१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कलाकार भन्छन्– ‘दसैं मनाऔं तर सुरक्षित भएर’

रीना मोक्तान

काठमाडौँ — अभिनेता विपिन कार्कीको अघिल्लो दसैं काठमाडौंमै बित्यो । यसपालि भने विराटनगरस्थित घरै गएर बुबाआमाको हातको टीका थाप्ने तयारीमा छन् । यति बेला कोरोना महामारीका कारण परिस्थिति अनुकूल छैन । तर, भर्खरै विरामबाट तङ्ग्रिएकी आमालाई भेट्न पनि घर जानैपर्छ भन्ने विपिनलाई लागेको छ ।

कलाकार भन्छन्– ‘दसैं मनाऔं तर सुरक्षित भएर’

गत माघमा उनकी आमा फाेक्सोसम्बन्धी समस्याका कारण गम्भीर बिरामी भएकी थिइन् ।

'पहिलेभन्दा आमा एकदम राम्रो हुनु भएको छ । औषधि खाइरहनुभएको छ । उहाँ निको हुनुभएपछि म गाउँ गएको छैन,' विपिनले भने, 'त्यो सोचेर म बस्न सकिनँ यता । कलाकारको मन कमलो हुन्छ नि त । त्यसैले कोरोना न सोरोना आमासँग त भेट्नैपर्छ भन्ने लागेर घर जाने तयारीमा हो ।'

यसपालि आफन्तकहाँ भने उनी सकेसम्म जानेछैनन् । 'पहिला त छिमेकी आफन्तकोमा दसैं मनाउन गइन्थ्यो । यसपालि गइन्न होला । बुबा आमाको हातबाट टीका थाप्न जाने हो । त्यो नै पर्याप्त हुन्छ,' उनले सुनाए ।

विपिन कार्की

महामारीले गर्दा यसपालिको दसैं सबैका लागि फरक छ । असहजताकै बीच पनि सुरक्षा अपनाएर दसैं मनाउन सल्लाह दिन्छन् विपिन । भन्छन्, 'बाटोमा हेर्दा त निकै भिड देखें । मानिसहरुमा दसैंको उल्लास देख्छु । तर मास्क सबैले लगाएको देखिन्छ । त्यसले गर्दा हामीसँगसँगै रोग पनि छ, त्रास पनि सँगै छ भन्ने लाग्छ । सुरक्षा अपनाएर दसैं मनाउनुपर्छ, म पनि त्यसरी नै मनाउँछु ।'

घर जानुअघि उनलाई एउटा म्युजिक भिडियो भ्याउने चटारो थियो । घर जाने योजना सुनाउँदै गर्दा पनि त्यसैमा व्यस्त थिए । यही भिडियो दर्शकका लागि आफ्नो दसैंको उपहार भएको विपिनले सुनाए । 'एक कलाकारका हिसाबले मैले आफ्नो काममार्फत लकडाउनमा भरिया वर्गको आवाज बोलें, म्युजिक भिडियो 'डर छैन'बाट,' उनले भने, 'अहिले दसैंमा त्यस्तै खालको कथा र गीत पाएँ । बिदेसिएका युवाको दु:ख समेटेर 'परदेशी आयो' बोलको गीत गरेको छु ।'

केकी अधिकारी

अभिनेत्री केकी अधिकारीको दसैं यसपालि घरभित्रै सीमित हुनेछ । पहिले–पहिले दसैंमा मामाघर जान्थिन् । मामाघर काठमाडौंमै हो । तर यसटक कोरोनाले गर्दा कतै जाने सोचेकी छैनन् । घरमै आमाबुबा र भाइसँगै दसैं मनाउने योजनामा छिन् । ‘हाम्रा धेरै आफन्त त यतै हुनुहुन्छ । आमाको मामा घर पनि यतै छ । पहिला त निकै रमाइलो हुन्थ्यो । वर्षको एकचोटि नै हो जमघट हुने भनेको । त्यो पनि यसपटक नगर्ने भएका छौं,’ उनले सुनाइन्, ‘दसैं यसपालि आफ्नै घरमा मात्र मनाउने तयारी छ । सबैले त्यही नै गर्नुहुन्छ होला । त्यसो गर्नु नै अहिलेको आवश्यकता हो ।’

केकीको भनाइमा यो दसैं ‘फ्यामिली आइसोलेसन’जस्तै हुनेछ । बेग्लै अनि स्मरणीय अनुभूति हुनेछ । ‘खासै सपिङ पनि छैन । पहिला एक/दुई पटक लगाएको कपडा लगाएरै दसैं मनाउँछु,’ उनले भनिन्, 'घरमै टीका लगाइन्छ । मिठो खायो, बस्यो । फोनमा एक चरण ठूलाबडासँग कुरा हुन्छ होला । आशीर्वाद मागिन्छ । स्वास्थ्यलाई ध्यानमा राखेर दसैं मनाऔं सबैले ।’

