बहस : कोभिडपछि पनि फिल्म निर्माण यसरी नै गर्ने ? - फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहस : कोभिडपछि पनि फिल्म निर्माण यसरी नै गर्ने ? 

हामीलाई एकैचोटी छलाङ मार भन्नु जायज हुँदैन : बानियाँ
व्यापारको जोखिम हरेक फिल्ममा हुन्छ, सकेसम्म प्रयोग गर्नुपर्छ : बस्नेत
रीना मोक्तान

काठमाडौँ — निश्चल बस्नेतले सन् २०१२ मा निर्देशन गरेको 'लुट'ले मूलधारे फिल्मभन्दा फरकधारको फिल्म बनाएको भन्दै तारिफ बटुल्यो । उस्तै किसिमको फिल्म बनाइरहेका बेला बस्नेतले 'लुट'बाट कथा भन्ने शैलीमा परिवर्तन ल्याए । 'लुट'लाई अझै 'ट्रेन्डसेटर' फिल्मको रुपमा चर्चा गरिन्छ । 

बक्स अफिसमा व्यवसायिक सफलता हासिल गरेको फिल्मलाई पछ्याउँदै फिल्म बनाउने होड नेपाली फिल्म उद्योग धेरै पहिलेदेखि छ । 'लुट'लाई पनि केहीले पछ्याए । 'छक्का पञ्जा'पछि कमेडी विधामा फिल्महरु ह्वात्तै बढे ।

तर कोभिडपछि यो प्रवृतिमा परिवर्तन आउनुपर्ने बताउँछन् निश्चल । 'फिल्महरु राम्रो बन्नुपर्छ । फिल्ममेकरले निरन्तर एकैखालको फिल्ममात्रै भन्दा पनि फरक/फरक तरिकाबाट फरक विधामा फिल्म बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई,' उनले भने, 'एउटा फिल्म चल्यो भने त्यस्तै किसिमको फिल्म बनाउछन् यहाँ । यसले त नयाँ प्रयोग केही हुँदैन । फिल्ममा प्रयोग गर्ने हो या फिल्मले कथावाचन राम्रोसँग गर्ने हो भने त विभिन्न विधामा फिल्म बनाउनुपर्छ । राम्रोसँग फिल्म बनाएर त्यसै अनुसार प्रचार गर्न सक्नुपर्छ । हामी कहाँ त्यस्तो खासै भाको छैन ।'

कोभिडअगाडि बनिरहेका फिल्महरुले पोस्टकोभिडको समयमा खासै अर्थ नराख्ने उनी बताउँछन् । 'कोभिडपछि अहिले बनिरहेको फिल्महरुले हुँदैन,' उनले भने । त्यसैले यसमा फिल्ममेकर नै गम्भीर भइदिनु पर्ने निश्चलको धारणा छ । 'फिल्म बनाउने मेकरहरुले यसबारे सोच्नुपर्‍यो । अहिलेसम्म कस्तो फिल्म बन्यो/बनाइयो भनेर आफैंले मूल्यांकन गर्नुपर्‍यो । त्यस्तै किसिमको फिल्म बनाउने कि नबनाउने, कस्तो विधामा बनाउने भन्नेतर्फ फिल्ममेकरले सोचिदिए हुन्थ्यो होला,' उनी सुनाउँछन् ।

कोभिडपछि निर्माताले अन्य कस्ता कुरामा ध्यान दिने त ?

अनुसन्धान गरेर इमान्दारिपूर्वक राम्रो कन्टेन्टतर्फ मेकरले ध्यान दिनुपर्ने निर्माता/कलाकार रविन्द्रसिंह बताउँछन् । 'कोभिडपछि निर्माताको हिसाबले तपाई जे गर्दै हुनुहुन्छ तपाईंले सक्दो आफ्नो अनुसन्धान, बलबुताले भ्याएसम्म नियत राम्रो राखेर फिल्म बनाउनुपर्‍यो । भोलि कसैलाई दोष नथुपार्नेगरी । निर्देशक, कलाकारले डुबायो भन्दा पनि आफैं जिम्मेवार हुने गरेर बुझेर मात्र प्रोजेक्ट बनाउन अनुरोध छ,' उनले भने ।

