महामारीमा किन विज्ञानकै भर पर्नुपर्छ ?- फिचर - कान्तिपुर समाचार

महामारीमा किन विज्ञानकै भर पर्नुपर्छ ?

लक्ष्मण श्रेष्ठ

काठमाडौँ — विसं. २०३० को दशकको अन्तिमतिरको कुनै वर्ष । अर्घाखाँचीको सदरमुकाम नजिकै रहेको गाउँमा एकजना महिला बिरामी भइन्। छिनछिनमा पखाला लाग्ने र बान्ता चल्ने भयो । सिकिस्तै भएपछि उनले पानी माग्थिन् । तर मानिसहरूले उनलाई पानी पिउन दिएनन् । पानी पिउन दियो भने पखाला बढी चल्छ भन्ने ‘भ्रम’ (त्यतिबेलाको आम जनविश्वास)ले उनलाई अन्ततः मृत्युको मुखमा पुर्‍यायो । 

जर्मन चान्सलर एन्जेला मर्केलले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो संकट भनेको ‘कोभिड–१९’ महामारीको यो निर्मम समयमा लकडाउनका बेचैनीपूर्ण क्षणमा करिब पाँच दशक पुरानो घटनाको उल्लेख गर्नुको कारण छ। त्यो कारण उल्लेख गर्नुभन्दा पहिला घटना भएको समयलाई इतिहासको समयरेखामा राख्ने प्रयत्न गरौं ।

त्यतिबेला नेपालबाट विफर उन्मुलन भइसकेको थियो । यो त्यही विफर थियो जसले बिसौं शताब्दीको मध्यसम्म पनि भारतमा मात्रै वर्षेनी ७० हजार जतिको ज्यान लिन्थ्यो । सन् १००० तिर युरोपमा देखिएको यो महामारीले पाँच सय वर्ष भित्रमा सिंगो युरोपलाई कब्जामा पारिसकेको थियो । नेपालमै पनि विसं. १७२९ देखि १७९७ सम्मको ६८ वर्षभित्र चारपटक बिफरको महामारी आएको थियो । महेशराज पन्तका अनुसार त्यो महामारीबाट विसं. १७२९ मा भक्तपुरका राजा जगतप्रकाश मल्ल, १७३६ मा काठमाडौंका राजा प्रताप मल्लकी छोरी र उनका छोराछोरी तथा १७६३ मा पाटनका राजा लोकप्रकाश मल्लको निधन भएको थियो।

राजाहरूको समेत ज्यान लिन सक्ने यो महामारी सन् १८३६ मा भने संसारबाटै उन्मुलन भइसकेको थियो । कुनै परमशक्तिको आशीवार्दले होइन प्रकृतिको नियम र प्रवृत्ति बुझेर त्यसको उपयोग र सामना गर्नसक्ने मानिसको ज्ञानको कारणले । सन् १७९६ मा बेलायतका डाक्टर एडवार्ड जेनरले विफरको खोप पत्ता लगाएर मानव जातिकै इतिहासमा पहिलोपटक खोपको आविष्कार मात्र गरेका थिएनन् विज्ञानको सहायताले मानिस आफ्नो आयु बढाउन सक्छ भन्ने पुष्टि गरेका थिए । उनको महान् आविष्कारको ठ्याक्कै १८४ वर्षपछि संसारबाटै उन्मुलन भएको बिफरले विज्ञान मानिसको परम मित्र हो भन्ने पुष्टि गरिदियो ।

यसरी संसारभर फैलिएको महामारीमाथि मानिसले विजय पाउँदा पनि नेपालका गाउँघरमा अर्को महामारी जीवित नै थियो । सुरुमा उल्लेख गरिएकी महिला त्यही महामारीबाट मृत्युवरण गर्न विवश भएकी थिइन् । त्यो महामारी थियो – हैजा । हैजा नेपाली समाजमा नयाँ भने थिएन । विभिन्न लिखत प्रमाणहरूले नेपाली समाजमा हैजाको प्रकोप इतिहासदेखि नै थियो भन्ने पुष्टि गरेका छन् ।

सन् १८२३, १८३१, १८४३, १८५६, १८६२, १८६७, १८७२, १८७४ र १८७५ मा पनि काठमाडौं उपत्यकामा हैजाको महामारी फैलिएको थियो । टम रोबर्टसनका अनुसार सन् १८७२ मा यसको महामारी भयावह भएको थियो दैनिक २५० सम्मको निधन भएको थियो।

सन् १८४७ को अगस्टमा काठमाडौंमा हैजा फैलिएर दरबारको ढोका नै बन्द भएको तत्कालीन बेलायती रेसिडेन्ट चाल्र्स थोरेसबीले लेखेका छन्। (लेटर्स फ्रम काठमाडौं : द कोट म्यासार्क, सं. लुडविग स्टिलर, सिनास, सन् १९८१, पृ. ३६३)

