१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जब कोदालो अड्क्यो...

डाँडाको टुप्पोमा पुग्यौँ । उसले भनेझैँ झार कम उम्रिएको चौर भेटियो । हामीले त्यहीँ खन्ने भयौं । ‘तिमी खन,’ म भन्छु । ऊ ‘बूढा मान्छे, मलाई त डर लाग्छ’ भन्छ । ट्राइपडमा राखिएको सोनी पीडी–१७० मोडलको क्यामरा अन गरियो । मैले कोदालो चलाएँ ।
श्रीभक्त खनाल

काठमाडौँ — आज बेपत्ता पार्ने कार्यविरुद्धको अन्तराष्ट्रिय दिवस । दस वर्ष चलेकाे युद्धले नेपालीलाई दुखी रहने घाउ दिएर गएको छ । यस अवधिका बेपत्ता पारिएकाका आफन्तहरु न्यायको खोजीमा भौंतारिइरहेका छन् । सांग्रिला बुक्सले बजारमा ल्याउने तयारी गरेको पत्रकार श्रीभक्त खनालको पुस्तक 'जोर बन्दुकको छाया' मा समेटिएको बेपत्ता पारिएका नागरिकका विषयमा गरिएको एउटा खोज :

जब कोदालो अड्क्यो...

‘अहिले म पश्चिम नेपालको एउटा जङ्गलमा छु । द्वन्द्वका बेला यो ठाउँमा तीनजनालाई माओवादी कार्यकर्ताको आरोपमा मारेर गाडिएको थियो । मारिएकामध्ये कोही पनि माओवादी कार्यकर्ता थिएनन् । प्रमाण नष्ट हुने डरले यो कुन ठाउँ हो ? म बताउन चाहन्नँ । जतिबेला राज्यले छानबिन आयोग बनाउला र तेरो सहयोग चाहियो भन्ला, त्यतिबेला म यसबारे सम्बन्धित ठाउँमा बयान दिनेछु ।’

माथिको संवाद सन् २००७ मा निर्मित ‘वार टू पिस : माओइस्ट इन्सरजेन्सी इन नेपाल’ डकुमेन्ट्रीबाट साभार गरेको हुँ । आवाज मेरै हो र डकुमेन्ट्री पनि आफैंले निर्देशन गरेको थिएँ । माथि नै भनेँ, सबै कुरा अहिले खुलाउन मिल्दैन । मैले ठाउँ उल्लेख गर्ने, दोषीमाथि कारबाही नहुने र घटनास्थलबाट प्रमाण नष्ट भयो भने त्यसको जिम्मेवारी कसले लिने ?

डकुमेन्ट्री बनाउँदा सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको थिएन । पछि बन्यो । आयोगमा मृतकका परिवारको उजुरी देखियो ।

डिसेम्बर २००६ तिरको कुरा । सशस्त्र द्वन्द्वको डकुमेन्ट्री बनाउनु केही वर्षअघि पश्चिम नेपालमा तीनजनालाई माओवादी आरोपमा मारेर गाडियो भन्ने सुनेको थिएँ । त्यसलाई डकुमेन्ट्रीमा समावेश गर्ने विचारले घटनास्थल खोज्न लागें । जुन जिल्लाको घटना थियो, ती जिल्लाका विभिन्न पार्टीका नेतालाई सम्पर्क गरें । उनीहरू सबै काठमाडौंमा थिए । एक पार्टी नेताले जिल्लामा गएर सोध्नुस् भने । जिल्ला नेतृत्वले घटना भएको तर घटनास्थलबारे थाहा नभएको बतायो ।

प्रहरी, सशस्त्र र सेनाका केही राम्रा अधिकृत मेरो सम्पर्कमा थिए । राम्रा के कारण भने उनीहरू सही–गलत छुट्याउँथे । तर, द्वन्द्वकालीन अवस्था भएकाले बोल्दैनथे अर्थात् बोल्नका लागि एक प्रकारले अघोषित प्रतिबन्धजस्तै थियो । कुरै कुरामा एक दिन एक अधिकारीले भने, ‘हाम्रा हाकिमले त्यसो गर्न नहुने हो ।’ यही सानो ‘क्लु’ बाट घटना थाहा पाएँ । यसबारे अहिले योभन्दा बढी नलेखौं होला ।

