मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

रीना मोक्तान

काठमाडौँ — 'ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,' कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे ।

श्वास फेर्न नसकेर छटपटिँदै अस्पताल पुगेका उनले नमीठो मुस्काउनसहित भनिदिए,'हजुर हो'। कोरोनाबाट भर्खरै तंग्रिएका उनीहरु एकपछि अर्को विषय निकाल्दै मनोजसँग एकतर्फी बोलिरहे । मनोजलाई भने भित्रभित्रै लागिरहेको थियो, 'धेरै नबोलिदिए हुन्थ्यो' । अस्पतालको शय्यामा घोप्टो परेर त कहिले कोल्टे फेर्दै श्वाससँग संघर्षरत उनलाई बोल्न पनि श्वासकै अभाव थियो त्यो समय ।

०००

मनोजका दाइ धिरेन्द्र एयरपोर्टमा काम गर्छन् । असोज २७ मा दाइलाई ज्वरोले च्याप्यो । सामान्य ज्वरो ठाने परिवारका सबैले । केहि दिनपछि बोकेर क्लिनिकसम्म पुर्‍याउनुपर्ने भयो । अस्पताल ल्याउने पुर्‍याउने क्रम १ हप्ता चल्यो । धिरेन्द्रलाई धेरै नै गाह्रो भएपछि दुवैले स्टार अस्पतालमा कोरोना परीक्षण गरे ।

रिपोर्ट आउनु अगावै कोरोनाको लक्षण ठम्याइसकेका थिए दुईले। नतिजा अपेक्षित नै आयो । 'कालो प्लास्टिकमा बेरेर सेता लुगा लगाएकाले गहिरो खाल्डोमा लात्ताले हान्ने भयो' रिपोर्ट आउनसाथ झट्ट मनोजको दिमागमा यी दृश्य नाचेको थियो । दीर्घ रोग नभएको व्यक्तिलाई कोरोनाले गाह्रो पार्दैन भन्ने सुनेका हुनाले एक मनमा ढुक्क पनि भए । निको हुन्छु भन्ने भावले मर्छु कि ! भन्ने कल्पना हटाइदियो ।

दुई दाजुभाइले सावधानी अपनाएर घरमै आइसोलेसनमा बस्ने निधो गरे । घरको एउटा कोठामा धिरेन्द्र, अर्को कोठामा भाउजू । मनोज पनि भिन्नै कोठामा आइसोलेसनमा बस्न थाले । छोराछोरी पनि अर्को कोठामा बस्थे । भाउजूलाई एकदिन ज्वरो बाहेक परिवारका अन्य चार सदस्यमा खासै लक्षण देखिएन ।

आइसोलेसनमा बस्दा घरेलु उपचारमा बढी ध्यान दिए । सकेसम्म औषधि नखाउँ भन्ने थियो । त्यसैले बेसारपानी निरन्तर पिइरहे । तातो पानी टुटेन । अन्य झोल पदार्थ पनि खाइरहन्थे उनी । खानेकुरा नमीठो लाग्थ्यो तर खान छोडेनन् । 'स्वाद गएन । तर पनि मैले बाँच्नको लागि खाएरै कोरोनालाई जित्नुपर्छ भन्ने सुनेका हुनाले भाउजूले जे-जे दिनुभयो सबै खाएँ । बाफ लिने काम पनि अत्याधिक भयो,' उनी सुनाउँछन् ।

दिनभर टाउको दुख्थ्यो । 'कोरोना भन्नेले टाउको आक्रमण गर्‍यो सुरुमा । अनि सिटामोल र म हामी दुईजना मिलेर त्यसलाई त्यहाँबाट लखेट्यौं,' ठट्यौली शैलीमा लक्षण देखिँदाका क्षण सम्झन्छन् उनी,'त्यसपछि राति निदाएको बेला झुक्काएर ज्वरो आइदियो । फेरि डिकोल खाएर त्यसलाई भगाएँ । त्यसपछाडि कोरोनाले यो मान्छे खतरा रहेछ भनेर अदृश्य हतियार प्रयोग गर्‍यो ।'