आफ्नो प्रोजेक्टप्रति निर्माता इमान्दार हुनुपर्ने उनी बताउँछन् । 'कुनै लुकेको स्वार्थ पूरा गर्नभन्दा पनि फिल्म राम्रो बनाउनका लागि अनुसन्धान गर्नुपर्‍यो । समय लागोस् तर राम्रो फिल्म बनाउनु पर्‍यो । गम्भीर भएर समय र श्रम खेर नाजनेगरि बजेटले भ्याएसम्म इमान्दार भएर काम गरौं । सबैभन्दा मुख्य नै कन्टेन हो । कन्टेनमा मिहेनत गर्नुपर्‍यो । कन्टेन पनि हाम्रो भाषा, दर्शकको लिट्रेसी बुझेर ल्याउनु पर्‍यो,' उनले भने

'अहिलेसम्म त निर्मातालाई मुर्गा बनाउने प्रवृत्ति छ । अब फिल्म क्षेत्रमा नयाँ निर्माता आउने वातावरण बनाइदिनुपर्छ,' उनले भने, 'हामी निर्माता जोखिम मोल्न सक्दैनौं । एउटा फिल्म डुब्दा घरबार बेच्नुपर्छ । एकाध निर्माता आउँछन् । उनीहरुलाई पनि तीन पुस्तालाई सरापेर जाने बनाइदिन्छौं ।' उनले सुनाए, 'यहाँ कोही नयाँ निर्माता लगानी गर्न आउँछु भने उनीहरुलाई हतोत्साही गराइन्छ । निर्माताले लगानी गर्ने वातावरण बन्नुपर्छ ।'

प्रोडक्सन डिजाइनको आवश्यकता

फिल्मको कथा र पटकथा तयार भएपछि सुरु हुन्छ प्रि-प्रोडक्सनको काम । उपयुक्त लोकेसनदेखि कलाकार र प्राविधिकको छनोट, वर्कसप लगायतका काम प्रि-प्रोडक्सनमा पर्छन् । फिल्म निर्माणको दोस्रो खुड्किलो हो सुटिङ । त्यसपछि सुरु हुन्छ सम्पादनलगायतका पोस्ट प्रोडक्सनका काम ।

फिल्म निर्माणमा महत्वपूर्ण विधा हो प्रोडक्सन डिजाइन । तर, नेपाली फिल्ममा भने धेरैजसो निर्माताले यसमा ध्यान नदिने गरेको बताइन्छ । हतारमा स्क्रिप्ट, हतारमै सुटिङ र हतारमै पोस्ट प्रोडक्सनको काम गर्ने बानी अधिकांश निमार्ताको छ । त्यसैले सम्पादक र रंग संयोजकले प्रशस्त समय लिएर काम गर्ने मौका कमै पाउँछन् । सबैको एउटै गुनासो हुन्छ, 'अन्तिम समयमा आएर हतार हतारमा काम सक्नुपर्छ । फिल्म प्रदर्शनको २ दिनअगाडि पनि काम सकिएको हुँदैन ।'