अभिनेता तथा निर्माता दीपकराज गिरी भने पाँच वर्षपछि पहिलोपटक राम्रोसँग दसैं मनाउन पाएको बताउँछन् । यसअघिका दसैंमा उनी कहिले फिल्मको प्रचार त कहिले प्रदर्शनमै व्यस्त हुन्थे । यसपटक कोरोनाले फिल्म हल ठप्प छन् । 'यसपालि फिल्मको प्रचार–प्रदर्शन केही छैन । म परिवारसँगै छु । अर्को समस्या पनि छ, कोभिडको डर,’ उनले भने, ‘हाम्रो ठूलो परिवार छ । चारजना हजुरबुबाका सन्तान भेला भएर टीका लगाउने चलन छ । यस्तै ४०/५० जना हुन्छौं ।’

दीपकराज गिरी

उनी दसैं मनाउन चन्द्रागिरिको दहचोकस्थित घर जाँदै छन् । तर, यसपालि सकेसम्म अलि वृद्ध उमेरकाहरुबाट टीका नथाप्ने उनको योजना छ । ‘वृद्धवृद्धाहरुसँग टीका नलगाउने निधो गरेका छौं । उहाँहरुलाई समस्यामा पार्नु भएन नि त । उहाँहरुले टाढैबाट अक्षता छरिदिनुहुन्छ । आशीर्वाद छरिदिनुहुन्छ । स्वस्थ व्यक्तिले टीका लगाइदिने कुरा छ,’ उनले सुनाए, ‘सुरक्षा अपनाएर, मास्क–स्यानिटाइजर लगाएर दसैं मनाइन्छ ।’

यस वर्ष एकअर्कालाई सहयोग गर्दै दसैं मनाउन सल्लाह दिन्छन् दीपक । ‘कोरोनाले धेरैको रोजगारी गुमेको छ । कतिले दसैंको तलब पनि पाएका छैनन् । घरभाडा तिर्न, खानको धौधौ छ । यसकf बाबजुद पनि दसैं आयो । त्यसैले एकअर्कालाई सहयोग गरेर दसैं मनाउन अनुरोध छ,' उनले भने ।

पूजा शर्मा

अभिनेत्री पूजा शर्मालाई भने दसैं खास लाग्दैन । ‘मलाई दसैं त्यति सारो रमाइलो लाग्दैन । कोरोनाले खोजेजस्तै भयो,' उनले सुनाइन्, ‘यसपालि कहीँ गइन्न । घरमा आमा, मामा र माइजूसँग मिलेर दसैं मनाउने हो । अरु बेला त आफन्तकहाँ गइन्थ्यो । रमाइलो हुन्थ्यो । यसपटक त्यो पनि हुन्न । आमाको हातबाट टीका थाप्ने तयारी छ ।'

प्रदीप खड्का

अभिनेता प्रदीप खड्काको दसैं भने पोखरामा अभिनय कक्षामा बित्नेछ । उनी एक्टर स्टुडियोका अनुप बरालसँग तीनमहिने कोर्स पढ्दै छन् । 'तिहारसम्म यतै हुन्छु होला । परिवारले सम्झिरहनु भएको होला । तर हजुरबुबा/हजुरआमा वृद्धवृद्धा हुनुहुन्छ । कोरोनाको समयमा उहाँहरुकहाँ नजाऊँ भन्ने नै हो । घरतिर मनाउनुहुन्छ । यो समयमा आफ्नो 'ग्रोथ' पनि होस् भनेर मचाहिँ पोखरामै छु,' उनले भने।

उनले पनि दसैंको टीका नथापेको तीन वर्ष भइसक्यो । गत वर्ष काका बितेका कारण मिलेन । त्यसअघिको वर्ष फिल्मको सुटिङमा व्यस्त थिए ।

गत वर्ष काठमाडौंमै दसैं मनाएका अभिनेता पुष्प खड्का यसपालि भने कैलालीस्थित घरतिर लागिसकेका छन् । उनी पनि म्युजिक भिडियोकै काममा व्यस्त थिए । ‘आमाबुबाका लागि नयाँ लुगा किनिदिएँ । सामान किनिदिएँ । बहिनी, सानी भान्जी लिएर गाउँ फर्कँदै छु,' उनले भने ।

पुष्प खड्का

सुटिङमा हिँडिरहँदा पनि उनी निकै सजग र सतर्क रहे । ‘मैले कोरोना परीक्षण पनि गराएँ । नतिजा नेगिटिभ आयो । तर पनि मनमा डर छ । बुबालाई सुगर छ, कतै कोरोना बोकेर गइएला कि भनेर ।’

तर, खड्काले कैलालीमा रहेका आमाबुबासँग नभेटेको डेढ वर्षजति भइसक्यो । त्यसैले पनि यसपालि घर जाने अवसर छोड्न चाहेनन् । ‘उहाँहरु नवरात्रिको व्रत बसिरहनुभएको छ । म पनि घर पुगेर व्रत बस्छु । हाम्रो संस्कृति हो दसैं । सुरक्षित भएर मनाउने तयारी छ । ठूलाबडा आफन्त, इस्टमित्रसँग भेट हुन्छ । तर धेरै दिन बस्दिनँ, १३ गते फर्किहाल्छु,’ उनले भने ।

प्रकाशित : कार्तिक ८, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?