यो हैजा नेपालमा मात्र पाइने रोग भने थिएन । सन् १८१७ देखि १८२४ मा कलकत्ताबाट सुरु भएको यसको महामारी अभिलेखीकरण भएको पहिलो महामारी हो । त्यतिबेला यो महामारीबाट एक लाख मानिसको मृत्यु भएको विभिन्न तथ्यांकमा उल्लेख गरिएको छ । उपनिवेश मौलाइरहेको भए पनि त्यो अहिलेजस्तो विश्वव्यापीकरणको युग थिएन । यातायातका साधन अहिलेजस्तो सहज थिएन । आवागमन कम हुँदा पनि त्यति धेरै मानिसको निधन भएकोबाट त्यो महामारी कति भयावह थियो भन्ने अनुमान गर्न सकिन्छ ।

त्यस्तै सन् १८८३ देखि १८८७ सम्म काठमाडौंस्थित बेलायती रेसिडेन्सीमा डाक्टर रहेका कर्णेल जी.एच.डी गिम्लेटले आफ्नो पुस्तकमा सन् १८८५ मेको मध्यतिर काठमाडौंमा हैजा फैलिएको उल्लेख गरेका छन् । उनका अनुसार उक्त महामारीमा काठमाडौंमा हरेक दिन ५० देखि ६० जनासम्मको निधन भएको थियो । (नेपाल एन्ड द नेपलिज्, अनमोल पब्लिकेसन्स प्रा.लि., सन् १९९३, पृ.१५९)

तर सन् १८८३ देखि नै मानव जातिले विज्ञानको सहायताले यो महामारीविरुद्ध जुध्न थालिसकेका थिए । त्यो वर्ष रोबर्ट कोक भन्ने वैज्ञानिकले ‘भिब्रिओ कोलेराइ’ भन्ने जीवाणुबाट हैजा हुन्छ भन्ने पत्ता लगाएका थिए । त्यो जिवाणु पानीमा हुन्छ र त्यस्तो पानी पिउँदा रोग फैलिन्छ भन्ने थाहा पाएका थिए । उनलाई यो आविष्कारमा पुग्न त्यसअघि विज्ञानको यात्रामा भएको नयाँ खोजले सघाएको थियो । सन् १८६१ मा फ्रान्सका वैज्ञानिक लुइस पाश्चरले आँखाले नदेखिने ब्याक्टेरिया भन्ने जिवाणुका कारण रोग लाग्छ भन्ने पत्ता लगाइसकेका थिए । उनै पाश्चरले उच्च तापक्रममा यी जीवाणु मर्छन् भन्ने सिद्धान्त पत्ता लगाई त्यसरी जीवाणु नष्ट गर्ने ‘पाश्चराइजेशन’ भनिने प्रक्रिया पनि विकास गरिसकेका थिए । विज्ञानका यिनै पूर्व पाइला पछ्याउँदै रुसी वैज्ञानिक वाल्डमेर हप्किन्सले सन् १८९२ मा हैजाको खोप पत्ता लगाएका थिए । उनले उक्त खोपको पहिलो परीक्षण आफ्नै शरीरमा गरेका थिए। उक्त खोप पुष्टि गर्न उनी सन् १८९३ मा हैजा फैलिइरहेको भारतमा आएका थिए ।

सन् १९६० सम्म पनि नेपालको राजधानीमै हैजा ठूलै रोग थियो । हैजाकै कारण काठमाडौं सहरमा मात्रै सन् १९५८ मा ३४२, १९५९ मा ४१ र १९६० मा २२ जनाको निधन भएको थियो । हैजाबाट जोगाउन सन् १९५८ मा काठमाडौं र पाटनमा गरी ११ हजार चार सय ५६ जना बालबालिका र ५४ हजार ५५९ लाई हैजाविरोधी खोप दिइएको थियो । त्यतिबेला पनि अहिलेजस्तै संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको थियो । सन् १९६० मा विराटनगर, धनकुटा, पोखरामा पनि हैजा देखिएको उल्लेख गरिएको छ (ए.एच. अबु–गरीब, कोलेरा इन् नेपालः १९५८–१९६०, बुलेटिन अफ् द वल्र्ड हेल्थ अर्गनाइजेसन, भोल्युम २५(१), १९६१, पृ. १३०–४) । त्यतिबेला गाउँ–गाउँसम्म पनि हैजा फैलिएको अनुमान गर्न सकिन्छ । तर अभिलेख राख्ने प्रचलन नै नभएको र संस्थागत स्मृति कम भएको हाम्रो जस्तो देशमा पूर्ण आंकडा उपलब्ध छैनन् ।

