लकडाउनमा चर्चामा आएको पूर्वको 'सेल्फी रोड'

पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक हजाराैं आउँछन्
यो सडकमा दर्जनौं गीतहरुको छायांकन भइसकेको छ
कान्तिपुर संवाददाता

पथरी (मोरङ) — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित बोक्रे चोक जाने एउटा सडक छ । राजमार्ग दक्षिण करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लावारीको सीमानामा पर्छ । बोक्रे चोक जाने यो सडक अचेल 'सेल्फी रोड'का नामले चिनिन थालेकाे छ । 

लकडाउनमा चर्चामा आएको पूर्वको 'सेल्फी रोड'


सडकको दायाँबायाँ प्राकृतिक पुर्नउत्पादनबाट हुर्काइएका सालका रुखहरु छन् । रुखहरुमा इनामेल हालेर सेतो रंग पोतिएको छ । त्यतिसारो पारिलो घाम नदेखिने भएकाले सितल पनि छ ।

करिब १ किलोमिटर लम्बाईको यो सडकमा फोटो र भिडियो खिच्नेहरुको धेरै नै भीड हुन्छ । झापादेखि धनकुटाबाट यो सडकमा फोटो र भिडियो खिच्ने मानिसहरु आउने गर्छन् ।

पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक ४ देखि ५ हजारको संख्यामा मानिसहरु आउने गरेको वनका अध्यक्ष मेघराज चापागाईं बताउँछन् । 'यो सडक सामान्य हो, दक्षिण बोक्रे चोक जाने सडक हो,'चापागाईंले भने,'हाइवेसँगै जोडिएको सडक भएर होला मानिसहरु आउने, फोटो खिच्ने र भिडियो बनाउँदै हालेपछि प्रचार भएछ ।'

नेपालमा कोरोना कहर सुरु हुन थालेपछि सरकारले चैतमा देशव्यापी लकडाउनको घोषणा गरेको थियो । कोरोना संक्रमणको भयले घरमै बस्नुपर्ने बाध्यता आयो । पर्यटकीय स्थलहरु बन्द भए । यही क्रममा पूर्व पश्चिम राजमार्गमा हिँड्ने मानिसहरु यो सडकमा केही बेर बस्ने,फोटो खिच्ने तथा भिडियो बनाउने क्रम बढ्यो । स्थानीयहरु पनि यो सडकमा आएर तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि यसको प्रचारप्रसार भएको चापागाईंले सुनाए ।

टिकटकमा २ लाख फलोअर्स भएका पथरीका कलाकार प्रविन कोइरालाले पनि टिकटकमा भिडियो बनाउन यही स्थान रोजे । उनले यही सडकमा हालसम्म ६० भन्दा बढी टिकटकका भिडियो बनाएका छन् । 'लकडाउनको बेला अन्यत्र जान टाढा हुने भएकाले यही सडकमा भिडियो बनाउन थालियो,'कोइरालाले भने,'जंगलको बीचमा कालोपत्रे सडक भएकाले शितल पनि हुने, ठाउँ पनि शान्त भएकाले धेरैले टिकटक भिडियो बनाएर हाल्न थाले । रोडको त्यतिकै प्रचारप्रसार भयो । '

धेरैले यो सडकमा टिकटक बनाउने गरेको भएपनि बोक्रे चोकका स्थानीयहरु यहाँ आएर सेल्फी खिच्ने भएकाले यो सडकको नाम स्थानीयले नै सेल्फि रोड राखिदिएको चापगाईंले बताए ।

हाल यो सडकमा दर्जनौं गीतहरुको छायांकन भइसकेको छ । सडकमै दर्जनौं आइसक्रिम तथा चटपटेका ठेलाहरु छन् । दैनिक रुपमा एउटै ठेलाले ५ हजारसम्म व्यापार गर्ने व्यवसायी राजकुमार मण्डलले सुनाए । सेल्फी रोड आएर फोटो र भिडियो खिच्नेकहरुका लागि भनेर 'सेल्फि रोड' लेखिएको टिसर्ट पनि मण्डलले बिक्री गरिरहेका छन् । बिहानैदेखि साँझसम्म यो सडकमा भीड हुने गरेको उनले सुनाए ।

मानिसहरुको अत्याधिक उपस्थिति बढेसँगै सेल्फी रोडमा प्रदुषण भने बढेको छ । सामुदायिक वनले फोहोर मैला विसर्जनका लागि सडक छेउमा कन्टेनर राखिदिएपनि आगन्तुकहरुले जथाभावी फोहोर फ्याँकिदिने गरेका छन् । हाल सामुदायिक वनले पर्यापर्यटन क्षेत्रको रुपमा उक्त सडकलाई विकासित गर्ने योजना अघि सारेको छ ।

प्रकाशित : कार्तिक १२, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?