कोरोनामुक्त भएका प्रमोद खरेल भन्छन् : पैसा नभएर कसैले मर्न नपरोस्- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनामुक्त भएका प्रमोद खरेल भन्छन् : पैसा नभएर कसैले मर्न नपरोस्

'आर्थिक स्थिति कमजोर हुनेहरुलाई एकदम गाह्रो छ अहिले । यति धरौटी भएन भने भर्ना लिँदैनौं भन्ने समाचार पढ्छौं हामी । त्यो भनेको त एकदमै दु:खदायी कुरा हो । त्यस्तो नहोस् ।'
रीना मोक्तान

काठमाडौँ — गीत रेकर्डिङको काम निरन्तर थियो । स्टुडियो आउजाउ भइरहन्थ्यो । भीडभाडबाट बढी जोगिने गर्थे गायक प्रमोद खरेल । स्टुडियो जाँदै गर्दाको त्यो दिन बीचमै एकजनासँग मिटिङ पर्‍यो । मिटिङपछि बैंकको काम । तर, बैंक बन्द भएकाले काम भएन । प्रमोदले स्टुडियोतर्फ गाडीको स्टेरिङ घुमाए । त्यत्तिकैमा असहज महसुस भयो । एक्कासि शरीर तातो भयो ।

शरीरको तापक्रम नघटेपछि पीसीआर परीक्षण गराउनेबारेमा सोचे । त्यसपछि टिचिङ असप्तालमा कार्यरत नर्ससमेत रहेकी बहिनी मन्जु खरेललाई फोन गरे,'मलाई अलिकति असहज भहसुस् भो' अस्पताल आउँ कि स्टुडियो जाउँ ?’

बहिनीले अस्पताल जान सुझाइन् । बहिनीसँग फोनमा गफिँदै गाडी ह्याम्स अस्पतालतर्फ मोडे । ह्याम्स नजिकै पर्ने भएकाले बहिनीले उतै जान सल्लाह दिएकी थिइन् । अस्पताल पुगेपछि शरीर झनै तातो भयो । परीक्षण गराउने ठाउँमा भीड थियो । आधा घण्टाजति कुर्नु पर्ने भयो । अस्पतालको छतमा पनि परीक्षण भइरहेको सुनेर उनी त्यतै लागे । परीक्षण गरेर सिधै घर फर्के । त्यसदिनको रेकर्डिङ पनि क्यान्सिल गरे ।

सुत्केरी पत्नी छोरी लिएर झापा गइसकेकी थिइन् । यता घरमा बुवा, आमा र छोरा बिप्रभ मात्र । गाडी राखेर सोझै आफ्नो कोठाभित्र छिरे प्रमोद । 'कोठाभित्र छिरेर ढोका लगाएँ । मलाई कोरोनाको शंका लागिसकेको थियो । कोरोना भएको रहनेछ भने त भोलि थाहा भइहाल्छ । भ'को रहेछ भने त भोलि सबैलाई सर्छ । त्यसैले रिपोर्ट कुर्दिनँ भनेर कोठाभित्र आफैलाई आइसोलेट गरें,’ असोज अन्तिम सम्झँदै भने।

बुवा ७० वर्षका, आमा ६६ । औषधि खाइरहने बुवा र आमालाई केही होला कि भन्ने चिन्ताले सजग भएर घरभित्रै थुनिए । माथिल्लो तल्लामा रहेको बुवालाई फोन गरेर शरीर तातिएकाले कोठाभित्रै बस्ने जानकारी गराए । खाना ढोकामै ल्याइदिन भनेपछि त बुवाले सोधिहालेछन्, ‘कोरोना हो ?’

सामान्य हुँदै पीसीआर परीक्षण गरे पनि नतिजा नआइसकेकाले उनले बुवालाई चिन्ता नलिन भने ।

त्यो रात शरीर कटकट दुख्न थाल्यो । दुखाइले निन्द्रा राम्ररी परेन । 'कोल्टे फेर्छु कटकट जीउ दुख्ने । कफसँगै खोकी लाग्यो । एकदम गाह्रो भएपछि एउटा सिटामोल खाएँ । खाना खाएँ अनि निदाउने प्रयास गरें,’ आइसोलेसनको पहिलो दिन सम्झन्छन् ।

