'वर्ल्डप्रेस फोटो प्रतियाेगिता'को जुरीमा नेपालकी नयनतारा- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'वर्ल्डप्रेस फोटो प्रतियाेगिता'को जुरीमा नेपालकी नयनतारा

फोटो सम्बन्धी विश्वचर्चित प्रतिस्पर्धाको कुनै दिन 'जुरी' हुन्छु भन्ने नयनताराले कहिल्यै सोचेकी पनि थिइनन् । आफ्ना फोटोहरुसमेत यो प्रतिस्पर्धामा कहिल्यै पठाइनन् । 'वर्ल्डप्रेस फोटो'ले जुरीको लागि प्रस्ताव गर्दा उनको मनमा खुशी छायो ।
'हाम्रो कामलाई विदेशी प्रतिस्पर्धाले किन पहिचान गराइदिनु पर्ने ? म राम्रो फोटोग्राफर हो भन्न किन कुनै विदेशीले भनिदिनुपर्ने । मलाई लाग्छ हामीबीच नै त्यो परिपाटीको निर्माण हुनुपर्छ ।'
रीना मोक्तान

काठमाडौँ — 'वर्ल्डप्रेस फोटो'ले आयोजना गरेको 'मास्टर क्लास'मा यसपटक विश्वभरबाट २४ जना विद्यार्थी छानिए। मास्टर क्लासमा सहभागी हुन विद्यार्थीबीच मनोनयन गरिन्छ । यस वर्ष १५० जना विद्यार्थीबाट २४ विद्यार्थी मनोनित भए । र, उनीहरुले कक्षा लिन पाए । अरुबेला १२ विद्यार्थीले मात्र यो कक्षा लिन पाउँथे । मास्टर क्लास चार महिना लामो चल्यो । अरुबेला आम्स्टर्डम भेला भएर नै यो वर्कशप हुने गर्दथ्यो । तर यो पटक अनलाइनमार्फतै आयोजना भयो । मास्टर क्लासकै एक प्रशिक्षक थिइन् नयनतारा गुरुङ कक्षपति ।

मास्टर क्लासमा विद्यार्थीले गरेको प्रोजेक्ट हेर्ने, त्यसमा नयाँ आइडिया थपिदिने उनको जिम्मेवारी थियो । फोटो इडिटिङबारे पनि विद्यार्थीलाई सिकाइन् उनले । मास्टर क्लासको अन्तिमतिर हो 'वर्ल्डप्रेस फोटो'ले उनलाई 'जुरी चेयर'मा प्रस्ताव गरेको । फोटो सम्बन्धी विश्वचर्चित प्रतिस्पर्धाको कुनै दिन 'जुरी' हुन्छु भन्ने कक्षपतिले कहिल्यै सोचेकी पनि थिइनन् । आफ्ना फोटोहरुसमेत यो प्रतिस्पर्धामा कहिल्यै पठाइनन् । 'वर्ल्डप्रेस फोटो'ले जुरीको लागि प्रस्ताव गर्दा नयनताराको मनमा खुशी छायो । आफूले गर्नुपर्ने जिम्मेवारी बुझिन् अनि जुरीका लागि तयार भइन् ।

'खुशी लाग्यो । तर अर्कोतर्फ यो महत्त्वपूर्ण जिम्मेवारी हो। यसमा मेरो व्यक्तिगत सहभागी मात्र नभएर नेपाली फोटोग्राफीको समुदाय/फोटो पत्रकारितालाई प्रतिनिधि गरेको अनुभव भएको छ,' उनी आफ्नो खुशी बाँडिन्,'यो क्षेत्रमा भएको चुनौतीलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लगेर त्यो विषयमा छलफल गर्न यो मौका हो जस्तो लागेको छ ।'

जुरी छनाेटमा परेकी कक्षपति नै पहिलो महिला नेपाली हुन् । मास्टर क्लासमा देखाएको क्षमता र फोटो पत्रकारिताप्रतिको लगनशिलताले नै आफू जुरीका लागि छनाेट भएको हुनसक्ने उनी सुनाउँछिन् । 'वर्ल्डप्रेस फोटो'मा दुई क्याटगोरीमा फोटो प्रतिस्पर्धा हुन्छ, डिजिटल स्टोरी टेलिङ र फोटो कन्टेस्ट । उनी'फोटो कन्टेस्ट'तर्फकी जुरी हुन् ।