घटना भएको जिल्लाका चल्तापुर्जा मान्छेलाई सम्पर्क गरेपछि उनीहरूलाई गाडिएको जङ्गलको नाम जानकारीमा आयो । घना जङ्गलमा कहाँ गएर खोज्ने ? तैपनि प्रयास जारी नै राखें । जङ्गलको आसपास बस्ती भए कसै न कसैले त देखेका होलान्, घटना सुनेका होलान् वा कसैले घटनास्थल पनि देखेका होलान् । यही विश्वासमा मैले घटनास्थल जाने निधो गरेँ ।

खुल्दुली लाग्यो, गाडिएकै होलान् कि हल्ला मात्र ? घटनास्थल पुग्ने निर्णय त गरें तर प्रस्ट सूचनाको अभावमा केही दिन अलमलिएँ । जिल्ला र जङ्गलको नाउँ थाहा भयो तर जङ्गलको कतातिर भन्नेमा अझै थाहा हुन सकेन । ठूलो जङ्गलमा कहाँ गएर खोज्ने ? सम्भव पनि हुँदैन ।

क्यामराम्यान र म कुनै प्रस्थान विन्दुबाट जनही १५ हजारजति गाडी भाडा खर्च गरेर गन्तव्यसम्म पुग्यौं । कच्ची सडक धेरै भएकाले भाडा पनि महँगो लाग्यो । एउटा बस र दुई जिप फेरेर हामी त्यहाँ पुग्यौं । रातको १० बजे हिलाम्मे जिपबाट ओर्लंदा हामी ब्रोइलर कुखुराजस्ता श्वास मात्र भएका प्राणी भएका थियौं । भोक र थकाईले गालेको थियो । एउटा सवारी साधन छाडेर अर्को समात्दा हामीसँग खाजा खाने समय भएन । बिहानदेखि मुखमा अन्नको गेडो परेको थिएन ।

स्थानीय एक घरमा बासका लागि ढोका ढकढक्यायौँ । बिजुली बत्ती नभएको ठाउँमा चाँडै भात खाएर सुत्ने चलन हुन्छ । त्यसै त जाडोको बेला चाँडै रात पर्ने । १० बजे पनि मध्यरात जस्तो । जसरी पनि बास दिन र खाना बनाइदिन अनुरोध गरियो । त्यहाँ बास नदिए अन्यत्र जानुपर्ने हुन्थ्यो । रातको बेला घरघरै कता चाहार्दै हिँड्ने ?

घरधनीले भुटेका मकै र माछाको सुकुटी बनाइदिए । भोकको झोंकमा निकै खाइएछ । अपचका कारण राति नै उल्टी गरें ।

बिहान ५ बजेतिर बिउँझिएँ । टुकीको उज्यालोमा एउटा केटो गुन्द्रीभरि किताब पसारेर बसेको छ । यति धेरै हाई काढ्यो कि उसले अभिभावकलाई देखाउन मात्र किताब पसारो पारेको रहेछ, पढ्नमा रुचि छैन । ऊ माध्यमिक तहको विद्यार्थी रहेछ । छर्लङ्ग उज्यालो भएपछि पैसा दिन घरधनी खोज्दा कोही भेटिएनन् । सायद कुनै काममा कतै लागेका हुँदा हुन् । केटोलाई हामीले आफ्नो योजना सुनायौँ र सोध्यौँ, त्यस घटनाबारे केही थाहा छ ?

मैले यसअघि अरु नै जिल्लामा खिचेका केही कच्चा दृश्य पनि उसलाई देखाएँ । दृश्य उसले चाख मानेर हेर्‍यो । पहिले नै नाम बताएका कारण ऊ बोल्न सक्छ भन्ने थाहा भयो तर त्यसपछि केही बोलेन ।

उसको मौनता उदेकलाग्दो थियो । रुचिपूर्वक सुन्छ, बोल्दैन । घटनाबारे केही सुनेको भए बताइदिन र बताइदिएबापत पारिश्रमिक दिने बताएँ । तिम्रो नाम कतै आउँदैन, केही सुनेको भए बताइदेऊ भनेर निकै बिन्ती बिसाएँ । ऊ किन मौन बस्यो भनेर मेरो खुल्दुली बढ्यो । पारिश्रमिकको कुरा फेरि बताउँदै र फकाउँदै सोधेँ–

सुन्या छौ त केही ?