बिहान उठ्दा ज्वरो कम भइसकेको थियो । शरीर उस्तै तातिरह्यो । त्यसपछि टाउको दुख्न सुरु भयो । पिनास बल्झियो । आँखा खोल्नै नसक्ने भयो । त्यतिकैमा बहिनीले रिपोर्ट पठाइन् । रिपोर्ट पोजिटिभ आएको रहेछ । त्यसपछि तनाव थपियो । ‘पहिला कोरोना त हो भन्ने लाग्थ्यो । तर आफैलाई लागेपछि एकदमै डर लाग्यो । यति जोगिँदा पनि मलाई कोरोना लाग्यो भन्ने भयो,’ पोजिटिभ नतिजा आउँदाको अनुभव सुनाए ।

उनी स्टुडियोको हेडफोन चलाउँथेनन् । आफ्नो छुट्टै हेडफोन प्रयोग गर्थे रेकर्डिङमा पनि । स्टुडियो पुग्नासाथ हातमा स्यानिटाजर लगाउँथे। साबुन पानी भेटेसम्म प्रयोग गर्थे । घर पुग्नासाथ लगाएको लुगा बाथरुममा राख्ने दैनिकी बन्न थालेको थियो । बजारबाट ल्याएको तरकारी घाममा सुकाएर तातो पानीले धुएर मात्र पकाउने गर्थे । यतिका सावधानी अपनाउँदा पनि कोरोना लाग्यो भन्ने कुराले थप पिरल्यो ।

बुवाआमा पनि चिन्तित । उनीहरु चिन्ता लुकाएर हँसिलो मुहार बनाउँथे । तर, प्रमोद पढिहाल्थे आमा बुवाका अनुहार । छोरा बिप्रभ झ्याम्मिन आउलान् भनेर आफू कोठाभित्रै रहेको थाहा नदिने सल्लाह गरे । बुवा आमालाई नै ख्याल राख्न लगाए । परिवारको अगाडि बलियो प्रस्तुत भए पनि मनमा पीर अझै थियो । बहिनीले त्यही मनोविज्ञान बुझेर सिटी भ्यालु (साइकल थ्रेसहोल्ड) ३० रहेको भन्दै नआत्तिन सल्लाह दिइन् ।

साथी किरण केसीले अक्सिमिटर र थर्मोमिटर ल्याइदिए । अक्सिमिटरमा श्वासप्रस्वास हेर्न पनि सिकाइदिए । ‘९० तल भयो भने अस्पताल भर्ना भइहाल्नुपर्छ । माथि भयो भने आत्तिनु पर्दैन भनेको थियो । म चेक गरिरहन्थें । मेरो ९२/९५ देखाइरहन्थ्यो,’ उनले भने ।

दोस्रो दिन मुख गन्हाउन सुरु भयो । एकदमै धेरै कफ आउन थाल्यो । अमेरिकामा रहेका साथी डाक्टर मनिष बसिष्ठसँग सम्पर्क गरे । मनिषले अमेरिकामा हजारौं कोभिड बिरामीलाई उपचार गरेको अनुभव बटुलेका छन् भन्ने उनलाई थाहा थियो । उनी आफ्नो शरीरको तापक्रप नाप्दै मनिषलाई पठाउँथे । मनिषले पनि धेरै तनाव नलिन भन्दै प्रोत्साहन दिन्थे । उनी 'कूल' बन्न खोज्थे तर एकदमै टाउको दुख्दा छटपटिन्थे ।

कोठाभित्र थुनिएसँगै परिवारसँग भौतिक दूरी बढ्यो । आमाबुवामाथि भान्सामा खानेकुरा पकाएर प्रमोदको ढोकामा राखिदिन्थे । अनुहारमा मास्क, फेससिल्ड र हातमा ग्लोभ्स लगाएर बुवा खाना पुर्‍याउन आउँथे । बुवा फर्किसकेपछि मात्र उनी खाना भित्र ल्याएर खान्थे । खाएको भाँडा(प्लास्टिक) बार्दलीबाट तल फाल्थे ।

दोस्रो तल्लाको कोठालाई आइसोलेसन बनाएका थिए प्रमोदले । छोरा संक्रमित भएसँगै बुवाआमाको दैनिकी पनि परिवर्तन हुन थाल्यो । दिउँसो अन्य कोठामा समय बिताए पनि राति आमाबुवा दोस्रो तल्लाकै अर्को कोठामा सुत्न आउथे । सबेरै पाँच बजे उठेर माथि तल्लामा जान्थे ।