व्यवसायिकताको अभावले यस्तो समस्या भइरहेको 'जात्रा'का निर्माता रवीन्द्रको अनुभव छ । अन्तिम समयमा काम गर्ने व्यवहारमा सुधार आउन समय लाग्ने देख्छन् रवीन्द्र । 'यहाँ व्यवसायिक धर्म छैन । प्राविधिकहरु एकैचोटी चारवटा फिल्म लिएर बसेका हुन्छन् । आफ्नो फिल्मको काम गर्नुपर्ने बेला अर्को हप्ता प्रदर्शन हुने फिल्मको काम गरिरहेको हुन्छ । त्यसलाई रोकेर आफ्नो काम थाल्न पनि भएन,' उनले समस्या केलाउँदै गए, 'फिल्म रोक भन्न त सकिदैन । त्यसरी काम गर्नेहरुले क्वालिटीमा भन्दा क्वान्टिटिमा काम गर्दिन्छन् । हतारमा काम गरेर फुर्सदमा पछुताइन्छ । अब यो प्रवृति/व्यवहारमा परिवर्तन हुन त झट्का लाग्नुपर्छ ।' अन्तिम समयमा काम गर्नुपर्ने समस्या प्राविधिकको कारण पनि हुने गरेको निश्चल बताउँछन् । 'समय लिएर काम गर्न पाए धेरै राम्रो हो । हामी समय तोकेर प्रि-प्रोडक्सन थाल्छौं । छायांकन हुन्छ । पोस्ट प्रोडक्सनमा गएर फिल्मको काममा समय लागिरहेको हुन्छ । लामो समय दिँदा पनि प्राय: फिल्मको काम सकिँदैन,' उनले भने, '३ महिना लिएको फिल्मले पनि अन्तिम समयसम्म काम गरिरहेको हुन्छ । ६ महिना लिएकोले पनि अन्तिम समयमा आएर काम गरिरहेकै हुन्छ । प्राविधिक क्षेत्रबाट पनि गडबडी छ । सबैजना व्यवसायिक नैतिकतामा रहेर काम गर्नुपर्‍यो ।'

कलाकारको पारिश्रमिक बढी भएकै हो त ?

प्राविधिकबाहेक महामारीपछि बन्ने फिल्ममा कलाकारको पारश्रिमकबारे पनि छलफल सुरु भएको छ । एकथरी समीक्षक र निर्माताले फिल्मको बजार र बजेटको तुलनामा कलाकारहरुलाई दिने गरिएको पारिश्रमिक निकै धेरै हुने गरेको बताउँछन् । 'एक त यी कलाकारलाई लिएर बनाएका फिल्म चल्छन् भन्ने कुनै ग्यारेन्टी छैन । दोस्रो यिनले त्यति पारिश्रमिक माग्ने गरी मेहनत पनि गर्दैनन् । न त त्यत्रो प्रतीभाशाली नै छन् । बलिउडजस्तो ठूलो बजार र स्टारकै कारण फिल्म चल्ने उद्योग पनि हाम्रो होइन,' एक निर्माताले भने ।

केही फिल्ममेकरले कलाकारलाई पनि फिल्ममा सेयर दिएर काम गराउनुपर्ने विचार व्यक्त गरे । रवीन्द्रलाई पनि यो विषय छलफलका लागि सान्दर्भिक लागेको छ । 'यी दुवै कुरा व्यवहारिक छन् । निर्माताले जोखिम मोल्दा कलाकारले योगदान दिनुपर्‍यो नि ! भोलि ४ करोड पारिश्रमिक लिने दिन आउला । तर कोभिडपछि फिल्म क्षेत्रमा जोखिम मोलेर काम गर्ने समयमा निर्माताको साथ दिनुपर्छ कलाकारले । पार्टनर बनिदिनुपर्छ । लागत मात्रै कम गर्नु भनेको जोखिम कम हो । कालकारमात्र होइन प्राविधिकले समेत योगदान गरिदिनुपर्‍यो,' उनले भने ।

कोभिडअगाडि लिइरहेको पारिश्रमिकलाई नै मानक बनाएर हिँड्न नमिल्ने तर्क उनको छ । कलाकारले परिस्थिति बुझेर पारिश्रमिक माग्नुपर्ने उनको भनाई छ । तर यो सिक्काको अर्को पाटो पनि छ । काम गरेको लामो समयसम्म पनि निर्माताले पारिश्रमिक नदिएको वा पूरा नदिएको गुनासो गर्ने कलाकर र प्राविधिकको फेहरिस्त निकै लामो छ । आफूले समयमै पारिश्रमिक दिएको बताउने रवीन्द्र अन्य निर्माताले यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताउँछन् ।

कलाकारको पारिश्रमिक घटाउने विषयमा निश्चलको विचार भने फरक छ । उनी भन्छन्, 'फिल्ममा पैसा थोरै लिने कि धेरै लिने भन्ने त कलाकार र निर्माताबीचको कुरा हो । पारिश्रमिक घटाएर काम गराउनेभन्दा पनि सम्झौतामा जानु पर्‍यो । कोही कलाकार घटाउन तयार होलान् कोही नहोलान् ।' उनी अगाडि थप्छन्, 'कलाकारले मात्र घटाएर हुने हो कि प्राविधिकले पनि घटाउने ? अरुले पनि घटाउने हो भने त उसले घट्नेबारे सोच्ला । तर अरु प्राविधिकले पहिलाकै पारिश्रमिक लिएर काम गरिरहेको छ भने उसलाई पनि घटाउन मान्छन् जस्तो पनि लाग्दैन ।'

कला र व्यापारको सन्तुलन कसरी होला ?

