रानाथारु बस्तीमा ‘दिवारी’ पर्वको रौनक

भवानी भट्ट

कञ्चनपुर — कोही घर पोतिरहेका छन् । पोखरी वा तलाउको पिँधबाट ल्याइएको माटोलाई पानीमा मिसाएर झाडुले पोतिदै छ । यसलाई चौका लगाउने भनिन्छ ।

रानाथारु बस्तीमा ‘दिवारी’ पर्वको रौनक

भीमदत्त नगरपालिकाको वडा नम्बर १४ र १६ मा रहेको नयाँ कटानस्थित रानाथारु बस्तीमा दिवारी (तिहार ) को तयारी धुमधामका साथ चलिरहेको छ । त्यसकै तयारी स्वरुप घर लिपपोतदेखि खानेकुराका लागि कुटानी पिसानीको कामको चहलपहल बढेसँगै बस्तीमा रौनक छाएको छ ।

कैलाली र कञ्चनपुरमामात्रै बसोबास भएका रानाथारु समुदायले होलीपछि दिवारीलाई प्रमुख चाडपर्वका रुपमा धुमधामका साथ मनाउने गर्छन् । तिहारलाई नै रानाथारु समुदायले दिवारी भन्ने गर्छन् । शुक्लपक्षको दोस्रो दिन (औंसीको तेस्रो दिन) मनाइने र यसमा खेतबारी गोठ सबैको पूजा हुने भएकाले दिवारी भन्ने गरिएको हो ।

‘अहिले भने उजारी (शुक्लपक्ष) सोमबार वा बिहीबार दिवारी मनाउने चलन छ,’ भीमदत्त नगरपालिका १६ नयाँ कटानका ७२ वर्षीय हरिसिंह रानाले भने, ‘गाउँलेहरु छलफल गरेर दिवारीको दिन तय गर्छन्, त्यो भाइटिकाकै दिन वा अगाडी र पछाडी पनि पर्न सक्छ ।’उनका अनुसार औंसीपछिको पहिलो सोमबार वा बिहीबार मनाउने चलन रहेकाले जुनदिन गाउँलेले निर्णय गर्छन् त्यही दिन दिवारी मनाइन्छ ।

यस पटकको दिवारी भाइटीकाकै दिन मनाउने यहाँको समुदायले निर्णय गरेको छ । औंसी पछिको सोमबार पनि भाइटिकाकै दिन परेको छ । त्यहि अनुसार गाउँमा खबर पनि गरिएको छ । पूजाआजासँगै बिहानैदेखि खाना पकाउने काम सुरु हुन्छ । गाउँमा केही काम परेको भए दोस्रो सोमबार वा बिहीबार पनि देबारी मान्ने गरिएको हरिसिंहले बताए । उनका अनुसार पूर्णिमा भित्रै यो पर्व मनाइसक्नुपर्ने हुन्छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १४ नयाँ कटानमा दिवारीको तयारीका लागि घर लिपपोत गर्दै रानाथारु महिला । तस्बिर : भवानी भट्ट

दिवारीका दिन हरेकको घरमा बिहानै पूजाआजा हुन्छ । रानाथारुले पार्वतीलाई कुल देउताको रुपमा मान्ने गरेको हरिसिंहले बताए । उनका अनुसार पूजामा चढाएको कुखुराको मासु र भात दाल पकाइन्छ । सबैले गाउँलेलाई आफ्नो घरमा खाना खान निम्तो दिन्छन् । त्यहि अनुसार सबैले एक अर्काको घरमा पुगेर खाना खान्छन् ।

‘गाउँभरिका सबैलाई खानाको लागि निम्तो दिइन्छ, सबै एक अर्काको घरमा पनि जान्छौं,’नयाँ कटानका पर्शुराम रानाले भने, ‘त्यो दिन दिनभरि खानपिनमै जान्छ ।’ उनका अनुसार हरेकको घरमा पुगेर अलिअलि खानै पर्ने हुन्छ । महिलाहरु समूह नै बनाएर घर घरमा खाना खान जान्छन् ।

रानाथारु समुदायले भाइटिका मान्दैनथे । देबारीकै रुपमा यसलाई मनाउथे । तर पछिल्लो समय भाइटिका पनि मान्न थालेको स्थानीय बताउँछन् । ‘भाइटिका हाम्रो तिहार होइन,’ स्थानीय नाथुराम रानाले भने, ‘सबैलाई देखेर हाम्रा दिदीबहिनीहरुले पनि भाइटिका लगाउन थाले ।’ उक्तदिन खानपिन पनि गरिन्छ । तर मुख्य पर्व भने दिवारीकै दिन मानिन्छ ।

शुक्लपक्षको दोस्रो दिन भएकाले ‘दुई’ र उक्त दिन खेतबारी र गोठ सबैको पूजा हुने भएको ‘बारी’ जोडेर दिवारी भन्ने गरिएको हो । विगतमा घरमा चाहिने सबै सामान बारीमै पाइन्थ्यो । सागपातदेखि अन्न तेल खोर्सानी सबै । गोठमा पनि गाइगोरु र भैंसी प्रशस्तै हुन्थे । गोठ र खेतबारी सप्रियोस भनेर पूजा गर्ने चलन अहिले पनि रहेको छ ।

नयाँ कटानमा ४० परिवार रानाथारुको बासोबास छ । २०४५ मा तत्कालिन शुक्लाफाँटा वनयजन्तु आरक्षको पूर्वी क्षेत्र विस्तारका क्रममा अर्जुनीबाट विस्थापित भएका उनीहरुलाई नयाँ कटानमा सट्टाभर्ना दिएर बसाइएको हो ।

प्रकाशित : कार्तिक २९, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?