केही दिनअघि गीत रेकर्डिङ गर्ने क्रममा स्टुडियोमा प्रमोद खरेल

वृद्ध बुवाआमालाई संक्रमण होला भनेर पत्नीको भाइ उमेश सिटौला तेस्रो दिन उनको हेरचाह गर्न आइपुगे । होटल म्यानेजमेन्ट अध्ययनरत उमेश खान पकाउनमा माहिर । बिरामीलाई दिनुपर्ने पौष्टिक आहार सबै जानेका । 'उपयुक्त खानेकुराहरु बनाएर खुवायो उमेशले । उसले धेरै नै हेरविचार गरिदियो । थकान, कमजोर हुँदा खानेकुरा मिलाएर खुवायो,' आइसोलेसनका खान्कीबारे सुनाए,'कुखुरा र खसीको सुप मैले बढी पिएँ । च्याउको सुप पनि । दाल एकदम मनपर्छ, दाल खाएँ । धेरै त झोल पदार्थ खाएँ ।'

त्यो चौथो रात…

आइसोलेसनको चौथौ दिन श्वास फेर्न निकै समस्या भयो । 'यता फर्कन्छु सास फेर्न गाह्रो हुन्छ । उता फर्कन्छु त्यस्तै,' बिर्सनै नसक्ने दिन सम्झे । श्वास फेर्न धेरै नै समस्या भएपछि बहिनीलाई फोन गरेर 'एम्बुलेन्स स्ट्याण्डबाई' राख्न भने । जसरी पनि एउटा बेड अस्पतालमा आफ्ना लागि तयार पार्न भने । 'फोन तेरो रिङमा राख जतिबेला पनि मेरो फोन आउन सक्छ भनें बहिनीलाई । बहिनीले उता डाक्टरसँग कुरा गरिछन् । गाह्रो भयो भने अस्पताल आउन भनिन्,' आफूलाई गाह्रो हुँदाको दिन सम्झे,'कोठामा एक्लै थिएँ । थाहा थियो मलाई कसैले अस्पताल पुर्‍याउन सक्दैन भनेर । उमेशलाई भन्ने अवस्था थिएन ।'

श्वास फेर्न धेरै नै समस्या भएपछि आईसीयू सम्झे । प्लाज्माथेरापी पो आवश्यक पर्ला कि ! मन धेरैतिर डुल्यो । दिमागमा कतै मर्छु कि भन्ने लाग्यो । आमा बुवालाई केही भनेनन् । सास फेर्न संघर्ष गरिरहेकै बेला ध्यान अर्कोतिर तानियो । 'बाहिर कसैलाई थाहा दिएको थिएन । सामाजिक सञ्जालमा कतै भनेको थिएन । धेरै गाह्रो भयो भने जानकारी गराउनुपर्छ भन्ने पनि भएको थियो,'उनले भने ।

'श्वास फेर्न सक्छु' भन्ने हिम्मत राखेर आँखा बन्द गरे । यस्तै छटपटीबीच निन्द्रा परेछ, २ बजे ब्युझिँदा मात्र चाल पाए । असहज अनुभव हुँदाहुँदै त्यो रात बल्ल कट्यो ।

भोलिपल्ट डाक्टर अमृत पोख्रेल उनलाई भेट्न निवासमै आइपुगे । सोझै आइसोलेसनमा बस्दै गरेको कोठाभित्र पसे । तपाईं बाहिरै बस्नुस् भनेर प्रमोदले आग्रह गर्दा अम्रितले भनेका थिए 'कोरोना त त्यसरी सर्ने नै होइन नि । तपाईं मेरो नजिक आएर खोक्नु भयो, मैले मेरो हात त्यतिकै नाक र मुखमा लगें भने पो सर्छ ।'

बन्द कोठामा पाँच दिनपछि कसैलाई देख्दा थप ऊर्जा मिल्ने नै भयो । अमृतले उनको प्रेसर नापे । आधा घण्टा परामर्श दिए । प्रोत्साहन गरे । 'यति सकारात्मक बनाइदिनु भयो कि बेलुकी ज्वरो आएन । टाउको दुख्न कम भयो । मन चंगा भयो,' उनी सुनाउँछन्, 'म बिरामी भएँ । मर्छु कि भन्ने मनोवैज्ञानिक तनावले पनि बिरामी भइँदो रहेछ । तर उहाँले मलाई मनोवैज्ञानिक रुपले परामर्श दिनुभयो । उहाँले मलाई भेटेर जानु भएपछि मलाई त केही हुँदैन रहेछ भन्ने अनुभव भयो ।'