एकथरि निर्देशकर मेकरहरुले कोभिडपछि फिल्मको विषयवस्तु र शैलीमा नै ठूलो परिवर्तन आउनुपर्ने मत राखेका छन् । 'इस्केपिस्ट र अमानवीय पाराको समाज निर्माण गर्न योगदान गर्नेगरी मसला र शुत्रको पछि लाग्नु भएन,' उनीहरुको भनाइ रहँदै आएको छ । यसै श्रृंखलाको पहिलो भागमा निर्देशकहरु नवीन सुब्बा र मनोज पण्डितले यसको वकालत गरेका थिए ।

रवीन्द्र भने कोभिडपछि पनि त्यस्ता विषयमा लगानी गर्न गाह्रो हुने बताउँछन् । 'फिल्ममा व्यापार जोडिन्छ । हो त्यस किसिमको फिल्म बनाउनुपर्छ । करोडौं लगाएर फिल्मलाई व्यवसाय होइन भन्न त उसले व्यवसायिक धर्म जानेको छैन भन्नपर्‍यो । तर, कसैले कसैको प्रयोगका लागि करोडौंको घरखेत त हाल्दैन नि त,' उनले भने, 'हामीबाट अस्वभाविक छलाङको अपेक्षा नगरौं । बिस्तारै सुधार आउने हो । एकैचोटी ओस्कार जानुभन्दा पनि आफ्नो जुत्ता पनि नफाटिने हिसाबले निर्माताको तर्फबाट धर्म सम्झेर अगाडि बढ्नुपर्छ । हुन त हामीले मनोरञ्जन भन्दामाथि उठेर फिल्म बनाउन पनि सकेका छैनौं ।'

यसप्रति निश्चल फरक मत राख्छन् । हरेक फिल्ममा निर्माताले जोखिम मोलेर काम गर्ने हुँदा प्रयोगात्मक विषयलाई पनि महत्व दिनुपर्ने उनी बताउँछन् । 'रिस्क त सबै हुन्छ । फिल्ममा ९९ प्रतिशत जोखिम मोलेर काम गरिएको हुन्छ । आफूले बनाइरहेको फिल्मप्रति भरोसा हुनुपर्‍यो,' उनले सुनाए, 'किनभने संसारभरी विभिन्न विधामा फिल्म बन्छन् । हरेक विधाको फिल्म चलेका पनि छन् । यति हो राम्रो बन्नु पर्‍यो । त्यो राम्रो बनाउन फिल्ममेकरले ध्यान दिनुपर्‍यो ।'

रविन्द्र कोभिडपछि बन्ने फिल्ममा जीवनदर्शनका विषय र अहिलेको यो अनिश्चितताका विषय हेर्न चाहन्छन् । त्यससँगै महामारीबीच ७ महिना ठप्प भएको यो मनोरञ्जन क्षेत्र कोभिडपछि चलायमान बनाउन फिल्महरु बन्न रोकिन नहुने बताउँछन् । 'कस्तो फिल्म बन्नुपर्छ बहसको विषय होला । तर फिल्म बन्नु पर्‍यो । त्यसले जीवन्तता बचाइराख्छ । बाँच्यो भने भोलि अर्को फिल्म बनाउन सकिन्छ,' उनले भने, 'फिल्म बन्ने अन्तर नहोस्, फिल्म बनिरहोस् । यो श्रृङ्खला टुटेन भने कस्तो के बनाउने भन्ने त छँदैछ नि !'

