‘प्लान्ट लभर’को दुनियाँ : मन भुलाउने र तनाव हटाउने साथी - फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्लान्ट लभर’को दुनियाँ : मन भुलाउने र तनाव हटाउने साथी 

बुनु थारु

काठमाडौँ — काठमाडौं लाजिम्पाटकी बिना श्रेष्ठ चार वर्षअघि पेटको समस्याले थलिइन् । तीनपटक त सर्जरी नै गर्नुपर्‍यो । दुई वर्षका बीचमा ३–३ पटक सर्जरी गनुपर्दा शारीरिकमात्र होइन मानसिक रुपमा पनि कमजोर बनिन् । लामो समय विदा लिएर घरमै बस्नुपरेपछि उनी दुःखी हुन थालिन् ।

उकुसमुकुस महसुस भयो । समय कटाउन उनी बिस्तारै बोटबिरुवाको हेरचाह गर्न थालिन् । यो समय कटाउने राम्रो साथीमात्र बनेन, खुसी पनि दियो । भन्छिन्, ‘मानसिक रुपले म एकदम कमजोर भएकी थिएँ, सायद बोटबिरुवाले गर्दा नै म छिटो निको भएँ ।’ बोटबिरुवा हुनाले खुसीका साथै एउटा सकारात्मक सोच र उर्जा आउने उनको भनाइ छ ।

४२ वर्षीया श्रेष्ठलाई बाल्यकालदेखि नै ‘गार्डेनिङ’को शोख थियो । १० वर्षको उमेरदेखि नै फूल रोप्ने गरेकी उनलाई बोटबिरुवाप्रति लगाव बढाउन सहयोग गर्ने एउटा विशेष कारण यही पेटको समस्या पनि हो । शरीर दुख्दा अनि निद्रा नलाग्दा उनी बोटबिरुवा हुर्केको अनि फुलेको हेर्ने गर्थिन् । घन्टौंसम्म गोडमेल गर्ने, फोटो खिच्ने गरेर रमाउन थालिन् । ‘जब फूल फूल्छ, घर नै उज्यालो भएको महसुस हुन्छ,’ उनको बुझाइ छ ।

उनलाई बोटबिरुवा जम्मा पार्नमात्र होइन हुर्काउन, पुनः उमारेर नयाँ बिरुवा बनाउन औधि रुचि लाग्छ । उनीसँग १ सयभन्दा बढी प्रकारका इन्डोर, आउटडोर बोटबिरुवा छन् । घुमघाम गर्न मन पराउने उनले कामका सिलसिलामा बाहिर जाँदा स्वीडेन, थाइल्यान्ड, भारतबाट पनि विभिन्न प्रकारका इन्डोर तथा फूलका बोटहरु ल्याइहाल्छिन् ।


नर्सरी जानासाथ थुप्रै बिरुवा बोकेर आउने श्रेष्ठ हाँस्दै भन्छिन्, ‘नर्सरी गयो भने त खाली हात कहिल्यै आइँदैन, आफूलाई नियन्त्रण गर्न नसकिने हुने रहेछ ।’ हरेक दिन ३ घण्टा आफ्नो बोटबिरुवालाई समय दिने गर्छिन् उनी । कोरोनाको असरले गर्दा धेरै प्रकारका बोटबिरुवा नआउनु र माग बढेसँगै महँगो पनि भएको उनको अनुभव छ । मल, गमला, बोटबिरुवासहित उनले महिनामा २० देखि ५० हजारसम्म खर्चिने गरेकी छिन् ।

लकडाउन र कोरोनाले गर्दा घरमै रहेकाले ‘प्लान्ट कम्युनिटी’ संसारमै बढ्न सहयोग गरिरहेको उनको भनाइ छ । पछिल्ला समय इन्स्टाग्राममा बोटबिरुवासम्बन्धी विभिन्न अकान्उट खुल्नाले पनि त्यसको पुष्टि गर्छ । भन्छिन्, ‘प्लान्ट कम्युनिटी बढ्नु राम्रो हो तर प्रतिस्पर्धा गरेजस्तो देखिन्छ । आफ्नो बजेट र गच्छेअनुसार बोटबिरुवा किन्नुपर्छ ।’

आफूसँग भएको बिरुवा साटासाट गरेर नयाँ लिने सक्ने र भएका बिरुवाबाट ‘प्रोपोगेट’ गरेर नयाँ बनाउन सकिने उनको सुझाव छ । चीसो महिनामा बोटबिरुवालाई जोगाउन अलिक गाह्रो हुन्छ, धेरै बोटबिरुवा मर्छन् । प्रयोग गरिराख्नुपर्छ । युट्युबमा भएका बोटबिरुवासम्बन्धी ट्युटोरियलहरु हेरेर धेरै कुरा सिक्न सकिने श्रेष्ठ बताउँछिन् ।

भविष्यमा बोटबिरुवाको ग्रोइङ प्रोडक्सन नै खोल्ने विचार बनाएकी उनले नेपालमा पनि यस्ता प्रोडक्सन सेन्टर धेरै खोलिए बिरुवाको व्यापार राम्रो र सस्तो हुने बताउँछिन् । उनले केही प्रिय बिरुवाहरुको ‘नामकरण’ पनि गर्छिन् ।