– टेस्टै त भन्न परो केरे ।

के भा’थ्यो त्यतिखेर ? जङ्गलमा मारिएका हुन् ?

– टेस्टै होला के रे ।

तिमीलाई जङ्गलको कुन ठाउँ हो, ठ्याक्कै ठाउँ थाहा छ ?

– नाइँ । सिडा माठि गए पुगिएला के रे ।

कसरी जान सकिन्छ त्यता ? बाटो छ ? कति समय लाग्छ ?

– माठि जङ्गलतिर जाने । टेटाटी (त्यताबाट) बाटो बनाम्डै जाने हो के रे ।

मान्छेलाई त्यतै गाडिएको भन्थे हो ?

–होला ट के रे ।

ऊबाट थप कुरा आउन सक्ने देखियो । कुरालाई सहज बनाउन खोजेँ । सोधेँ,

माथि पुगेपछि कता लाग्ने त हामी ?

– ट्यै चौरमा हो भन्छ ।

लवजको हिसाबले ठिटो मगर समुदायको कि जस्तो लाग्छ । हामीले सही ठाउँ, सही घर र सही मानिस भेटेका रै’छौ । लाग्थ्यो, ऊ डरले भन्दा पनि आफ्नै स्वभावका कारण बताउन खोजिरहेको छैन । कसै कसैमा यस्तो बानी भेटिन्छ । अब यकिन भयो, घटनास्थल डाँडोका टुप्पोमा रहेको चौरमा छ ।

क्यामराम्यान भन्छ, ‘तपार्इं र भाइ गफ गर्दै गर्नू । म गएर आउँछु ।’ क्यामराम्यान डाँडामा कोदालो लिएर जाने भयो । कोदालोबारे केटोले भन्यो, ‘पखालेर जाँ’को टेइ राखिदिनू ।’ केटो र कोदालो दुवैको मूल्य तिरेर क्यामराम्यान डाँडातिर उक्लियो । म ऊसँग जाने थिएँ तर उँधोउँभोको बिरामी भएकाले सकिनँ । खाना धेरै खाएको वाक्कब्याक्क गर्नेलाई बिरामी नै त के भनुँ ? जेहोस्, म जान सकिनँ ।

तीन घन्टापछि क्यामराम्यान आइपुग्यो । सुनायो, ‘माथि चौर रै’छ । एक ठाउँमा झार कम उम्रेको छ ।’ अनि हामी दुई कोदालो बोकेर त्यता लागियो ।

क्यामराम्यानको उमेर २० हाराहारी छ । घरको आर्थिक कारणले बीचमै पढाइ रोकेर यो पेसामा लागेको रे । किताबी पढाइमा रुचि पनि छैन तर बडो ठूलो हास्यचेत भएको ठिटो छ । पढाइलाई निरन्तरता दिन पनि खोजेको तर किताब फुकाएपछि अक्षरले दोहारी गाउने, नाच्ने गर्न थाले, सकिन भन्यो । हामी खुब हाँस्यौं ।

पहिलो पटक फिल्डमा हिँडेको थियो । तर, ऊ धेरै कुरा जान्न उत्सुक थियो । ऊ सिकारु थियो तर काममा व्यावसायिकता देखाउँथ्यो । मैले लिनुको कारण चाहिँ अरुको भन्दा पारिश्रमिक सस्तो पर्थ्यो ।

डाँडाको टुप्पोमा पुग्यौँ । उसले भनेझैँ झार कम उम्रिएको चौर भेटियो । हामीले त्यहीँ खन्ने भयौं । ‘तिमी खन,’ म भन्छु । ऊ ‘बूढा मान्छे, मलाई त डर लाग्छ’ भन्छ । ट्राइपडमा राखिएको सोनी पीडी–१७० मोडलको क्यामरा अन गरियो । मैले कोदालो चलाएँ । करिब १० मिनेट खिचेपछि कोदालो अड्कियो । बिस्तारै खोतलेर हेरेँ । एउटा हड्डी र खैरो कलरको ज्याकेटको बाहुलाको टुप्पो देखियो । त्यो हड्डी नाडीको थियो भन्नेमा कुनै शङ्का थिएन । माटो हालेर खनिएको भाग जस्ताको जस्तै बनाइयो ।

मृतक, तिनका आफन्त र कानुनसँग क्षमा माग्दै के भन्नुपर्छ भने मैले जे गरेको थिएँ, त्यो कार्य राम्रो थिएन । मेरो व्यावसायिकताले पनि त्यसो गर्न पटक्कै दिँदैनथ्यो । उसो भए मैले जानीबुझीकन किन त्यसो गरेँ त ?

