‘लो प्रोफाइल’ रुचाएका ‘हाई प्रोफाइल’ सर्जक- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लो प्रोफाइल’ रुचाएका ‘हाई प्रोफाइल’ सर्जक

नारायण गोपालका केही मिठा गीतको सिर्जनामा कर्म योन्जन र गोपाल योन्जन दुवैको हक लाग्छ । ‘तिम्रो जस्तो मुटु मेरो पनि,’ ‘मेरो गीत मेरो प्रतिविम्ब,’ जस्ता चर्चित गीतमा कर्मको पनि पसिना छ । ८४ वर्षे उमेरमा पनि कर्मले साधना छोडेका छैनन् । तर उति बेलाका सांगीतिक दौतरीहरू अहिले छैनन् । यसले उनलाई एक्लाे महसुस गराएको छ ।
पर्वत पोर्तेल

काँकडभिट्टा — सानैदेखि मित्रसेन थापा, रत्नदासका गीत सुन्थे दार्जिलिङका अग्रज संगीत–सर्जक कर्म योन्जन । गीत सुन्दासुन्दै प्रभावित भए । उनीहरूजस्तै बन्ने हुटहुटी भयो । गीत गुनगुनाउन थाले । गाउँमा एक जना अगुवाको घरमा ग्रामोफोन थियो । हरेक आइतबार उनी गीत बजाउँथे । कर्म भाइ गोपाल योन्जनलाई साथ लाएर गीत सुन्न पुग्थे । 

‘त्यहीँबाट गीतसंगीतमा रस बिझ्न थाल्यो,’ ८४ वर्षीय कर्मले ती दिन सम्झिए, ‘पछि त कम्पोज गर्न मन लाग्यो ।’ छोराहरूको संगीत–मोह देखेपछि बुबा पनि खुसी भए । त्यही खुसीका बीच एक दिन एउटा हार्मोनियम उपहार ल्याइदिए कोलकाताबाट । त्यसपछि त योन्जन दाजु–भाइको दैनिकी नै बदलियो । त्यस बेला ज्यादा हिन्दी गीत सुन्ने चलन थियो । उनीहरू पनि हिन्दी गीत सुन्थे, हिन्दीमै गाउँथे ।

कर्मका समकालीन थिए, अम्बर गुरुङ, रञ्जित गजमेर, अरुणा लामा, शान्ति ठटाल, शरण प्रधान, शेखर दीक्षित, गगन गुरुङहरू । समकालीनमध्ये रञ्जित र शान्तिबाहेक सबै बितिसके । तीन वर्षअघि गगन बिते । गगन कर्मका ‘लगौँटिया यार’ थिए । भाइ गोपाल बितेको पनि धेरै भइसक्यो । अहिले कर्मलाई एक्लो महसुस हुन थालेको छ । साठीको दशकमा आर्ट एकेडेमी नामक संगीत संस्था थियो दार्जिलिङमा । गोपालसँगै उनी भर्ना भए । गोपाल राम्रा बाँसुरीवादक पनि थिए । कर्म भ्वायलिन बजाउँथे ।

एक दिन कर्मलाई अम्बरले सोधेछन्, ‘तिमीहरूले के बजाउन जानेको छ ?’ कर्मले भनेछन्, ‘म भ्वायलिन बजाउँछु, भाइ (गोपाल) ले बाँसुरी ।’ यो सुनेपछि अम्बरले भने, ‘तिमीहरूजस्तै मान्छेको खाँचो छ हामीलाई, आऊ सँगै काम गरौं ।’ त्यसपछि उनीहरूले अम्बर गुरुङको टिममा बसेर काम सुरु गरे । यो टिममा केही समयअघि नै शरण प्रधान, अरुणा लामा, रञ्जित गजमेर, जितेन्द्र बर्देवा पनि भर्ना भइसकेका थिए ।

‘त्यो समय सम्झिँदा अहिले पनि आनन्द अनुभूति हुन्छ,’ कर्मले भने, ‘सिंगो माहोल नै सांगीतिक थियो त्यस बेला ।’

दार्जिलिङमा त्यस बेला सेवामूलक काममा सांगीतिक गतिविधि हुन्थे । चिया श्रमिकहरूलाई गीत सुनाउन उनीहरू कमान छिर्थे । अम्बर गुरुङ उमेरले सबैभन्दा जेठा थिए । संगीतका गुरु पनि उनै ।

‘संगीतबाट पैसा कमाउने सपना कहिल्यै देखेनौं,’ उनी भन्छन्, ‘बिल्कुल सेवामूलक काम थियो संगीत ।’ चिया बगानमा ब्रिटिस मेनेजरहरू थिए, गीत–संगीतका पारखी । उनीहरूलाई गीत सुनाउन पुग्थे । कमानका सबै श्रमिकहरू गीत सुन्न आतुर हुन्थे । एउटा अलग माहोल बन्थ्यो ।

