१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिमाञ्चल केबिनका ती बन्द सटर

पाटनबाट वीरगन्ज पुगेका पदम राजकर्णिकारले थालेको मिठाई पसल तेस्रो पुस्ताका विजयसम्म आइपुग्दा व्यवसाय विस्तार मात्रै नभई वीरगन्जवासीले बिर्सनै नसक्ने बनिसकेको थियो
शंकर आचार्य

पर्सा — सबै कुरो विगतको झैं सामान्य भएको भए वीरगन्जको हिमाञ्चल केबिनको र्‍याकमा यतिबेला फिनी, अनरसा, सेल, खाजा मिठाई, लाखमरी, गुदपाकजस्ता नेवारी परिकार ग्राहकलाई पर्खिएर सजिएका हुन्थे ।

हिमाञ्चल केबिनका ती बन्द सटर

मधेसको सहरमा दसैं, तिहार र छठपर्व नजिकिएको झल्को ती परम्परागत परिकारले पनि दिन्थे । अरू बेला भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार केबिनमा पाइथ्यो ।

चाडबाडका बेला सजिलै पाइँदा काठमाडौंका रैथाने मानिने परिकारको स्वाद चाख्न कुर्ने वीरगन्जवासी पनि धेरै छन् । यी परिकारका अर्डर दिने थुपै्र जना हुन्थे ।

आमा र बुवाको मुख हेर्ने दिनमा नेवारी समुदायले कोसेली दिने परिकार पनि वीरगन्जमा यहीं मात्र पाइन्थ्यो । वीरगन्जका नेवार र अन्य समुदायका कतिपयले ‘हिमाञ्चल केबिनमा पाइहाल्छ नि’ भनेर पनि यस्ता परिकार आफ्नो घरमा पकाउँदैनथे । होटलका हँसमुख र फुर्तिला सञ्चालक विजय राजकर्णिकारलाई भ्याइनभ्याइ हुन्थ्यो । आमा केदारनानी र दिदी ममताले विजयलाई सक्दो सघाउँथे । नेवारी परिकार त यी जाँगरिली महिलाहरू आफैंले पनि बनाउँथे ।

त्यसकारण हिमाञ्चल केबिनको पर्वविशेषका नेवारी परिकारमा कतिपय ग्राहकले आफ्नै घरमा पकाएको जस्तो स्वादको झल्को पाउँथे ।

विजय, केदारनानी र ममता ।

महानगरमा धेरैको प्रिय हिमाञ्चल केबिनमा यो दृश्य अहिलेका लागि भने दुर्लभ भएको छ । वीरगन्जको घण्टाघर–माईस्थान चोक बीचको व्यस्त क्षेत्रमा पहिले कहिल्यै बन्द नदेखिने केबिन बन्द छ । सामान्य दिनमा पनि सधैं भीड रहने ६ दशक पुरानो केबिनका सटरमा ताला झुन्डिएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै छेउछाउका सबै पसलका सटर उघ्रिएका छन् । हिमाञ्चल केबिन अब खुल्छ कि खुल्दैन भन्नेमा धेरै पारखी वरपरका पसलेलाई सोधिरहेका देखिन्छन् ।

हिमाञ्चल केबिन भवन मर्मत, रङरोगनका लागि बन्द भएको होइन । कोरोना संक्रमणले सञ्चालक परिवारमा पारेको चोटले बन्द भएको हो । वीरगन्जका व्यवसायीमध्ये सधैं परिवारै मिलेर आफ्नो कर्ममा जुट्ने, खुसी भेटिने राजकर्णिकार परिवारले तीन सदस्यलाई डेढ महिनाका अन्तरालमा गुमायो । सुरुमा ४६ वर्षीय विजय, त्यसपछि उनकी ८० वर्षीया आमा केदारनानी र ५२ वर्षीया दिदी ममताको निधन भएपछि हिमाञ्चल केबिन बन्द रहेको हो । कोरोना संक्रमणपछि राजधानीमा उपचारका क्रममा उनीहरूको निधन भएयता परिवार शोकमग्न छ ।