यसरी हैजाले मानिस मर्नु पछाडिको कारण, जलवियोजन अर्थात् पखालाबाट अत्याधिक पानी बहेकाले शरीरमा हुने पानीको कमी । मानिसले हैजा विरुद्ध भ्याक्सिन र यसको निदानका लागि एन्टिबायोटिक्स औषधि पत्ता लगाउँदासम्म पनि रोगको प्रकोप रहिरहनुको पछाडि कारण थियो, पानी खान दिनुहुन्न भन्ने भ्रम । यद्यपि यो भ्रमको चिरफार नेपाली समाजमा सुरु भइसकेको थियो । जनस्वास्थ्य विज्ञ डा. रिता थापाले सन् १९६८ ताका इलाममा आफैले नुन, चिनी पानी खुवाएर पखाला लागेको बालकलाई बँचाएको उल्लेख गरेकी छन् (विद्वत प्रवचन, संवत् २०७५ को जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह, २०७६/०६/०३, मदन पुरस्कार गुठी, पृ. १८)।

अरिस्टोटलको ज्ञान सत्तामाथि प्रश्न उठाउने वैज्ञानिक ग्यालिलियो ग्यालिली चर्चमा बयान दिँदै। तस्वीरः हिस्ट्री डट कम

सन् १९७९ देखि त हैजाका कारण हुने जलवियोजनबाट जोगाउन पुनर्जलीय उपचार पद्दति अर्थात् सजिलोमा भन्दा जीवनजल खुवाउने प्रक्रिया संसारैभर लागू गरियो । परिणाम, सन् १९८० सम्म हैजाका कारण हुने मृत्युदर ३० प्रतिशत रहेकोमा सन् २००० सम्म आइपुग्दा ३.६ प्रतिशतमा झर्‍यो ।

तर, त्यो ज्ञान विसं. २०३० को दशकको अन्तिमतिर पनि अर्घाखाँचीको मेरो मावली गाउँमा पुगिसकेको थिएन (अझै पनि दुर्गम गाउँमा यो चेतना प्रसार नहुँदा झाडापखालाका कारण मृत्यु हुने गरेको छ) । र, वैज्ञानिक चेतना अभावको त्यो पीडा मेरा मावली अजाको स्मृतिमा एउटा विषाद् र खेद पनि बसेको छ । केटाकेटी उमेरमा झाडापखाला चल्नासाथ अजाले भन्नुहुन्थ्यो– 'जीवनजल पानी खाओ है नाती हो।'

अनि एउटा पश्चातापपूर्ण निश्वास पोख्दै थप्नुहुन्थ्यो– 'उतिबेला झाडापखाला चल्दा पानी खुवाउनुपर्छ भन्नेमात्रै थाहा भएको भए तिमीहरूको नीनीअजि (फुफुबज्यै) आज जिउँदै हुन्थी। के गर्ने ? मैले त पानी पिउन दिम् भनेकै थिएँ । तर, सबैले पानी दिनुहुन्न भने । थाहै थिएन । अहिलेजस्तो चेतना भएको भए मेरी बहिनी त्यो कलिलै उमेरमा कहाँ परलोक जान्थी होला र ?'

आज वैज्ञानिक चेतनाको अभाव त्यतिधेरै छैन । एकातिर विज्ञानको विकास कल्पनातीत भएको छ । ब्रह्माण्ड कसरी विस्तारित भइरहेछ र ताराहरू मरेर कसरी ब्ल्याक होल बन्छन् भन्नेदेखि टुक्र्याउन नसकिने भनिएको परमाणुभित्रको केन्द्रमा रहेको न्युक्लियस पनि कस्ता–कस्ता उप–पारमाणविक कणहरूले बनेको छ भन्ने जवाफ विज्ञानसँग छ । अर्कोतर्फ यो ज्ञान प्रसार गर्ने सहज र सुगम प्रविधीको विकास पनि विज्ञानले नै गरेको छ । विसं. २०५० को दशकमा हुर्किएका हामीलाई बाल्यकालमा दन्त्यकथाजस्तो लाग्ने ‘अनुहार हेरेर फोन गर्ने’ कथा दैनिक जीवनको पाटो बनेको छ ।

यो अत्याधुनिक, प्रविधि सम्पन्न समयमा पनि वैज्ञानिक ज्ञानको कमी हुँदा प्रिय बहिनी गुमाउनुभएका मेरा अजाको पश्चातापपूर्ण निश्वास मलाई सम्झना भइरहेछ, किन ? किनभने यो महामारीको विषम परिस्थितिमा मेरा केही पठित साथीहरूले विज्ञानप्रतिको विश्वास गुमाइरहेका छन् । जबकी इतिहासदेखि नै महामारी र अनेकन रोगव्याधीसँग जुध्न हामीलाई विज्ञान बाहेक अरु केहीले साथ दिएन ।

विज्ञान केवल व्याधिसँग जोगाउने साथी मात्र होइन, हामीलाई वर्तमान देख्ने मौका दिने जीवनदायी पनि हो । केही आकडा हेरौं ।

सन् १९६५ मा नेपालमा पहिलोपटक स्वास्थ्य सर्वेक्षण गर्दा नेपालमा हुने कुल मृत्युमध्ये ३५ प्रतिशत नवजात शिशुको मृत्यु थियो । अर्थात्, त्यतिबेला वर्षमा मर्ने एक सयजनामा ३५ जना त भर्खरै जन्मिएका शिशुहरू हुन्थे । त्यतिबेला जीवित जन्मिएका एक हजारजनामध्ये तीन सय २२ जना पाँच वर्ष नपुग्दै मर्थे । र, जीवित बच्चा जन्माउने एक लाख आमाहरूमध्ये एक हजार पाँच सय जना बच्चा जन्माउँदा जन्माउँदै मर्थे ।

