कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यही आवाजमा स्थापित हुनुछ : यावेश थापा

'लाखौं हजारौं' बोलको गीत रूचाइएपछि नै हो यावेशको चर्चा चुलिएको । 'मायालु' बोलको गीतले त उनलाई गायन क्षेत्रमा नयाँ पहिचान दिएको छ । 'ए मुटु' उनको पछिल्लो गीत हो ।
''लाखौं हजारौं' मेरो पहिलो कदम हो'
रीना मोक्तान

काठमाडौँ — साथीहरुसँग चिया पिउँदै थिए यावेश । छेउमा थियो, चिया पिउँदै गरेको एक समूह । समूहको बीचमा एउटा स्पीकर । जसै यावेशले चिया सुरुप्प पिए स्पीकरमा बज्यो,'लाखौं हजारौंमध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ, लाखौं प्रयास गर्दा पनि किन मलाई तिम्रै यादले सताउँछ' ।

यही आवाजमा स्थापित हुनुछ : यावेश थापा

यावेशको ध्यान स्पीकर छेउको समूहमा पुग्यो । सबै गीतमा मन्त्रमुग्ध थिए । आफ्नो गीत ५/६ पटक त्यहाँ बजेको सुन्दा यावेशको मन ढक्क फुल्यो । छेउमा भएका साथीहरुले यावेशको नाम लिएर ठूल्ठूलो आवाजमा जिस्काउन थाले । तर, गीत सुन्दै गरेको समूहको ध्यान त्यता तानिएन । उनीहरु गीत सुन्नमै मस्त देखिन्थे ।

गत पुसतिरको कुरा हो यो । कोटेश्वरको एउटा क्याफेमा एकजना व्यक्तिले गीटारमा यही गीत बजाउँदै गरेको देखेपछि यावेशलाई लाग्यो,'गीत त ‍चलेछ' । 'लाखौं हजारौं' बोलको गीत युवा दर्शकमा चलेपछि नै हो यावेश थापाको चर्चा चुलिएको । 'मायालु' बोलको गीतले त उनलाई गायन क्षेत्रमा नयाँ पहिचान दिएको छ । 'ए मुटु' उनको पछिल्लो गीत हो । उनलाई आफूले लेखेको र गाएको गीतमध्ये सबैभन्दा धेरै मनपर्ने 'ए मुटु' र 'झरी' हो ।

सार्वजनिक गरेको एक महिनामै १० लाख भ्यूज प्राप्त गर्यो 'ए मुटु'ले । 'मैले अपेक्षा नै गरेको थिइनँ । एक महिनामै मिलियन भ्यूज पुग्दा खुसी छु । राम्रो प्रतिक्रिया आइरहेको छ । गीत लेखेको एक वर्ष भइसकेको थियो । भिडियो बनाउने सोचेको थिएँ, तर लकडाउनले सम्भव भएन,' उनले सुनाए ।

सानैदेखि गीत लेखनमा रुचि

सानैदेखि गीत लेख्थे यावेश । शंखमूलको इनोभेटिभ इंग्लिस स्कुलमा कक्षा ७ मा पढ्दै गर्दा उनले गीत लेख्न सुरु गरे । खासमा उनी इसाई हुन् । सानैदेखि चर्चमा गीत गाएको अनि वाद्यवादन बजाएको देख्थे । उनलाई पनि रहर लाग्थ्यो गाउन, बजाउन । बिस्तारै चर्चका दाइदिदीबाट संगीत सिक्न थाले । चर्चमै बजाउन पनि थाले । त्यसपछि त झनै उनलाई संगीतमै झुकाव बढ्न थाल्यो ।

कभर गीत गाउने प्रयास गर्थे । तर आफ्नो आवाज चित्त बुझ्थेन । गीत लेख्न कहिल्यै छोडेनन् । बिस्तारै उनको लेखनमा निखार आउन थाल्यो । कक्षा ७ मा लेखेका एउटा गीत रेकर्ड गर्ने योजना छ यावेशको । 'सानैबाट संगीतमा लाग्ने मन थियो । उचित समयको पर्खाइमा थिएँ । संगीतलाई रहरको हिसाबले गर्दै गएँ,' उनी सुनाउँछन् ।

