कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

महिलाका लागि ‘माया’

बेलायतमा सफल उद्यमीको परिचय बनाउँदै नेपाली युवती
बुनु थारु

काठमाडौँ — पाँचथरको यासोकमा जन्मिएकी रुबिना राउत २० वर्षको उमेरमा पढाइको सिलसिलामा लन्डन पुगिन् । स्नातक सिद्धिएपछि नै उनले वुमन इन्भाइरमेन्टल नेटवर्कमा काम गर्ने मौका पाइन् । उक्त संस्थामा सहभागीहरुलाई महिनावारी प्रोडक्टसम्बन्धी आफ्ना नयाँ आइडिया प्रस्तुत गर्न भनिएको थियो । रुबिनाको दिमागमा फुर्‍यो, महिनावारी पेन्टी ।

महिलाका लागि ‘माया’

रुबिनाले मनमनै सोचिन्– पेन्टीमै रगत सोस्ने कपडा सिलाउँदा कत्ति सजिलो हुन्छ होला । उनले आफैं डिजाइन गरेर पेन्टी सिलाउन थालिन् । ‘मैले ४० वटाजति फेब्रिक जम्मा गरेँ र सिलाएँ अनि आफैं परीक्षण गरें,’ ३१ वर्षीया रुबिनाले त्यो क्षण सम्झिन्छिन्, ‘ओहो, आफैंले बनाएको त्यो पेन्टी एकदम सहज लाग्यो र अरुले पनि लगाउन पाउन् भन्ने हिसाबले सोच्न थालें ।’

उनले आफ्नो आइडिया प्रस्तुत गरिरहँदा सबैले राम्रो प्रतिक्रिया जनाए । आफ्नो आइडिया मन पराइएपछि व्यवसायका लागि क्राउडफन्डिंङ सुरु गरिन् । २ हप्तामै ७ हजार पाउन्ड जुटाउन सफल भइन् । उनले आफैं एक पैसा पनि लगानी गरिरन् । पेन्टी तयार गरेर बेलायतका स्थानीय महिलाहरुलाई पनि परीक्षण गर्न लगाइन् । सबैले मन पराए र उनमा थप व्यवसायीकरण गर्ने सोच जाग्यो ।

महिनावारी भएका बेला महिलाहरु प्याड, टेम्पोन तथा मेन्स्ट्रुएल कपहरु प्रयोग गर्छन् । यो महिनावारी पेन्टी नयाँ महिलाहरुका लागि नयाँ ‘आविष्कार’ हो । उनले सुरु गरेको व्यवसाय आज मिलियनमा पुगिसकेको छ र उनको टिम पनि बढ्दै गएको छ । ‘गत वर्ष १ मिलियन पाउण्ड कमायौँ, सायद यो वर्ष डबल भएको होला,’ रुबिना खुसी हुँदै भन्छिन्, ‘मुख्य कुरा इच्छाशक्ति र लगन चाहिने रहेछ ।’

उनले डिजाइन गरेको उत्पादन वेक अप किक एस (उका) नामक महिनावारी पेन्टी बेलायतकै पहिलोपटक उत्पादन गरिएको पिरियड प्यान्ट हो । २ वर्ष अघि सुरु गरेको यो उत्पादनले अहिले सबैको मन जितिरहेको छ । बेलायतको सबैभन्दा ठूलो सुपरमार्केटमा प्याड र टेम्पोनसँगै आफूले बनाएको महिनावारी पेन्टीसँगै देख्दा उनको छाती ढक्क फूल्छ । ‘मलाई एकदम खुसी लाग्छ । मेरा उत्पादन हरेक महिला तथा किशोरीहरुले मन पराइदिएका छन्,’ उनले भनिन् ।

महिनावारी सम्बन्धी अझै पनि विभिन्न सामग्रीको उत्पादन तथा प्रवर्द्धन कम नै छ, त्यसमा पनि विदेशी भूमिमा उनले ‘आँट’ गरिरहेकी छन् । न्यु बिजनेस अवार्ड र इनोभेसन अवार्डलगायत थुप्रै पुरस्कारबाट पुरस्कृत भइसेकेकी रुबिना आफ्नो व्यवसाय थप विस्तार गर्ने ध्याउन्नमा छिन् ।

