कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बज्यैको थलोमा ६ महिना

कोरोनाकालमा विशुद्ध कृषक बनेका गायक अमृत गुरूङ भन्छन्– ‘अनुशासनमा बस्न चाहेको हो, आफ्नो भुइँ नछोडेको हो’
गोकर्ण गौतम

काठमाडौँ — बुधबार पोखराबाट काठमाडौं आयो, शुक्रबारसम्म ब्यान्डका साथीहरूसँग रिहर्सल गर्‍यो । भ्याए शुक्रबार साँझै पोखरा फर्कियो, नत्र शनिबार बिहानै ।

बज्यैको थलोमा ६ महिना

बज्यैका थलोमा लकडाउनका ६ महिना बिताएका नेपथ्यका चर्चित गायक अमृत गुरुङले रोपेको मकै पाकिवरी भित्र्याइसके । धान पाक्नै लागेको छ । गाउँमा बस्दा भैंसी ब्यायो, उनले बिगौती खाने मौका पाए । किसानी जिन्दगीमा रमाउँदै उनले दैनिक रियाज जारी राखे । उनी गाउँमा रहँदा कहिले लकडाउनमा दुःख पाएका मान्छेको पीडा देखेर रोए, कहिले बाँदरले मकै खाइदिँदा थकथक माने । भैंसी ब्याएर बिगौती खान पाउँदा रमाए पनि ।

देश विदेशमा कन्सर्ट हुँदाबाहेक सांगीतिक समूह नेपथ्यका ‘फ्रन्टम्यान’ अमृत गुरुङको एक दशकदेखिको नियमितता हो यो । यही उपक्रमअनुरूप गत वर्ष चैत ७ गते अमृत पोखरा पुगेका थिए तर यसपटकको बसाइ लामै भयो । कोरोना नामक बदमास भाइरसले हैकम जमाएका कारण एकै पटक गत आइतबार मात्र राजधानी आए । शुक्रबार फेरि पोखरा फर्किसके । फर्किनुअघि कान्तिपुरसँग गफिँदा अमृतमा उत्साह र निराशाको मिश्रण थियो । उत्साह यस कारण कि उनले बजैको थलोमा स्वर्णिम ६ महिना बिताउन पाए । त्यहाँको माटो र हावासँग खेल्न पाए । निराशा यस कारण कि कोरोनाबाट प्रताडित हुँदासमेत भुइँमान्छेले राज्यबाट अभिभावकत्व पाएनन्, बरु तिरस्कार, अपमान र झेल झेल्नुपर्‍यो । उनकै शब्दमा, राज्यविहीनताको अवस्था रह्यो । ‘म एउटा नागरिक हुँ, यत्रो संकट पर्दा सरकार कहाँ छ ? मलाई थाहा छैन,’ अमृतको असन्तुष्टि यत्तिमै रोकिएन, ‘मान्छेले पनि यो समयमा मानवता बिर्सिए ।’

चारैतिर बेथिति देखेर हुनुपर्छ, खेतीपातीको अनुभव सोध्दा अमृत बेसी हौसिन्थे । आँखा उज्याला हुन्थे । स्टेजको तिर्सना भुलाउन खेतबारीले भरथेक गर्‍यो । किसानीकर्ममा यति भिजेछन् कि उनीसँग बातचित गरिरहँदा लोकप्रियताको शिखर चुमेको प्रतिष्ठित गायक हो भन्ने नै बिर्सिने । विशुद्ध किसानको अन्तरवार्ता लिइरहेझैं लाग्ने । यस्तो किन भएको होला ? हाँस्दै भने, ‘म फोटो खिचाउन मात्र खेतीपाती गरेको स्वाङ पार्दिनँ । ज्यानले सकेसम्म पसिना बगाएरै खेतमा भिड्छु ।’