अन्तर्मुखी स्वाभावका यावेश एक्लै हुँदा मात्र संगीत गर्थे । 'म सानैदेखि कसैले मलाई नचिनोस् भन्ने सोच्थें । धेरैलाई थाहै थिएन म संगीत गर्छु भन्ने । साथी पनि कम थिए । जति थिए उनीहरुले मेरो गायनको तारिफ गर्थे,' उनले विद्यालयका दिन सम्झे,'मलाई त्यो बेला संगीत गर्न सक्दिनँ होलाजस्तै लाग्थ्यो ।'

कक्षामा ९ मा हुँदा विद्यालयभित्र गायन प्रतियोगितामा भएको थियो । त्यसमा यावेश ७ औं स्थानसम्म पुगे । त्यसपछि उनलाई संगीतमा केही गर्न सक्छु कि भन्ने लागेको थियो । कक्षा १० मा हुँदा त गीत निकाल्न निकै हौसिएका थिए । एसएलसी सकिनासाथ 'प्रयास' बोलको गीत रेकर्ड पनि गराए । साथी प्रतिक शाक्यसँग मिलेर रेकर्ड गरेको गीतबाट सोचेजस्तो केही भएन । 'त्यो बेला इनलाइन क्रियसन रेकर्ड पिकअपमा थियो । हामीले त्यहीँबाट पहिलो रेकर्डिङ गर्ने सोच्यौं । 'प्रयास' सन् २०१७ मा सार्वजनिक गर्यौंा । गीतबाट सोचेजस्तो प्रतिक्रिया भने आएन,'उनी सुनाउँछन्,'त्यतिखेर संगीतमा केही होला कि भनेर सोचेको थिएँ । तर केही भएन ।'

'प्रयास'ले एक हजार भ्युज पाउँदा उनी निकै उत्साहित भएका थिए । भ्युजको स्क्रिनसट लिएर फेसबुकमा पोस्ट गरेको दिन अझै सम्झन्छन् यावेश । पहिलो गीतपछि उनलाई संगीतमा अभ्यास नपुगेको जस्तो लाग्यो । उनले आफूलाई सुधार्दै लगे । आफूले लेखेको गीत गाउँदै फेसबुकमा सेयर गर्न थाले । लिभरपुल कलेजमा ११ कक्षामा पढ्दै गर्दा फेसबुकमा गीतहरु राख्न थाले । फेसबुकमा राखेको गीत अर्कै व्यक्तिले युट्युबमा राख्न थालेको एकदिन साथीमार्फत् उनले चाल पाए । त्यसपछि साथीहरुको सल्लाहअनुसार उनले युट्युब खोले । 'त्यो व्यक्तिले राखेको युट्युबमा मेरो गीत ५/६ हजार भ्युज गएको हुन्थ्यो । त्यहीबेलादेखि मैले युट्युबमा गीत राख्न थालें,' उनले भने ।

आफ्नो कोठाभित्रै रेकर्ड गरेका गीत युट्युबमा राख्थे । गीत लेख्न असाध्यै मन पराउँथे उनी । गीतको भ्युजले खासै अर्थ राख्थेन । आफ्नो सन्तुष्टिका लागि युट्युबमा गीत राखेको उनी बताउँछन् ।

कक्षा १२ को अन्तिमतिर साथीहरुसँग मिलेर 'मनसुन' नामको ब्यान्ड पनि खोले । 'ब्यान्डमा मसँगै साथीहरु ओएसिस थापा, अम्सु कार्की, रोजन बस्नेत, साहिल श्रेष्ठ, श्रीजन महर्जन, सपना महतरा थियौं । यत्तिकै रमाइलोको लागि ब्यान्ड खोलेका थियौं । मेनस्ट्रिममा आएर धमाका गर्ने केही सोचेका थिएनौं । हामीलाई सँगै बजाउन रमाइलो लाग्थ्यो,' उनले सुनाए ।

ब्यान्डले कलेजका कार्यक्रमहरुमा प्रस्तुति दिने गर्थ्यो । ब्यान्डमा आबद्ध हुँदा पनि यावेशलाई सोलो करियर सुरु गर्ने मन थियो । तर ब्यान्डका अन्य साथीले 'के भन्लान्' भनेर सोलो करियर अगाडि बढाउन सकिरहेका थिएनन् । तर स्नातक पढ्न थालेपछि ब्यान्ड सदस्यहरु आ-आफ्नै क्षेत्रमा व्यस्त भए । सबै साथीहरुले ब्यान्ड बन्द गर्ने निर्णय गरेपछि भने उनले आफ्नो सोलो करियर थाले ।