आफ्नो दक्षताले बनाउन सकिने फिल्म बनाउन कोसिस गर्नुपर्ने रवीन्द्र बताउँछन् । भन्छन्, 'निर्माता पूरै व्यवसायिक हुनु भएन । निर्देशकले पनि कलाको ढ्वाङ बजाउन भएन । दुवैले एक विन्दुमा मिलेर फिल्म बनाउनु पर्‍यो ।' त्यससँगै फिल्म क्षेत्रले अब डिजिटल प्रविधि र प्लेटफर्मलाई पनि आत्मासात गर्न सिक्नुपर्ने महामारीले सिकाएको उनी बताउँछन् ।

(समाजका 'सफ्टवेयर' भनिने सिनेमा, साहित्य, खेलकुद, कला कस्तो हुनुपर्ला ? के कस्ता नीति र शैली अंगिकार गर्नु आवश्यक छ भन्ने विषयको यो बहस श्रृंखला केही भागमा चल्नेछ ।)

प्रकाशित : आश्विन २७, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्

बहस : कोभिडपछि अब कस्ता फिल्म बनाउने ? 

समाज निकै अमानवीय रहेछ, फिल्म त्यस्ता नहुन् : सुब्बा
हामीले धेरै 'इस्केपिस्ट' फिल्म बनाइसक्यौं, अब समाजको यथार्थ नियालौं : पण्डित
रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीबीच फिल्म निर्माणका सबै काम ठप्प भए । लामो समय फिल्मको छायाङ्कन रोकियो भने फिल्म हलमा प्रदर्शन पनि रोकियो । यसबीच फिल्म निर्माण घोषणा भने रोकिएन । महामारीबीच नै दर्जन बढी फिल्म बन्ने घोषणा भयो । अवस्था सामान्य (वा छायाङ्कन अनुमति प्राप्त) भएपछि छायाङ्कनमा जाने तयारी रहेको यी फिल्मको निर्माण टिमले बताएको छ । 

यससँगै प्रश्न उठेको छ- अब बन्ने फिल्म कस्ता हुनुपर्ला ? कस्ता विषय र शैलीलाई यिनले पछ्याउने ? अहिले बन्ने गरेका फिल्महरुकै शैली र प्रस्तुतिले हुन्छ कि केही नयाँ चिजको खोजी आवश्यकता छ ?

लकडाउनको समयमा डिजिटल प्लेटफर्ममा धेरै दर्शकले संसारका अनेक देशका भिन्न भिन्न शैलीका फिल्म हेरे । एकथरी समीक्षकहरु यस अवधिमा नेपाली दर्शकले नेटफ्लिक्सलगायतका डिजिटल माध्यमबाट विश्व सिनेमा राम्रैसँग हेरेको अनुमान गर्छन् । यी दर्शकलाई अब पनि पूरानै शैलीका फिल्मले बाँध्न सक्ला त ? वा यी प्लेटफर्ममा पनि दर्शकले बलिउडी शैलीका फिल्म नै हेरे ? यदि त्यसो हो भने के पुरानै सिप र शैली पर्याप्त हुन्छ ? वा फिल्ममेकरले आफ्नो शैलीसँगै दर्शकको रुचि र स्वाद बदल्न पनि मेहनत गर्नु आवश्यक छ ?

'महामारीमा नेपाली दर्शकले फरकखाले फिल्म हेरे भन्ने मलाई विश्वास लाग्दैन,' निर्देशक नवीन सुब्बा भन्छन्, 'पहिला जे हेरिरहेका थिए त्यही हेरिरहेको जस्तो लाग्छ । विश्वभरका फिल्म हेरिरहेको भन्छन् तर मलाई त्यस्तो लाग्दैन । हेरेको भनेको त्यही हिन्दी फिल्म नै हो ।' 'नुमाफुङ' र 'दलन'का निर्देशक सुब्बाले भने, 'बलिउड फिल्म हेर्ने बानी नै बसेको छ नेपालीमा । त्यसैले नेपाली दर्शकको फिल्मप्रतिको रुचि परिवर्तन भयो भन्ने मलाई विश्वास छैन।'