पोखराबाट अमृतको गाउँ कालाबाङ १४ किलोमिटरको दूरीमा छ । आजकल यो ठाउँ पोखरा महानगरपालिका–२२ मा पर्छ तर यो ठेगाना उनलाई प्रिय लाग्दैन । कसैले गाउँ सोधे पुम्दीभुम्दी गाविस–७ कालाबाङ नै भन्छन् । उनको तर्क छ, ‘महानगरपालिका भनिदिएर मात्र हुन्छ र ? गाउँ जस्ताको त्यस्तै छ ।×’

कालाबाङमा उनको होइन, बज्यैको गोठ छ, खेतबारी छ । उनी त्यसैको ख्याल गर्छन्, भ्याएसम्म, जानेसम्म । किनभने कालाबाङ पुगेपछि उनले ‘असली अमृत’ लाई पाउँछन्, बज्यैसँगको सानिध्यता आभास हुन्छ । गोठमा अमृतसहित आठ जना हुन्छन्, अरू पनि खेतमै काम गर्छन् । बस्तुभाउ स्याहार्छन्, त्यही बस्छन् । बाहिरबाट हेर्दा अमृत उनीहरूका ‘मालिक’ तर त्यहाँको बसाइ र कामगराइमा उनीहरू सरोबरी छन् । ‘उहाँहरूजस्तै म पनि खटिन्छु, चुलोमा जे पाक्छ, त्यही खान्छु । मेरो लागि मानमनितो केही गर्नुपर्दैन । त्यही भएर होला, म गोठमा बस्दा खुसी हुन्छन्,’ अमृतले भने ।

चैतमा उनी गएको बेला मकै गोड्न भ्याइनभ्याइ थियो । झरिला घोगा लाग्दै थियो । तर, बाँदरले नास पार्‍यो, धपाएर साध्यै लागेन । निन्याउरो अनुहार बनाएर भने, ‘यसपालि मकै छैन । गाईबस्तुलाई खुवाउनसमेत गाह्रै छ ।’ एक बाली बिग्रियो भनेर किसानले उम्कन पाउँदैन । अर्को थोक रोपिहाल्नुपर्छ । काँक्रा र फर्सी रोपे । त्यसपछि पालो आयो, धानको । रोपेर पनि कति गोडिसके । कति बाँकी छ । उनले भने, ‘अब धान भित्र्याउने चटारो हुन्छ ।’ २२ रोपनीमध्ये १६ रोपनीमा खेती गरिरहेको उनले बताए । गोठमा गाई, भैंसी, राँगो, बाच्छाबाच्छी छन् ।

अमृतको व्यावसायिक गायन यात्रा २९ वर्षमा दौडँदै छ । सयौं कन्सर्ट गरे, गीत रेकर्ड गरे । तर, उनको दैनिकीबाट रियाज कहिल्यै छुट्दैन, गाउँ हुँदा पनि रोजै अभ्यास गर्छन् । अब पनि रियाज आवश्यक पर्छ र ? सोध्न नपाउँदै भनिहाले, ‘म्याराथन दौड्न आत्मबल दरो हुनुपर्छ । शारीरिक र मानसिक रूपमा तन्दरुस्त हुनुपर्छ । एउटा गायकका लागि यो तबमात्र सम्भव हुन्छ, जब रियाज नियमित हुन्छ ।’ उनको बुझाइमा संगीत गणित होइन, हरेकपटक उही उत्तर आउँदैन् । त्यो बोध गर्न पनि संगीत साधना छोड्नु हुन्न । कम्तीमा उनी छोड्दैनन् ।

