२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कोरोनामुक्त भएका प्रमोद खरेल भन्छन् : पैसा नभएर कसैले मर्न नपरोस्

'आर्थिक स्थिति कमजोर हुनेहरुलाई एकदम गाह्रो छ अहिले । यति धरौटी भएन भने भर्ना लिँदैनौं भन्ने समाचार पढ्छौं हामी । त्यो भनेको त एकदमै दु:खदायी कुरा हो । त्यस्तो नहोस् ।'
रीना मोक्तान

काठमाडौँ — गीत रेकर्डिङको काम निरन्तर थियो । स्टुडियो आउजाउ भइरहन्थ्यो । भीडभाडबाट बढी जोगिने गर्थे गायक प्रमोद खरेल । स्टुडियो जाँदै गर्दाको त्यो दिन बीचमै एकजनासँग मिटिङ पर्‍यो । मिटिङपछि बैंकको काम । तर, बैंक बन्द भएकाले काम भएन । प्रमोदले स्टुडियोतर्फ गाडीको स्टेरिङ घुमाए । त्यत्तिकैमा असहज महसुस भयो । एक्कासि शरीर तातो भयो ।

कोरोनामुक्त भएका प्रमोद खरेल भन्छन् : पैसा नभएर कसैले मर्न नपरोस्

शरीरको तापक्रम नघटेपछि पीसीआर परीक्षण गराउनेबारेमा सोचे । त्यसपछि टिचिङ असप्तालमा कार्यरत नर्ससमेत रहेकी बहिनी मन्जु खरेललाई फोन गरे,'मलाई अलिकति असहज भहसुस् भो' अस्पताल आउँ कि स्टुडियो जाउँ ?’

बहिनीले अस्पताल जान सुझाइन् । बहिनीसँग फोनमा गफिँदै गाडी ह्याम्स अस्पतालतर्फ मोडे । ह्याम्स नजिकै पर्ने भएकाले बहिनीले उतै जान सल्लाह दिएकी थिइन् । अस्पताल पुगेपछि शरीर झनै तातो भयो । परीक्षण गराउने ठाउँमा भीड थियो । आधा घण्टाजति कुर्नु पर्ने भयो । अस्पतालको छतमा पनि परीक्षण भइरहेको सुनेर उनी त्यतै लागे । परीक्षण गरेर सिधै घर फर्के । त्यसदिनको रेकर्डिङ पनि क्यान्सिल गरे ।

सुत्केरी पत्नी छोरी लिएर झापा गइसकेकी थिइन् । यता घरमा बुवा, आमा र छोरा बिप्रभ मात्र । गाडी राखेर सोझै आफ्नो कोठाभित्र छिरे प्रमोद । 'कोठाभित्र छिरेर ढोका लगाएँ । मलाई कोरोनाको शंका लागिसकेको थियो । कोरोना भएको रहनेछ भने त भोलि थाहा भइहाल्छ । भ'को रहेछ भने त भोलि सबैलाई सर्छ । त्यसैले रिपोर्ट कुर्दिनँ भनेर कोठाभित्र आफैलाई आइसोलेट गरें,’ असोज अन्तिम सम्झँदै भने।

बुवा ७० वर्षका, आमा ६६ । औषधि खाइरहने बुवा र आमालाई केही होला कि भन्ने चिन्ताले सजग भएर घरभित्रै थुनिए । माथिल्लो तल्लामा रहेको बुवालाई फोन गरेर शरीर तातिएकाले कोठाभित्रै बस्ने जानकारी गराए । खाना ढोकामै ल्याइदिन भनेपछि त बुवाले सोधिहालेछन्, ‘कोरोना हो ?’

