१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

फुर्सदिला कलाकार कञ्‍चनजंघामा

उपेन्द्र सुब्बा भन्छन्- ‘सगरमाथाभन्दा पश्चिम नेपाल पूरै व्यावसायिक भयो, कञ्चनजंघा यति सजिलो छ भन्ने बुझेपछि नयाँ गन्तव्य रुचाउनेको लर्को लाग्छ ।’
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका घर भएकी गायिका झुमा लिम्बू आफ्नै जिल्लाको कञ्चनजंघा हिमालको नजिक पुगेकी थिइनन् । असाध्यै मन भए पनि कम्तीमा १५ दिनको समय छुट्याउनुपर्ने भएकाले उनका लागि साइत पनि जुरेको थिएन ।

फुर्सदिला कलाकार कञ्‍चनजंघामा

कोरोना संक्रमणको समयमा काठमाडौंमा काम नभएपछि उनी धरान आइन् । आमासँग एक साता बसेपछि पुर्ख्यौली थलो जाने मन भयो र ताप्लेजुङ आइपुगिन् ।

उनको योजना यहाँबाट संखुवासभा जाने थियो । त्यहाँ एक साताको काम थियो । त्यहाँका नगरपालिका प्रमुखले जिल्लामा कोरोना संक्रमण बढेकाले यो समय नआए राम्रो हुने बताएपछि कञ्चनजंघा बेसक्याम्प जाने निधो गरिन् ।

ताप्लेजुङकी झुमा र पाँचथरका लाटो पहाडका लेखक उपेन्द्र सुब्बाको मत मिल्यो । ललितपुरमा बसोबास भए पनि पाँचथर पुर्ख्यौली घर भएका उपेन्द्र पनि कञ्चनजंघा क्षेत्रमा गएका थिएनन् । झुमा र उपेन्द्र दुवैको साझा चाहना किराँत धर्मको पवित्रस्थल फक्ताङलुङ (कुम्भकर्ण) पुग्ने पनि थियो । त्यसपछि सात जनाको टोली तयार भयो र कञ्चनजंघा र कुम्भकर्ण दुवै हिमालका बेस क्याम्पसम्मको यात्रा पूरा भयो । बीचमा थपिएका अर्को टोलीका चार जना पनि उनीहरू सँगसँगै गए ।

नयाँ गन्तव्यस्थल पुगेर फर्किएका यी दुई कलाकारको यो क्षेत्रको बुझाइ भने बिलकुलै फरक रह्यो । उपेन्द्र यो ठाउँको जति प्रशंसा गरे पनि हुने बताउँछन् । झुमालाई भने अहिले नै यसको चर्चा र प्रचार गर्ने मन पटक्कै छैन । उनलाई केन्द्र सरकारदेखि स्थानीय सरकार र फक्ताङलुङ धर्मका अभियन्तासँग नराम्ररी चित्त दुखेको छ । आफ्नै जिल्लाका भएकाले सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई दुखेसो सुनाउने उनले बताइन् । ‘माथिबाट ढुंगा झरिहाल्ला जस्तो छ, टेकेको ठाउँ पनि भत्किजाला जस्तो छ,’ उनले थपिन्, ‘वर्षमा हजार, १२ सय विदेशी हिँड्ने ठाउँको पैदल मार्ग त कम्तीमा राम्रो बनाउनुपर्छ नि !’

