्रेर कराइरहेका थिए । सबैको ध्यान खेलमा भन्दा उनमै बढी थियो । खेल चलिरहेकै बेला थापाले म्याराडोनासँग तस्बिर खिच्न अनुरोध गरे, तर म्याराडोनाले वास्ता समेत गरेनन् । उनी खेलमै मस्त रहे । पछि म्याराडोनाकी छोरीले थापालाई भनिछन्, ‘बुबा तस्बिर खिचाउन चाहनु हुन्न, इच्छा छ भने मसँगै खिचे हुन्छ ।’

हाफ टाइमको विश्राममा पनि म्याराडोना र थापासँगै एउटै टेबलमा परे, चिया खाने क्रममा । त्यहाँ पनि थापाले सँगै तस्बिर खिचाउने अनुरोध गरे, यसपल्ट पनि म्याराडोनाले त्यसलाई स्वीकारेनन् । त्यो बेला सेल्फिको चलन पनि थिएन् । पूरा खेलमा भने म्याराडोना चर्को चर्को स्वरमा कराइरहे र उनको माग थियो, लियोनल मेसीलाई मैदानमा उतार ।

यसै विषयमा थापाले फिफाका तात्कालीन अध्यक्ष सेप ब्लाटरसँग पनि कुरा गरेका रहेछन् । ब्लाटरले पनि भनेछन्, म्याराडोना यस्तै छन् । उनले अन्त्यमा भने छन्, ‘म्याराडोना जस्तै भएपनि उनीबारे अर्जेन्टिनामा कहिले पनि एक शब्द खराब नभन्नु, भन्यो भने ऊ त्यहाँबाट फर्केर आउन सक्दैन ।’ यसरी थापाको म्याराडोनासँग तस्बिर खिच्ने इच्छा कहिले पूरा भएन ।

तिनै म्याराडोनाको निधन हुँदा थापा पनि स्तब्ध रहे । तर उनी प्रति थापाको माया, सम्मान भने कहिले पनि कमी भएन्, भलै उनी एउटा तस्बिर पनि खिचाउन तयार भएनन् ।

प्रकाशित : मंसिर ११, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?