डाक्टर अमृतसँग भेटेपछि उनले सकारात्मक सोच्न थाले । बिस्तारै ज्वरो कम हुँदै गयो । ८ औं दिनबाट आफू निको हुँदै गएको अनुभव गरे । खोकीले छोडेको थिएन । ९ औं दिनमा बार्दलीबाट बाहिरको दृश्य नियाल्दै थिए, उनको आँखा आफ्नो गाडीमा पुग्यो । त्यहाँ छोरा बिप्रभ ढल्केर बसेका थिए । छोराले परिवारलाई सम्झेर गाडी छेउ न्यास्रो अनुहार पारेको देखेपछि प्रमोदको मन कटक्क खायो । 'आमा पनि देखेन, मलाई पनि देखेन । गाडी मात्र यहाँ छ भन्ने सोच्दो हो । एकदमै नरमाइलो लाग्यो त्यो देखेर । मैले उसलाई आवाज दिएँ । मलाई देखेर उ रोयो,' आइसोलेसनका तीता क्षण सम्झिन्छन्,'बुवाले उसलाई लिएर जानुभो' । म तल उ रोएको सुन्थे । न उसलाई फकाउन जान सक्थें न भेट्न जान सकिन्छ । एकदमै टाढा भएको अनुभव भयो ।'

कोरोना संक्रमण भएर आफ्नो सन्तानबाट टाढिने अभिभावकलाई यसको खास अनुभव हुने उनी बताउँछन् । उनले त्यो नरमाइलो क्षणलाई सानो डायरीमा टिपेका पनि छन् । भोलिपल्टै उमेशसँग उनलाई झापा पठाइदिएँ ।

दिन काट्न उनले गितार बजाउन खोज्थे । तर, मुड आउँथेन । फोनमा कसैले ‍बोल्यो भने पनि झर्को लाग्ने । आइसोलेसनमा बस्दा धेरैको फोन उनले उठाएनन् । मेसेन्जरमा आएका म्यासेजको प्रतिक्रिया सामान्य बनेर दिन्थे । आइसोलेसनमा उनले आईपीएल हेर्न कहिल्यै छुटाएनन् । उनी क्रिकेटका क्रेजी फ्यान । टिभीमा हेर्न गाह्रो हुँदा मोबाइलमै पनि आईपीएल हेर्थे । दुईवटा खेल हुँदा त रातको ११ बजेसम्म हेर्थे । आँखा दुखे पनि सहन्थे । आइसोलेसनको १४ दिनसम्म पनि उनले क्रिकेट हेरेर समय काटे । बाहिर निस्कने खुबै मन हुन्थ्यो । तर आफूलाई सम्हाले । दिन गन्दै बसेका क्षण अझै पनि सम्झन्छन् उनी ।

'मलाई पाँच दिन एकदम गाह्रो हुन्छ भनिएको थियो । मलाई पाँच दिन कटाउन पाए कस्तो हुन्छ भन्ने थियो । सात दिन अझै जोखिम हुन्छ भन्थे । कहिले सात दिन कट्ला भन्ने भयो । ८ औं दिनबाट फ्रेस हुन्छ भन्ने पनि सुनेको थिएँ । ८ दिन कट्दा ओहो ! ८ दिन कट्यो,' दिन गन्दै बस्दाको क्षण सम्झिए उनले,'ओहो ! १० दिन कट्यो । अब त सर्दैन रे । १४ औं दिनमा त वाह !आज १४ दिन भनेर बिहानै ब्युउँझें ।'