यदि त्यही स्थिति रहिरहेको भए सम्भवतः यो लेख लेखिरहेको म र पढिरहेको तपाई या त जन्मँदै या जन्मेको पाँच वर्ष भित्रमा मरिसकेका हुन्थ्यौं (दुर्घटनालाई छोडेर) । तर, स्थिति त्यस्तो छैन । अहिले नवजात शिशु मृत्युदर ३ दशमलब २ मात्र छ । अर्थात्, जीवित जन्मिएका एक हजार शिशुमध्ये पाँच वर्ष नपुग्दै मर्नेको संख्या ३९ छ । जीवित बच्चा जन्माउने एक लाख आमाहरूमध्ये दुई सय ३९ जना बच्चा जन्माउँदा जन्माउँदै मर्छन् । हामीले यी अंकलाई शून्यमा पुर्‍याउने लक्ष्य राख्नुपर्छ । तर, साढे पाँच दशकमा यो जादुजस्तो परिवर्तन कसैको आशीर्वादले आएको होइन । यो बीचमा भएको स्वास्थ्य सेवा प्रवाह र खोप प्रणालीको विस्तारले भएको हो । यी सबै विज्ञानको देन हो । अर्थात् आज यो लेख लेख्ने म र पढ्ने तपाईंको जीवनको सुनिश्चितता विज्ञानले गरेको हो । त्यसैले आजको वेचैनीपूर्ण समयबाट पार लगाउने पनि विज्ञान नै हो । कसरी ? त्यो बुझ्न विज्ञान के हो भन्नेबारे छलफल गरौं ।

विज्ञान हिँडेको बाटो

सरल भाषामा भन्दा, प्रकृतिका नियमहरूको खोजी नै विज्ञान हो । संसारमा जे भइरहेछ त्यो किन र कसरी भइरहेछ भनेर जान्न गरिने उद्यम नै विज्ञान हो । यो मान्यताहरूको भकारी होइन बरु पूर्वस्थापित सत्यमाथिको प्रश्नबाट आरम्भ हुने यात्रा हो । त्यो यात्रा हो, अज्ञानताबाट ज्ञान तर्फको (असतोमा सद्गमय) । अन्धकारबाट उज्यालोतिरको (तमसोमा ज्योतिर्गमय) । तर यो यात्रा नक्सा र कम्पासबिनाको फिरन्तेपन होइन । पद्दतिगत खोज हो । जसलाई वैज्ञानिक पद्दति भनिन्छ । वैज्ञानिक पद्दतिको विकासले नै विज्ञानको जन्म गराएको हो । कसरी ? एकपटक १६ औं शताब्दीको अन्त्यतिर फर्कौं ।

१६ औं शताब्दीको अन्त्यतिर (सन् १५८९ र १५९२ को बीचतिर) इटलीको ‘पिसा विश्वविद्यालय’मा गणितका प्राध्यापक रहेका एक युवाले लामो छड्के सतहको टुप्पोबाट दुई फरक तौल भएका गोलाकार वस्तु गुडाइदिए (धेरैले पिसाको ढल्केको धरहराबाट भन्छन्, त्यो सत्य होइन) । तौल फरक भए पनि ती दुवै गोलाकार वस्तु एकैपटक फेदमा पुगे । पटक–पटक यो प्रयोग दोहोर्‍याएपछि ती नवयुवक निष्कर्षमा पुगे– अरिस्टोटल गलत छन्।

त्यो समयमा अरिस्टोटललाई गलत भन्ने आँट कसैले गरेका थिएनन् । अरिस्टोटलमाथि सन्देह गर्नु पनि अपराध सरह लिइने त्यो समयमा ती नवयुवकले भने मुटु दह्रै पारेर भने– अरिस्टोटल गलत छन् । उनलाई यो आँट दिएको थियो, परिक्षण र अवलोकनले । तर, अरिस्टोटललाई गलत भन्न त्यति सजिलो कहाँ थियो र ? आखिर किन ? किनभने करिब १९ सय वर्षदेखि उनको ज्ञान–सत्ता निरन्तर थियो । त्यो सत्ता बलियो हुनुको कारण थियो, किनभने मध्ययुगीन युरोपका शासन–सत्ता चलाइरहेको कट्टरपन्थी इसाई धर्म र त्यसका पोपहरूले बल पाउँथे । जबकी अरिस्टोटलको ज्ञान–सत्ता आफै सन्देहबाट सुरु भएको थियो ।