सामान्य हुँदै पीसीआर परीक्षण गरे पनि नतिजा नआइसकेकाले उनले बुवालाई चिन्ता नलिन भने ।

त्यो रात शरीर कटकट दुख्न थाल्यो । दुखाइले निन्द्रा राम्ररी परेन । 'कोल्टे फेर्छु कटकट जीउ दुख्ने । कफसँगै खोकी लाग्यो । एकदम गाह्रो भएपछि एउटा सिटामोल खाएँ । खाना खाएँ अनि निदाउने प्रयास गरें,’ आइसोलेसनको पहिलो दिन सम्झन्छन् ।

बिहान उठ्दा ज्वरो कम भइसकेको थियो । शरीर उस्तै तातिरह्यो । त्यसपछि टाउको दुख्न सुरु भयो । पिनास बल्झियो । आँखा खोल्नै नसक्ने भयो । त्यतिकैमा बहिनीले रिपोर्ट पठाइन् । रिपोर्ट पोजिटिभ आएको रहेछ । त्यसपछि तनाव थपियो । ‘पहिला कोरोना त हो भन्ने लाग्थ्यो । तर आफैलाई लागेपछि एकदमै डर लाग्यो । यति जोगिँदा पनि मलाई कोरोना लाग्यो भन्ने भयो,’ पोजिटिभ नतिजा आउँदाको अनुभव सुनाए ।

उनी स्टुडियोको हेडफोन चलाउँथेनन् । आफ्नो छुट्टै हेडफोन प्रयोग गर्थे रेकर्डिङमा पनि । स्टुडियो पुग्नासाथ हातमा स्यानिटाजर लगाउँथे। साबुन पानी भेटेसम्म प्रयोग गर्थे । घर पुग्नासाथ लगाएको लुगा बाथरुममा राख्ने दैनिकी बन्न थालेको थियो । बजारबाट ल्याएको तरकारी घाममा सुकाएर तातो पानीले धुएर मात्र पकाउने गर्थे । यतिका सावधानी अपनाउँदा पनि कोरोना लाग्यो भन्ने कुराले थप पिरल्यो ।

बुवाआमा पनि चिन्तित । उनीहरु चिन्ता लुकाएर हँसिलो मुहार बनाउँथे । तर, प्रमोद पढिहाल्थे आमा बुवाका अनुहार । छोरा बिप्रभ झ्याम्मिन आउलान् भनेर आफू कोठाभित्रै रहेको थाहा नदिने सल्लाह गरे । बुवा आमालाई नै ख्याल राख्न लगाए । परिवारको अगाडि बलियो प्रस्तुत भए पनि मनमा पीर अझै थियो । बहिनीले त्यही मनोविज्ञान बुझेर सिटी भ्यालु (साइकल थ्रेसहोल्ड) ३० रहेको भन्दै नआत्तिन सल्लाह दिइन् ।

साथी किरण केसीले अक्सिमिटर र थर्मोमिटर ल्याइदिए । अक्सिमिटरमा श्वासप्रस्वास हेर्न पनि सिकाइदिए । ‘९० तल भयो भने अस्पताल भर्ना भइहाल्नुपर्छ । माथि भयो भने आत्तिनु पर्दैन भनेको थियो । म चेक गरिरहन्थें । मेरो ९२/९५ देखाइरहन्थ्यो,’ उनले भने ।

दोस्रो दिन मुख गन्हाउन सुरु भयो । एकदमै धेरै कफ आउन थाल्यो । अमेरिकामा रहेका साथी डाक्टर मनिष बसिष्ठसँग सम्पर्क गरे । मनिषले अमेरिकामा हजारौं कोभिड बिरामीलाई उपचार गरेको अनुभव बटुलेका छन् भन्ने उनलाई थाहा थियो । उनी आफ्नो शरीरको तापक्रप नाप्दै मनिषलाई पठाउँथे । मनिषले पनि धेरै तनाव नलिन भन्दै प्रोत्साहन दिन्थे । उनी 'कूल' बन्न खोज्थे तर एकदमै टाउको दुख्दा छटपटिन्थे ।

कोठाभित्र थुनिएसँगै परिवारसँग भौतिक दूरी बढ्यो । आमाबुवामाथि भान्सामा खानेकुरा पकाएर प्रमोदको ढोकामा राखिदिन्थे । अनुहारमा मास्क, फेससिल्ड र हातमा ग्लोभ्स लगाएर बुवा खाना पुर्‍याउन आउँथे । बुवा फर्किसकेपछि मात्र उनी खाना भित्र ल्याएर खान्थे । खाएको भाँडा(प्लास्टिक) बार्दलीबाट तल फाल्थे ।