'वर्ल्ड प्रेस फोटो'सँग यसअघि पनि नयनताराको समूह संलग्न थियो । नयनतारा साहयक संस्थापक रहेको 'फोटो काठमाण्डू' फेस्टिभलमा पनि यो संस्थाको सहभागिता हुँदै आएको थियो । 'हामीले चलाउँदै आएको फोटो काठमाण्डूको फेस्टिभलमा त्यहाँबाट पनि सहभागिताको लागि हामीले कुरा गरेका थियौं । सन् २०१८ उहाँहरु आउनु भएको थियो,' उनले सुनाइन्,'काठमाडौंका फोटो पत्रकार भेट्ने र अन्तरक्रिया गर्ने कार्यक्रम पनि राखेका थियौं । उहाँहरुले 'वर्ल्डप्रेस फोटो' प्रतिस्पर्धामा फोटो कसरी पठाउने भन्नेबारे पनि सिकाउनु हुन्थ्यो ।'

उनी आफू जुरी भएपछि मात्र होइन अरुबेला पनि नेपाली फोटो पत्रकारले यस किसिमको प्रतिस्पर्धामा फोटो पठाउन हौसला दिन्छिन् । 'हरेक पालि फोटो पत्रकारले सहभागी जनाउनु होला भन्ने आश छ,' उनले भनिन् ।

नयनतारा विश्व प्रख्यात फोटो प्रतिस्पर्धाको जुरीमा छानिनु नेपालका फोटो पत्रकारको उपलब्धि मात्र होइन । यो महिला फोटो पत्रकारका लागि पनि गर्वको विषय हो । आज पनि महिला फोटो पत्रकार यो क्षेत्रमा कमै भेटिन्छन् । उनी आफै पनि यो सत्य स्वीकार्छिन् । महिला मात्र नभएर जातिय हिसाबले पनि सबैको समान सहभागिता देख्न चाहन्छिन् उनी । 'कुनै कोटा भर्ने हिसाबले महिलालाई अवसर दिएर हुँदैनजस्तो लाग्छ । कुनै पनि प्रक्रियामा महिलाले के योगदान दिन सक्छ भन्ने जान्नुपर्‍यो । हामीले किन हरेक क्षेत्रमा महिलाको सहभागिता खोज्छौं त । किनभने यो संसार नै आधा महिला र पुरुषले बनेको छ,' उनले भनिन्,'त्यसैले फोटो पत्रकारितामा महिला मात्र नभएर लैंगिक जातिय हिसाबले सबैको आवाज आउनु पर्‍यो । त्यसकारण अझै लामो बाटो छ जानुपर्ने । सक्षम महिलाहरुको कमी छैन । सायद बिस्तारै यो संख्यामा परिवर्तन आउला ।'

उनी आफै पनि आफूले गरिरहेका वर्कशपहरुमा महिलाहरुलाई सहभागी हुन प्रोत्साहन गर्ने गरेको बताउँछिन् । हुन त नयनताराले प्रेस फोटोग्राफीमा खासै अनुभव बटुलेकी छैनन् । उनी सधैं लङ स्टोरीमै फोकस भइन् । उनको लागि फोटोग्राफी माध्यम हो । संसार बुझ्ने माध्यम। कथा भन्ने माध्यम । 'सामाजिक, आर्थिक र राजनीतिक विषयहरुमा मलाई चासो लाग्छ । त्यस्तो किसिमको विषयसँग जोड्न फोटोग्राफी माध्यम बन्यो,'उनले सुनाइन् ।