विजय र ममता होटल व्यवसायमा मात्र सीमित थिएनन् । उनीहरू स्कुल, पार्टी प्यालेस, सहकारी जस्ता व्यवसायमा जमिसकेका थिए । वीरगन्ज जेसिसको अध्यक्ष रहिसकेका विजयले सामाजिक क्षेत्रमा पनि राम्रो पहिचान बनाएका थिए । ममता पनि स्कुलको सञ्चालनदेखि महिला सशक्तीकरण र उनीहरूको दक्षता वृद्धिका लागि थुप्रै काम गरिसकेकी थिइन् ।

विजयका हजुरबुवा पदम राजकर्णिकारले थालेको हिमाञ्चल केबिनको जमेको होटल व्यवसायलाई बुवा ओमकृष्णराज कर्णिकारले जीवनभर धानेका थिए । करिब डेढ दशकअघि उनको निधनपछि व्यवसाय विजयको काँधमा आएको थियो । जसलाई उनले कुशलता अघिमात्रै बढाएका थिएनन्, अन्य व्यवसाय पनि विस्तार गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिवारको सहभागिता बढाएका थिए । काठमाडौंको पाटन दरबार क्षेत्र पुख्र्यौली रहेको राजकर्णिकार परिवारको चौथो पुस्ता पनि वीरगन्जमै हुर्किसकेको थियो । विजयका दुई छोरी यही जन्मेहुर्केका हुन् । दिदी ममता भने अविवाहित थिइन् ।

पानीटंकी निवासी दिलीपराज कार्की भन्छन्, ‘कोरोना कहरले हेर्दाहेर्दैै एउटा सुखी सम्पन्न परिवारका ३ सदस्य लगेपछि हामीजस्ता वीरगन्जवासी धेरैजना दु:खी छौं ।’ अकल्पनीय घटना भएको उनले बताए । ‘हामीले देख्ता सुखी सम्पन्न परिवारको हाँसो र खुसी कोरोनाले एकै साथ लग्यो,’ उनले भने ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त कोरोना कहरले होटल व्यवसायमा समर्पित वीरगन्जकै एक पुरानो व्यावसायिक घरानालाई नराम्रोसँग धक्का दिएको बताउँछन् । ‘राजकर्णिकार परिवारको तेस्रो पुस्ता थिए विजय र ममता । वीरगन्जको होटल व्यवसाय क्षेत्रमा उहाँहरूको भूमिका महत्त्वपूर्ण थियो,’ उनले भने, ‘एउटा व्यावसायिक घरानाको लिगेसीलाई सम्मानजनक रूपमा धान्दै आउनु र व्यवसायलाई अझै परिमार्जित गर्दै लानु आफैंमा गर्वलायक कुरो हो ।’

हिमाञ्चल केबिनका समोसा र मोमोका पारखी मनोज उपाध्याय खबर सुनेर नरमाइलो लागेको बताउँछन् । ‘हामी हिमाञ्चल केबिनका नियमित ग्राहक मात्र थिएनौं, आफ्ना घरमा आउने पाहुनालाई वीरगन्ज घुमाउँदा त्यही पुगेर खाजा खुवाउँथ्यौं,’ उनले भने, ‘मधेसको सहरका उहाँहरूले इमानदारीपूर्वक व्यवसाय गरेर बेग्लै खालको पहिचान बनाउनु भएको थियो ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा वीरगन्ज जेसिसमा विजयसँग सहकार्य गरिसकेका गोपाल केडिया कोरोना कहरले वीरगन्जलाई ठूलो क्षति पुर्‍याएको बताउँछन् । ‘उहाँहरूको निधनले राजकर्णिकार परिवारमा मात्रै होइन वीरगन्ज सहरकै लागि अपूरणीय क्षति भएको छ,’ उनले भने, ‘वीरगन्जले विजय र ममताका रूपमा दुई प्रतिभाशाली व्यवसायी र सामाजिक व्यक्तित्वहरूलाई गुमायो ।’

प्रकाशित : आश्विन १२, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?