१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हरिवंशको कोरोना अनुभव : 'नेगेटिभ आए पनि म 'कोरोना फ्रि' भएको छैन'  

'मलाई पनि लाग्न सक्छ है भनेर मानसिक रुपले तयार हुँदा हुन्छजस्तो लाग्छ'
रीना मोक्तान

काठमाडौँ — कोरोना लागिहाल्छ कि ! धेरैलाई झैं कलाकार हरिवंश आचार्यलाई पनि यो डर थियो । मनको डरमाथि आत्मबल बलियो पार्दै आफैँलाई भन्थें, 'मलाई कोरोना लाग्दैन' । उनकै शब्दमा सावधानी अपनाउन कतै चुकेकै थिएनन् । सामाजिक दूरी कायम गर्थे । साबुनपानीले हात धुन्थे, ‍स्यानिटाइजर प्रयोग गरिरहन्थें ।

हरिवंशको कोरोना अनुभव : 'नेगेटिभ आए पनि म 'कोरोना फ्रि' भएको छैन'  

बिहान तरकारी किन्न जाँदा पैसाका लागि अर्को प्लाष्टिकको झोला बोक्थे । फिर्ता आएको पैसा त्यसैमा राख्थे । त्यो पैसा २ दिनपछि स्यानिटाइजर लगाएर मात्रै प्रयोग गर्थे ।

सावधानी अपनाउँदा अपनाउँदै कसरी कोरोना लाग्यो, उनलाई थाहा छैन । 'मैले धेरै सम्झिन खोजें, कसरी सर्‍यो भनेर तर पत्ता लगाउन सकिनँ,' उनी सुनाउँछन् ।

पत्नी रमिलाको स्वाद नहराएको भए उनले कोरोनाको परिक्षण गर्ने थिएनन् । खासमा रमिलालाई टाउको दुख्ने, ज्यान दुख्ने लक्षण देख्न थालिसकेको थियो । २ दिन ९९ डिग्रीको ज्वरो आयो । आफ्नै शरीर दुख्न थालेको दुई दिनसम्म भाइरल रुघाखोकी सोचेर त्यति वास्ता गरेनन् । तर, बिस्तारै रमिलालाई बास्ना आउन छोड्यो । त्यसपछि उनी दुईले कोरोना परिक्षण गराए । 'सात दिनसम्म उसलाई जिउ दुख्यो । जिउ दुखेको कम हुन थालेको थियो अचानक उसको मुखको स्वाद गयो । बास्ना आउन पनि छोडेछ । त्यसपछि कोरोनाको शंका लागेर हामीले टेस्ट गर्दा दुवैजनाको पोजिटिभ आयो,' हरिवंशले भने।

असोज २० गते दुईलाई कोरोना संक्रमण देखियो । पत्नी रमिलाको भन्दा हरिवंशको शरीरमा भाइरस धेरै रहेछ । उनको सिटी काउन्ट (साइकल थ्रेसहोल्ड) १९/२० थियो । तर उनको स्वाद र बास्ना गएन । उनी आत्तिएनन्, आत्मबल बलियो बनाए । 'म डराइनँ । किनभने डरायो भने व्यक्ति कमजोर हुन्छ । आत्मबल नै सबैभन्दा ठूलो औषधि भनिन्छ नि त । आत्मबल घटाउनु हँदैन भन्ने थियो । त्यसैले नतिजा पोजिटिभ आएपछि 'ए कोरोना लागेछ' भन्ने भयो,' उनले आफ्नो अनुभव सुनाए ।

आफूलाई संक्रमण पुष्टि हुने बित्तिकै सुरुमा उनलाई मदन दाइ (मदककृष्ण श्रेष्ठ)को चिन्ता लाग्यो । आफूबाट कसैलाई कोरोना सर्ला भन्ने अर्को चिन्ता थपियो । 'मदन दाईको स्वास्थ्य अलि जटिल छ । एकदिन अगाडिसम्म एउटा विज्ञापनको सुटिङमा म उहाँसँगै थिए । हामी एउटै गाडीमा जान्थ्यौं, दिनभरी सँगै हुन्थ्यो । मलाई पोजिटिभ भयो भन्ने साथै मलाई मदन दाइको डर लाग्यो । मदन दाइलाई के भो होला भन्ने भयो,' संक्रमण पुष्टि हुँदाका अनुभव सुनाउँछन् ।

छोरा मोहित र मदनकृष्णको कोरोना नतिजा नेगिटिभ आयो । आफू सँगैसँगै हिँड्ने दुईको कोरोना परिक्षणको नतिजाले उनलाई नै चकित पार्‍यो । साथै उनीहरु सुरक्षित भएकोमा खुशी पनि । 'अचम्मको चिज रहेछ कोरोना । कोरोना नतिजा आउने एकदिन अगाडि पनि छोरा र म एउटै गाडीमा मास्क नलगाइकन हिँडेका थियौं । छोराको नतिजा नेगिटिभ आयो । २ दिनसँगै सुटङ गरेर बसेको मदन दाइको नतिजा नेगेटिभ आयो । यो कसलाई सर्छ अन्दाज नै गर्न नसकिने रहेछ,' उनले भने ।

संक्रमित भइसकेपछि उनको मनमा एउटै कुरा खेलिरह्यो, 'कोरोनालाई कसरी जित्ने ?'