उनका अनुसार त्यो हतियार थियो जोर्नीमा आक्रमण । जोर्नीमा तीर/सियो हाने जस्तो दुख्थ्यो । त्यो दुखाइ पनि केहि दिनमा हराउँदै गयो । त्यसपछि सहनै नसक्ने ढाड दुख्न सुरु भयो । शरीरको सबै भागमा 'मरें मरें भन्नेसम्म' दुख्‍न थाल्यो । दुखाइ कम नभएपछि घरमा भएको भाइब्रेटिङ मेसिन पावर मोडमा राखेर ढाँडमा चलाइदिए । दुखाइ कम भयो । त्यसपछि श्वास फेर्न असहज भयो । रिपोर्ट आएको तीन दिनै श्वास फेर्न निकै गाह्रो भएको मनोज सुनाउँछन् ।

अझै अस्पताल जाने मनस्थिति बनाएका थिएनन् । अस्पताल पसेका बिरामी घर नफर्केका समाचार हेरेर त्रसित थियो मन । आफ्नो हालत उस्तै होला भन्ने पीर थियो उनलाई । तर श्वास फेर्न अत्यन्तै कठिन भएपछि भाइ मोहनलाई भनेर एम्बुलेन्स घरमै बोलाए । 'त्यो भाइब्रेसन प्रयोग गरेको भोलिपल्ट निकै गाह्रो भएपछि अस्पताल जाने निधो गरें,' त्यो क्षण सम्झँदै सुनाउँछन्,'त्यही त हो नि सरकारले पनि सकेसम्म श्वास फेर्न गाह्रो भएपछि मात्र अस्पताल जानु भनेको थियो । त्यसैले श्वास फेर्न गाह्रो हुने अवस्था कुरें ।'

कात्तिक १४ गते अस्पताल पुग्दा साँझको ६ बजिसकेको थियो । डाक्टरहरुको 'राउण्ड' सकिसकेको थियो । त्यही बेला हो हँसाइरहने मनोजलाई अस्पतालमा देखेर अन्य बिरामीले ठट्टा गरेको । कमजोर अवस्थामै पनि मनोज उनीहरुतर्फ हेर्दै मुसुक्क मुस्कुराइदिए । श्वास फेर्न गाह्रो भएपछि त्यसदिन अस्पतालमा उनलाई अक्सिजन दिइयो । त्यो रात त्यतिकैमा बित्यो । भोलिपल्ट 'एक्स रे' गर्दा फोक्सो र छालाको बीचमा हावा भरिएको देखियो । ढाड दुख्दा प्रयोग गरेको त्यो भाइब्रेसन मेसिनले आफूलाई सिकिस्त बनाएको डाक्टरबाट थाहा पाउन उनलाई समय लागेन । त्यसपछि उनलाई आईसीयूमा सारियो ।

श्वास गन्दै बिताए आईसीयूका दिन

जनरल वार्डबाट आईसीयू नसारिञ्जेल उनी त्रसित थिए । आसीयूबाट कोभिडका बिरामी धेरै फर्कदैनन् भन्ने कुरा मनमा खेलिरहेको थियो । आईसीयू भन्ने बित्तिकै डरलाग्दो अवस्थाको रुपमा बुझ्थे पहिला उनी । तर आफैं त्यो ठाउँमा पुगेपछि आईसीयूमा अलि बढी ध्यानकासाथ बिरामीको उपचार गरिन्छ भन्ने बुझे । लोकल एनेस्थेसियाले उनलाई अर्धचेत बनायो ।

'आईसीयूको पहिलो दिन फोक्सो र छालाबीचमा भरिएको हावा सिरिन्जले निकालिदियो । भोलिपल्टको 'एक्स रे'मा हावा घटेको देखाएन । त्यसैले देब्रे काखीमुनि प्वाल पारेर लामो पाइप फोक्सोसम्म पुर्‍याएर त्यहाँबाट हावा निकालियो । ४/५ दिनसम्म त्यही पाइप र प्लास्टिक झुन्ड्याएर बसियो,' उनले आईसीयूका दिन सम्झे । उनलाई लगातार 'एन्टी' कोरोना औषधि 'रेमडिसिभिर' खुवाइयो ।

समयमै कोरोनाको उपचार गर्न पाएको भए आईसीयूमा पीडादायक क्षण बिताउन पर्थेन भन्ने उनलाई लाग्छ । 'मलाई लाग्छ अलि अलि च्याप्दा नै अस्पताल जाने अवस्था भइदिएको भए मेरो शरीरमा हातहतियार पसाउनु पर्दैन थियो होला,' उनी सुनाउँछन् ।