दोस्रो तल्लाको कोठालाई आइसोलेसन बनाएका थिए प्रमोदले । छोरा संक्रमित भएसँगै बुवाआमाको दैनिकी पनि परिवर्तन हुन थाल्यो । दिउँसो अन्य कोठामा समय बिताए पनि राति आमाबुवा दोस्रो तल्लाकै अर्को कोठामा सुत्न आउथे । सबेरै पाँच बजे उठेर माथि तल्लामा जान्थे ।

केही दिनअघि गीत रेकर्डिङ गर्ने क्रममा स्टुडियोमा प्रमोद खरेल

वृद्ध बुवाआमालाई संक्रमण होला भनेर पत्नीको भाइ उमेश सिटौला तेस्रो दिन उनको हेरचाह गर्न आइपुगे । होटल म्यानेजमेन्ट अध्ययनरत उमेश खान पकाउनमा माहिर । बिरामीलाई दिनुपर्ने पौष्टिक आहार सबै जानेका । 'उपयुक्त खानेकुराहरु बनाएर खुवायो उमेशले । उसले धेरै नै हेरविचार गरिदियो । थकान, कमजोर हुँदा खानेकुरा मिलाएर खुवायो,' आइसोलेसनका खान्कीबारे सुनाए,'कुखुरा र खसीको सुप मैले बढी पिएँ । च्याउको सुप पनि । दाल एकदम मनपर्छ, दाल खाएँ । धेरै त झोल पदार्थ खाएँ ।'

त्यो चौथो रात…

आइसोलेसनको चौथौ दिन श्वास फेर्न निकै समस्या भयो । 'यता फर्कन्छु सास फेर्न गाह्रो हुन्छ । उता फर्कन्छु त्यस्तै,' बिर्सनै नसक्ने दिन सम्झे । श्वास फेर्न धेरै नै समस्या भएपछि बहिनीलाई फोन गरेर 'एम्बुलेन्स स्ट्याण्डबाई' राख्न भने । जसरी पनि एउटा बेड अस्पतालमा आफ्ना लागि तयार पार्न भने । 'फोन तेरो रिङमा राख जतिबेला पनि मेरो फोन आउन सक्छ भनें बहिनीलाई । बहिनीले उता डाक्टरसँग कुरा गरिछन् । गाह्रो भयो भने अस्पताल आउन भनिन्,' आफूलाई गाह्रो हुँदाको दिन सम्झे,'कोठामा एक्लै थिएँ । थाहा थियो मलाई कसैले अस्पताल पुर्‍याउन सक्दैन भनेर । उमेशलाई भन्ने अवस्था थिएन ।'

श्वास फेर्न धेरै नै समस्या भएपछि आईसीयू सम्झे । प्लाज्माथेरापी पो आवश्यक पर्ला कि ! मन धेरैतिर डुल्यो । दिमागमा कतै मर्छु कि भन्ने लाग्यो । आमा बुवालाई केही भनेनन् । सास फेर्न संघर्ष गरिरहेकै बेला ध्यान अर्कोतिर तानियो । 'बाहिर कसैलाई थाहा दिएको थिएन । सामाजिक सञ्जालमा कतै भनेको थिएन । धेरै गाह्रो भयो भने जानकारी गराउनुपर्छ भन्ने पनि भएको थियो,'उनले भने ।

'श्वास फेर्न सक्छु' भन्ने हिम्मत राखेर आँखा बन्द गरे । यस्तै छटपटीबीच निन्द्रा परेछ, २ बजे ब्युझिँदा मात्र चाल पाए । असहज अनुभव हुँदाहुँदै त्यो रात बल्ल कट्यो ।

भोलिपल्ट डाक्टर अमृत पोख्रेल उनलाई भेट्न निवासमै आइपुगे । सोझै आइसोलेसनमा बस्दै गरेको कोठाभित्र पसे । तपाईं बाहिरै बस्नुस् भनेर प्रमोदले आग्रह गर्दा अम्रितले भनेका थिए 'कोरोना त त्यसरी सर्ने नै होइन नि । तपाईं मेरो नजिक आएर खोक्नु भयो, मैले मेरो हात त्यतिकै नाक र मुखमा लगें भने पो सर्छ ।'