कोरोनासँग लड्न नयाँ बजार खुशिबुस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्न थाले । छोरा बुहारी माथिल्लो तल्लामा बस्थे । बीचको तल्लामा उनी दुई । भान्सा माथि नै थियो । तर, तातो पानी तताउन एउटा इलेक्ट्रिक चुल्हो आफ्नो कोठामा ल्याए । आइसोलेसनमा बस्न थाल्दा शरिर दुख्न कम भइसकेको थियो । बिहानको ब्यायामलाई उनले आइसोलेसनमा पनि निरन्तरता दिए । योगा गर्न छुटाएनन् । कोठाभित्र चलाउने साइकल चलाउँथें । डाक्टर रवीन्द्र समीर र अनकल डाक्टरसँग फोनमा परामर्श लिइरहे । 'उहाँहरुले पनि तातो खानुपर्छ, चिसो खानु हुन्न । आइसोलेसनमा बस्दा बाहिर कसैलाई नभेट्नु भनेर परामर्श दिनु हुन्थ्यो । मलाई डरचाहिँ लागेन,' आइसोलेसनका दिन सम्झे, 'कोरोना लागेपछि डराउनु हुँदैन, यो लाग्नसक्छ जसलाई पनि । डरायो भने एकदमै पिरोल्छ । त्यसैले नडराईं योसँग लड्नुपर्छ ।'

छोरा बुहारीले खाना बनाएर ढोकामा ल्याइदिन्थे । उनीहरु कोठाभित्र लगेर खान्थे । आमाबुवालाई दिक्क लाग्ला भनेर उनीहरु ढोका बाहिर बस्थे । हरिवंश दम्पति पनि मास्क लगाएर कोठाभित्रैबाट गफ गर्थे ।

आइसोलेसनमा दैनिक चारपटकसम्म बाफ लिने गरेको उनी सुनाउँछन् । 'कोरोनाको भाइरस चार दिन नाकमै बस्छ रे । घाँटीबाट छिर्‍यो भने घाँटीमा चार दिन बस्छ । त्यसपछि फोक्सोमा जान्छ । त्यसलाई नाक, घाँटीमा हुँदै विनाश गर्न सकियो भने फोक्सोमा गएर इन्फेक्सन गर्न सक्दैन रे । त्यसैले हामीले धेरै मात्रामा बाफ लियौं,' उनले भने, 'नुन चिनी पानी, बेसार पानी, ज्वानो पानी, तातो चिजहरु खाइरहने गर्‍यौं । दिनको एकपटक गुर्जो पानी पिउँथ्यौं ।'

एक घण्टाको फरकमा तातो पानी खाइरहन्थे आचार्य दम्पति । अदुवा, बेसार मिसाएको पानी दिनको चारपटक खाने गर्थे । 'अरुबेला भन्दा योबेला डायट कन्ट्रोल गर्नुहुँदैन, जिउ कमजोर हुन्छ,' भनेर सल्लाह दिन्थे अरु । त्यसैले उनले मुख नबारी सबै खानेकुरा खाए । उनका अनुसार आइसोलेसनमा डेढ केजी तौल बढ्यो । 'डेढ केजी मोटाएछु म त । बल्लबल्ल पाँच केजी तौल घटाएको थिएँ,' हाँस्दै सुनाए ।

आइसोलेसनमा बस्दाको एक हप्ता उनले आफूलाई स्क्रिप्ट लेखनमा व्यस्त गराए । सामाजिक सञ्जाल हेर्ने, लेखहरु पढ्ने गर्थे उनी । पत्नी रमिला टेलिश्रृङ्ला हेर्थिन् । कहिलेकाहीँ साथीहरु मिठो खानेकुरा बोकेर भेट्न आउँथे । साथीहरु ढोकाबाट २० फिट पर बस्थे । उनीहरु दुईजना मास्क लगाएर ढोका छेउबाट बात मार्थे । एकजना साथीले त गुर्जो उपहार ल्याइदिएका थिए । आइसोलेसनका दिन सहजै बित्यो । '१४ दिनसम्म आइसोलेसनमा बस्दा हामीलाई खासै गाह्रो भएन । पत्नी र म १४ दिनसम्म सँगै बस्दा झगडा पर्नुपर्थ्यो, ठासठुस् पर्नुपर्थ्यो नि ! त्यस्तो केही भएन, रमाइलोसँग बित्यो दिन,' उनले सुनाए, 'मलाईमात्र कोरोना लागेको भए उनी ढोका बाहिर बसिरहन्थिन् होला । उसलाई लागेको भए म ढोका बाहिर बसिरहन्थे होला । दुईजनालाई लागेकाले दुवैजना सँगै बस्न पायौं । खासै दु:ख भएन ।'

