देशमा कोरोना लहर, नेतालाई कार्यकर्ता प्रवेश गराउनै रहर !

महामारीको खिल्ली उडाउँदै राजनीतिक कार्यक्रम
दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको, संक्रमितहरुले पर्याप्त उपचार नपाइरहेको र समग्र स्वास्थ्य क्षेत्र नै तहसनहस भएका बेला समाजको अगुवा बन्नुपर्ने नेताहरुले मान्छे भेला पार्दै पार्टी प्रवेशदेखि अन्य कार्यक्रमहरु निर्बाध गर्दै आएका छन्
जनकराज सापकोटा

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पर्साको सुखौनी र ठोरी गाउँपालिकामा पार्टीले गरेको कार्यक्रमका चार फोटो सोमबार दिउँसो ट्वीटरमा पोस्ट गरे । कांग्रेस र नेकपालगायतका पार्टी परित्याग गरी १५ सयभन्दा बढी नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्नुलाई उनले पार्टीप्रति आकर्षणको व्यापक लहरका रूपमा पनि अर्थ्याए ।

देशमा कोरोना लहर, नेतालाई कार्यकर्ता प्रवेश गराउनै रहर !

देशभर २ हजार ७१ नयाँ कोरोना संक्रमित पुष्टि भएकै दिन भट्टराईले पोस्ट्याएको तस्बिरले समुदायस्तरमै संक्रमण तीव्र भइरहेको यथार्थलाई भने व्यंग्य गरेजस्तो देखिन्थ्यो ।

स्थानीय प्रशासनले संक्रमण नियन्त्रण गर्न भन्दै सार्वजनिक भेला र कार्यक्रम गर्न लगाएको रोकको अवज्ञा गर्दै गरिएको पार्टी प्रवेश कार्यक्रममा भट्टराईका अलवा स्वास्थ्यमन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका उपेन्द्र यादव पनि सहभागी थिए । एउटा तस्बीरमा त यादव र भट्टराईले मास्क पनि चिउडोमुनि सारेको देखिन्छ । सयौं स्थानीय उपस्थित कार्यक्रममा न सामाजिक दूरी कायम गरिएको देखिन्थ्यो, न त सबैले मास्क नै लगाएका थिए । बरु हातमा पन्जा र मास्क लगाएका भट्टराईले भने पार्टी प्रवेश गर्नेको लस्करलाई मञ्चमै बोलाएर स्वागत गरिरहेको देखिन्छ ।

कोरोना संक्रमणका बेला पार्टी प्रवेश गराएर विजयी भावमा ट्वीट गरेका भट्टराईलाई दर्जनौंले तिखो प्रश्न गरेका छन् । जुगल भुर्तेलले बाबुरामको ट्वीटमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘जसपाको देशव्यापी लहर सँगसँगै कोरोनाको कहर पनि नदौडियोस् भन्ने कामना गरेँ । नत्र शिखरमा पुग्दा आफू एक्लै नहोइयोस् । यो शक्ति प्रदर्शन असामयिक, घातक र अविवेकी छ । कमसेकम तपार्इंबाट यो अपेक्षा थिएन ।’ अर्का ट्वीटर प्रयोगकर्ता कुशल कार्कीले व्यंग्य भावमा लेखेका छन्, ‘कमसेकम कोरोनाको त डर मान्नुस् यार । यो भीडलाई बचाउन सकियो भने न भोट बचाउन सकिन्छ ।’

सोमबार नै झापामा राप्रपाका नेता राजेन्द्र लिङ्देनले पनि पार्टी प्रवेश गराइरहेका थिए । उनले ट्वीटरमा चार विभिन्न तस्बिर पोस्ट गर्दै ‘विभिन्न पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गर्नेहरु’ भनेर स्टाटस लेखेका छन् । ती तस्बिरमा बन्द कोठाभित्र दर्जनौं पाको उमेरका व्यक्तिहरु देखिन्छन् । उनीहरुमध्ये केहीले मास्क नै लगाएका छैनन् भने केहीले लगाए पनि चिउडोमुनि सारेका छन् ।

दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको, संक्रमितहरुले पर्याप्त उपचार नपाइरहेको र समग्र स्वास्थ्य क्षेत्र नै तहसनहस भएका बेला समाजको अगुवा बन्नुपर्ने नेताहरुले मान्छे भेला पार्दै पार्टी प्रवेशदेखि अन्य कार्यक्रमहरु निर्बाध गर्दै आएका छन् । सामाजिक दूरीलगायतको कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरी पार्टी प्रवेश गराउने दौड लिङ्देनले कोरोना कहर सुरु भएदेखि नै जारी राखेको देखिन्छ । उनले ट्वीटरमा राखेका पार्टी गतिविधिसम्बन्धी तस्बिरहरु मात्रै पछ्याउने हो भने पनि कत्ति पनि सामाजिक दूरी र अन्य स्वास्थ्य मापदण्डसमेत पूरा नगरी निरन्तर भेलासहितको राजनीतिक गतिविधि गरिराखेको पाइन्छ ।

असोज १३ मा पनि नेता लिङ्देनले झापाको भद्रपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमको फोटो ट्वीटरमा राख्दै ८७ जना पार्टीमा प्रवेश गरेको र यस्तो अभियान निरन्तर जारी रहने बताएका छन् । पार्टी प्रवेशीहरुलाई सदस्यता वितरण गरिरहेको तस्बिरमा उनले मास्क लगाए पनि त्यहाँ उपस्थित विरलैले लगाएको देखिन्छ । आइतबार मात्रै राजेन्द्रले झापाकै बाह्रदशी गाउँपालिकामा भेला राखेर झन्डै तीन सय जनालाई पार्टी प्रवेश गराएको देखिन्छ । उनले ट्वीटरमा पोस्ट गरेको फोटो नै हेर्ने हो भने पनि उक्त भेलामा जम्मा भएका धेरैले मास्क नलगाएको र सामाजिक दूरी कायम नगरेको देखिन्छ ।

बढ्दो कोरोना संक्रमणको विस्तारको कत्ति पनि ख्याल नगरी र स्वास्थ्य मापदण्ड पूरा नगरी पार्टी प्रवेशलगायतका गतिविधि गर्नेमा सरकार सञ्चालन गरिरहेको नेकपाका नेता पनि अछुतो छैनन् । भदौ १९ मा नेकपाकी नेतृ कोमल ओलीले एक विद्यालयमा खेलकुद सामग्री बाँडिरहेको भिडियो ट्वीटरमा पोस्ट गरेकी छन् । उक्त भिडियोमा ओलीले त मास्क लगाएकी छन् तर सामाजिक दुूरी पनि कायम नराखी जम्मा भएका दर्जनौंमध्ये एकाधले मात्रै मास्क लगाएका छन् । भदौ १८ मा ओलीले दाङमा पार्टी प्रवेश गर्नेको हुललाई अविर लगाउँदै गरेको तस्बिर पोस्ट गरेकी थिइन् । जसपाको पार्टी प्रवेश कार्यक्रममा जस्तै नेकपाको पार्टी प्रवेश कार्यक्रममा उपस्थितमध्ये आधा जसोले मास्क लगाएका थिएनन्, न त सामाजिक दूरी नै कायम गरिएको थियो ।

कोरोना संक्रमणको बिस्तार रोक्न भूमिका खेल्नुपर्नेमा दलकै नेताहरुले सामाजिक भेला, राजनीतिक भेटघाटदेखि पार्टी प्रवेशसम्मका कार्यक्रम जारी राखेको देखिन्छ । यस्तो कार्यक्रमहरु संक्रमणको दर उच्च रहेको प्रदेश २ मा निरन्तर भइरहेको छ । प्रदेश २ प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले सामाजिक दूरी कायम नगरी, स्थानीय प्रशासनको अनुमति पनि नलिई भीडभाडयुक्त शैलीमा निरन्तर राजनीतिक गतिविधिहरु भइरहेको र यसले संक्रमणको जोखिम बढाइरहेको बताए । ती प्रहरी अधिकारीले गत २२ गते सर्लाहीको रामपुर गाउँपालिकमा मृत्यु भएका महेन्द्र महराको घटनालाई लिएर बुधबार सर्लाही सदरमुकाममा नेपाली कांग्रेसले विरोध प्रदर्शनको आयोजना गर्न लागेको सूचना आफूहरुले पाएको बताए । उनले भने, ‘विरोध ह्सो वा समर्थन वा पार्टी प्रवेश नै किन नहोस् । भीडभाडले कोरोना संक्रमण फैलाउन मद्दत गरिरहेको छ ।’