बन्द कोठामा पाँच दिनपछि कसैलाई देख्दा थप ऊर्जा मिल्ने नै भयो । अमृतले उनको प्रेसर नापे । आधा घण्टा परामर्श दिए । प्रोत्साहन गरे । 'यति सकारात्मक बनाइदिनु भयो कि बेलुकी ज्वरो आएन । टाउको दुख्न कम भयो । मन चंगा भयो,' उनी सुनाउँछन्, 'म बिरामी भएँ । मर्छु कि भन्ने मनोवैज्ञानिक तनावले पनि बिरामी भइँदो रहेछ । तर उहाँले मलाई मनोवैज्ञानिक रुपले परामर्श दिनुभयो । उहाँले मलाई भेटेर जानु भएपछि मलाई त केही हुँदैन रहेछ भन्ने अनुभव भयो ।'

डाक्टर अमृतसँग भेटेपछि उनले सकारात्मक सोच्न थाले । बिस्तारै ज्वरो कम हुँदै गयो । ८ औं दिनबाट आफू निको हुँदै गएको अनुभव गरे । खोकीले छोडेको थिएन । ९ औं दिनमा बार्दलीबाट बाहिरको दृश्य नियाल्दै थिए, उनको आँखा आफ्नो गाडीमा पुग्यो । त्यहाँ छोरा बिप्रभ ढल्केर बसेका थिए । छोराले परिवारलाई सम्झेर गाडी छेउ न्यास्रो अनुहार पारेको देखेपछि प्रमोदको मन कटक्क खायो । 'आमा पनि देखेन, मलाई पनि देखेन । गाडी मात्र यहाँ छ भन्ने सोच्दो हो । एकदमै नरमाइलो लाग्यो त्यो देखेर । मैले उसलाई आवाज दिएँ । मलाई देखेर उ रोयो,' आइसोलेसनका तीता क्षण सम्झिन्छन्,'बुवाले उसलाई लिएर जानुभो' । म तल उ रोएको सुन्थे । न उसलाई फकाउन जान सक्थें न भेट्न जान सकिन्छ । एकदमै टाढा भएको अनुभव भयो ।'

कोरोना संक्रमण भएर आफ्नो सन्तानबाट टाढिने अभिभावकलाई यसको खास अनुभव हुने उनी बताउँछन् । उनले त्यो नरमाइलो क्षणलाई सानो डायरीमा टिपेका पनि छन् । भोलिपल्टै उमेशसँग उनलाई झापा पठाइदिएँ ।

दिन काट्न उनले गितार बजाउन खोज्थे । तर, मुड आउँथेन । फोनमा कसैले ‍बोल्यो भने पनि झर्को लाग्ने । आइसोलेसनमा बस्दा धेरैको फोन उनले उठाएनन् । मेसेन्जरमा आएका म्यासेजको प्रतिक्रिया सामान्य बनेर दिन्थे । आइसोलेसनमा उनले आईपीएल हेर्न कहिल्यै छुटाएनन् । उनी क्रिकेटका क्रेजी फ्यान । टिभीमा हेर्न गाह्रो हुँदा मोबाइलमै पनि आईपीएल हेर्थे । दुईवटा खेल हुँदा त रातको ११ बजेसम्म हेर्थे । आँखा दुखे पनि सहन्थे । आइसोलेसनको १४ दिनसम्म पनि उनले क्रिकेट हेरेर समय काटे । बाहिर निस्कने खुबै मन हुन्थ्यो । तर आफूलाई सम्हाले । दिन गन्दै बसेका क्षण अझै पनि सम्झन्छन् उनी ।

'मलाई पाँच दिन एकदम गाह्रो हुन्छ भनिएको थियो । मलाई पाँच दिन कटाउन पाए कस्तो हुन्छ भन्ने थियो । सात दिन अझै जोखिम हुन्छ भन्थे । कहिले सात दिन कट्ला भन्ने भयो । ८ औं दिनबाट फ्रेस हुन्छ भन्ने पनि सुनेको थिएँ । ८ दिन कट्दा ओहो ! ८ दिन कट्यो,' दिन गन्दै बस्दाको क्षण सम्झिए उनले,'ओहो ! १० दिन कट्यो । अब त सर्दैन रे । १४ औं दिनमा त वाह !आज १४ दिन भनेर बिहानै ब्युउँझें ।'