आइसोलेसनको १४ दिनपछि कोरोना परिक्षण गरियो । नतिजा फेरि पोजिटिभ । त्यसपछि भने उनलाई दिक्क लागेछ । नतिजा नेगिटिभ आए आनन्दले बाहिर हिँड्न पाइन्छ भन्ने उनलाई लागेको थियो । तर, सोचेजस्तो नतिजा नआउँदा निराश भए । शरीरमा भाइरस धेरै कम भइसकेको थियो । भाइरस सर्ने सम्भावना कम थियो । त्यसैले १४ दिनपछि उनी दुईले छोराबुहारीसँग भेट्न थाले । सँगै बसेर खान थाले । 'भाइरसको रेट घट्योभन्दा म सुरक्षित भएँ भन्ने भयो । अब अस्पताल गएर अक्सिजन दिनुपर्ने अवस्था आउँदैन होला भन्ने भयो । डर कम भयो । घरको कौशी भान्सामा जान थाल्यौं,' उनले सम्झे ।

२० दिनपछि बल्ल नतिजा नेगेटिभ आयो । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे जानकारी गराए । सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले उनलाई भावुक बनायो । 'मलाई यतिका धेरै नेपालीले माया गर्नुहुँदो रहेछ भनेर म एकदमै भावुक भएँ । यति धेरै सकारात्मक प्रतिक्रिया दिनुभयो । हजारौं मानिसले सुवास्थ्यको कामना गर्दै मेसेज गर्नु भएको थियो । यति धेरै माया गर्ने मानिस कमाएछु भन्ने लाग्यो मनमा,' उनी सुनाउँछन् ।

फूलपातीको अघिल्लो दिन कोरोना नतिजा नेगेटिभ आएको हो । उनले सामाजिक दूरी कायम गर्दै दसैं मनाए । दिदीको घर र ससुरालीमा गएर टिका थापे । सामाजिक सञ्जालमार्फत् यसपालि आफूकहाँ टिका लगाउन नआइदिन अनुरोध गरिसकेका थिए । त्यसैले धेरैसँग फोनमै शुभकामना आदनप्रदान गरे ।

'शंकाको नजरले हेरे'

नतिजा नेगिटिभ आएपछि सदाझैं हरिवंश एकदिन स्टोरमा सामान किनमेलका लागि स्टोर पुगेका थिए । उनलाई देखेर स्टोरमा मानिसहरुले ठूल्ठूलो आँखा बनाए । 'मलाई कोरोना छैन है, मसँग नडराउनुस्,' उनले यति भनेपछि स्टोरमा भएका सबै हाँसे । हेर्ने नजर पनि फेरियो । तर, त्यो हेराइले उनलाई कोरोना संक्रमितले भोग्ने दुर्व्यवहार महसुस गराइदियो । उनी भन्छन्, 'मलाई त त्यसरी हेर्छन् भनेदेखि सर्वसाधारण मानिसलाई कत्ति गाह्रो रहेछ । कोरोना लागेको मानिसलाई गाउँमा छिर्न नदिने, डाक्टर नर्सलाई दुर्व्यवहार गरिएको पढेको थिएँ । मलाई देखेर ठूल्ठूलो आँखा बनाएको, डराएको देखेपछि लाग्यो यी कुरालाई यसरी व्यवहार गर्नुहुँदैन ।'

उनी कोरोना संक्रमितलाई नकरात्मक भावनाले हेर्न नहुने बताउँछन् ।

कोरोना नतिजा नेगिटिभ आएपछि धेरैले उनलाई कोरोनालाई जितेको भन्दै बधाई दिए । तर उनी आफूलाई 'कोरोना फ्रि' मान्दैनन् । 'कोरोनालाई जित्दाको खुशी बाँड्न चाहन्न । किनभने यो दोहोर्‍याएर पनि लागिरहेको छ । एकपटक लागिसकेको व्यक्तिलाई दोहोर्‍याएर लाग्दैन रे भन्ने सुनेको । तर, दोहोर्‍याएर लाग्यो भने झन् कडासँग लाग्छ रे भन्ने सुन्दा झन् पो डर लाग्यो । अझ मनमा पहिलेभन्दा डर छ,' उनले भने, 'फेरि पनि दोहर्‍याएर लाग्न सक्छ भनेपछि त म कोरोनामुक्त भएकै छैन । कोरोना फ्रि भनेको भ्याक्सिन लगाएपछि हुन्छ । त्यसैले म 'कोरोना फ्रि' भएको छैन ।'

थप्छन्, 'अब सावधानी अपनाउनुपर्छ सबैले । तर मलाई पनि लाग्न सक्छ है भनेर मानसिक रुपले तयार हुँदा हुन्छजस्तो लाग्छ मलाई ।'

प्रकाशित : कार्तिक १५, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?