‘उका’ पेन्टीको विशेषता


विश्वमा विभिन्न कम्पनीले यस्ता महिनावारी पेन्टीको उत्पादन गरेका छन् तर यो अरुभन्दा गुणस्तरीय र राम्रो रहेको रुबिनाको दाबी छ । उनका अनुसार यो पेन्टी महिनावारी भएका बेला धेरै रगत बग्ने दिन पनि टेम्पोन र प्याड नलगाई पनि प्रयोग गर्न मिल्छ । ‘यसको विशेषता भनेको बगिरहेको रगत सोस्नु हो । एउटा पेन्टीले सय वटा प्याड र टेम्पोन बराबरको काम गर्छ,’ उनले सुनाइन् ।

विश्वव्यापी रुपमा मानिसहरु वातावरणका बारेमा चासो व्यक्त गरिरहेका छन् । प्रदुषण कम गर्न विभिन्न काम पनि भइरहेका छन् । ‘९० प्रतिशत प्याडहरु प्लास्टिकले बनेका हुन्छन्, ती कुहिनका लागि ६ सयदेखि ८ सय वर्षसम्म लाग्छ,’ रुबिना दाबी गर्छिन्, ‘यो पेन्टीले धेरै मात्रामा प्रदुषण रोक्ने काम गरेको छ ।’ यो वातावरणमैत्री पेन्टी पटक पटक प्रयोग गर्न मिल्ने हुनाले प्याड किनिरहन पसल जानुपर्ने चिन्ता नहुने अनि पैसाको बचत पनि हुने उनको भनाइ छ ।

उनका अनुसार यसलाई अधिकतम ८ घन्टासम्म लगाउन मिल्छ । तल्लो भाग लिकप्रुफ छ, जसले रगत लुगामा लाग्न दिँदैन । रगत बगेमा पनि भिजेको जस्तो महसुस हुँदैन । पेन्टी पूरै भिजेपछि रगत पखालेर सामान्य लुगा जस्तै धुन सकिन्छ । महिनावारीका बेला धेरै रगत बग्दा लगाउने र थोरै रगत बग्दा लगाउने दुई किसिमका भिन्दाभिन्दै साइजमा यो पेन्टी उपलब्ध छ । यो पेन्टीले २० मिलिसम्म रगत सोस्ने बताउँदै रुबिना भन्छिन्, ‘प्रायः महिलाको सामान्तयतः ४० देखि ६० मिलि रगत बग्छ । यो पेन्टी कम रगत आएको दिनमा दिनभर वा रातभर नै लगाउन मिल्छ ।’

‘उका’ एकदम नरम र मुलायम लेन्जिङ माइक्रोमोडल फेब्रिकबाट निर्मित छ, जुन बिच ट्रि (एक प्रकारको रुख) बाट बनाइन्छ । एउटा पेन्टीको मूल्य १९.९९ (३ हजार १८ रुपैयाँ) देखि २४.९९ पाउन्ड (३ हजार ७७६ सय) पर्ने उनले बताइन् ।

नेपाल भित्रिँदै ‘माया’
१२ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदाको क्षण रुबिनालाई अझै ताजै छ । ‘महिनावारी हुँदा त पाप नै गरेजस्तो भयो । बोट बिरुवा छुन नहुने, घाम हेर्न नहुने अनि कुनै केटाको मुख पनि हेर्न नपाउने रे,’ उनले भनिन्, ‘महिनावारी बार्ने कडा चलन अझै पनि सहरबजारमा व्याप्त रहेको देख्दा अचम्म लाग्छ ।’

धेरै बालबालिका महिनावारी भएको बेला स्कुल छाड्ने गरेका छन्, किनकि विद्यालयमा राम्रो शौचालय अनि पानी हुँदैन । महिनावारीका बेला हरेक किशोरी तथा महिलालाई सहज होस् भनेर पेन्टी निर्माण गर्ने प्रेरणा मिलेको उनको भनाइ छ ।