अर्का निर्देशक मनोज पण्डितको मत पनि उस्तै छ । 'दर्शकले नेटफ्लिक्स जहाँ हेरे नि मेलोड्रामा र त्यही 'स्केप्टिस्ट' (पलायनवादी) फिल्महरु नै हेर्छन् । नेटफ्लिक्सको चर्चाले केही फिल्म हेरेका होलान्,' उनले भने । लकडाउनमा नेपाली दर्शकको 'फिल्म लिट्रेसी' ह्वात्तै बढेको कुरा नवीन र मनोज दुवैजना पत्याउँदैनन् । 'फिल्म हेर्दैमा फिल्म लिट्रेसी बढ्ला भन्ने पूर्वानुमान गर्न मिल्दैन । सिनेमा लिट्रेसी मानिसहरुको सामूहिक चेतनाको निर्माणले निर्धाण गर्छ । मानिसहरुको सामाजिक सेचता विकास नभएसम्म सिनेमा लिट्रेसी बढ्दैन । फिल्म हेरेर मात्रै फिल्म लिट्रेसी बढ्दैन,' दासढुंगा र बधशालाका निर्देशक पण्डितले भने ।

त्यसो भए के नेपाली फिल्ममेकरले फरक शैलीमा फिल्म बनाउनु आवश्यक छैन त ?

'महामारीपछि फरक शैलीमा फिल्म बन्नै पर्छ । अब त पुरानो शैलीले झन् काम गर्दैन,' दुवै निर्देशकको एउटै स्वर सुनिन्छ ।

संसारका ठूला-ठूला घटनाहरुले फिल्म बनाउने शैलीमा परिवर्तन ल्याएको बताउँछन् मनोज । कोभिडपछि 'प्यारामिटर' र पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)को सिद्धान्तमा फिल्म बनाउनुपर्ने धारणा राख्छन् उनी । 'संसारले दुई वटा कुरामा फिल्म बनाउँछ । प्यारामिटर र अर्को पिटिएसडी सिद्धान्तमाथि,' उनले भने, 'कोभिड कालमा मानिसले बाँच्नलाई कसरी संघर्ष गरे, मानिसको जीवनमा कसरी प्रभाव पार्‍यो भन्नेमा प्यारामिटर फिल्म बन्नुपर्छ । कुनै घटना घटिसकेपछि त्यसको मानिसमा पर्ने प्रभाव र जीवनमा पारेको प्रभाव समेट्ने पिटिएसडी फिल्म बनाउनुपर्छ ।'

निर्देशकहरु मनोज पण्डित र नवीन सुब्बा । पण्डितले बनाएका 'दासढुंगा' र 'बधशाला' निकट विगतका राजनीतिक विषयका फिल्म हुन् भने सुब्बाले बनाएका 'नुमाफुङ' र 'दलन' नेपालका दुई फरक भुगोल र संस्कृतिमा मानिसहरुका संस्कृति र संघर्षका कथा हुन् ।

उनका अनुसार नेपालीले यस्ता सिद्धान्तमा कमै फिल्म बनाएका छन् । माओवादी द्वन्द्वको प्यारामिटर र पिटिएसडीमाथि पनि कमै फिल्म बने । नेपाली फिल्ममेकरले यस्ता घट्नाको महत्व नबुझ्ने उनको भनाई छ । 'त्यसकारण हामी फिल्म मेकिङमा अत्यन्त्य पछाडि छौं । हाम्रो दुर्भाग्य के हो भने भइरहेको दुर्घट्नाहरुले हामीलाई फरक पार्दैन,' उनले भने ।

महामारीपछि पनि फिल्ममेकरले प्यारामिटर र पिटिएसडी सिद्धान्तमा फिल्म बनाउलान् भन्ने यकिन नभएको उनी बताउँछन् । अझै फिल्मकर्मीहरु 'स्केपिस्ट' फिल्म बनाउनेतिरै व्यस्त रहेको पण्डितको भनाई छ । 'बीचमा स्केपिस्ट धारमै फिल्महरु बनाउने घोषणा भयो । कोरोनाले समाजमा पारेको ठूलो प्रभाव, असन्तुलनमाथि अध्ययन गरेर फिल्म बनाउनुपर्थ्‍यो । तर केहीबाहेकका सबै त पूरानै स्केपिस्ट फिल्महरु बनाउन लागि परेका छन्,' उनले भने, 'स्केपिस्ट फिल्ममेकरलाई त जुनसुकै घट्ना भए पनि उनीहरुको उद्देश्य भनेको नै यथार्थबाट भाग्नु हो । द्वन्द्व आए नि अर्थतन्त्र डामाडोल भए नि उनीहरुलाई फरक पर्दैन ।'