मनोज बस्ने आईसीयूमा चार शय्याहरु राखिएका थिए । १ नम्बर बेडमा उनी बस्थे । २ नम्बरमा एकजना आमा बस्थिन् । आमालाई भेन्टिलेटरमा राखिएको थियो । वल्लो कोठा पल्लो कोठाको कुराहरु सजिलै सुनिन्थ्यो आईसीयूमा । अर्धचेत अवस्थामा पनि पल्लो छेउको आमाको रोदन/चित्कारले ४ दिनसम्म उनलाई उकुसमुकुस बनायो । 'गएको पहिलो दिन ल अब बाँचियो भन्ने भा'थियो । आमाको पीडा र अर्को कोठाका बिरामीहरुको अवस्थाले एकदमै बिचलित बनायो मलाई,' उनी सुनाउँछन् ।

उपचारकै क्रममा आमाले प्राण त्यागिन् । दुधको धाराबाट आमाको आत्मा उडेको दृश्य उनको आँखा अगाडि आयो । त्यो रातभर उनी निदाउन सकेनन् । 'अर्धचेत दिमागमा धेरै कुराहरु खेलिरहेको थियो । एकातिर औषधि छ, अर्कोतिर जीवन मृत्युको लडाईं छ । आफू पनि त्यही रुपमा छु । अब मेरो पालो आयो होला भन्ने खालको त्रास थियो,' त्यो बेलाको अनुभव सुनाए ।

त्यस दिनदेखि मृत्युको त्रास कम हुन थाल्यो । जीवन र मरण आफ्नो हातमा नरहेको सत्य स्वीकारेपछि मत्युप्रतिको भय कम हुँदै गयो । प्रत्येक दिन भेन्टिलेटर र आईसीयूमा नयाँ बिरामी आइरहन्थे । ती बिरामी देख्ने बित्तिकै मनमनै प्रार्थना गर्थे मनोज, 'भगवान मेरो सम्पूर्ण आशिर्वाद लागोस् त्यो व्यक्तिलाई । त्यो व्यक्तिको दुखाइ कम होस् ।'

आईसीयूमा उनले नयाँ कुरा पनि अनुभव गरे । 'यो ठाउँमा म कुनै न कुनै बेला आएको छु । पूर्वजन्ममा हो कि यही जन्ममा हो ? यो घट्ना, यी डाक्टरहरु यो परिस्थिति पहिला पनि कहिँ भोगेको छु,' भन्ने अनुभव उनको अर्धचेत दिमागमा आइरहन्थ्यो ।

आईसीयूमा दिन र रात छुटाउन सक्थेनन् मनोज । त्रास, रोग अनि घाउले निदाउन दिन्थेन । त्यतिखेर विपश्यनाको श्वास फेर्ने विधिले निकै सहयोग पुर्‍यायो । उनी समय काट्न श्वास गन्ने विधि अपनाउँथे । आईसीयू बसाइको पाँचौ दिनपछि मनोबल उच्च हुँदै गयो । औषधिले काम गर्दै गयो । डाक्टरको परामर्शले शरीरमा उत्साह थपिँदै गयो । आईसीयूमा बिहानै भजन बजाइदिन्थे । दिउँसो पनि उत्साह दिने गीतहरु बजाउँथे ।

सातौं दिनपछि उनको शरीर तंग्रियो । त्यसदिन छोरा छोरीसँग फोनमा कुरा गरे । आमालाई पनि आफ्नो स्वास्थ्य अवस्था सुनाए । दाजू भाउजूसँग कुरा गरे । आफू निको हुँदै गरेको जानकारी दिँदै सुभकामना दिनेहरुलाई धन्यवादको पोस्ट हाले फेसबुकमा ।

उपचारकै क्रममा सीमित दर्शकबीच तपाईंको निधनको अपवाह फैलियो । यसबारे थाहा पाउनु भयो त ? भन्ने प्रश्नमा उनले भने, 'ए हो र ? त्यो त सुनिन मैले । आयु नै बढ्यो त्यस्तो हो भने ।'