उनका श्रीमान्ले समय समयमा बोटबिरुवा नै गिफ्ट पनि दिने गरेका छन् । ६ महिने जुम्ल्याहया बच्चाकी आमा रहेकी श्रेष्ठ हाँस्दै भन्छिन्, ‘बोटबिरुवा र बच्चा दुवै सँगै हुर्काउँदैछु ।’

मन भुलाउने साथी


इन्टेरियर डिजाइनर ३७ वर्षीया रमा राईलाई बोटबिरुवा मनपर्छ तर नफूल्ने खालका । उनी ‘सकुलेन्ट’ प्रेमी हुन् । यी बिरुवालाई एकदम कम पानीको आवश्यकता पर्छ । उनी भन्छिन्, ‘फूल त फूलेर आफैं सुन्दर देखिन्छ तर नफुल्ने सानासाना बिरुवा नफुलेरै पनि सुन्दर देखिन्छन् ।’

सकुलेन्ट् नै किन त ? उनको उत्तर छ, ‘किनकी यी बिरुवालाई धेरै केयर आवश्यक पर्दैन । पानी पनि धेरै हाल्नुपर्देन सजिलै हुर्कन्छन् ।’ सम्भवत प्लान्ट कम्युनिटिमा राईसँग सकुलेन्टको धेरै संकलन भएको मानिन्छ । उनीसँग ३ सयभन्दा बढी प्रकारका सकुलेन्ट्स छन् । कुनै नर्सरीमा नयाँ सकुलेन्ट्स आउनेबित्तिकै उनी कुदिहाल्छिन् । कहिलेकाहीँ आफूले प्रोपोगेट गरेका बिरुवा बेच्छिन् र त्यही पैसाले अरु खरिद गर्छिन् । उनले यी बिरुवा संकलन र हुर्काउन थालेको चार वर्ष भयो । ‘घरभाडामा बस्छु, घरबेटीको आधा छत प्रयोग गरेको छु । धन्न राख्न दिनुभएको छ,’ उनले सुनाइन् ।

सकुलेन्ट सानो भए पनि महंगो हुन्छन् । उनले एक पटकमा १० हजारको पनि खरिद गरेकी छिन् । महिनामा ३ देखि ४ हजार किन्नमा खर्च हुने गरेको उनको भनाइ छ ।

जोरपाटी निवासी २१ वर्षीय स्यालोन बराललाई पनि गार्डेनिङको शौख छ । ‘प्लान्ट ड्याडी’ भन्न रुचाउने उनलाई धेरैजसो सजावट खालका बोटबिरुवाहरु मनपर्छन् । उनी आफ्नो पकेटमनीबाट बचत गरेर बोटबिरुवाहरु किन्ने गर्छन् । लकडाउन र कोरोनाले गर्दा बोटबिरुवाहरुलाई धेरै समय दिन पाएकोमा खुसी छन् उनी । उनलाई बोटबिरुवा किन मनपर्छ थाहा छैन तर यिनीहरुको सुन्दरताले मलाई लोभ्याउने बताउँछन् ।

‘म माटोसँग खेल्न मन पराउँछु । सबैभन्दा राम्रो कुरा प्लान्ट्सले सिकाएको भनेको धैर्य हो,’ बरालले भने, ‘हुर्किँदै, राम्रो हुँदै गएको देखेर नै बोटबिरुवाप्रति लगाव बढ्यो, आफूलाई अभिभावक भएकोजस्तो महसुस हुन्छ ।’


ढोलाहिटी निवासी ४५ वर्षीया अन्जनी जोशी फूलकी शौखिन हुन् । उनले विभिन्न प्रकारका फूल, फल तथा तरकारी रोपेकी छिन् । उनको घरमा सिजनल कुनै फूलहरु टुट्दैनन् । घरवरिपरी ढकमक्क फूल मुस्कुराइरहेको देख्दा एकदम आनन्द आउने उनले बताइनु । फूलहरु नर्सरीबाट किनेर घरमा सजाउनुभन्दा आफैंले त्यसबाट अर्को बिरुवा उमार्नुको आनन्द झन् बेग्लै हुने उनको अनुभव छ ।

जोशीले बोटबिरुवालाई आफ्नो एकान्तको मन भुलाउने साथीका रुपमा लिएकी छन् । ‘उनीहरु रंगचगी देखिन्छन्, हरियाली देखिने भएको आँखालाई पनि आनन्द महसुस हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : कार्तिक १६, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाको मौसम खुलेपछि [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — मौसम खुलेपछि आइतबार भक्तपुरको रानीकोटबाट काठमाडौं उपत्यका र आसपासमा हिम श्रृंखलाहरु छर्लङ्गै भएका छन् । केही दिनयता उपत्यकाको मौसम सफा देखिएको छ । आकाशमा बादल देखिएको छैन । निलो र सफा देखिएको छ आकाश । उपत्यकाको तापक्रम घटेसँगै हिमालहरु प्रस्टै देखिन थालेका छन् । तर पछिल्लो समय हिमालहरूमा हिउँ भने हराउँदै गएको छ । सामान्यतया काठमाडौं उपत्यकाबाट हिमालचुली, लाङटाङ, दोर्जेलाक्पा, गणेश, गौरिशंकर लगायतका हिमालहरु देखिने गरेका छन् ।


प्रकाशित : कार्तिक १६, २०७७ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×