०००

देशमा जनआन्दोलन चर्किरहेको थियो । अमेरिकामा 'इन्टरनेसनल रिलेसन' र 'स्डूडियो आर्ट' पढ्दै गरेकी नयनताराको ध्यान भने नेपालमै हुन्थ्यो । मिडिया र पत्राकारिताभित्र भइरहेको सेन्सरसिपका विषयबारे पनि अप्डेट लिइरहन्थिन् । युद्धले उग्र रुप लिइरहेको थियो । देशमा भइरहेको उथलपुथलले उनलाई कतिखेर घर फर्कौं भन्ने हुन्थ्यो ।

डिग्री सकिनासाथ इक्वल एक्सेसको प्रमुख अफिस सान्फ्रान्सिस्कोमा इन्टर्न सुरु गरिन् । उनको काम हुन्थ्यो इक्वल एक्सेसको सामुदायिक रेडियो कार्यक्रम सुन्ने । अंग्रेजीमा रिपोर्ट लेखिदिने । त्यहाँ नेपाली बुझ्ने कोही थिएन । उनी रेडियो सुन्दै हरेक दिन रिपोर्ट लेख्थिन् । सान्सफ्रान्सिस्को बसेर नेपालका गाउँ/ठाउँका कुरा रेडियोमा सुन्दा झनै उनलाई नेपाल फर्कने हतार भयो । देशमा भइरहेको राजनीतिक परिवर्तनलाई नजिकबाट नियाल्न चाहन्थिन् नयनतारा । त्यसैले सन् २००५ मा ६ वर्षे अमेरिका बसाइँपछि उनी काठमाडौं आइन् । अमेरिका जानुअघि पनि नेपालमै फर्कने अठोट लिएकी थिइन् उनले ।

काठमाडौं आएर फोटो पत्रकारिता थालिन् । अमेरिकामा लिएको छोटो फोटोग्राफी अध्ययनले सहयोग गर्‍यो । भर्खरै खुल्दै थियो वाइ म्यागाजिन । त्यहाँ एक वर्ष फोटो पत्रकारको रुपमा काम गरिन् । म्यागाजिनले युवा लक्षित विषयवस्तुमा काम गर्थ्यो । बिस्तारै म्यागाजिनमा राजनीति, सामाजिक विषयलाई महत्त्वका साथ प्रस्तुत गर्न थालियो । त्यही उनले समाचार कक्षको अनुभव बटुलिन् । त्यहाँ एक वर्ष बिताएपछि नयनताराले 'फ्रिल्यान्स' काम थालिन् । सामाजिक र लैंगिक विषय मन पर्थ्यो । विभिन्न संघ संस्थाका लागि यही विषयमा फोटो खिच्न थालिन् ।

सन् २००७ मा 'फोटो सर्कल' खुल्यो । उनी त्यसमा आबद्ध भइन् । फोटो सर्कलले विभिन्न वर्कशप र प्रदर्शनी सुरु गर्‍यो । बिस्तारै उनले फोटो पत्रकारका बीचमा रहेर काम गर्न थालिन् । उनीहरुलाई प्रशिक्षण र निर्देशन दिन सक्रिय भइन् । फोटो सम्बन्धी यस्तै संस्थाका कारण पनि पत्रकारको पहुँच अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुगेको उनी बताउँछिन् । 'एक हिसाले खुशी लाग्छ । सानै भए पनि आज फोटोग्राफरभित्र एउटा समूह छ । एकअर्कासँग सिक्दै जाने भावना छ,' उनले भनिन्,'समूह बलियो भने त अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुग्छ ।'

१४ वर्षदेखि फोटोग्राफीको क्षेत्रमा सक्रिय छिन् नयनतारा । आफ्नो यो यात्रामा परिवारको साथ पाएको उनी बताउँछिन् ।

अहिले उनी नेपाल पिक्चर लाइब्रेरी र फोटो काठमाण्डूमा आबद्ध छिन् । उनी फोटो काठमाण्डूकी सहसंस्थापक र फेस्टिभल निर्देशक पनि हुन् । नेपाल फोटो पिक्चर लाइब्रेरीको पनि सहसंस्थापकको रुपमा उनी आबद्ध छिन् ।