साठीको दशकमा पश्चिम बंगाल सरकारले दार्जिलिङमा गीत र नाट्य क्षेत्रलाई समेट्ने गरी एउटा संस्था खडा गरेको थियो, सङ एन्ड ड्रामा युनिट । उनको टिमका धेरै सहयात्री त्यो संस्थाका जागिरे बने । अम्बर, शान्ति ठटालहरू त्यहाँ गए । गोपाल, अरुणा, शरण र कर्महरू गएनन् । त्यसपछि टिम तितरबितर भयो ।

शरण–अरुणा र जितेन्द्र बर्देवाले ‘संगम’ नामक संस्था जन्माए । गोपाल र कर्म हिमालयन कला मन्दिरमा गए । दिलमाया खातीहरूसँग त्यही भेट भयो । मिठो स्वर भएकी दिलमायासँग उनीहरूले लामै समय काम गरे । टिममा अरू पनि राम्रा प्रतिभाहरू थिए । सांगीतिक प्रतिस्पर्धाहरू बाक्लै भइरहन्थ्यो । ‘संगम’ र उनीहरूको टिमका गायकबीच सधैं कडा टक्कर हुने गर्थ्यो । पछि शरण–अरुणाको टिमबाट अलग्गिएर जितेन्द्रले ‘सावन’ भन्ने अर्को म्युजिक एकेडेमी जन्माए ।

०००

गोपाल सरकारी कलेजमा पढ्दै थिए । नेपालबाट पढ्न आएका नगेन्द्र थापासँग भेट भयो । नगेन्द्र राम्रा गीत लेख्थे । त्यही क्रममा यिनीहरूबीच दोस्ती जम्यो । उनीहरू खुब मिल्थे । गोपालको स्वर र बाँसुरीको धुन सुनेपछि नगेन्द्रले एक दिन भनेछन्, ‘गोपाल यहाँ बसेर केही हुनेवाला छैन, हिँड काठमाडौंतिरै जाऔं ।’ गोपाल साठीको दशकमा काठमाडौं आए । गोपालअघि नै अम्बर गुरुङलाई राजा महेन्द्रले लगिसकेका थिए । ‘भाइलाई काठमाडौं पठाउने मेरो इच्छा थिएन,’ कर्मले भने, ‘म नभएको मौका पारेर भागेर हिँडेछ ।’

गोपालले जेठी दिदीको घरमा बसेर पढ्दै गीत–संगीतमा काम गरे काठमाडौंमा । गोपालले केही वर्षपछि दाजु पनि यतै आए हुने भनेर पत्र पठाइरहे । तर, कर्मलाई दार्जिलिङको मोहले छाडेन । बिरामी आमाका कारण पनि उनलाई दार्जिलिङ छाड्न गाह्रो भयो ।

‘गोपाल गएपछि दाइने हात भाँचिएजस्तो भो,’ कर्मले भने । तीन सय हाराहारी गीतका सर्जक कर्म गायनभन्दा संगीत सिर्जनामै व्यस्त बने । आफूले रचेका पुराना गीत त यिनले भुली नै सके । गोर्खा दुःख निवारण संघको संगीत प्रतिस्पर्धामा दिलमाया खातीले गाएको ‘सावन फर्की फेरि झर्‍यो, माया लगाई निष्ठुरी फर्केन...’ बोलको गीत यिनको पहिलो आधिकारिक सिर्जना हो ।

त्यो गीत गोपालले लेखेका थिए । कर्मको संगीत थियो । गोपाल गीत लेख्थे, उनी संगीत भर्थे । उनलाई आफूले ‘कम्पोजिसन’ गरेका गीतमध्ये ‘मेरो सानो मुरलिमा मेरो देश नअट्ला’ ज्यादै मन पर्छ । यो कवि मन्जुलले लेखेको गीत हो । गायकचाहिँ कुमार सुब्बा ।

मन्जुल एउटा कार्यक्रमको सिलसिलामा पारिजातसँग दार्जिलिङ आएका रहेछन् । त्यो समयको चर्चित ‘राल्फा’ समूहका मन्जुलले कर्मलाई एउटा कविताको किताब दिएछन् । पढ्दै जाँदा त्यो गीतमा उनको आँखा अडिएछ । गीत मन परेर उनले मन्जुललाई भनेछन्, ‘भाइ मलाई यो गीत मन पर्‍यो, ट्युन गर्छु है ।’ मन्जुलले सहर्ष स्विकारेछन् । कुमार सुब्बालाई गाउन सिकाइयो । पछि उक्त गीत रत्न रेकर्डिङ काठमाडौंमा रेकर्ड गराइयो ।

नारायण गोपाललाई अलग राख्ने हो भने योन्जन परिवारको सांगीतिक पाटो पूर्ण हुँदैन । यो परिवारसँग नारायण गोपालको आत्मिक सम्बन्ध थियो । उनी पटकपटक दार्जिलिङ आउजाउ गरिरहन्थे । उनको रासोबासो यिनकै घरमा हुन्थ्यो । यिनी दार्जिलिङ धाउनुको रहस्य कर्मले पछि मात्रै चाल पाए । कर्मकै आफन्त पर्ने पेमलासँग नारायणको प्रेम भएको रहेछ । पछि बिहे नै गरे ।