अमृतकै भनाइमा, आजकल उनी अल्छी भएका छन् । पहिले–पहिले बिहान साढे ५ बजे उठ्थे, अहिले आँखा खुले पनि ज्यान साढे ६ बजेसम्म ओछ्यानबाट उठ्न मान्दैन । कानहरू चराचुरुङ्गीको आवाजमा लठ्ठ भइरहेका हुन्छन् । त्यसको आनन्द शब्दमा पोख्न कठिन हुन्छ । उठेपछि मुलको पानीमा जीउ पखाल्छन् । एकछिन् योगा गर्छन् । चिया पिउँछन् । अनि रियाज सुरु हुन्छ, घटीमा दुई घण्टा, बढीमा जति पनि जान सक्छ । रियाजपछि रोटी, दही र तरकारी खान्छन् । अनि कि गाउँ डुल्न निस्कन्छन्, नत्र वन र खोलातिर लाग्छन् । खेतमा काम हुँदा त्यतै लाग्नुपरिहाल्यो । खानापछि चाहिं अक्सर बस्तुभाउको स्याहारसुसारमा लाग्छन् । मुड चले गिटार बोकेर जंगल पस्छन्, आफ्नै तालमा गाएर रमाउँछन् । ‘बेलुका खाना खान्नँ । सुत्नुअघि कोदोको रक्सी पिउँछु, हार्मोनियम बजाउँछु । अनि एक गिलास दूध पिएर घुप्लुक्क सुत्छु,’ उनले हाँस्दै भने, ‘भोक लाग्यो भने दुई मुठी भुटेको मकै टोक्छु ।’

अमृतले टेलिभिजन नहेरेको जुग भइसक्यो, रेडियो पनि सुन्दैनन्, गाउँतिर पत्रिका पुग्दैन । देशदुनियाँको खबरको स्रोत बनिदिन्छ, मोबाइल । त्यही पनि वाइफाई छैन, थ्रिजीले घरीघरी धोका दिइरहन्छ । भन्छन्, ‘राजनीतिक समाचारचाहिं ठ्याम्मै पछ्याउँदिनँ, मान्छेको जीवनसँग जोडिएको समाचारले तान्छ, सामाजिक गतिविधि पनि नियाल्छु ।’ लकडाउनको सुरुवातबाटै छाएका सरकारको बेइमानी र नागरिकको सास्तीका खबरले उनलाई औधि पिरोल्यो । संकटमा पनि विदेशमा बस्नेहरू घर आउन पाएनन् । भारतीय सीमामा कैयौं दिन नेपाली नागरिकले छट्पटीमा बिताउनुपर्‍यो । देशभित्रै भएकालेसमेत आफ्नो घर जान पाएनन् । ज्यानमा उखरमाउलो घाम, मनमा ताप र त्रास अनि रित्तो पेट हजारौं ‘अभागी’ हरूले सडकमा पाइताला खियाइरहे । ‘सरकारले न घर जान दियो, न मान्छे जहाँ छन्, त्यहाँ खाने–बस्ने व्यवस्था मिलाउन सक्यो । यो नियति भोगेका मान्छेको व्यथा पढ्दा एक्लै रोएँ,’ थोरै आक्रोशित हुँदै भने, ‘विदेशबाट आउन खोज्नेलाई रोक्न मिल्छ ? यहाँ ल्याएर व्यवस्थापन पो गर्ने हो । कस्तो क्रूर समय भोगियो !’ लकडाउनको ५२ औं दिनमा उनी आफैं कालावाङबाट एक्लै हिँडेर पोखरा पुगे, बिरामी आमालाई भेटे र हिँडेरै कालावाङ फर्किए ।