यी तिनै अरिस्टोटल थिए जसले आजभन्दा करिब २३ सय वर्ष पहिला आफ्नै गुरुका मान्यतामाथि सन्देह गर्ने आँट गरेका थिए । उनका गुरु थिए, प्लेटो, सोक्रेटसका चेला । सोक्रेटस थिए, प्राचीन ग्रिसका महान् दार्शनिक जसले भन्ने गर्थे– ‘सबैभन्दा ज्ञानी त्यो हो जसलाई आफूलाई केही थाहा छैन भन्ने थाहा छ ।’ र, तत्कालीन शासकहरूले उनलाई विष पिलाएर मारेका थिए किनभने उनले प्रश्न गर्न सिकाएका थिए ।

वैज्ञानिक वाल्डमेर हप्किन सन् १८९४ मा भारतको कलकत्तामा आफूले पत्ता लगाएको हैजाको खोप लगाइदिँदै । तस्वीर साभार : एक्सप्लोर वेलकम

उनकै चेला थिए प्लेटो जसले एक शब्द पनि नलेखेका आफ्ना ‘सहिद’ गुरुलाई पुस्तकमा जिवित राखे । प्लेटोले भौतिक जगतको व्यवस्थित अध्ययनलाई बेवास्ता गर्थे । खासमा उनी भौतिकवादी धारणाप्रति असहमत थिए । बिरालो उसको शरीरका कारण बिरालो भएको होइन उसमा भएको बिरालोपनका कारण भएको हो भन्ने धारणा राख्थे । उनी कुनै पनि वस्तुको स्वरुपले मात्र त्यसबारे ज्ञान दिन्छ भन्ठान्थे । उनको ज्ञान निर्माण गर्ने पद्दतिले आदर्शलाई जोड दिन्थ्यो ।

तर, उनका चेला अरिस्टोटलले आफ्नै गुरुमाथि सन्देह गरे । उनले ‘हरेक वस्तु भौतिक पदार्थबाट बनेका छन्’ भन्ने मान्यता प्रस्तुत गरे । बिरालो बिरालो नै हो किनभने उसलाई बिरालो बनाउने भौतिक पदार्थहरू छन् भन्ने विचार निर्माण गरे । उनको विचारमा विज्ञान भनेको ज्ञान वा सिकाईको तर्कपूर्ण व्यवस्थित प्रस्तुति थियो (हेन एन्डरसन र ब्रायन हेमबर्न, साइन्फिक मेथड, द स्ट्यान्डफोर्ड इन्साक्लोपेडिया अफ् फिलोसफी) । अरिस्टोटलले मानव जातिलाई तर्कको विज्ञान सिकाए । हामी बाँचेको संसारको तर्कपूर्ण विश्लेषणले ज्ञान निर्माण गर्छ भन्ने सिकाए (चार्ल्स भ्यान डोरेन, हिस्ट्री अफ् नलेज) । यो वैज्ञानिक पद्दति निर्माणको पहिलो पाइला थियो । तर, उनको ज्ञानका आफ्नै कमजोरी थिए । उनको ज्ञान निर्माण पद्दति तर्कमा सिमित थियो त्यसलाई अवलोकनले पुष्टि गर्नुपर्ने उनी ठान्दैनथे ।

उनका दुईवटा मान्यताले युरोपेली समाजमा जरा गाडेर बसेका थिए । पहिलो थियो, संसारका हरथोक मानिसदेखि किराफट्यांग्रासम्म सबै चार तत्व (माटो, पानी, वायु र आगो) ले बनेका छन् । दोस्रो, संसारका हरेक वस्तु स्थिर छन् वा हुन चाहन्छन् । बलप्रयोगले मात्र तिनमा गति सिर्जना हुन्छ । वस्तुको गतिसम्बन्धी यो अवधारणाले गह्रुंगो वस्तु छिटो जमिनमा खस्छ भन्ने मान्यता सिर्जना गरिदिएको थियो ।

१६ औं शताब्दीको अन्त्यतिर पिसा विश्वविद्यालयका ती युवा प्राध्यापकले प्रयोगबाटै अरिस्टोटललाई गलत सावित गरिदिए । ती युवा प्राध्यापक थिए– ग्यालिलियो ग्यालिली । र, उनको प्रयोग अरिस्टोटलको ज्ञान–सत्ता क्षयीकरणको पहिलो विन्दु थियो र थियो, वैज्ञानिक पद्दति विकासको सुरुवात ।

मानवजातिले अवलोकन र प्रयोगबाट विश्व–ब्रह्माण्ड बुझ्न सक्छ भनेर तर्क गर्ने पहिलो व्यक्ति थिए, ग्यालिलियो (स्टेफन हकिङ, ब्रिफ हिस्ट्री अफ् टाइम) । उनी र उनका समकक्षी दार्शनिक फ्रान्सिस बेकन भन्थे– प्रकृतिको पुस्तक गणित, ज्यामिति र अंकको भाषामा लेखिएको छ । यो बोधले ज्ञानको यात्रालाई गणितीय व्याख्यातर्फ डोर्‍यायो । हरेक बुझाईलाई तथ्य र तथ्यांकको आधारमा व्याख्या गर्नुपर्ने बनायो । र, प्रकृतिका हरेक देखिने, नदेखिने घटनाको नियम हुन्छ भन्ने बुझाई निर्माण गरिदियो ।