खम्बाचेनबाट फक्ताङलुङ जाँदा अढाइ घण्टाको बाटो हराएको पनि उनले सुनाइन् । ‘जाँदाजाँदै हिउँ पर्न थाल्यो, बाटो हिउँले पुरियो, देखिएन,’ उनले भनिन्, स्नो पोल भएको भए त्यसलाई हेरेर जाँदा हुन्थ्यो त्यो पनि कतै थिएन, दुई घण्टामा पुगिने ठाउँमा साढे चार घण्टा लाग्यो ।’ यो काम सरकारको मुख नताकेर धार्मिक अभियन्ताले पनि गर्न सक्ने उनको तर्क छ । उनले भनिन्, ‘उनीहरूलाई पनि देश–विदेशबाट सहयोग आइरहेको छ ।’ केही साथी बाटोबाट फर्कन बाध्य भएको पनि सुनाइन् । ‘एक जना साथी बाटोमा बसिरहेका थिए, अन्तको जस्तै सम्झिएर जाऊँजाऊँ भन्दै म हिँडेपछि मेरो पछि जाने शेर्पा दाइले तानेर लानुभयो,’ झुमाले भनिन्, ‘उहाँलाई त लेक लागेको पो रहेछ, अप्ठेरो गाह्रो पर्दा सम्पर्क गर्ने उपाय पनि छैन ।’

कञ्चनजंघा क्षेत्रमा मोबाइल टिप्ने टावर पनि नबनाउनु सरकारको हदैसम्मको कमजोरी भएको उनले बताइन् । हिमाली सौन्दर्यको भने उनलाई खुलेरै प्रशंसा गर्ने मन छ । सौन्दर्यका लागि पर्यटक तान्ने योजना र किराँत धर्मको प्रवर्द्धनका लागि भएको पूर्वाधार विकास चित्तबुझ्दो छैन ।

उपेन्द्रलाई भने कञ्चनजंघा सोचेभन्दा भिन्न लागेको छ । कम्तीमा ३५ देखि ४० हजार खर्च हुने अनुमान गरेर हिँडेका उनी १५ हजार रुपैयाँ खर्च गर्दा घर पुगे । ‘अत्यन्तै नसोचेको सस्तो,’ उपेन्द्रले थपे, ‘म पश्चिममा हिँड्दा उमालेको पानी पनि किनेर खाएको मान्छे । यता त नुहाउने पानी पनि सित्तैमा पाउँदा हाँस पो उठ्यो ।’

हिमाल जाँदा उकालो हिँड्नुपर्ने भए पनि सोचेजस्तो उकालो नभएको उनले सुनाए । ‘पहिला पनि बाटो त्यस्तो नराम्रो थियो जस्तो त मलाई लागेन,’ उनले भने, ‘लेकमा खानुबस्नु पनि कति राम्रो रहेछ । ती भोटे दाइ, दिदी–बहिनी कति मज्जाले बोलेका ।’ कञ्चनजंघाले ताप्लेजुङ र पूर्व क्षेत्रको मुहार फेर्ने उनको बुझाइ छ । ‘सगरमाथाभन्दा पश्चिम नेपाल पूरै व्यावसायिक भयो, कञ्चनजंघा यति सजिलो छ भन्ने बुझेपछि नयाँ गन्तव्य रुचाउनेको लर्को लाग्छ,’ सुब्बाले भने, मैले नै ओड्ने पाइँदैन भनेर स्लिपिङ ब्याग बोकेर गएको थिएँ, भरेभन्दा त उतै खोजेजति पाइँदो रहेछ ।’

ठाउँ चिनाउने होर्डिङबोर्ड, हिउँमा बाटो देखाउने स्नो पोल नहुँदा र बाटोमा साह्रै नराम्रो अक्षरले लेखिएको लेखले भने उनको चित्त दुखाएको छ । ‘बेस क्याम्प हो भनेर चिनाउने कुनै इन्फर्मेसन बोर्ड नै छैन,’ उनले थपे, ‘जहाँ बसेर फोटो खिचिन्छ, त्यहाँ त राम्रो हुनुपर्‍यो नि, ढुंगामा भए पनि राम्रो अक्षरले लेखिदिए त हुन्छ नि ! त्योचाहिँ भएन ।’ जति उकालो गयो उति आनन्दानुभूति भएको उनले सुनाए ।

प्रकाशित : कार्तिक २८, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?