राज्यले फेरि लकडाउनको ‘धम्की’ छर्दै छ । गर्न पनि नदिने, खान पनि नदिने सरकारको यो रबैयाप्रति अमृतलाई झोंक चलेको छ । ‘सुरक्षित हुनुपर्छ नै तर अब जीवन कसैले रोक्न पाउँदैन, चलिरहनुपर्छ । टन्न सम्पत्ति हुनेलाई त फरक नपर्ला तर दिउँसो पसिना बगाएर साँझ–बिहान हात जोर्नेको हालत के हुन्छ ? सरकारलाई त उनीहरूको वास्तै छैन,’ उनले आक्रोश पोखे । अमृत तिनै सर्जक हुन्, जो देशमा द्वन्द्व चलिरहँदा पनि दूरदराज पुगेर आममान्छेसँग नाता जोडिरहे, शान्तिका लागि स्वर घन्काए, जनआन्दोलनमा सक्रिय भए, मधेस आन्दोलनताका ‘शान्तिका लागि शिक्षा’ अभियानअन्तर्गत मधेसमा सांगीतिक कार्यक्रम गरे, एकताका लागि सधैं अनुनय–विनय गरिरहे । विद्यालय र पुस्तकालय बनाउन सयौं कन्सर्ट गरे । बझाङबाहेक ७६ जिल्ला पुगिसकेका छन् । गणतान्त्रिक व्यवस्था ल्याउन उनले आफ्नो ठाउँबाट सक्दो योगदान दिए । तर, समाजप्रति यति जिम्मेवार गायकमा अहिले घोर आक्रोश छ, असन्तुष्टि छ । ‘परिवर्तनका लागि नाममा नयाँ वाद ल्यायौं तर नियति त्यही भयो । व्यक्ति बदललिए तर प्रवृत्ति पहिलेकै दोहोरियो,’ उनको आवाज चर्को हुँदै भयो, ‘२ प्रतिशत ढोंगीहरूले बाँकी ९८ प्रतिशतमाथि शासन गरिरहेका छन् ।’

संगीत भनेपछि हुरुक्कै हुने यी कला–साधकलाई राजनीतिको घिनौना खेलोफड्कोबारे बोल्न लगाएर अझ दुःखी बनाउनु न्यायसंगत लागेन । त्यसपछि कुराकानी फेरि गाउँ र संगीततिरै मोडियो । उनलाई सोधियो, कन्सर्ट कतिको ‘मिस’ गर्नुभयो ? उनका लागि यो प्रश्नले विशेष अर्थ राख्छ किनभने उनी ‘युट्युबे’ गायक होइनन्, ‘ट्र्याक’ बोकेर हिँड्ने, उस्तै परे ‘लिप्सिङ’ मात्र गर्ने गायक पनि होइनन्, लाइभ ब्यान्डमा संगीतको जादू अनुभूत गराउने गायक पो हुन् ।

यसो भन्न सकिन्छ, उनी स्टेज पफर्मकै लागि डिजाइन गरिएका हुन् । किसान अमृत, अभियन्ता अमृत र साथीभाइमाझ चिनिएको अमृतभन्दा स्टेजको अमृत बिछट्टै बेग्लै हुन्छ । अरू बेला कम बोल्ने अन्तरमुखी अमृत स्टेज उक्लेपछि गाउँदैनन् मात्र, नाच्छन् पनि । नाच्दैनन् मात्र, दर्शकलाई सँगै नचाउँछन् पनि । यही गुणले हुनुपर्छ, नेपालमा स्टेज प्रस्तुतिमा सर्वाधिक रुचाउने ब्यान्ड सम्भवतः नेपथ्य नै हो । ‘बाजाको ध्वनि दर्शकको आवाजमा मिसिन्छ, लाइट बल्छ, त्यसपछि जुन माहोल बन्छ, साँच्चै जादू पैदा हुन्छ,’ ६ महिनादेखि कन्सर्ट गर्न नपाएर तड्पिएका यी पफर्मर भन्छन्, ‘त्यसपछि त्यो ऊर्जा, त्यो उत्साह कहाँबाट आउँछ, थाहै हुन्न । सबथोक बिर्सिएर स्टेजमै बाँच्छु ।’ कन्सर्टको माहोल सम्झँदै गर्दा उनी रोमाञ्चित हुँदै जान्छन् । उनको बोली रोकिन्न, ‘स्टेज चढेपछि दर्शकसँग आत्मीय सेतु बन्छ, त्यो देखिन्न तर अनुभूत हुन्छ, त्यसले मज्जा दिन्छ । अहिले त्यही सेतु सबैभन्दा धेरै सम्झिने गर्छु ।’

