कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रहरी पोसाक दुरुपयोगबारे फिल्ममेकरको प्रश्न : हामीले भजनमात्रै गाउने त ? 

दीपकराज गिरी भन्छन्- व्यंग्य पनि गर्न नपाइने हो भने अब चोरको पात्र गर्दा पनि अनुमति लिनु पर्ने हो कि !
रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्म, टेलिफिल्म र भिडियोमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी कार्यालयले बिहीबार विज्ञप्ति निकाल्यो । अनुमतिबिना प्रहरीको पोसाक पयोग गरेमा कारबाहीसमेत हुने चेतावनी दिएपछि भने फिल्मकर्मीले विरोध गरेका छन् । 

प्रहरी पोसाक दुरुपयोगबारे फिल्ममेकरको प्रश्न : हामीले भजनमात्रै गाउने त ? 

फिल्म निर्देशक नबीन सुब्बा कलामा कलात्मक स्वतन्त्रता चाहिने बताउँछन् । 'राष्ट्रपति, प्रधानमन्त्री, सेना र प्रहरीका विषयमा अभिव्यक्ति दिन पाउनुपर्छ । तर त्यो अभिव्यक्तिले जात‚ धर्म‚ भाषा‚ लिङ्ग‚ पहिचान‚ क्षेत्र आदिको आधारमा घृणा द्वेष फैलाउन उत्तेजित गर्न मिल्दैन । त्योबाहेकका सबै कुरा प्रयोग गर्न पाउनुपर्छ,अभिव्यक्त गर्न पाउनुपर्छ,' उनले भने ।

फिल्म, गीतसंगीत र पेन्टिङमार्फत कलाकार्मीले अभिव्यक्त गर्न पाउनुपर्ने उनी बताउँछन् । 'प्रहरी भ्रष्ट छैन र ? छन् भने प्रहरी भ्रष्ट देखाउन पाउनुपर्छ । त्यो पात्र देखाउन बर्दी लगाउनै पर्‍यो । त्यसको अर्थ सबै प्रहरी भ्रष्ट भन्ने पनि होइन । कि त प्रहरी भ्रष्ट छैन भनेर दाबी गर्नुपर्‍यो । भ्रष्ट छ भनेर त प्रहरीले निरन्तर रुपमा बहालवाला बर्दीधारीहरुको निलम्बन, आर्मीभित्रै पनि कोर्ट मार्शल चलिरहेको हुन्छ । त्यही कुरा कलाकर्मीले रचनाकर्मीले, फिल्ममा गीतसंगीतमा आर्टमा देखाउन पाउनुपर्छ,' उनले भने ।

फिल्म निर्देशक एवं समीक्षक दीपेन्द्र लामा यसलाई प्रहरीको पञ्चायती मानसिकता बताउँछन् । फिल्ममा देखाइने प्रहरीको चरित्रलाई लिएर पनि प्रहरीले हस्तक्षेप गर्दै आएको लामाले फेसबुकमा उल्लेख गरेका छन् । 'नेपाल प्रहरीले पञ्चायत कालको मानसिकता कहिले त्याग्ने ? चलचित्र विकास बोर्डले के हेरेर बसेको छ ? फिल्म, टेलिफिल्म, म्युजिक भिडियो, सर्ट फिल्ममा प्रहरी पात्र देखाउन अनुमति लिनु (पटकथा बुझाउनु) भन्दै प्रहरी डिपार्टमेन्टले उर्दी जारी गरेछ,' उनले लेखेका छन्, 'प्रहरी पात्रले चोरी, जाली काम गरेको देखाइयो भने पटकथा सच्याएर ल्याउनू भन्छ । त्यतिमात्र होइन सिनियर प्रहरीले जुनियरलाई तिमी वा तँ भनेर सम्बोधन गरेको छ भने तपाईं लेखेर ल्याउनू भन्छ ।'

अभिनेता तथा निर्माता दीपकराज गिरी प्रहरीको निर्णय निन्दनीय रहेको बताउँछन् । 'यो निन्दनीय छ । छायाङ्कनभन्दा अगाडि अनुमति लिनुपर्ने हो भने हामीले भोलि डाक्टरको विषयमा फिल्म गर्दा डाक्टरको संस्थामा जानुपर्छ । शिक्षक संगठनमा जानुपर्ने दिन आउनसक्छ । संसारका सबै पेसाकर्मीसँग अनुमति माग्नुपर्ने होला । चोरकै समेत पात्र गर्दा पनि अनुमति माग्नुपर्ने हो कि ! व्यंग्यात्मक शैलीमा उनले भने, 'संसारका सबै पेसामा राम्रा पनि हुन्छन् केही नराम्रा पनि हुन्छन् । प्रहरीले अत्यन्त केटाकेटीपन देखायो ।'

फिल्म निर्देशक प्रदीप भट्टराईले पनि विज्ञप्ति सार्वजनिक भएपछि फेसबुकमा लेखे, 'फिल्ममा कोही बिग्रेको देखाउन नपाउने हो भने फिल्म होइन भजन बनाउँदा हुन्छ । प्रभुको गुनगान गायो बस्यो ।'