कोपर्निकस, केप्लर जस्ता वैज्ञानिकको पदचाप पछ्याउँदै ग्यालिलियोले सुरु गरेको वैज्ञानिक पद्दति निर्माणको यात्रालाई बेलायती वैज्ञानिक आइज्याक न्युटनको खोजले नयाँ उचाई दियो । उनी र लेबनिजले बेग्लाबेग्लै आविष्कार गरेको ‘क्यालकुलस’ गणितले विज्ञानलाई नयाँ भाषा दियो । विश्व ब्रह्माण्डका अनेनकन् रहस्यबारे व्याख्या गर्ने नयाँ व्याकरण पायो विज्ञानले । आज पनि प्रकृतिका अनेकौं रहस्यपूर्ण हरकतहरूको व्याख्या विज्ञानले यस्तै गणितको सहाराले गर्छ । यो यात्रामा थपिए, जर्ज बर्कले, डेभिड ह्युम, इम्यानुएल कान्टजस्ता विचारक, चिन्तक । समग्रमा सन् १५५० देखि १७०० सम्मका डेढ सय वर्षमा युरोपेली चिन्तकहरूको कर्मले वैज्ञानिक पद्दतिको जन्म गराइदियो । यो माथि भनिएजस्तै, ज्ञान निर्माणको बाटो थियो । यही यात्राले नै विज्ञानको जन्म गराइदियो ।

आखिर के थियो त्यो ज्ञान निर्माण गर्ने वैज्ञानिक पद्दति ? त्यो हो एक व्यवस्थित यात्रा । त्यो यात्रा सन्देहबाट सुरु हुन्छ । पूर्वस्थापित मान्यतामाथिको सन्देह वैज्ञानिक ज्ञान निर्माणको पहिलो खुड्किला हो । तर, त्यो सन्देह जगविहिन हुँदैन । सन्देहका आफ्नै आधारहरू हुन जरुरी हुन्छ । त्यो सन्देह स्थापित मान्यताका बोधबाट सुरु हुन्छ । त्यो सन्देहले खोजकर्तालाई एउटा निष्कर्षको परिकल्पना (हाइपोथेसिस)सम्म पुर्‍याउँछ । गह्रुंगो वस्तु छिटो खस्छ भन्ने मान्यतामाथि ग्यालिलियोको सन्देह प्रयोगबाट सुरु भएको थियो जसले उनलाई कुनै पनि वस्तुको गति मापन गर्न सकिन्छ भन्ने परिकल्पना गर्न सक्षम बनाइदियो । त्यो परिकल्पना सही छ वा गलत भन्ने जाँच्न उनले पटक–पटक प्रयोग र पुनः प्रयोग गरे । उनैले विकास गरेको गति मापन गर्ने विधिमा टेकेर न्युटनले चालसम्बन्धी नियमहरूको निर्माण गरे । माथि फालिएका हरेक वस्तु तल किन खस्छन् भन्ने प्रश्नले उनलाई गुरुत्व बलको परिकल्पनासम्म पुर्‍यायो । ग्यालिलियोले गरेको फरक तौलका गोलाकार वस्तु खसाल्ने परीक्षणले न्युटनलाई गुरुत्व बल मापन गर्ने सुत्रहरूको प्रतिपादनसम्म पुर्‍यायो । किनभने ती सबैको पछाडि थियो – कार्य–कारण सम्बन्धको खोजी । आखिर विज्ञान भनेकै त्यही हो ।

विज्ञानले हरेक कार्यव्यवहार (फेनोमेना)को नियम हुन्छ भन्ने विश्वास गर्छ । र, ती कारणहरूको खोजी गर्छ । विज्ञानको यात्रा दुईवटा विश्वासमा अडिएको छ– प्रकृतिका हरेक रहस्यको नियम छ । त्यो नियम आज नभए भोलि पत्ता लाग्छ, यदि वैज्ञानिक पद्दति पछ्याएमा । र, संसार परिवर्तनशील छ । कार्य–कारण सम्बन्धको खोजी नगरी कुनै पनि ज्ञान विज्ञान बन्दैन । जस्तै, कसैले बेसार खाँदा रोग–प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ भन्दैमा विज्ञानले विश्वास गर्दैन । विज्ञानले यो कथनलाई सुरुमै होइन भन्दैन । हो पनि भन्दैन । उसको यात्रा हुनसक्छ भन्नेबाट सुरु हुन्छ । र, उसले रोग–प्रतिरोधात्मक क्षमताको नियम खोजी गर्छ । त्यो नियममा बेसारको भूमिका के हुनसक्छ भनेर खोज्छ । विज्ञानको शब्दकोशमा अन्तिम सत्य केही पनि हुँदैन । हरेक सत्य प्रश्नभन्दा बाहिर पनि हुँदैन ।