कान्तिपुर सिटी कलेजमा बिसिए(ब्याचलर इन कम्प्युटर एप्लिकेसन)को प्रथम वर्षमा पढ्दै गर्दा उनले 'लाखौं हजारौं' बोलको गीत सार्वजनिक गरेका हुन् । 'क्लासएक्स प्रिजेन्टेसन'सँग मिलेर गत जनवरीमा यो गीत निकालेका हुन् । 'मसँग गीत हुन्थ्यो । म गर्न सक्छु भन्ने पनि थियो । तर कसरी गर्ने केही थाहा थिएन,' उनले भने, 'भेक दाइ(वाइवा)ले मलाई उत्साह दिइरहनु हुन्थ्यो । एकदिन उहाँले क्लासएक्सबाट मिलेर गीत गर्ने कुरा गर्नुभयो । त्यसपछि लाखौं हजारौं गर्यौं ।'

गीतलाई १०/२० हजारले युट्युबमा हेर्लान् भन्ने सोचेका थिए यावेशले । गीतबाट खासै अपेक्षा गरेका थिएनन् । अपेक्षा पूरा नहुँदा चित्त दुख्छ भन्ने उनलाई पहिला सार्वजनिक भएका गीतहरुबाट अनुभव भइसकेको थियो । अपलोड भएको केही दिन कछुवा गतिमा गीतको भ्युज बढ्यो । त्यसपछि बिस्तारै ५० हुँदै एक लाख भ्युज प्राप्त भयो । एक लाख भ्युज पाउँदा ब्यान्डका साथीहरुसँग यावेशले 'बारबिक्यु पार्टी' गरे ।

अचानक गीत जताततै बज्न सुरु भयो । 'बिस्तारै गइरहेको थियो भिडियो । मलाई त्यति चासो पनि थिएन । तर पछि खोइ कसरी केही दिनपछि जताततै यो गीत बजेको सुनें । मैले पछ्याउँदै आएको सेलिब्रिटी, गायक, संगीतकारले मन पराइदिनु भयो,'उनी गीत चर्चामा आउँदाका दिन सम्झे,'एकदिन माल्भिका सुब्बाले फेसबुकमा मेरो गीत सेयर गर्नुभयो । कस्तो राम्रो गीत भनेर म्यासेज गर्नुभयो । अपेक्षा नगरेको गीत थियो । एकैताल चर्चामा आउँदा निकै खुसी छु । गर्विलो पनि अनुभव हुन्छ, मेरो पहिलो कदम हो 'लाखौं हजारौं'।'

यो गीत उनले कल्पना गरेर लेखेका हुन् । गीत लेख्न बस्दा सुरुमा शीर्षक/विषय सोच्छन् उनी । त्यही विषयमाथि रहेर गीत लेख्न ध्यान केन्द्रित गर्छन् । उनी गीतको शब्द सँगसँगै संगीत भर्दै लान्छन् । उनलाई गीत लेख्न समय लाग्दैन । कल्पना गरेर गीत लेखिरहेका हुन्छन् । 'जबरजस्ती लेख्न बसें भने राम्रो गीत लेखिँदैन जस्तो लाग्छ । तर मलाई लेख्ने मन भएपछि दिमाग, हातले काम गर्न थाल्छ,' उनले भने ।

'लाखौं हजारौं' आधा घण्टामै तयार भएको गीत हो । कक्षा १२ पढ्दै गर्दा उनले यो गीत लेखेका थिए । आफ्नो कोठाभित्रै गाएर युट्युबमा पनि राखेका थिए । खासै नोटिसमा परेन । तर क्लासएक्सबाट आधिकारिक रुपमा सार्वजनिक भएपछि गीतले चौतर्फी चर्चा कमायो ।