अरुबेला ६ बजे ब्युँझने उनको त्यस दिन पाँच बजे उठे । १४ दिनपछि कोरोना सर्दैन भनिन्छ । उनले त्यसदिन मज्जाले कोठा सफा गरे । स्यानिटाइजर छरे । प्रयोग गरेका सामानहरु छतमा लगे । १ घण्टा लगाएर सरसफाइ गरे । थाकेनन्, निको भएँ भन्ने ऊर्जा थियो । नुहाएर भान्सामा पहिलो पटक आमाबुवासँग सँगै बसेर खाना खाए । तर मनमा कोरोना सर्छ कि! भन्ने डर थियो । 'मनमा डर कायमै थियो । सर्‍यो भने तनाव हुन्छ भनेर भान्सामा पनि पर दूरी बनाएर खाना खाएँ । १४ दिनपछि भाइरस सर्ने सम्भावना कम छ भन्नुभएको थियो,' उनले भने ।

उनले कोरोनाबारे सम्पर्कमा आएका केही साथिलाई बाहेक अरुलाई भनेका थिएनन् । संगीतकार र रेकर्डिस्टहरुलाई १/२ दिन भन्दै रेकर्डिङको मिति पछाडि धकेल्दै आइसोलेसनमा बसेका थिए । १५ औं दिनमा भने रेकर्डिङ राखे । शरीर कमजोर भए पनि 'रेकर्डिङ गर्छु' भन्ने उनलाई लागेको थियो । काम गरियो भने आत्मबल बढ्छ भन्ने भयो । रेकर्डिङ राम्रै भयो । कोरोना नतिजा नआइ रेकर्डिङ गर्दै हिँडेकामा कतिलाई चित्त नबुझ्न सक्छ भनेर उनले परीक्षण गराए । फूलपातीको दिन उनको नतिजा नेगिटिभ आयो । टीकाको दिन पत्नी लिन झापा हिँडे प्रमोद । अहिले उनी काममा फर्किसकेका छन् ।

दशैंका बेला झापाको पृथ्वीनगरस्थित आफूले एसएलसी दिएको विद्यालय अगाडि प्रमोद खरेल

धेरैलाई प्रमोद कोरोना संक्रमित भएर निको भएको थाहै छैन । यसबारे उनले खासै सार्वजनिक गरेनन् । किन उनले यो कुरा गोप्य राखे त ?

'पाँच महिना अगाडि नानी जन्मँदा एकदमै पीडा भयो । जन्मेको २ मिनटमै एनआईसीयूमा राखेर बचाए बच्चालाई । नानीलाई घर फिर्ता ल्याएको १० दिनपछि पत्नीलाई स्ट्रोक भयो । १२ बजे राति अस्पताल लगेर उसलाई पनि बचाएको हो,' उनले भने, 'उनीहरुको बारेमा मैले मिडियामा पनि बोलें । यत्ति धेरै नमिठा क्षण बाँडिसकें मेरो फ्यान, दर्शक र शुभचिन्तकसँग । अब मैले मेरो पनि दु:ख कत्ति देखाउने भन्ने भयो । धेरै दु:ख नदेखाउँ होला । पहिला मै निको हुन्छु । डटेर सामना गर्छु । बरु निको भएर भन्छु भन्ने विचार आयो ।'

प्रमोद अहिले झनै सचेत भएर काम गर्छन् । अझै मनमा संक्रमण हुने डर छ । उनी सबैलाई सचेत रहन आग्रह गर्छन् । सामान्य ज्वरो भन्दै लापर्बाही नगर्न पनि अनुरोध गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार गराउन सकून् भन्ने प्रार्थना गर्छन् उनी, 'आर्थिक स्थिति कमजोर हुनेहरुलाई एकदम गाह्रो छ अहिले । यति धरौटी भएन भने भर्ना लिँदैनौं भन्ने समाचार पढ्छौं हामी । त्यो भनेको त एकदमै दु:खदायी कुरा हो । त्यस्तो नहोस् । अरु रोग लाग्दा त औषधि छ, उपचार हुन्छ । बिरामीलाई गाह्रो भएर अस्पताल पुग्दा उसको उपचार हुनुपर्छ । पैसा नभएर कसैले मर्न नपरोस् ।'

