दाजुभाइ नभए पनि जसको तिहार खल्लो भएन

बुनु थारु

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाका ५ दिदीबहिनी छन् । डा रुणासँगै उनका ३ बहिनी डाक्टर छन् भने एकजना वकिल । सानैदेखि यी दिदीबहिनीहरु एकअर्कालाई ‘भाइटीका’ लगाइदिने गर्छन्, मिठो बनाएर खान्छन् । एकअर्कालाई उपहार साटासाट गर्छन् ।

दाजुभाइ नभए पनि जसको तिहार खल्लो भएन

कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएकी डा रुणाले केहीदिन तिहारका लागि बिदा लिएकी छिन् । तर टीका भने लगाउन नपाउने उनले बताइन् । भनिन्, 'घरायसी समस्याले यसपालि मिलेन ।'

३ जना बहिनीहरु विदेशमै रहेकाले ४ वर्षदेखि यी दिदीबहिनीहरुले टीका लगाउन पाएका छैनन् तर प्रविधिले सबैलाई जोडिदिएको छ ।

डा रुणा झा दिदीबहिनीहरुसित

‘हामीले ‘हम पाँच’ भनेर एउटा ग्रुप बनाएका छौँ त्यसमा नै कुराकानी गर्ने गछौँ । यसपालि पनि भर्चुअल टिका नै होला ,' डा रुणाले हाँस्दै भनिन् ।

अनुसन्धानकर्मी पल्लबी पायलले २ वर्ष अगाडि बहिनीसित टीका लगाउँदै गरेको फोटो फेसबुकमा पोस्ट गरिन् । एकजना शुभचिन्तकले उदाहरणीय भनेर उनको फोटो सेयर गरे। तर एकाधबाहेक उनको त्यो फोटोमा धेरैले 'यसरी टीका लगाउनु वाहियात कुरा हो, संस्कृतिमा धक्का पुग्ने काम भयो' भनेर समेत लेखे ।तर यस्ता कुरामा पल्लबी मतलब गर्दिनन् ।

पल्लबीले अझै पनि दिदीबहिनी टीका लगाउँदा ‘बिचरा’ दाजुभाइ छैनन् भनेर खिसीटिउरी गरेको पाएकी छिन् ।उनी भन्छिन्, ‘हाम्रो सँस्कृति हेर्दा दिदीबहिनीको सम्बन्धलाई सेलिब्रेट केही पनि छैन । संस्कृति कहिल्यै एकनास भइराख्ने हुँदैन । परिवर्तन भइराख्छ ।समय बदलिन्छ संस्कृति बदलिन्छ । संस्कृति राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ । संस्कृतिबारे प्रश्न उठाउने काम सधैँभरि गरिरहनुपर्छ ।’ सानैदेखि उनले बहिनीलाई टिका लगाउँदै आएकी छिन् । एकअर्कालाई राखी पनि बाँधिदिने गरेका छन् । 'एकअर्कामा खुसी साटासाट गर्नुपर्छ भन्ने लाग्छ । दाइभाइ छैनन् भनेर कहिल्यै मतलब नै लागेन,’ उनले भनिन् ।

पल्लबी पायल बहिनीसित

४ जनाको सपरिवार नै कोभिड पोजिटिभ भएका कारण यो वर्ष फरक टिका हुने पल्लबीले बताइन् । ‘योपालि गिफ्टहरु पनि खरिद गर्न पाइएन । घरमै मिठाइ बनाइयो । यसरी नै दुवैजना किताबप्रेमी भएकाले किताब दिइन्थ्यो । यसपालि पैसा दिन्छु होला,' उनले भनिन् ।’

इमाडोलकी रेजिना राउतका ३ जना दिदीबहिनी छन् । रेजिनाले भने पोहोर सालबाट मात्र दिदीलाई टीका लगाउन थालेकी हुन् । ‘पहिले आफन्त पर्ने दाइहरुलाई टीका लाइदिन्थेँ, तर कहिले के नमिल्ने भयो अब भने दिदीबहिनी नै टीका लगाउन थालेको हो,' उनले भनिन् ।

उनकी आमाले पनि दिदीबहिनीले पनि लगाउँदा हुने रैछ नी है भनेर खुसी व्यक्त गर्नुभएको छ । रेजिना भन्छिन्,‘हामी ३ दिदीबहिनीमा दाइभाइ नहुँदाको अभाव त भएन तर टीका लगाउँदैन थियौं । अब भने सधैं निरन्तरता दिने मन छ । रमाइलो लाग्ने रहेछ । आखिर दाइलाई पूजा गर्न हुने रहेछ, दिदीबहिनीले किन नहुने ?’

रेजिना राउत बिहिनीसित

महिला अधिकारकर्मी भगवती अधिकारी पनि सम्बन्धलाई सेलिब्रेट गर्ने कुरामा दिदीबहिनी वा दाजुबहिनी नै हुुनुपर्छ भन्ने भन्ने मान्यतामा सहमति जनाउँदिनन् । उनी भन्छिन्, ‘आजको दिन भनेको सम्बन्धलाई सेलिब्रेट गर्ने कुुरा हो । दिदीबहिनीले मात्र होइन दाजुभाइ मात्र छन् भनेपनि टीका लगाउन सकिन्छ ।’

पहिलादेखि नै दिदीबहिनीले भाइटीकाको दिन टिका लगाउँदै आएपनि अझैपनि यो प्रवृत्ति स्वीकार्य भइनसकेको भगवती उनको भनाइ छ । भन्छिन्,‘संस्कृतिलाई तोड्न सजिलो छैन तर बिस्तारै परिवर्तन हुँदै जान्छ । ’

संस्कृतिविद् निर्मला पोखरेल भने भाइटीकाका दिन दिदीबहिनीले टीका लगाउनु उचित नहुने तर्क राख्छिन् । उनका अनुसार शास्त्रद्वारा स्थापित मान्यतालाई छोड्नुहुन्न ।आफूखुसी गरेर संस्कृति तोडिन्छ र विकृतिको सुरुवात हुन्छ। ‘दाजुभाइलाई दिदीबहिनीले टीका लगाउनु नै यस दिनको औचित्य हो ।दिदीबहिनीका लागि तीज छ , दसैं छ त्यसमा दिदीबहिनीले एकआपसमा टीका लगाउन सक्छन्, खुसी साटासाट गर्न सक्छन्,’ उनले भनिन् ।

प्रकाशित : मंसिर १, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?