सन् २००८ देखि दुई वर्षसम्म उनले कन्सर्ट गरेका थिएनन्, त्यसयताको एक दशकमा यति लामो ‘ग्याप’ अहिले भएको हो । कन्सर्टजस्तै समूहगत अभ्यास छुटेको छ । यसपालि काठमाडौंमा साथीहरू भेट्दा सबैको पीडा एउटै थियो– ‘भेट नहुँदा त मन खुब आँत्तियो ।’ भूकम्पले भत्किएको दोलखाको विद्यालय पुनर्निर्माणका लागि फागुनको आखिरमा भृकुटीमण्डपमा नेपथ्यले अन्तिम कन्सर्ट गरेको थियो । कोरोना महामारी आइलाग्दैनथ्यो त, नेपालका विभिन्न सहरसँगै अमेरिका र जापानमा यो ब्यान्डले दर्शक नचाइसकेको हुन्थ्यो । गाउँतिर भाँडा माझिरहँदा, गाईबस्तुलाई खोलेकुँडो गरिरहँदा, खनजोत गरिरहँदा कतिपय साथीभाइले उनलाई सोध्ने गर्छन्– ‘किन आफैं दुःख बेसाको, यत्रो सम्पत्ति के काम ?’ हो पनि, आफैंले आर्जेको मात्र होइन, पुर्ख्यौली सम्पत्ति पनि मनग्ये छ, सुखसयलको जीवन बिताउन सक्छन् तर बिताइरहेका छन्– भुइँमान्छेको जिन्दगी । मुस्कुराउँदै भने, ‘नसकेर/नपुगेर होइन, मात्र अनुशासनमा बस्न चाहेको हो, आफ्नो भुइँ नछोडेको हो ।’

काठमाडौंबाट पोखरा गइरहनुपर्छ, हतार छ भने मात्र फ्लाइट वा ट्याक्सी भाडा लिएर जान्छन् । नत्र कलंकी पुगेर सार्वजनिक बस चढ्छन् । मान्छेले चिनिहाल्छन्, कतिले माया गरेझैं गर्छन्, कसैले बिचरा भावमा हेर्छन् । कतिले असहज स्थिति बनाइदिन्छन् तर यी परिस्थितिलाई सहजताका साथ अँगाल्ने बानी परिसक्यो । ‘मान्छेसँग सडकमा हिँडेपछि म कहाँ छु, थाहा पाइन्छ । त्यसमै रमाउँछु,’ सादगी जीवनशैली अँगालेका यी गायकले भने । त्यसो त सुरु–सुरुमा (दुई दशकअघि) उनलाई पनि ‘म ठूलै हुँ’ भन्ने भ्रम नभएको होइन । कतै जाँदा गजक्क पर्थे, ढसक्क पर्थे, मान्छेले मलाई हेरिरहनुपर्छ भन्ने ठान्थे तर ती सबै–सबै अतीत भइसके । यस्तो सम्झँदा अहिले उनलाई आफैंसँग हाँसो उठ्छ । ‘म स्टार होइन, कलाकार हुँ । स्टार पानीको फोकाजस्तै हुन्छ, फुट्छ । तर, कलाकार सधैं बाँचिरहन्छ,’ भावुक हुँदै उनले भने, ‘म जीवनको उत्तरार्धसम्म गाउन चाहन्छु । दर्शकले मन पराइन्जेल दर्शकसँगै गाउँछु, मन पराउन छोडे भने एक्लै गाएर आत्मरञ्जना गर्छु । तर, गाउनचाहिँ गाइरहन्छु ।’ एकछिन मौनता छायो । त्यसपछि उनले जीवनको मूल दर्शन सुनाए– ‘म एक दिन मर्छु भन्ने नबिर्सिनेबित्तिकै धेरै कुरामा जीवन सजिलो हुन्छ । सरलतामै सबथोक हुन्छ ।’

प्रकाशित : आश्विन १७, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?