द्वन्द्वकालमा जति समाचार सुनिन्थ्यो, कतिपय अवस्थामा तिनलाई पुष्टि गर्न निकै गाह्रो । मैले माथि नै उल्लेख गरेँ, सुरक्षा अधिकारीबाट सुनेको त्यो समाचार सत्य थियो कि थिएन ? यसलाई म पुष्टि गर्न चाहन्थेँ, जुन पुष्टि भयो । आफन्तले थाहै नपाई अरु मानिस पनि पो यसरी गाडिएका छन् कि ? यो पनि थाहा हुन आयो कि मृतकहरूको घर र घटनास्थलको दूरी निकै टाढा रहेछ । घरपरिवारलाई घटनास्थलबारे थाहा नभए उनीहरूलाई जानकारी दिन हाम्रो कार्यले सहयोग नै पुग्ला । पक्राउ गरी गोली हानेर मारिएका व्यक्तिलाई कसले पक्राउ गर्‍यो ? कसरी उनीहरूलाई त्यहाँ पुर्‍याइयो र कुन प्रकारले उनीहरूको हत्या गरियो भन्ने कुरा पनि जानकारी भएको छ । कुनै दिन राज्यलाई सहयोग चाहिएको खण्डमा मैले सकेको गर्नेछु ।

बाँकी रह्यो, प्रमाण नष्ट होला भन्ने डर । मैले गरेको शव उत्खननले प्रमाण नष्ट गर्न नभई जोगाउन मद्दत पुर्‍याउँछ किनभने यी सबैको भिडियो खिचिएको छ । थोरै खनेर जस्ताको तस्तै पुरियो । विधिविज्ञान अनुसन्धान गरिने भयो भने पनि उत्खननले कुनै असर पुर्‍याउँदैन ।

सुनेको कुराको पुष्टि र उत्सुकता मेटाउन मैले जे गरेँ, त्यसबाट चोट पुग्न गएका सबैसँग म पुनः एकपटक क्षमा माग्छु । मृतकलाई श्रद्धाञ्जलि, परिवारलाई समवेदना ।

घटनास्थल छाडेको दोस्रो दिन हामी आआफ्ना घर पुग्यौं ।

‍‍....

सुन्दा कथा जस्तो लाग्ने यो घटना मैले थाहा पाएसम्म समाचार बनेर कतै आएको छैन । नेपाली पत्रपत्रिकाका समाचार कतिपय अवस्थामा शङ्कामा घेरामा पर्छन्, विश्वसनीयताको कमीले । गैरजिम्मेवार मान्छे जब व्यावसायिक पत्रकारिताको खोल ओढेर आउँछ, तब सदैव विश्वासको खडेरी पर्छ । पाठकलाई सन्देह नहोस्, भनेर घटनासम्बन्धी फोटो राखिएको छ । यसलाई पाठकले घटनाको लालपुर्जा, प्रमाणपत्र, नाता, डीएनए, साक्षी जे भने पनि त्यो मलाई मञ्जुर छ ।

घटनास्थलबाट प्रमाण चोरिनु, नष्ट हुनु कुनै नौला कुरा होइनन् । 'हिमाल खबरपत्रिका'को १३–१९ अगस्ट २०१७ को अङ्कमा प्रकाश सिंहले 'दराजमा खप्पर' शीर्षकमा लेखे–

नेकपा (एमाले) बाजुरा जिल्ला कार्यालयको दराजमा रहेको मानव खप्परले न्याय पर्खेको ११ वर्ष भयो । एमालेको ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’ का क्रममा सदरमुकाम मार्तडीबाट गाउँ हिँडेका पार्टीका तत्कालीन बाजुरा जिल्ला उपसचिव ताराचन्द्र रेग्मी ६ मार्च २००४ मा कुल्देवमाण्डौको मौरे पुगेका थिए । त्यहीँबाट नियन्त्रणमा लिएर लगेका तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले उनलाई ‘सफाया गरेको’ विज्ञप्ति एक महिनापछि जारी गरे ।