सबै तस्बिर : प्रमोद खरेलको फेसबुकबाट

प्रकाशित : कार्तिक २७, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्

'वर्ल्डप्रेस फोटो प्रतियाेगिता'को जुरीमा नेपालकी नयनतारा

फोटो सम्बन्धी विश्वचर्चित प्रतिस्पर्धाको कुनै दिन 'जुरी' हुन्छु भन्ने नयनताराले कहिल्यै सोचेकी पनि थिइनन् । आफ्ना फोटोहरुसमेत यो प्रतिस्पर्धामा कहिल्यै पठाइनन् । 'वर्ल्डप्रेस फोटो'ले जुरीको लागि प्रस्ताव गर्दा उनको मनमा खुशी छायो ।
'हाम्रो कामलाई विदेशी प्रतिस्पर्धाले किन पहिचान गराइदिनु पर्ने ? म राम्रो फोटोग्राफर हो भन्न किन कुनै विदेशीले भनिदिनुपर्ने । मलाई लाग्छ हामीबीच नै त्यो परिपाटीको निर्माण हुनुपर्छ ।'
रीना मोक्तान

काठमाडौँ — 'वर्ल्डप्रेस फोटो'ले आयोजना गरेको 'मास्टर क्लास'मा यसपटक विश्वभरबाट २४ जना विद्यार्थी छानिए। मास्टर क्लासमा सहभागी हुन विद्यार्थीबीच मनोनयन गरिन्छ । यस वर्ष १५० जना विद्यार्थीबाट २४ विद्यार्थी मनोनित भए । र, उनीहरुले कक्षा लिन पाए । अरुबेला १२ विद्यार्थीले मात्र यो कक्षा लिन पाउँथे । मास्टर क्लास चार महिना लामो चल्यो । अरुबेला आम्स्टर्डम भेला भएर नै यो वर्कशप हुने गर्दथ्यो । तर यो पटक अनलाइनमार्फतै आयोजना भयो । मास्टर क्लासकै एक प्रशिक्षक थिइन् नयनतारा गुरुङ कक्षपति ।

मास्टर क्लासमा विद्यार्थीले गरेको प्रोजेक्ट हेर्ने, त्यसमा नयाँ आइडिया थपिदिने उनको जिम्मेवारी थियो । फोटो इडिटिङबारे पनि विद्यार्थीलाई सिकाइन् उनले । मास्टर क्लासको अन्तिमतिर हो 'वर्ल्डप्रेस फोटो'ले उनलाई 'जुरी चेयर'मा प्रस्ताव गरेको । फोटो सम्बन्धी विश्वचर्चित प्रतिस्पर्धाको कुनै दिन 'जुरी' हुन्छु भन्ने कक्षपतिले कहिल्यै सोचेकी पनि थिइनन् । आफ्ना फोटोहरुसमेत यो प्रतिस्पर्धामा कहिल्यै पठाइनन् । 'वर्ल्डप्रेस फोटो'ले जुरीको लागि प्रस्ताव गर्दा नयनताराको मनमा खुशी छायो । आफूले गर्नुपर्ने जिम्मेवारी बुझिन् अनि जुरीका लागि तयार भइन् ।

'खुशी लाग्यो । तर अर्कोतर्फ यो महत्त्वपूर्ण जिम्मेवारी हो। यसमा मेरो व्यक्तिगत सहभागी मात्र नभएर नेपाली फोटोग्राफीको समुदाय/फोटो पत्रकारितालाई प्रतिनिधि गरेको अनुभव भएको छ,' उनी आफ्नो खुशी बाँडिन्,'यो क्षेत्रमा भएको चुनौतीलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लगेर त्यो विषयमा छलफल गर्न यो मौका हो जस्तो लागेको छ ।'

जुरी छनाेटमा परेकी कक्षपति नै पहिलो महिला नेपाली हुन् । मास्टर क्लासमा देखाएको क्षमता र फोटो पत्रकारिताप्रतिको लगनशिलताले नै आफू जुरीका लागि छनाेट भएको हुनसक्ने उनी सुनाउँछिन् । 'वर्ल्डप्रेस फोटो'मा दुई क्याटगोरीमा फोटो प्रतिस्पर्धा हुन्छ, डिजिटल स्टोरी टेलिङ र फोटो कन्टेस्ट । उनी'फोटो कन्टेस्ट'तर्फकी जुरी हुन् ।