नेपालको फोटो पत्रकारिता कता गइरहेको छ ? प्रश्नको जवाफमा उनी भन्छिन्,'फोटो पत्रकारबीच छलफल हुन्छ । एउटाले अर्कोलाई प्रश्न गर्ने ठाउँ बिस्तारै गइरहेको छ । १०/१२ वर्षअगाडि त्यस्तो अवस्था थिएन । स्थानीय तवरमा एउटा एकअर्कालाई सहयोग गर्न संस्कृति बसेको छ । एकअर्काका कमजोरी औंलाइदिने माहोल बन्दै छ । त्यो भनेको नै राम्रो दिशामा गइरहेको हो ।'

उनी फोटो पत्रकारको कामको कदर देशभित्रै हुनुपर्ने बताउँछिन् । 'हाम्रो कामलाई विदेशी प्रतिस्पर्धाले किन पहिचान गराइदिनु पर्ने ? म राम्रो फोटोग्राफर हो भन्न किन कुनै विदेशीले भनिदिनुपर्ने । मलाई लाग्छ हामीबीच नै त्यो परिपाटीको निर्माण हुनुपर्छ,'उनी सुनाउँछिन्,'हरेक वर्ष पिजे क्लबले एक अर्काकाको कामको कदर गर्ने गरेको छ ।'

प्रकाशित : कार्तिक २३, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

'अ स्विटेबल ब्वाय' : समीक्षा 

सिरिजमा देशको राजनीति मात्र देखाइएको छैन । लताको बिहेलाई लिएर परिवार परिवारबीच हुने राजनीति पनि रोचक किसिमले प्रस्तुत गरिएको छ । मागी विवाहका अनेकन रमाइला पक्षहरु सिरिजमा देख्न सकिन्छ ।
रीना मोक्तान

सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएपछि भारत र पाकिस्तान विभाजित भयो । हिन्दु बाहुल्यलाई भारत र मुस्लिम बहुमत क्षेत्रलाई पाकिस्तानमा छुट्याइयो । भारत स्वतन्त्र भयो, तर जमिन र मानिस विभाजित । यही विभाजनपछिको कथा समेटिएको सिरिज हो, 'अ स्विटेबल ब्वाय' ।

विभाजित मनोविज्ञान र त्यसले पारेको असर सिरिजमा देखाइएको छ । यो सिरिज सन् १९९३ मा प्रकाशित भएको विक्रम सेठको 'अ स्विटेबल ब्वाय' उपन्यासमाथि आधारित छ ।

काल्पनिक ठाउँ ब्रह्मपुरबाट लताको कथा सुरु हुन्छ । विश्वविद्यालयमा पढ्दै गरेकी १९ वर्षीया लता कवितामा रुचि राख्छिन् । खुल्ला विचारकी उनी सुन्दर छिन् । विश्वविद्यालयकै एक केटा कविरसँग प्रेम गर्छिन् । एकदिन उनले कविरको थर 'दुरानी'(मुस्लिम) रहेको थाहा पाउँछिन् । मुस्लिम प्रेमीलाई आफ्नो हिन्दु परिवारले स्विकार्दैनन् भन्ने थाहा पाएपछि भाग्नसमेत आँट गर्छिन् । तर करियरमा गम्भीर कविरले भागेर जान मान्दैनन् ।

यता, आफ्नी छोरीका लागि 'स्विटेबल ब्वोई' अर्थात योग्य केटा खोज्दै गरेकी आमा रुपा कविरबारे थाहा पाएपछि रिसले चुर हुन्छिन् । लतालाई लिएर कलकत्ता जान्छिन् । त्यहीँ लताको ठूल्दाइ अरुणसँग बस्न थाल्छन् । छोरी सबिताको बिहेपछि रुपालाई लताकै चिन्ता छ । उनी हर समय छोरीका लागि केटा खोज्नमै व्यस्त । कविरबारे थाहा पाएपछि त उनले यसलाई आफ्नो काम बनाएकी छिन् । योग्य वर खोज्न दृढ छिन् रुपा । आफूले रोजेको केटासँग छोरीको बिहे हुनुपर्छ भन्ने उनको मान्यता छ ।