यिनको सम्झनामा, नारायण गोपाल अलि ‘राउडी टाइप’का थिए । झोंकी स्वभाव थियो । गोपाल योन्जनसँगचाहिँ निकै राम्रो सम्बन्ध । एक पटक शिक्षण तालिमका सिलसिलामा दार्जिलिङबाहिर गएका थिए कर्म । त्यही मेसोमा ईश्वर वल्लभहरूले गोपाल योन्जन र नारायण गोपाललाई मित लगाइदिएछन् । यिनले पत्तै पाएनन् । ‘घर आउँदा नारायणगोपाल त मितभाइ पो भइसकेछन्,’ कर्म मुस्कुराए ।

नारायण गोपालका केही मिठा गीत सिर्जनामा कर्म र गोपाल योन्जन दुवैको हक लाग्छ । ‘तिम्रो जस्तो मुटु मेरो पनि,’ ‘मेरो गीत मेरो प्रतिविम्ब,’ जस्ता चर्चित गीतमा कर्मको पनि पसिना छ । ‘नारायणलाई कतिपय गीत म र गोपालले मिलेर सिकाएका थियौं,’ उनी सम्झिन्छन् ।

नारायणको खराब बानी भनेको रक्सी धेरै पिउने थियो । असल बानीचाहिँ रक्सी पिइसकेपछि जस्तोसुकै गीतलाई पनि न्याय गर्थे । दार्जिलिङमा नारायण गोपाललाई साह्रै श्रद्धा गर्थे त्यस बेला । अहिले पनि उस्तै श्रद्धा छ ।

कर्म पहिला बाक्लै पुग्थे काठमाडौं । केही समययताचाहिँ घुँडा दुख्ने समस्याका कारण हिँडडुल गर्न समस्या पर्छ । त्यसैले जानै पाएका छैनन् । कोरोना संक्रमणपछि नाकामा लागेको छेकबारले यिनलाई झन् रोक्यो । ‘आफन्तका कारण पनि काठमाडौं जानै पर्ने हुन्थ्यो,’ उनले सुनाए, ‘तर नगएको पनि धेरै भइसक्यो ।’

यिनलाई लाग्छ, नेपालले धेरै माया गर्छ । एकपटक ‘अनि देउराली रुन्छ’ नाटक लिएर यिनीसहितको टिम काठमाडौं पुगेको थियो । यो नाटकको संगीत उनैले गरेका हुन् । प्रज्ञा प्रतिष्ठानमा भव्य प्रदर्शन भयो । धेरै दिन चल्यो । पहिलो दिन राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि नाटक हेर्न गएका थिए ।

राजारानीलाई नाटक हेरिरहने फुर्सद हुँदैन भन्ने कर्मलाई लागेको थियो । तर, भइदियो के भने उनीहरूले तीन घण्टा लामो नाटक निमग्न भएर हेरिरहे । नसकिउन्जेल बसिरहे । ‘त्यति मात्रै कहाँ हो र ?,’ कर्मले जोसिँदै सुनाए, ‘नाटक सकिएपछि हामीसँग फोटो पनि खिचे ।’

राजारानीले सबै कलाकारसँग केही समय भलाकुसारीसमेत गरेको यिनको आँखामा झल्झली आइरहन्छ । त्यस बेला राजाले भनेछन्, ‘साह्रै राम्रो नाटक गर्नुभयो, यस्तो नाटक नेपालका कलाकारहरूलाई पनि सिकाइदिन पर्‍यो है ।’ राजाको यो कुराले नाटककार मनबहादुर मुखिया मक्ख नपर्ने कुरै थिएन ।

०००

पहिला गीत–संगीतमा गम्भीर ढंगले काम हुन्थ्यो । अहिले खासै गाम्भीर्य देख्दैनन् उनी । एउटा गीत ‘कम्पोज’ गर्न लामो समय खर्चिन्थे । ‘अहिलेका गीत–संगीत आजको भोलि बन्छन् । त्यो पनि ताइ न तुइका,’ उनले गुनासो गरे ।

खासमा कर्मको सम्पूर्ण जीवन संगीत–साधनामा बित्यो । तर यिनले सधैं लो–प्रोफाइलमै बस्न चाहे । संगीत यिनको सोख मात्रै थियो, पछि बाध्यता बनिदियो । करिब तीन दशक शिक्षण पेसामा समेत संलग्न रहेका कर्मले संगीतलाई कहिल्यै छाडेनन् । ‘रिटायर्ड’ जीवन पनि संगीत सिर्जनामै बिताउँदै छन् । कर्म अहिले सिलिगुडीमा छन् । कोरोना संक्रमणसँगै ठन्डी बढेको छ । उनी ठन्डी सहनै सक्दैनन् । त्यसैले हरेक वर्ष ठन्डी छल्न सिलिगुडी झर्छन् । गर्मी चढेपछि पहाड उक्लिन्छन् ।

प्रकाशित : मंसिर १०, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

पोखरा — पोखरा महानगरपालिकामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । वडा नं १० का ७६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनिया देखिएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×