कोल्टी, बाजुराका रेग्मीलाई माओवादीले चन्दा नदिएको, कोल्टीमा सेना राखेको लगायतका आरोप लगाएका थिए । सन् २००१ तिरबाट कोल्टी क्षेत्रमा प्रभाव जमाउन थालेको माओवादीले उनीसँग रु. ३० लाख चन्दा मागेको थियो । माओवादी कार्यकर्ताले रेग्मीलाई नभेटेपछि उनकी श्रीमती शान्ता रेग्मीलाई निर्घात कुटपिट गरेका थिए ।

ताराचन्द्र रेग्मीकी श्रीमती शान्ता रेग्मीका अनुसार जुन २००१ मा रोपाइँको दिन ‘तेरो श्रीमान् कहाँ छ’ भन्दै खेतमै आएका माओवादीले उनलाई पिटेर बेहोस पारे । उपचारका लागि नेपालगन्जदेखि काठमाडौँसम्म धाउनुपर्‍यो । पिठ्यूँमा कुटाइको खत अझै हराएको छैन ।

हत्याको तीन वर्षपछि एमालेका बाजुरा सचिव कर्णबहादुर थापा (हाल पोलिटब्युरो सदस्य) को अगुवाइमा रेग्मीको शव उत्खनन गरिएको थियो । थापाका अनुसार, बाजुराको छतारासँग जोडिएको अछामको ऋषिदहमा नियन्त्रणमा राखिएका रेग्मीलाई हत्या गरेर खाल्डोमा पुरिएको थियो ।

स्थानीय एक वृद्धले देखाएको खाल्डो खोतल्दा अस्थिपञ्जरसँगै ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’ को ब्यानर भेटिएपछि शव उनकै हो भन्ने विश्वास गरिएको उनले बताए । थापा भन्छन्, ‘पछि न्याय खोज्दा प्रमाण हुन्छ भनेर शव उत्खनन गरी खप्पर पार्टी कार्यालयमा ल्याएर राखेका हौँ ।’

एमालेको बाजुरा सचिव रहेका रेग्मीका भाइ बलदेव यही खप्परलाई प्रमाण मानेर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरिएको बताउँछन् । एमाओवादीका नेता–कार्यकर्ता भने द्वन्द्वकालका घटनालाई यतिबेला उचाल्न नहुने बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा माओवादी केन्द्रका एकजना जिल्ला नेताले रेग्मीको सफाया पार्टीकै निर्देशनमा भएकोसम्म बताए ।

२० वर्षअघि सन् १९९७ को स्थानीय निकाय निर्वाचनमा ताराचन्द्र रेग्मी कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनकी छोरी सृष्टि अहिले एमालेका तर्फबाट बूढीनन्दा नगरपालिका बाजुराको उपमेयरमा निर्वाचित भएकी छन् ।

सृष्टिलाई मैले सम्पर्क गर्दा उनी पोखरा विश्वविद्यालयमा मास्टर्स तहको प्रवेश परीक्षाको तयारी गर्दै थिइन् । १ डिसेम्बर २०१७ मा लिइएको यो अन्तर्वार्ता एमाले र माओवादी केन्द्र एकता हुनुअघिको हो ।

सृष्टिजी तपाईंको पिताको हत्या जुन पार्टीबाट भयो, अहिले तपाईंको पार्टीले त्यही पार्टीसँग चुनावी गठबन्धन गरेको छ । कस्तो लाग्यो राजनीति ?

वातावरण राम्रो बन्दै गएको छ । शान्ति र स्थिरताका लागि पार्टीहरू एकजुट भएर अघि बढ्नु अहिलेको आवश्यकता हो । राष्ट्रको माग पनि यही हो ।

उसो भए तपाईंको परिवार अभियुुुुुुक्तलाई क्षमा दिन तयार छ ?