'वर्ल्ड प्रेस फोटो'सँग यसअघि पनि नयनताराको समूह संलग्न थियो । नयनतारा साहयक संस्थापक रहेको 'फोटो काठमाण्डू' फेस्टिभलमा पनि यो संस्थाको सहभागिता हुँदै आएको थियो । 'हामीले चलाउँदै आएको फोटो काठमाण्डूको फेस्टिभलमा त्यहाँबाट पनि सहभागिताको लागि हामीले कुरा गरेका थियौं । सन् २०१८ उहाँहरु आउनु भएको थियो,' उनले सुनाइन्,'काठमाडौंका फोटो पत्रकार भेट्ने र अन्तरक्रिया गर्ने कार्यक्रम पनि राखेका थियौं । उहाँहरुले 'वर्ल्डप्रेस फोटो' प्रतिस्पर्धामा फोटो कसरी पठाउने भन्नेबारे पनि सिकाउनु हुन्थ्यो ।'

उनी आफू जुरी भएपछि मात्र होइन अरुबेला पनि नेपाली फोटो पत्रकारले यस किसिमको प्रतिस्पर्धामा फोटो पठाउन हौसला दिन्छिन् । 'हरेक पालि फोटो पत्रकारले सहभागी जनाउनु होला भन्ने आश छ,' उनले भनिन् ।

नयनतारा विश्व प्रख्यात फोटो प्रतिस्पर्धाको जुरीमा छानिनु नेपालका फोटो पत्रकारको उपलब्धि मात्र होइन । यो महिला फोटो पत्रकारका लागि पनि गर्वको विषय हो । आज पनि महिला फोटो पत्रकार यो क्षेत्रमा कमै भेटिन्छन् । उनी आफै पनि यो सत्य स्वीकार्छिन् । महिला मात्र नभएर जातिय हिसाबले पनि सबैको समान सहभागिता देख्न चाहन्छिन् उनी । 'कुनै कोटा भर्ने हिसाबले महिलालाई अवसर दिएर हुँदैनजस्तो लाग्छ । कुनै पनि प्रक्रियामा महिलाले के योगदान दिन सक्छ भन्ने जान्नुपर्‍यो । हामीले किन हरेक क्षेत्रमा महिलाको सहभागिता खोज्छौं त । किनभने यो संसार नै आधा महिला र पुरुषले बनेको छ,' उनले भनिन्,'त्यसैले फोटो पत्रकारितामा महिला मात्र नभएर लैंगिक जातिय हिसाबले सबैको आवाज आउनु पर्‍यो । त्यसकारण अझै लामो बाटो छ जानुपर्ने । सक्षम महिलाहरुको कमी छैन । सायद बिस्तारै यो संख्यामा परिवर्तन आउला ।'

उनी आफै पनि आफूले गरिरहेका वर्कशपहरुमा महिलाहरुलाई सहभागी हुन प्रोत्साहन गर्ने गरेको बताउँछिन् । हुन त नयनताराले प्रेस फोटोग्राफीमा खासै अनुभव बटुलेकी छैनन् । उनी सधैं लङ स्टोरीमै फोकस भइन् । उनको लागि फोटोग्राफी माध्यम हो । संसार बुझ्ने माध्यम। कथा भन्ने माध्यम । 'सामाजिक, आर्थिक र राजनीतिक विषयहरुमा मलाई चासो लाग्छ । त्यस्तो किसिमको विषयसँग जोड्न फोटोग्राफी माध्यम बन्यो,'उनले सुनाइन् ।

०००

देशमा जनआन्दोलन चर्किरहेको थियो । अमेरिकामा 'इन्टरनेसनल रिलेसन' र 'स्डूडियो आर्ट' पढ्दै गरेकी नयनताराको ध्यान भने नेपालमै हुन्थ्यो । मिडिया र पत्राकारिताभित्र भइरहेको सेन्सरसिपका विषयबारे पनि अप्डेट लिइरहन्थिन् । युद्धले उग्र रुप लिइरहेको थियो । देशमा भइरहेको उथलपुथलले उनलाई कतिखेर घर फर्कौं भन्ने हुन्थ्यो ।

डिग्री सकिनासाथ इक्वल एक्सेसको प्रमुख अफिस सान्फ्रान्सिस्कोमा इन्टर्न सुरु गरिन् । उनको काम हुन्थ्यो इक्वल एक्सेसको सामुदायिक रेडियो कार्यक्रम सुन्ने । अंग्रेजीमा रिपोर्ट लेखिदिने । त्यहाँ नेपाली बुझ्ने कोही थिएन । उनी रेडियो सुन्दै हरेक दिन रिपोर्ट लेख्थिन् । सान्सफ्रान्सिस्को बसेर नेपालका गाउँ/ठाउँका कुरा रेडियोमा सुन्दा झनै उनलाई नेपाल फर्कने हतार भयो । देशमा भइरहेको राजनीतिक परिवर्तनलाई नजिकबाट नियाल्न चाहन्थिन् नयनतारा । त्यसैले सन् २००५ मा ६ वर्षे अमेरिका बसाइँपछि उनी काठमाडौं आइन् । अमेरिका जानुअघि पनि नेपालमै फर्कने अठोट लिएकी थिइन् उनले ।