सारमा, सन्देह–परिकल्पना–प्रयोग–पुनःप्रयोग–निष्कर्षको विधिबाट कार्य–कारण सम्बन्धको खोजी गरिने प्रक्रिया नै विज्ञान हो । यो प्रक्रियाबाट निसृत हुने ज्ञान वैज्ञानिक ज्ञान हो । त्यो वैज्ञानिक ज्ञानका आफ्नै केही आधारभूत विशेषता छन् ।

पहिलो, त्यो ज्ञान मानवीय ईच्छाबाट स्वतन्त्र हुन्छ । विज्ञानले पत्ता लगायो, पानीलाई तताउँदा बाफ बन्छ । पानीलाई तताएर बरफ बनाउँछु भन्ने ईच्छा राखेर बाह्र वर्ष तपस्या गरे पनि पानीको यो स्वभाव परिवर्तन हुँदैन । त्यो तताएपछि बाफ नै बन्छ ।

दोस्रो, त्यो ज्ञान प्रयोगबाट पुष्टि हुन्छ। पानीलाई जहिले तताए पनि बाफ नै बन्छ । पटक–पटक प्रयोग गरेर त्यसको सत्य जाँच्न सकिन्छ । जोसुकैले त्यो प्रयोग गरे पनि नतिजा एउटै हुन्छ ।

तेस्रो, त्यो ज्ञान विश्वव्यापी हुन्छ । नेपालमा तताए पनि अमेरिकामा तताए पनि पानी बाफ नै बन्छ।

चौथो हो, त्यो प्रक्षेपणीय हुन्छ । यो ज्ञान थाहा भएको मानिसले पानीलाई तताएपछि बाफ बन्छ भन्ने पहिले नै अनुमान गर्न सक्छ ।

ज्ञान निर्माण गर्ने यो वैज्ञानिक विधि र त्यसबाट निसृत विज्ञानले मानिसलाई आजको सुगम, सहज वर्तमानसम्म ल्याइपुर्‍याएको छ । मानिसलाई लाग्ने रोगका कारक जीवाणु हुन् भन्ने ज्ञानको विकासले उसलाई ती जीवाणु नष्ट गर्ने औषधि निर्माण गर्न सघाइदियो। कुनै पनि बाह्य तत्वको प्रवेश भएपछि त्यसको प्रतिक्रियास्वरुप रोग–प्रतिरोधात्मक प्रणालीले एन्टीबडी निर्माण गर्छ र त्यस्तै खालको बाह्य तत्व आउँदा कुन एन्टीबडी निर्माण गर्ने भन्ने सूचना स्मृतिमा राख्छ भन्ने नियमको जानकारीले मानिसलाई खोप निर्माण गर्न सक्षम बनाइदियो । भाइरस, ब्याक्टेरिया जस्ता जीवाणुको सतहमा हुने लिपिड (बोसो) साबुनमा घुल्छ र त्यसभित्र रहेको डिएनए वा आरएनए सतहमा आई सिंगो संरचना नै निस्क्रिय हुन्छ भन्ने जानकारीले साबुन–पानीले हात धुने उपाय सुझायो। र त विज्ञानले हाम्रो आयु बढाइदिएको छ । जीवन सम्भव बनाइदिएको छ ।

हो, विज्ञानको बाटो कष्टसाध्य छ किनभने यसले सधैँ शंका गर्छ । आफ्नै पूर्व उपलब्धिलाई पनि सन्देह गर्छ । हिजोका कमजोरी सहर्ष स्वीकार्छ र त्यसलाई सुधार्दै अघि बढ्छ । विज्ञानको यात्रा असिमित भर्‍याङ चढ्ने प्रक्रिया हो जहाँ हरेक युग एउटा सिंढीसम्म पुगिसकेको हुन्छ । र, जहाँबाट ऊ चढ्नुपर्ने अनगिन्ती सिंढी बाँकी नै रहेका हुन्छन् ।

यो लामो छलफलपछि कोभिड–१९ महामारीसँग सम्बन्धित दुई प्रश्नको जवाफ दिनैपर्छ ।

मेरा पठित मित्रहरू सामाजिक सञ्जालमा फलाना–ढिस्काना वैद्य, डाक्टरले यसो भने भन्दै नोबल कोरोना भाइरसको उपस्थितिमै सन्देह व्यक्त गर्छन् । के कुनै फलाना–ढिस्काना वैद्य, डाक्टर वा वैज्ञानिकले राखेका हरेक विचार विज्ञान हुन् त ?