होइन । मेरो बुबाको हत्यामा माओवादी पार्टीको भन्दा पनि व्यक्तिगत रिसइबी छ कि भन्ने लाग्छ । त्यो बेला युद्धविराम भएको थियो । बुबा निरस्त्र हुनुहुन्थ्यो । बुबाको अपहरणपछि हत्या भएको छ । घटनाको प्रकृति हेरेर क्षमा दिने र लिने हुन सक्छ । मेलमिलाप गर्नै हुँदैन भन्ने पक्षमा म छैन ।

तपाईंले रिसइबीको सङ्केत फेला पार्नुभएको छ ?

यो मेरो अनुमान हो । कुनै कारण नहुँदा पनि कोही मारिन्छ भने त्यो राजनीतिकभन्दा पनि आपराधिक घटना हो । मलाई लाग्छ, माओवादी युद्धको माग पनि त्यो थिएन ।

तपाईंले पार्टी कार्यालयमा रहेको खप्पर देख्नुभएकै होला । त्यो हेर्दा के लाग्छ तपाईंलाई ?

देखेको छु । छोएको छैन । (लामो समयको मौनतापछि उनले मधुरो स्वरमा भनिन्) मेरो बुबाको हत्याका अभियुक्तलाई क्षमा दिन सकिँदैन । योजना बनाएर मान्छे मारिएको छ । हामीलाई न्याय चाहिन्छ ।

आशावादी हुनुहुन्छ ?

आशावादी हुनुपर्‍यो । यति बेलासम्म हामीले न्याय पाइसक्नु पर्थ्यो । सत्य निरुपण आयोग बनेको छ । अब त्यसले अघि बढाउँला कारबाही ।

घटनामा किटानी पनि गरिएको छ कि ?

हजुर । हामीले कालीकोटका दानबहादुर सहकारी (हितमान), नवीन विक (क्षितिज), बाजुराका कर्णबहादुर विक (केशव), पदमबहादुर भण्डारी (पवन), नरेन्द्र पाध्याय (क्रान्ति), ऐनबहादुर सार्की (अरविन्द), गणबहादुर गिरीमाथि किटानी जाहेरी दिएका छौँ । कर्णबहादुर विक अहिले माओवादीबाट बिना विभागीय मन्त्री हुनुहुन्छ भने भने पदमबहादुर भण्डारी काङ्ग्रेस प्रवेश गर्नुभएको छ । उहाँ हाल पाण्डवगुफा गाउँपालिका वडा नं ४ को अध्यक्ष हुनुहुन्छ । (नोट : कालीकोटका बोगटीहरूले सहकारी पनि थरका रूपमा लेख्ने गर्छन् ।)

एमाले र माओवादीको गठबन्धनले तपाईंको परिवारले न्याय पाउने कुरामा प्रभाव पार्ला कि नपार्ला ?

अँ...।

धेरै सोच्नुभयो नि ?

यसलाई माओवादी नेतृत्वले कसरी लिन्छ ? यसमा भर पर्छ । माओवादी नेतृत्वको जोड कारबाहीभन्दा पनि मेलमिलापमा छ । अप्ठ्यारो पक्कै छ । अभियोग लागेकाहरूको उच्च राजनीतिक पहुँच छ । कति सेना समायोजनमा पनि गएका छन् । हिजोसम्म हामीले आफ्नै नेता (एमाले) लाई झकझक्याइरहने स्थिति थियो । अब त्यो सम्भावना पनि कम छ । एमालेको नेतृत्व तह पनि लचिलो हुन सक्छ । म आफैँ पनि एमालेको राजनीतिमा छु । जिम्मेवारीबाट भाग्ने र एकले अर्कोलाई दोष लगाएर प्रक्रिया लम्ब्याउन सक्छन् । सहज पक्कै छैन ।

न्याय नपाए के गर्नुहुन्छ ?

सत्य निरुपण आयोगले के गर्छ, त्यो हेर्छौं । नभए हामी अदालत जान्छौं । अन्तर्राष्ट्रिय प्रक्रिया हुन्छ कि हुँदैन, त्यो बुझ्छौं । न्याय पाउने कुरामा हाम्रो परिवार लचिलो हुँदैन । मेरो राजनीति बुबाको आत्माले न्याय पाउने कुरामा बाधक बन्दैन ।

...