संवेदनशील फिल्ममेकरले मात्र सिद्धान्तमा रहेर फिल्म बनाउने उनी बताउँछन् ।

कोरोनाले निराश भएका दर्शकका लागि मनोरञ्जनात्मक फिल्म बनाउनुपर्छ भन्ने विचार मौलाएको पनि देखिन्छ । मनोज भने यसलाई मुर्खता भन्छन् । भने, 'मानिसलाई हँसाउने, खुशी पार्ने किसिमको फिल्म बनाउनुपर्छ भन्ने एकथरिका फिल्ममेकरले भनिरहेका छन् । त्यो अत्यन्त ठूलो मुर्खता हो । अबको समयमा त्यस्तो फिल्म बनाउने होइन । समाज नबुझेकाहरुले त्यस्तो फिल्म बनाउँछन् ।'

महामारीबीच मानिसहरुमा निराशा झनै बढेको छ । कोभिडपछि निराशामै अल्झाइदिने फिल्म बन्ने डर रहेको निर्देशक पण्डित बताउँछन्। 'हामीलाई झनै अझै सिनेमाको भडखालोमा लैजाला कि भन्ने पो डर छ । मानिसहरु निराश भइरहेका छन् । यो निराशालाई फिल्मकर्मीले झनै स्केपिस्ट फिल्म पो धेरै बनाउला कि भन्ने डर छ,' उनले सुनाए ।

माओवादी आन्दोलनपछि २/४ वटा फिल्म प्यारामिटर पिटिएसडीमा आधारित रहेर बनेको उनी बताउँछन् । 'सेतो सूर्य', 'बधशाला', 'कालोपोथी', 'गुडबाई काठमान्डु' द्वन्द्वको परिधिबारे बनेका फिल्म हुन् । त्यसमा प्यारामिटर मात्र होइन पिटिएसडी पनि छ । जनआन्दोलनले मानिसहरुमा, सामाजिक रुपमा निर्माण गरेको तनाव समेटिएको छ,' उनले भने ।

निर्देशक सुब्बा कोभिडपछि 'मान्छेलाई मान्छे' बनाउने फिल्म बनाउनुपर्ने बताउँछन् । 'मान्छेलाई मान्छे बनाउने फिल्म बनाउनुपर्‍यो । यो बीचमा नेपाली समाज कस्तो छ भनेर कोभिड-१९ ले देखाइदियो । हाम्रो समाज यति ध्वस्त भइसकेको छ । यति कुहिएको छ । मानवीय संवेदनशीलता भन्ने चिज नै हाम्रो समाजमा कहाँ बाँकी छ ?' उनले समाजको यथार्थ सुनाए, 'अस्पताल जाँदा भर्ना लिँदैन । ज्यान बचाउन बसेको संस्थाहरुले त्यस्तो व्यवहार गर्छ भने संवेदनशीलता कहाँ खोज्ने । खाना नपाएर भौतारिएका खबर पढियो । खोइ समाजको संवदेनशीलता ?'

'डेथ अफ सेल्सम्यान'मा झै मानवीय संवदेनशीलता समेटिने फिल्म बनाउनुपर्ने उनको तर्क छ ।

सेयर बजारको गिरावटबाट अमेरिकामा ग्रेट डिप्रेसन सुरु (महामन्दी) भयो । सन् १९२९ देखि १९३९ सम्म रहेको आर्थिक महामन्दीको अवधिमा अमेरिकामा २५ प्रतिशतले बेरोजगारी वृद्धि भयो । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३० प्रतिशतले ऋणात्मक थियो । ठूलो आर्थिक नोक्सानीबीच मानिसलाई बाँच्न धौधौ भयो । चरम गरिबी । मानिसहरुमा निराशा छायो ।