काठमाडौं आएर फोटो पत्रकारिता थालिन् । अमेरिकामा लिएको छोटो फोटोग्राफी अध्ययनले सहयोग गर्‍यो । भर्खरै खुल्दै थियो वाइ म्यागाजिन । त्यहाँ एक वर्ष फोटो पत्रकारको रुपमा काम गरिन् । म्यागाजिनले युवा लक्षित विषयवस्तुमा काम गर्थ्यो । बिस्तारै म्यागाजिनमा राजनीति, सामाजिक विषयलाई महत्त्वका साथ प्रस्तुत गर्न थालियो । त्यही उनले समाचार कक्षको अनुभव बटुलिन् । त्यहाँ एक वर्ष बिताएपछि नयनताराले 'फ्रिल्यान्स' काम थालिन् । सामाजिक र लैंगिक विषय मन पर्थ्यो । विभिन्न संघ संस्थाका लागि यही विषयमा फोटो खिच्न थालिन् ।

सन् २००७ मा 'फोटो सर्कल' खुल्यो । उनी त्यसमा आबद्ध भइन् । फोटो सर्कलले विभिन्न वर्कशप र प्रदर्शनी सुरु गर्‍यो । बिस्तारै उनले फोटो पत्रकारका बीचमा रहेर काम गर्न थालिन् । उनीहरुलाई प्रशिक्षण र निर्देशन दिन सक्रिय भइन् । फोटो सम्बन्धी यस्तै संस्थाका कारण पनि पत्रकारको पहुँच अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुगेको उनी बताउँछिन् । 'एक हिसाले खुशी लाग्छ । सानै भए पनि आज फोटोग्राफरभित्र एउटा समूह छ । एकअर्कासँग सिक्दै जाने भावना छ,' उनले भनिन्,'समूह बलियो भने त अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुग्छ ।'

१४ वर्षदेखि फोटोग्राफीको क्षेत्रमा सक्रिय छिन् नयनतारा । आफ्नो यो यात्रामा परिवारको साथ पाएको उनी बताउँछिन् ।

अहिले उनी नेपाल पिक्चर लाइब्रेरी र फोटो काठमाण्डूमा आबद्ध छिन् । उनी फोटो काठमाण्डूकी सहसंस्थापक र फेस्टिभल निर्देशक पनि हुन् । नेपाल फोटो पिक्चर लाइब्रेरीको पनि सहसंस्थापकको रुपमा उनी आबद्ध छिन् ।

नेपालको फोटो पत्रकारिता कता गइरहेको छ ? प्रश्नको जवाफमा उनी भन्छिन्,'फोटो पत्रकारबीच छलफल हुन्छ । एउटाले अर्कोलाई प्रश्न गर्ने ठाउँ बिस्तारै गइरहेको छ । १०/१२ वर्षअगाडि त्यस्तो अवस्था थिएन । स्थानीय तवरमा एउटा एकअर्कालाई सहयोग गर्न संस्कृति बसेको छ । एकअर्काका कमजोरी औंलाइदिने माहोल बन्दै छ । त्यो भनेको नै राम्रो दिशामा गइरहेको हो ।'

उनी फोटो पत्रकारको कामको कदर देशभित्रै हुनुपर्ने बताउँछिन् । 'हाम्रो कामलाई विदेशी प्रतिस्पर्धाले किन पहिचान गराइदिनु पर्ने ? म राम्रो फोटोग्राफर हो भन्न किन कुनै विदेशीले भनिदिनुपर्ने । मलाई लाग्छ हामीबीच नै त्यो परिपाटीको निर्माण हुनुपर्छ,'उनी सुनाउँछिन्,'हरेक वर्ष पिजे क्लबले एक अर्काकाको कामको कदर गर्ने गरेको छ ।'

प्रकाशित : कार्तिक २३, २०७७ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×