यता कलकत्तामा भाउजू मिनाक्षीले लतालाई आफ्नो भाइ अमित च्याटर्जीसँग भेट गराइदिन्छिन् । लन्डनमा पढेका अमित कवि हुन् । मिनाक्षी लताका लागि आफ्नो भाइ उपयुक्त ठान्छिन् । र, उनी दुईलाई एक बनाउन चाहन्छिन् । तर रुपा अमितलाई मन पराउँदैनन् । लताको लागि अर्कै केटासँग कुरा गर्छन् । जुत्ता बनाउने कम्पनीका म्यानेजर हरेससँग भेटेपछि रुपा लताका लागि हरेस नै योग्य ठान्न थाल्छिन् । लताले हरेसलाई भेट्छिन् । उसको अफिसदेखि घर पनि हेर्छिन् । अमितसँग पनि उनको हिमचिम बढ्न थालेको हुन्छ । तर, उनको मनमा अझै कविरको लागि माया छ । कविरलाई भुल्न सकेकी छैनन् लताले ।

अब लताले कविर,अमित र हरेसमा को रोज्लिन्, उनका लागि स्विटेबल(योग्य) को ठहरिएला ? सिरिजका प्लट यहीमाथि उनिएको छ । लता सँगैसँगै सिरिजमा मानको कथा अघि बढ्दै जान्छ । सम्बन्धमा मान लताको भिनाजुका भाइ हुन् । मान आफ्नै तरिकाले जीवन जिउन रुचाउँछन् । राजनीतिज्ञ महेश कपुरका छोरा हुन् मान । बुवा महेश कपुर जमिन्दारी प्रथा हटाउन चाहन्छन् । धर्मनिरपेक्ष भारत बनाउन चाहन्छन् । राजस्वमन्त्री हुन् महेश । मानको एक मिल्ने साथी छन् फिरोज । फिरोज मुस्लिम हुन् । मस्जिदको अगाडि मन्दिर बनाएको विषयमा हिन्दु मुस्लिमबीच दंगा भइरहँदा उनीहरुको सम्बन्धमा तिक्तता देखिँदैन । दुवैका बुवा पनि एकअर्काका मिल्ने साथी ।

होलीको दिन सइदा बाई(तब्बु)को प्रस्तुति सुनेपछि मान उनीतर्फ नतमस्तक हुन्छन् । सइदा यौनकर्मी हुन्छिन् । सइदालाई खोज्दै उनी बस्ने ठाउँसम्म पुग्छ मान। आफू भन्दा उमेरमा ठूली सइदासँग प्रेम गर्न थाल्छन् । सइदाले पनि आफ्नो 'दाग साब'(मानलाई दिएको नाम)लाई खुबै प्रेम गर्छिन् । बिस्तारै उनी दुईको प्रेम एकान दुई कान मैदान हुन थाल्छ । बुवा महेशले पनि मान र सइदाबारे खबर पाउँछन् । मान सइदाबाट टाढा होस् भन्ने चाहन्छ । त्यसैले आफूले उठ्दै गरेको निर्वाचन क्षेत्रमा मानलाई लिएर जान्छ । के सइदा र मानको प्रेम त्यही टुङ्गिन्छ ? त्यो भने सिरिजका ६ श्रृङ्खला हेरेपछि नै थाहा हुनेछ ।

प्रेम र मित्रताको कथा कपुर, मेहेरा, च्याटर्जी र खान चार परिवारको वरपर नै घुमेको छ । यी चार परिवारका प्रत्येक पात्र समाजमै अझै भेटिन्छन् । यी चार परिवार प्रेम र मित्रताको सम्बन्धमा गाँसिएका छन् । उनीहरुका परिवारमा आउने आरोह अवरोहले सिरिजमा दर्शकलाई जोडेर राख्छ । मिरा नायर निर्देशित यस 'मेलो ड्रामा'मा त्यो बेलाको परिवार, संस्कृति र देशको राजनैतिक अवस्थालाई चित्रण गरिएको छ । जसै प्रमुख दुई पात्रको जीवनमा समस्या उत्पन्न हुन्छ देशमा हिन्दु मुस्लिमबीचको मतभेद/लडाईं चर्किँदै गएको देखाइएको छ । अर्थात यी दुई आफ्नो भविष्यका लागि संघर्ष गर्दै गर्दा बाहिर देश पनि नयाँ स्वरुपको लागि संघर्षरत नै देखिन्छ ।