बिना विभागीय मन्त्री कर्णबहादुर विक (केशव) सँग २३ डिसेम्बर २०१७ का दिन सम्पर्क गरें । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल थिए । उनले को बोलेको ? कहाँबाट सम्पर्क गरेको ? नम्बर कहाँबाट पाउनुभयो आदि जिज्ञासा राखे । मैले उत्तर दिएँ । बाँकी कुरा उनकै शब्दमा–

हिजो एकातिर राज्य र अर्कातिर विद्रोहीको सङ्घर्ष थियो । त्यो सङ्घर्षका बेला हरेकखालका कारबाही त भए नै । ती कारबाहीहरूलाई राज्यले स्वीकार गरेर १२ बुँदे समझदारी हुँदै संविधानसभा चुनावसम्म आयो । द्वन्द्वकालीन मुद्दालाई सत्य निरुपण आयोगमार्फत समाधान गर्ने भनेर समझदारी गरिसकेपछि फेरि पुराना कुरालाई अनेक तरहबाट निकाल्नु राम्रो होइन ।

तपाईंले ताराचन्द्र रेग्मीको कुरा उठाउनुभयो, ममाथिको आरोप गलत हो । अभियोगका आधार छन् भने कुरा जति पनि गर्न मिल्छ तर यो कुरामा मेरो संलग्नताको आधार छैन । संलग्न हो कि होइन ? आरोपित व्यक्ति घटनाको बेला कहाँ थियो भन्ने कुरा पनि होला । हिजो विभिन्न खालका कारबाही भए । त्यसमा व्यक्तिको संलग्नताको कुरा रहेन । पार्टीगत रूपमा गरिएको हो कि होइन भन्ने कुरा हुन्छ । पार्टीले गरेका कारबाही व्यक्तिगत रिसइबीबाट नभई संस्थागत रूपमा गरिएको हो । संस्थागत रूपमा गरिएको कामको जिम्मवारी पनि पार्टीले नै लिन्छ । सत्य निरुपण आयोगको काम पनि मेलमिलापको वातावरण तयार पार्ने हो । त्यतिबेलाका कुरा यसैले हेर्छ । द्वन्द्व फेरि नफैलियोस् भनेर समाधान गर्ने पनि यसैको जिम्मा हो । मेराबारे मानिसले जे आरोप लगाएका छन्, जो बोलेका छन्, त्यसले समाजमा झन् द्वन्द्व भड्काउने काम गर्छ ।

अर्को घटना

उत्तरी लमजुङको सिम्पानी गाविस वडा नं ५ स्थित पामचोकमा माओवादीका दुई कार्यकर्ताको कङ्काल चोरिएको घटनालाई पनि हामीले भुल्न मिल्दैन । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको प्रतिवेदन अनुसार १४ नोभेम्बर २००४ मा चन्द्रेश्वर गाविस वडा नं ३ की रीना अधिकारी र सल्यान जिल्ला कालागाउँ वडा नं ६ की जीतकुमारी पुन मगरको हत्या भएको थियो । सेनाले घेराबन्दी गरेर हत्या गरेपछि उनीहरूलाई घटनास्थल नजिकै गाडिएको थियो । गाडिएको छ वर्षपछि अर्थात् २६ डिसेम्बर २०१० राती उनीहरूको कङ्काल चोरिएको पाइयो ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराका ज्योति घिमिरे र इन्सेक लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारीले घटनास्थलको अनुगमन गरेका थिए । हाल रेडियो चौतारीको स्टेसन म्यानेजर रहेका कृष्णप्रसाद अधिकारीले उतिबेलाको प्रसङ्ग सम्झँदै भने, ‘हामी अरु नै घटनाको अनुसन्धान गर्न त्यहाँ गएका थियौँ । शव चोरिएको भन्ने जानकारी आएपछि अनुगमन गर्‍यौँ । तर, थप केही जानकारी पाउन सकिएन ।’

मैले जिज्ञासा राखेँ– के हुन सक्थ्यो त त्यो घटना ?

अधिकारी : माओवादीले सेनालाई र सेनाले माओवादीलाई आरोप लगाउने काम मात्र भयो । केही सुराक मिलेन ।

सिम्पानीको घटना रहस्यमै रह्यो ।

(सांग्रिला बुक्सबाट प्रकाशनमा आउन लागेको खनालको पुस्तक 'जोर बन्दुकको छाया' बाट ।)

प्रकाशित : भाद्र १४, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?