त्यस्तै नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक यस्ता विषयलाई सेन्सर बोर्डले नै हेर्ने उल्लेख गर्छन् । 'चलचित्रमा प्रहरीको ड्रेस प्रयोग गर्न प्रहरीको अनुमति लिनुपर्ने ? सरकारकै मातहतमा सरकारी कर्मचारीकै नेतृत्वमा फिल्म सेन्सर बोर्ड छ त ? त्यसको काम के हो ? त्यो बोर्डले प्रहरीको यो चासोलाइ सम्बोधन गर्दैन ? कि एउटा सरकरी निकायले अर्को निकायलाई बिश्वास नगरेको हो ?' उनले फेसबुकमा लेखेका छन् ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक कुवेर कडायत भने पछिल्लो समय प्रहरीको पोसाकको दुरुपयोग गर्ने बढेसँगै सचेत गराउन विज्ञप्ति सार्वजनिक गरेको बताउँछन् । 'अहिले हामीले सम्झाउनलाई मात्र त्यो विज्ञप्ति पठाएको हो । पोसाकको दुरुपयोग त पहिलादेखि नै हुँदै आएको हो । अहिले प्र्यांक भिडियोदेखि डान्समा पनि पोसाकको दुरुपयोग गरेपछि हामीले 'रिमाइन्ड' गरिदिएका हौं,' उनले भने, 'बाटोमा मास्क लगाउ भन्दै प्रहरीको पोसाक बिजोग पाराले लगाएको भिडियो आयो । ज्योति मगरसँग नाच्ने एकजना कलाकारले पोसाक लगाउनु भएको रहेछ । त्यो पनि मिलेन । ट्राफिकको ड्यूटी त उहाँले नाचेकोजस्तो होइन नि । त्यतिमात्र होइन त्यस्ता थुप्रै ठाउँमा दुरुपयोग भएपछि सचेत गराएका हौं ।'

फिल्ममा सेन्सरसिप नै नहुनुपर्ने आवाज उठिरहँदा प्रहरीले अपरिपक्व निर्णय गरेको दीपकको भनाई छ । 'अब त फिल्म सुटिङ गर्न कोरिया जानुपर्ने देखियो । अब नेपाली प्रहरी देखाउन नपाएपछि कोरियाको प्रहरी देखाउनु पर्‍यो । बिकास बोर्डले प्रहरी प्रसासनको यो अपरिपक्व निर्णय तुरुन्त आवाज उठाउनु अथवा सम्बन्धित निकायमा पत्राचार गर्नु आवश्यक छ,' उनले भने ।

'वडा नम्बर ६'को सेन्सरसिपमा प्रहरी चरित्रकै कारण उनले दु:ख पाएका थिए । फिल्ममा प्रहरीलाई ढुङ्गाले हान्ने एउटा दृश्य आयो । उक्त दृश्य हेरिसकेपछि गृहमन्त्रालयको प्रतिनिधिले उनलाई उक्त दृश्य काट्न लगाएका थिए । 'यो प्रहरीलाई ढुङ्गाले हानेको दृश्य काट्नुस् भन्नुभयो । मैले प्रहरीलाई गोली हानेको हो होइन नि भनें । निकैबेर प्रतिवाद भयो । बोर्डका अरु सदस्यले उहाँलाई सम्झाएपछि बल्लतल्ल कुरा सल्टियो,' दीपकले सम्झे ।

प्रहरीको छवि सुध्रिएपछि फिल्ममा उनीहरुका छवि सुध्रिने बताउँछन् दीपक । 'न सबै प्रहरी प्रशासन राम्रो छ न सबै नराम्रो छ। हामीले त्यस्ता नराम्रा र विकृतिलाई व्यंग्य प्रहार गर्नुपर्ने हुन्छ । स्क्रिप्ट नै लगेर दिनुपर्ने भएपछि हरेक प्रहरीलाई गौतम बुद्ध बनाइदिनु पर्ने भो अब,' उनले भने ।

निर्देशक लामा प्रहरीले फिल्मकर्मीको विवेकलाई सम्मान गर्नुपर्ने पनि उल्लेख गरेका छन् । 'आदरणीय प्रहरी हाकिमहरु ! आफ्नो डिपार्टमेन्टका अफिसरहरुलाई तमिज सिकाउनुस्, घुस नखान, बलात्कार नगर्न, हत्या नगर्न सिकाउनुस् । फिल्मकर्मीलाई फिल्म बनाउन दिनुस्, फिल्मकर्मीको विवेकलाई पनि सम्मान गर्नुस्,' उनी लेख्छन् ।

उनका अनुसार चलचित्र विकास बोर्डले निर्मातालाई दिने फिल्म निर्माण इजाजतपत्रमा प्रहरी वा सेनाका नक्कली बर्दी, नक्कली चिह्न र नक्कली हातहतियार छायाङ्कनको समयमा प्रयोग गर्ने अनुमति दिएमा यो समस्या समाधान हुन्छ ।

प्रकाशित : आश्विन २३, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?