कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोज्दाखोज्दै थाकिसके बेपत्ताका आफन्त

घनश्याम खड्का

काठमाडौँ — संकटकालको बेला थियो । धादिङको केवलपुरमा कल्पना श्रेष्ठ नाम गरेकी एक युवतीलाई सेनाले लखेटी–लखेटी मारे । 

खोज्दाखोज्दै थाकिसके बेपत्ताका आफन्त

‘त्यसको दुई तीन दिनपछि तीनजना मानिस हाम्रो घरमा आए,’ घटनास्थल नजिकै घर भएका परशुराम कोइराला २०६० पुस २८ गतेको पीडादायी रातलाई सम्झन्छन्, ‘रातिको साढे नौ बजेको हुँदो हो, हामी सुतिसकेका थियौं, कल्पनाको हत्यामा मेरी पत्नी गोमाको सुराकीले काम गरेको भन्ने उनीहरुलाई लागेको रहेछ ।’

चिनजानकै दुई युवा र एक युवतीको त्यो समूहले परशुराम पत्नीलाई ‘एकै छिनको काम हो’ भनेर लगे । म्याक्सी लगाएकी र छिसमिसे बर्को ओढेकी ३७ वर्षीया गोमालाई पुसको त्यो ठण्डीमा उनीहरुले जंगलतिर लगेपछि परशुरामको निधारभरी पसिना छुटेको थियो ।

‘केहीबेरमै फर्काइदिन्छु भनेका उनीहरुले अहिलेसम्म बेपत्तै पारिरहेका छन्,’ पर्शुराम भन्छन्, ‘खोजी पाऊँ भनेर आकाश पाताल गुहारिसकेँ, तर कहीं केही टुंगो छैन ।’

खोती किसानीमा रमाएका कोइराला परिवारलाई पुसको त्यस रातले भताभुंग पारेर गयो । आमा गुमाएका बालखा छोराछोरीको आँसु र घरको एक्लोपनले परशुराम विरक्तिए । त्यसमाथि लगत्तै उनको घरमा आगो लगाइयो ।

‘म सबै हिसाबले लुटिएँ,’ उनी भन्छन्, ‘तर न्याय कतै पाइनँ ।’

हाल सेक्युरेटी कम्पनीमा काम गरेर गुजारा चलाउँदै आएका उनी कोरोना संक्रमणमा परेपछि हलचोकस्थित शसस्त्र प्रहरीको अस्पतालमा उपचाररत छन् । अस्पतालको आइसोलेसन वार्डमा एक्लै बसिरहेका बेला आफूलाई बेपत्ता पत्नीको यादले खुबै सताएको उनी बताउँछन् ।

‘ऊ भएकी भए अहिले परिवार सम्हालिरहेकी हुन्थी, म ढुक्कले काम गर्न पाउँथे,’ उनी भन्छन्, ‘आफ्नै संसारमा रमाइरहेका हामीमाथि भएको यो अत्याचारको परवाहसम्म पनि कसैलाई नभएको देख्दा साह्रै दुःख लाग्छ ।’

कोइरालाले मानवअधिकार आयोगदेखि बेपत्ता छानबिन आयोगसम्ममा उजुरी हालेका छन्, पत्नीको कि सास चाहियो कि लास चाहियो भनेर । तर, कहींबाट पनि उनलाई जवाफ मिलेको छैन ।

बेपत्ता आयोगमा परेको उजुरीका अनुसार जहान बेपत्ता हुँदा कोइरालाकोजस्तै दुःख व्यहोर्नेहरुको संख्या ३ हजारभन्दा बढी छ । उनीहरु सबको माग एउटै छ, ‘हाम्रा मान्छे कहाँ छन् ?’

राष्ट्रिय अन्तराष्ट्रि सबै निकायमा धाउँदा–धाउँदा उनीहरु आजित भइसके । र पनि, आफन्तको बारेमा जानकारी पाउने उनीहरुको ईच्छा हराएको भने छैन ।

‘हाम्रा मानिस किन र कसरी बेपत्ता पार्ने काम भयो भन्ने कुराको जवाफ हामीलाई चाहिन्छ,’ सेनाले २०६० कात्तिक २ गते सेनाद्वारा बेपत्ता बनाइएका मोरङ रतुवामाइका टंक तामाङकी पत्नी लिलादेवि भन्छिन्, ‘राज्यले कि हामीलाई सास देओस्, कि लास देओस् । केही भएको छैन जसरी चुप लागेर बस्न मिल्दैन ।’

घरनजिकैको चोकमा पोसाकमा आएको सैनिकले पति बेपत्ता बनाएपछि कलिला दुई छोरी र एक छोरालाई जेनतेन हुर्काए पनि गतिलो गरी पढाउन नसकेकामा लिलादेविलाई साह्रै दुःख लाग्छ ।

‘बेला बेलामा बाबा भएको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भनेर छोराछोरीले गफ गर्दा मनै थाम्न सक्दिनँ,’ उनी भन्छिन्, ‘पढाइ छाडेर ससानो जागिर गरिरहेका छोराछोरी कोरोना फैलिएदेखि घरैमा छन्, आम्दानीको सबै बाटो सुक्यो, अब झन् कसरी अघि बढ्ने होला ?’

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस मनाउन भनेर उनी लकडाउनकै बीचमा पनि रतुवामाइदेखि विराटनगर अस्पताल आइपुगेर आफूजस्तै अरु पीडितहरुसँग मिली आइतबार दिउँसो मैन बत्ती बाली बेपत्ता पतिको सम्झना गर्दै राज्यसँग मौन भाखामा न्याय माग गरिन् ।

‘हामी पीडितहरु त्यसै पनि अन्यायको दुःखमा थियौं, यो संकटले झनै दुःख थपिदिएको छ,’ उनी भन्छिन्, ‘हामी कहिलेसम्म यसरी अन्यौलमा बसिरहने ? कहिलेसम्म हामीले हाम्रा मान्छेलाई पर्खिरहने ?’

कोभिड–१९ को महामारीले संक्रमणकालीन न्यायलाई झन् पछि धकेल्ने जोखिम देखिएको भन्दै द्वन्द्व पीडितहरुले आफ्ना मागप्रति सरकारलाई गम्भीर भइदिन आग्रह गरेका छन् ।

बेपत्ता पार्ने कार्यविरुद्धको दिवसको सन्दर्भ पार्दै आइतबार पीडित तथा अधिकारवादी ४८ वटा संगठनहरुले सर्वोच्च अदालको आदेशअनुसार ऐन संसोधन गरी संक्रमणकालीन न्यायिक पक्रियालाई अन्तराष्ट्रिय न्यायको मापदण्ड अनुसार अगाडि बढाउन संयुक्त आह्वान गरेका छन् । दिवसको पूर्वसन्ध्यामा पीडितहरुको ४० वटा संगठनले पनि राज्यका विभिन्न निकायदेखि मानवअधिकारका अन्तराष्ट्रिय निकायलाई समेत पत्राचार गर्दै न्याय पाउनुपर्ने आफ्नो माग पूरा गर्ने काममा सघाउन अपिले गरेका छन् ।

‘देशमा शान्ति स्थापना भएको ढेढ दशक बित्न लागिसक्दा पनि हामी पीडितहरुको न्याय पाउने हक प्राप्त भएको छैन,’ द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘सरकार यसरी पन्छिरहन पाउँदैन, हाम्रो सनुवाइ हुनै पर्छ ।’

प्रकाशित : भाद्र १४, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?