असोज २४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकालाई सतर्क रहन अनुरोध गरे । तर त्यस दिनअघिका मन्त्री भट्टराईको सार्वजनिक गतिविधि हेर्दा उनले सामाजिक दूरी र मास्क लगाउनुपर्नेजस्ता सामान्य नियम नै पालना गरेको देखिँदैन । कतिसम्म भने संक्रमण पुष्टि हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २३ मा उनले भारतीय राजदूत विनयमोहन क्वात्रासँग मन्त्रालयमै भेटघाट गर्दा मास्कसमेत लगाएका थिएनन् । यसअघि मन्त्री भट्टराई कर्णाली, सुदूरपश्चिम र प्रदेश १ मा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । ती सबैजसो कार्यक्रममा कोरोना संक्रमण रोकथामका निम्ति स्वास्थ्य मन्त्रालयले भनेअनुसारको मापदण्ड पालना भएको देखिन्न । कतिसम्म भने सार्वजनिक भेला गर्दै नगर्ने र गर्नै परे सबैलाई मास्क अनिवार्य गर्नुपर्नेमा कैयौं भेलामा मन्त्री भट्टराई मास्क नै नलगाई सहभागी भएको देखिन्छ ।

नेकपाका नेता एवं पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा कोरोना महामारीमा दलका नेताहरुले सुझबुझ देखाउन नसकेको टिप्पणी गर्छन् । उनले महामारीका बेला भल नै छोप्न खोजेझै पार्टी प्रवेश गराउने कामलाई अनुशासनहीन नभने पनि समयोचित नभएको र यस्तो कामलाई जनताले मन नपराउने बताए । उनले भने, ‘पार्टीको नियमित काम त जहिले गरे पनि हुन्छ । अहिले त जनताको दुःखमा साथ दिने बेला हो । तर त्यस्तो काम दलका नेताबाट हुन सकेन ।’ उनले महामारीको बेला जिम्मेवार राजनीतिको अभ्यास हुनुपर्नेमा त्यस्तो नभएको भन्दै नेकपाको संसदीय समिति र केन्द्रीय कमिटीमा महामारीबारे छलफल हुन नसकेको र जनचेतना जगाउने काममा नेताहरुको भूमिका प्रखर देखिन नसकेको बताए । ‘हामीबाटै महामारीको अल्पविश्लेषण भयो कि भन्ने लाग्छ,’ उनले भने ।

राजनीतिशास्त्री एवं काठमाडौं विश्वविद्यालयका प्राध्यापक उद्धव प्याकुरेलले शक्तिको नजिक रहेको एउटा तप्काले कोरोना महामारीमा सधैं छुट पाउँदै आएको र त्यस्तो छुट नेकपासम्बद्ध नेता कार्यकर्ताले बढी पाइरहेको टिप्पणी गरे । जसरी सत्तासीन र अन्य दलका नेताहरु हुल बाँधेर हिँड्ने र कार्यकर्ता प्रवेशका नाममा भीड जम्मा गर्ने काम गरिरहेका छन्, त्यो राजनीतिक संस्कारयुक्त काम नभएको उनले बताए । कोरोना महामारीका कारण अर्थ व्यवस्था भोलिका दिनमा के हुने हो ? राजनीतिक भविष्य नै कस्तो हुने हो भन्नेजस्ता गम्भीर प्रश्नहरु खडा भइरहेका बेला दलका नेताहरु अनेकतिर ओहोरदोहोर गर्ने काम अचम्मलाग्दो विषय भएको उनको बुझाइ छ । ‘लोकतन्त्र भए पनि सामान्ती राजनीतिक चरित्रझैं हुल बाँधेरै हिँड्नुपर्ने, तामझाम गरेर भेला पार्नुपर्ने राजनीतिक संस्कार कोरोना महामारीमा पनि देखियो । यो अनावश्यक प्रतिस्पर्धा हो,’ उनले भने ।

प्रकाशित : आश्विन २८, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?