अरुबेला ६ बजे ब्युँझने उनको त्यस दिन पाँच बजे उठे । १४ दिनपछि कोरोना सर्दैन भनिन्छ । उनले त्यसदिन मज्जाले कोठा सफा गरे । स्यानिटाइजर छरे । प्रयोग गरेका सामानहरु छतमा लगे । १ घण्टा लगाएर सरसफाइ गरे । थाकेनन्, निको भएँ भन्ने ऊर्जा थियो । नुहाएर भान्सामा पहिलो पटक आमाबुवासँग सँगै बसेर खाना खाए । तर मनमा कोरोना सर्छ कि! भन्ने डर थियो । 'मनमा डर कायमै थियो । सर्‍यो भने तनाव हुन्छ भनेर भान्सामा पनि पर दूरी बनाएर खाना खाएँ । १४ दिनपछि भाइरस सर्ने सम्भावना कम छ भन्नुभएको थियो,' उनले भने ।

उनले कोरोनाबारे सम्पर्कमा आएका केही साथिलाई बाहेक अरुलाई भनेका थिएनन् । संगीतकार र रेकर्डिस्टहरुलाई १/२ दिन भन्दै रेकर्डिङको मिति पछाडि धकेल्दै आइसोलेसनमा बसेका थिए । १५ औं दिनमा भने रेकर्डिङ राखे । शरीर कमजोर भए पनि 'रेकर्डिङ गर्छु' भन्ने उनलाई लागेको थियो । काम गरियो भने आत्मबल बढ्छ भन्ने भयो । रेकर्डिङ राम्रै भयो । कोरोना नतिजा नआइ रेकर्डिङ गर्दै हिँडेकामा कतिलाई चित्त नबुझ्न सक्छ भनेर उनले परीक्षण गराए । फूलपातीको दिन उनको नतिजा नेगिटिभ आयो । टीकाको दिन पत्नी लिन झापा हिँडे प्रमोद । अहिले उनी काममा फर्किसकेका छन् ।

दशैंका बेला झापाको पृथ्वीनगरस्थित आफूले एसएलसी दिएको विद्यालय अगाडि प्रमोद खरेल

धेरैलाई प्रमोद कोरोना संक्रमित भएर निको भएको थाहै छैन । यसबारे उनले खासै सार्वजनिक गरेनन् । किन उनले यो कुरा गोप्य राखे त ?

'पाँच महिना अगाडि नानी जन्मँदा एकदमै पीडा भयो । जन्मेको २ मिनटमै एनआईसीयूमा राखेर बचाए बच्चालाई । नानीलाई घर फिर्ता ल्याएको १० दिनपछि पत्नीलाई स्ट्रोक भयो । १२ बजे राति अस्पताल लगेर उसलाई पनि बचाएको हो,' उनले भने, 'उनीहरुको बारेमा मैले मिडियामा पनि बोलें । यत्ति धेरै नमिठा क्षण बाँडिसकें मेरो फ्यान, दर्शक र शुभचिन्तकसँग । अब मैले मेरो पनि दु:ख कत्ति देखाउने भन्ने भयो । धेरै दु:ख नदेखाउँ होला । पहिला मै निको हुन्छु । डटेर सामना गर्छु । बरु निको भएर भन्छु भन्ने विचार आयो ।'

प्रमोद अहिले झनै सचेत भएर काम गर्छन् । अझै मनमा संक्रमण हुने डर छ । उनी सबैलाई सचेत रहन आग्रह गर्छन् । सामान्य ज्वरो भन्दै लापर्बाही नगर्न पनि अनुरोध गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार गराउन सकून् भन्ने प्रार्थना गर्छन् उनी, 'आर्थिक स्थिति कमजोर हुनेहरुलाई एकदम गाह्रो छ अहिले । यति धरौटी भएन भने भर्ना लिँदैनौं भन्ने समाचार पढ्छौं हामी । त्यो भनेको त एकदमै दु:खदायी कुरा हो । त्यस्तो नहोस् । अरु रोग लाग्दा त औषधि छ, उपचार हुन्छ । बिरामीलाई गाह्रो भएर अस्पताल पुग्दा उसको उपचार हुनुपर्छ । पैसा नभएर कसैले मर्न नपरोस् ।'

सबै तस्बिर : प्रमोद खरेलको फेसबुकबाट

प्रकाशित : कार्तिक २७, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?