मान र फिरोजको मित्रतालाई हिन्दु र मुस्लिम मित्रताको रुपमा देखाइएको छ । दुई धार्मिक संगठनका मानिसबीच झगडा भइरहँदा मान र फिरोज भने एकअर्काका लागि खडा हुन्छन् । उनी दुईको मित्रताले वर्तमान अवस्थामा रहेको हिन्दु मुस्लिमबीचको मतभेदलाई चुनौती दिइरहेको जस्तो लाग्छ । यद्यपि त्यो बेलाको हिन्दु मुस्लिमबीचको लडाईं आज पनि यथार्थ परक लाग्छ । उस्तै छ चुनावी प्रचारबाजी पनि ।

सिरिजमा देशको राजनीति मात्र देखाइएको छैन । लताको बिहेलाई लिएर परिवार परिवारबीच हुने राजनीति पनि रोचक किसिमले प्रस्तुत गरिएको छ । मागी विवाहका अनेकन रमाइला पक्षहरु सिरिजमा देख्न सकिन्छ । लताकी आमा रुपासँग भेट गर्दा उनीसामु आफ्नो प्रमाणपत्र पेस गर्छन् हरेसले । लतालाई चिठ्ठी लेख्न उनकी आमासँग हरेसले अनुमति माग्छन् । त्यो बेलाको समाज देखाएको छ सिरिजमा । चिठ्ठीबाट हुने संवाद रोमाञ्चक लाग्न सक्छ ।

लताका लागि बिहे नै 'भविष्य', 'सबथोक' भन्ने समाज र परिवारको मानसिकता आजको समाजमा पनि फरक भेटिन्न । त्यसैले पनि दर्शकले पात्रहरुसँग निकटता पाउँछन् । सिरिजका श्रृङ्खला स्लो छन् । त्यसैले दर्शकलाई बाँधिरहन सक्दैन । सेगल(काका)ले लतालाई गरेको दुर्व्यवहारको दृश्य हटाए पनि सिरिज अगाडि बढ्ने देखिन्छ । उक्त दृश्यले प्रमुख प्लटलाई खासै साथ दिएको देखिँदैन । एन्ड्र्यू डेभिजले सिरिजका पटकथा लेखेका हुन् ।

'मेलो ड्रामा' हेर्न रुचाउनेका लागि यो सिरिज 'स्विटेबल' हुन सक्छ । सिरिज सबैभन्दा सशक्त पक्ष यसमा प्रयोग भएको पार्श्व संगीत हो । 'मुझे बुरा कहिए', 'मेहफिल बर्खास्त हुई', 'दिल ए नादान'लगायतका गजल संगीत मन छुनेछन् । सिरिजमा पात्रहरु थुप्रै छन् । सइदा बाईको भूमिकामा देखिएकी तब्बुको अभिनय गजब्ब लाग्छ । उनले सइदा बाईको भूमिकालाई स्क्रिनमा जीवन्त बाँचेकी छिन् । लताको भूमिकालाई तान्या मनिक्तलाको अभिनयले पनि सार्थक बनाएको छ । उनको अभिनयले चरित्रलाई न्याय दिएको छ ।

इसान खट्टरले मानको भूमिकामा आफ्नो अभिनय कुशलता देखाएका छन् । त्यस्तै आफ्नो छोटो भूमिकामा पनि तारिफलायक अभिनय गरेका थिए विजय वर्मा(रसिद) र रणवीर शौरी(वारिस)ले । रुपाको भूमिकामा देखिएकी महिरा कक्कड, राम कपुर(महेश), मिखेल सेन(अमित), दनेश राजवी(कविर)को अभिनय पनि दर्शकले सम्झिरहने छन् ।

प्रकाशित : कार्तिक २२, २०७७ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×