त्यसपछि लेखियो, 'डेथ अफ सेल्सम्यान' । नाटककार आर्थर मिलरले सन् १९४९ मा लेखेको यो नाटकमा विल्ली लोमनको कथा छ । ६३ वर्षको उमेरमा सेल्सम्यानको रुपमा काम गर्ने विल्लीको जीवनमा महामन्दीले पारेको प्रभाव देखाइएको छ । विल्लीको जीवनमार्फत सन् १९४० को दशकतिर अमेरिकन समाजले देखेको 'द अमेरिकन ड्रिम' पनि समेटिएको छ । नाटकले पुत्लिजर पुरस्कार समेत पाएको थियो । यो नाटकले त्यतिबेला अमेरिकी नागरिकहरुलाई आफ्नो समाज र समयबारे विवेचना गर्न घच्घच्याएको थियो ।

सुब्बा भन्छन्, 'नेपाली समाज देखाउने, मानवीय संवदेना जगाइदिने, हाम्रो समाजलाई रिथिंक गर्न लगाउने फिल्म बनाउनुपर्‍यो ।'

नेपाली फिल्ममेकरले त्यस प्रकारको फिल्म बनाउन सक्छन् भन्नेमा भने उनलाई त्यति आश छैन। 'कोभिडपछिको फिल्म हेरिसकेपछि एकपल्ट मानिसले आफ्नो अनुहार हेरुन् । पून: विचार गरुन् । यत्ति हो फिल्म चाहिँ हाम्रो नेपाली समाजजस्तो अमानवीय नभइदिए हुन्छ,' उनले कामना गरे ।

कोभिडपछिको समयमा मानिस अझै स्वार्थ केन्द्रित हुन थाल्ने उनी बताउँछन् । '२०७२ को भूकम्पपछि नेपालीहरु एकआपसलाई सहयोग गर्नेछन् भन्ने हुन्थ्यो । मरिमेटेर मानिसलाई उद्धार गरेको देख्दा त्यस्तै लाग्यो सबैलाई । तर त्यस्तो भएन । कोभिडबाट बाहिर निक्लने बित्तिकै हामी पनि अमानवीयतिर, स्वार्थलाई केन्द्रमा राख्नतिर लाग्छौं भन्ने मलाई डर छ।'

महामारीपछि मात्र होइन कलाले मानवीय पक्षमा सँधै वकालत गर्नुपर्ने उनी बताउँछन् । एक हिसाबले महामारीबीच देखिएको ‍समाज कला, साहित्यको असफलता रहेको उनको भनाई छ । 'यो त नाटक गर्ने, पत्राकारिता गर्ने, फिल्म बनाइरहेका, कविता लेखिरहेकाहरुको ठूलो असफलता हो,' उनले भने, 'हामीले कस्तो समाज निर्माण गरेछौं त । यदि हाम्रो साहित्यले यो मानवीयता जगाउन सकेको भए त समाजको यस्तो नाङ्गो रुप देखिँदैन थियो होला । त्यही भएर हामी कहीँ न कहीँ चुक्यौं । यो चाहिँ आत्मासमीक्षा गर्ने समय पनि हो ।'

उनी थप्छन्, 'मानवीय संवदेना झक्झकाउने फिल्म नै कोभिडपछि बन्नुपर्छ । तर भोली कसो गर्दा फिल्म चल्छ, कसो गर्दा मैले बढी हल पाउँछु, बढी प्रचार पाउँछु भन्नेतिर नै जाने हो हाम्रा फिल्मकर्मी । नेपाली फिल्म विकास गर्ने हो भने त फरक फिल्म बनाउनुपर्‍यो ।'

(समाजका 'सफ्टवेयर' भनिने सिनेमा, साहित्य, खेलकुद, कला कस्तो हुनुपर्ला ? के कस्ता नीति र शैली अंगिकार गर्नु आवश्यक छ भन्ने विषयको यो बहस श्रृंखला केही भागमा चल्नेछ ।)

प्रकाशित : आश्विन २५, २०७७ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×