टेलिभिजनमा पनि गीत बज्न थालेपछि परिवार आफ्नो संगीत करियरतर्फ सकारात्मक भएको यावेश सुनाउँछन् । यसअघि उनलाई परिवार संगीत करियरलाई लिएर सकारात्मक नभएकोझैं लाग्थ्यो । 'नेपालजस्तो ठाउँमा संगीतमै भविष्य खोज्छु भन्न गाह्रो छ । मेरो परिवारले संगीत नगर भन्नु हुन्थेन । तर उहाँको एक्सनबाट मलाई थाहा हुन्थ्यो । तर अहिले संगीतमा मेरो विकास देख्नु भएको छ,' उनले भने।

उनका बुबा एक कम्पनीका म्यानेजर, आमा गृहणी । उनकी एक बहिनी छिन् । अहिले परिवारको साथ पाएर खुसी छन् यावेश ।

'लाखौं हजारौं' बोलको गीत ८४ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । गीतलाई लाखौंले मनपराइदिएपछि उनी 'नर्भस' भएका थिए । '८ मिलियन भ्युज पुग्दा गीतको उचाई माथि उक्लियो । यो उचाईलाई अर्को गीतले भेट्ला/नभेट्ला भन्ने डर पनि लाग्यो,' आफ्नो अनुभव सुनाए ।

तर,'मायालु'ले त्यो डर पनि कम गरिदियो । गीतलाई ९० लाख बढीले हेरिसकेका छन् । उक्त गीत भेक र उनले मिलेर लेखेका हुन् । यो पहिलो लकडाउनमा रेकर्ड गरिएको गीत हो । मलेसियामा हुँदा भेकले गीतका केही शब्दहरु लेखेर यावेशलाई पठाएका थिए । एकदम मन परेको थियो यावेशलाई गीत । पछि भेक नेपाल फर्किएपछि दुवैले मिलेर गीत लेखे । अनि गीत रेकर्ड गरे । 'लकडाउन कडा थियो । त्यतिखेर स्टूडियोमा एकजना मात्र हुन्थ्यौं । म गएर आफ्नो भाग रेकर्ड गरेर घर फर्कन्थें । अर्को पटक भेक दाइ गएर रेकर्ड गर्नुहुन्थ्यो । सँगै रेकर्ड गर्न पाएनौं,' गीत रेकर्ड गर्दाको समय सम्झे ।

लकडाउनमा भिडियो बनाउन सम्भव थिएन । त्यसैले अमेरिकामा भएको 'एएक्ससी भ्लग्स' भन्ने टिमलाई भिडियो बनाउने अवसर दिए । भिडियो तयार भएपछि लकडाउनबीच नै गीत सार्वजनिक गरे । गीतलाई अत्याधिक दर्शकले रुचाइदिए । 'यो गीतबाट पनि धेरै अपेक्षा गरेकै थिइनँ । तर मायालु त ओभरै चल्यो,' दंग पर्दै सुनाए,'खुसी छु । एकदम सामान्य तरिकाले लेखेको गीत थियो । म त सन्तुष्टि छु । मायालुचाहिँ सबै दर्शकले सुन्ने गीत हो नि । धेरैले जनाले मन पारइदिनु भयो ।'

१८ वर्षीय यावेशलाई युवा दर्शकले प्रेरणाको स्रोत मान्छन् । 'तपाईंलाई देखेर गीत गाउन थालेको' भन्नेहरु देखेर उनलाई खुसी लाग्छ । भन्छन्, 'अब मलाई कसैको लागि रोल मोडल भएर राम्रो संगीत ल्याउनुपर्छ भन्ने चुनौती थपिएको छ । अझै संगीतमा 'एक्सपेरिमेन्ट' गर्ने मन छ । अहिलेको मेरो उदेश्य पनि यही हो ।'

यावेश आफ्ना गीतको भिडियोमा देखिरहेका हुँदैनन् । भिडियोमा देखिन मनपराउँदैनन् उनी । 'मान्छेले मेरो अनुहारभन्दा पनि मेरो संगीत हेरेर मलाई जज गरून् भन्ने लाग्छ,' उनले भने,'मलाई त सबैभन्दा रमाइलो नै दर्शकको अगाडि स्टेजमा प्रस्तुति दिन मनपर्छ । जहाँ गीटार होस्, मानिसहरु होऊन् । मेरो आवाज त्यति राम्रो पनि छैन । म सामान्य गाउँछु मलाई थाहा छ । दामी आवाज नभए पनि यही आवाजले आफूलाई स्थापित गरेर देखाउनु छ ।'

प्रकाशित : कार्तिक १८, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?