अवश्य पनि होइनन् । माथि उल्लेख गरिएको प्रयोग र पुनः प्रयोगबाट पुष्टि भएका तथ्य मात्र वैज्ञानिक ज्ञान हुन् । वैज्ञानिक भन्ने पनि मानिस हो । उसमा पनि मानवीय सीमाहरू हुन सक्छन् । अरिस्टोटल र आइज्याक न्युटन दुवैले समय निरपेक्ष छ भन्ने ठान्थे । तर, उनीपछिका खोजहरूले त्यसलाई गलत सावित गरिदिए । त्यतिमात्र होइन, अल्बर्ट आइन्स्टाइन भन्दा अघिका वैज्ञानिकहरू यो ब्रह्माण्डका आकाशीय पिण्डहरू ईथरमा तैरिरहेको छ भन्ठान्थे । सन् १९०५ मा आइन्स्टाइनले प्रतिपादन गरेको ‘सापेक्षतावादको सिद्धान्त’ले ईथरको अस्तित्व नै नभएको पुष्टि गरिदियो (स्टेफन हकिङ, ब्रिफ हिस्ट्री अफ् टाइम)।

मेरा पठित मित्रहरूको प्रश्न हुनेगर्छ, यदि विज्ञान नै सबै प्रश्नको जवाफ हो भने उसले यो नोबल कोरोना भाइरसको महामारी अहिलेसम्म किन निमिट्यान्न पार्न सकेको छैन ? किन अहिलेसम्म खोपको आविष्कार गरेको छैन ?

यो प्रश्नले मलाई स्नातक तहमा पढ्दाका दिनमा फर्काउँछ । यस्तै प्रश्न सोधिएको थियो त्यतिबेला रसायनशास्त्रका हाम्रा प्राध्यापक डा. ध्रुवनारायण पाठकसँग । ‘विज्ञानको इतिहास र यसको यात्रा’ शीर्षकमा प्रवचन दिइरहेका डा. पाठकले भनेका थिए– ‘विज्ञानसँग प्रकृतिका सबै रहस्यको जवाफ आजै छैन । तर यसले हरेक रहस्यका जवाफ दिनेछ किनभने उसले हिँडेको बाटो ठीक छ ।’

विज्ञान हिँडेको बाटो कुन हो ? हामीले चर्चा गरिसक्यौं । अहिले पनि विज्ञान त्यहीँ बाटो हिँडिरहेको छ । कोभिड–१९ महामारीको यो समयमा पनि विज्ञानले त्यहीँ बाटो हिँडेको छ । तर, ज्ञानको खोज हठात् हुँदैन । नोबल कोरोना भाइरस (खास नामः सार्स–कोभ–२) को वास्तविक चरित्र, यसमा भएको उत्परिवर्तन र यससँग हाम्रो रोग प्रतिरोधात्मक प्रणालीले गरेको सामनाको अध्ययन गरेर नै संसारभर वैज्ञानिकहरू खोप लगाउन प्रयत्नरत छन् । र ती सफलताको नजिकै छन् । कोरोना भाइरस परिवारमा उत्परिवर्तन भएर नयाँ बनेको यो प्रजातिबारे सबै जानकारी पाइनसके पनि वैज्ञानिकहरूले यसको संक्रमणको विज्ञान भने बुझेका छन् । त्यसैले त मास्क लगाउने, हात धुने र भौतिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय सुझाएका हुन्।

पक्कै पनि, षड्यन्त्रको सिद्धान्तको आलोकमा बसेर तथ्यहीन आरोपहरू लगाउनुजस्तो सजिलो छैन विज्ञानको बाटो । विडम्बना पठित भनिएका मेरा केही मित्रहरू त्यो षड्यन्त्र सिद्धान्तमा विश्वास गर्छन् । ती मित्रहरू आफूलाई ‘क्रान्तिकारी’, ‘जानेबुझेको’, ‘विश्व साम्राज्यवादविरोधी’ ठान्छन् । तर, विज्ञानको साधारण नियम पनि पछ्याउन तयार हुँदैनन् ।

विसं. २०३० को दशकमा हैजाले आफ्नी प्रिय बहिनीलाई गाँज्दै गर्दा मेरा अजासँग वैज्ञानिक ज्ञान पुगेको थिएन । आजजस्तो विज्ञान सुगम भएको थिएन । र, उहाँले पश्चातापपूर्ण निश्वास बोकेर बाँच्नुपर्‍यो । तर, यो वैज्ञानिक युगमा पनि मेरा पठित मित्रहरूको दृष्टि ‘षड्यन्त्र सिद्धान्त’को बादलले ढाकिइरहन्छ भने भन्नैपर्छ– उनीहरूसँग मेरो अजासँग पश्चातापपूर्ण निश्वास सापटी माग्नुको विकल्प छैन ।

प्रकाशित : भाद्र १६, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा थप ७३ जनामा कोरोना संक्रमण

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मंगलबार ४३ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित हुनेमा बुटवल उपमहानगरपालीकाका ३१, तिलोत्तमा नगरपालिकाका २०, सिद्धार्थनगर नगरपालिकाका ५, देवदह नगरपालिकाका १, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ७४ पुगेको छ भने ४ सय ३५ जना निको भएका छन् । अहिले यहाँका आइसोलेसनमा ६ सय २९ जना उपचाररत रहेका छन् । रुपन्देहीमा कोरोनाका कारण हालसम्म १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र १६, २०७७ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×