जीवनमा पहिलोपटक लामो समय बिताएर ११ औं दिनमा मनोज घर फर्के । आईसीयूको १० दिनको बसाइले जीवन र मृत्य के हो भन्ने सामान्य भोगाइ अनुभव गर्न पाएका छन् उनले । 'जीवन भनेको बाँच्दाखेरी राम्रो काम, सबैको हित सोच्नु र सबैलाई समान रुपमा व्यवहार गर्नुमा आनन्द रहेछ । मैले गरेका राम्रा कुराहरु अन्तिम अवस्थामा सम्झँदा आनन्द दिँदा रहेछन् । म मर्दैछु भन्दा पनि कम्तिमा यति राम्रो काम गरेछु भन्ने हुँदो रहेछ । मैले यति नराम्रो काम गरें भन्ने कुराले पनि पोल्दो रहेछ,' उनले सुनाए ।

अस्पतालको शय्यामा समय बिताउँदा बाँचुञ्जेल सबैको हित चिताउनुपर्ने गहिरो अनुभूति पाए । कोरोना पछाडिको जीवनशैलीमा कायापालट नभए पनि आफ्नो हाँस्यव्यंगमा अब मानवियता प्रमुख विषयवस्तु बनाउने उनको ध्येय छ । 'कोरोनालाई यो पटक जितेको हो । अर्को पटक संक्रमण होला कि ! त्यसैले अझै बढी सचेत हुन जरुरी छ । एपीएफ अस्पतालको व्यवस्था हेर्दा त्यतिको उपचार सबै नेपालीले पाउनुपर्छ भन्ने लागेको छ ।'

प्रकाशित : मंसिर ८, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी

भण्डारण गर्न सजिलो र एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने अनुसन्धानकर्मीको भनाइ
इकान्तिपुर डेस्क

काठमाडौँ — अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोना भाइरसको लक्षण बन्न नदिने बताइएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको ठूलो संख्यामा गरिएको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएको बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

यसअघि फाइजर मोर्डनाले बनाएको खोपको प्रभावकारिता करिब ९५ प्रतिशत भएको बताइएको थियो । कोरोना भाइरसविरुद्धको प्रभावकारिता फाइजर र मोडर्नाले विकास गरिरहेको खोपको भन्दा कम भए पनि अक्सफोर्डले बनाएको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने र विश्वका जुनसुकै कुनामा पनि लैजान सकिने किसिमको भएको बीबीसीले उल्लेख गरेको छ । एस्ट्राजेनकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ' यो खोप सजिलै भण्डारण गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सहज छ । यो सामान्य रेफ्रिजेरेटर (२ देखि ८ डिग्री सेल्सियस) तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।'

कम्पनीले प्रयोगको अनुमति पाएका सन् २०२१ सम्ममा ३ अर्ब डोज उत्पादन गर्ने बताएको छ ।

नियमनकारी निकायबाट प्रयोगको अनुमति पाएमा यसले कोरोना महामारी नियन्त्रणमा उल्लेख्य सहयोग पुऱ्याउने बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले लेखेका छन् ।

त्यस्तै अक्सफोर्डको खोपको सही डोज दिन सकिएमा यसको प्रभावकारिता ९० प्रतिशतसम्म पुग्न सक्ने पनि अनुसन्धानकर्मीले बताएका छन् ।

बेलायत सरकारले अक्सफोर्डले बनाइरहेको खोपको १० करोड डोज अर्डर गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खोपको प्रभावकारिताबारे भनेका छन्, ‘अक्सफोर्डको कोरोना खोप परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएको छ । अविश्वसनीय रुपमा यो निकै नै खुसीको खबर हो ।’

प्रधानमन्त्री जोन्सनले खोपको सुरक्षा मापदण्डबारे अझै केही प्रक्रिया बाँकी भए पनि खोपको प्रभावकारिता राम्रो देखिनु खुसीको कुरा भएको बताएका छन् ।

अक्सफोर्डका अनुसन्धानकर्मीहरुले १० महिना लगाएर कोरोना खोप निर्माण गरेका हुन् । अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको परीक्षणमा बेलायत र ब्राजिलमा गरी २० हजारभन्दा बढी सहभागी भएका थिए ।

सम्बन्धितमा समाचार

प्रकाशित : मंसिर ८, २०७७ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×