हालसम्म यी पेन्टीहरु २० वटा देशमा पुगिसकेका छन् र अरु थुप्रै देशबाट यसको माग आइरहेको छ । कोरोनाले उनको व्यापारमा असर पारेन बरु झन् माग बढ्यो । ‘मेरा उत्पादनको शाखा विश्वभर खोल्न सकुँ भन्ने इच्छा छ, त्यसैले सुरुमा आफ्नो जन्मभूमिबाट सुरुवात गरौँ भनेर नेपाल ल्याउन लागेको हुँ,’ उनले भनिन् । नेपाली नारीडटकमले नेपालमा बिक्री तथा प्रवर्द्धनको जिम्मेवारी पाएको छ । नेपालमा ल्याउन लागिएको पेन्टीको नाम ‘माया’ राखिएको छ । उनका अुसार दुई महिनामा यी सामान नेपाल आइपुग्छन् । ‘माया’ पेन्टीको ११ सय र ‘उका’ को ९०० रुपैँया मूल्य राखिएको छ ।

उनले आफ्नो प्रोडक्टको मार्केटिङमा विविधता मिसाउने कोसिस गरेकी छिन् । धेरैजसो विज्ञापनमा गोरी अनि स्लीम केटी प्रयोग भएका हुन्छन् तर उनको पेन्टीको विज्ञापनमा किशोरीदेखि विवाहितसम्म छन् । उनी भन्छिन्, ‘सबैको बडी साइज तथा अनुहारको रंग फरक हुन्छ । यो विविधता देखाउन सकेकोमा गर्व लाग्छ ।’

चेतना अझ फैलाउनुछ
नेपालको सुदूरपश्चिम मध्यपश्चिम क्षेत्रमा रहेको छाउपडी प्रथालगायत महिनावारीसम्बन्धी रहेका कुप्रथा हट्नुपर्ने उनको धारणा छ । मानिसहरुमा अझै महिनावारी सम्बन्धी जनचेतना पुगेको देखिँदैन । महिनावारी सम्बन्धी नकारात्मक सोच तथा कुरीति बदल्ने आफ्नो अभियानमा यो उत्पादन पनि एक हिस्सा भएको उनको भनाइ छ ।

बेलायत सरकारले टेम्पोन तथा स्यानिटरी प्याडमा ५ प्रतिशत कर लगाएकोमा पिरियड प्यान्ट्सलाई भने २० प्रतिशत कर लगाएको छ । यो नियमको विरोध गर्छिन् रुबिना । भन्छिन्, ‘आगामी वर्षमा प्याड र टेम्पोनमा सरकारले शून्य प्रतिशत कर लगाउने भएको छ तर महिनावारी पेन्टीमा भन्ने त्यति धेरै कर ? जबकि पिरियड पेन्टी मेन्सट्रुअल प्रोडक्ट हो । यी वातावरण मैत्री, पुनःप्रयोग गर्न मिल्ने तथा आरामदायी छन् । जबकी टेम्पोन तथा स्यानिटरी प्याडहरुले प्रदुषण गर्छन् ।’

महिनावारी पेन्टीलाई क्लोथिङ आइटममा राखेर धेरै कर लगाइएको छ । यस्ता उत्पादनलाई छुट हुनुपर्छ भन्ने अभियान यही जुलाईबाट थालेकी उनले अगष्ट भरी १० हजार हस्ताक्षर जम्मा गरेर सरकारलाई बुझाइन् । अझै यस विषयमा उनले वकालत गरिरहेकी छिन् । ‘यहाँ पनि महिनावारीसम्बन्धी जनचेतना फैलाउन काम अझै धेरै बाँकी छ,’ रुबिना भन्छिन् ।

व्यापारिक पृष्ठभूमि नभएको र एकदम थोरै लगानीबाट सुरु गरेको व्यवसाय सफल नहोला कि भन्ने चिन्ता लाग्थ्यो उनलाई । अब त्यो दिन रहेन । उनी आफूले रोजेको बाटोप्रति सन्तुष्ट छिन् । सबैबाट राम्रो प्रतिक्रिया पाउँदा उनमा अझै जोश जाँगर बढेर आउँछ । उनको खुसी चेहराले नै बताउँछ, सफल हुन दृढ संकल्प र कामप्रतिको लगाव त चाहिन्छ नै ।

प्रकाशित : आश्विन २५, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?