कोरोना संक्रमित सांसद भन्छन्- सरकारको प्रयास पुगेन, जनताले आफ्नो रक्षा आफैं गर्नुपर्छ

जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि पर्याप्त समय पाउँदा पनि सरकारले तयारी नगर्दा मुलुकमा दिनदिनै संक्रमण फैलिइरहेको यसबाट संक्रमित सांसदहरूले बताएका छन् । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संघीय सांसदहरूले सरकारी प्रयास पर्याप्त नभएकाले कोरोनाविरुद्ध जनता आफैं सजग हुनुपर्ने बताएका छन् । 

कोरोना संक्रमित सांसद भन्छन्- सरकारको प्रयास पुगेन, जनताले आफ्नो रक्षा आफैं गर्नुपर्छ

साउन ३० गते कोरोना पुष्टि भएका जनता समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले कोरोनाविरुद्ध सरकारको दूरगामी सोच र योजना केही नदेखिँदा अहिले दिनदिनै मान्छे मर्ने र संक्रमित हुनेको संख्या बढ्दै गएको बताएका छन् ।

जनकपुरस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेका प्रतिनिधिसभा सदस्य यादवले भने, 'सरकारले गरेको प्रयास पर्याप्त छैन । सुरुमा नै पूर्वतयारी केही पनि गरेन । हात बाँधेर बसिरह्यो । 'यो सामान्य हो हाच्छ्यूँ गरेर ठिक हुन्छ' भनियो । काम गर्ने महिनौंको समय सरकारले त्यसै खेर फाल्यो ।' कोरोना भाइरसले विश्वका ठूल्ठूला मुलुकमा महामारीको रुप लिइरहेका बेला नेपालको जिम्मेवार राजनीतिक नेतृत्व भने अनावश्यक अभिव्यक्ति दिनमै व्यस्त रहेकाले अहिलेको अवस्था आएको उनको भनाइ थियो ।

'स्वास्थ्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मका अभिव्यक्तिले यसको प्रतिरोध गर्न कुनै चासो नदेखाएको देखिन्छ । बेसारपानीको कुरा आएका थिए,' उनले भने, 'सुरुमा लकडाउन गर्दा नै तयारी गर्नुपर्ने थियो । जाँच गर्ने पीसीआर किट सुरुमा नै ल्याउनुपर्थ्यो । त्यसमा धेरै विवाद र ढिलाई गरियो । भ्रष्टाचारको कुरा पनि भयो । स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गरिएन ।' डा. यादवले थपे, 'हामीसँग उपलब्ध भेन्टिलेटर प्रयोगमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनुपर्थ्यो ।'

कीर्तिपुरमा रहेको आयुर्वेदिक अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा रहेका कोरोना संक्रमित नेकपाका सांसद यज्ञ बोगटीको भनाइ पनि डा. यादवकोसँग मिल्दोजुल्दो छ । सरकारले गरिरहेका प्रयास पर्याप्त नभएको भन्दै उनले जनता आफैंले सचेत हुनुपर्ने बताए । 'सरकारले लकडाउन गरेकै छ, अरु पनि गर्न खोजेकै छ । तैपनि संक्रमण वृद्धि भइरहेकै छ । सरकारले गरेका काम पर्याप्त नहुन पनि सक्छन् । जनताले आफ्नो रक्षा गर्ने हो,' उनी भन्छन् ।

पेशाले बाल रोग विशेषज्ञ सांसद डा. यादव भने पछिल्लो समय सरकारले कोरोना संक्रमित पत्ता लगाउन पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिरहेको बताउँछन् । सरकारले कोरोना परीक्षणको दर स्थिर राखेको र कन्ट्याक्ट ट्रेसिङ नगर्दा समुदायमा झनै कोरोना फैलिने सम्भावना रहेको उनको भनाइ छ । 'अहिले पीसीआर परीक्षण जति अनुपातमा हुनुपर्ने हो त्यो अनुपातमा भइरहेको छैन । केसहरू अहिले पनि धेरै छन् । जनकपुरमा नै धेरैमा कोरोना संक्रमण छ भन्ने लाग्छ तर परीक्षण भइरहेको छैन । पहिले सरकारले दैनिक १० हजार पीसीआर परीक्षण भइरहेको भनिरहेको थियो । अहिले पनि दैनिक १०-११ हजार जनामा मात्रै पीसीआर परीक्षण गरिएको भनिरहेको छ,' उनले भने ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयू बेड तयार पार्न सरकारलाई निर्देशन दिएको थियो । तर चिकित्सकसमेत रहेका सांसद यादव भने नेपालमा त्यति ठूलो मात्रामा भेन्टिलेटर आवश्यक नपर्ने र त्यो संचालन गर्ने दक्ष जनशक्ति पनि उपलब्ध नहुने बताउँछन् । 'अहिले पनि धेरै ठाउँमा भेन्टिलेटर छ तर म्यानपावर नभएर त्यसै थन्किइरहेको छ । भेन्टिलेटर बढेको छ तर त्यसलाई संचालन गर्ने दक्ष जनशक्तिको अपुग भएको छ,' उनी भन्छन्, 'नेपालमा भेन्टिलेटर छन् तर एकै ठाउँमा रहेका छन् । छरिएका छैनन् । मुख्य मुख्य सहरमा ठाउँ रोजेर, सबै चिज हेरेर भेन्टिलेटर वितरण गर्नुपर्छ ।'

संक्रमित सांसदको कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ

नेकपाका सांसद बोगटीले साउन ३० गते पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । नेकपाका महासचिव विष्णु पौडेलको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण भएपछि बोगटी र उनका पिएले स्वाब दिएका थिए । उनका पिएको साउन ३१ गते नै पोजेटिभ रिपोर्ट आयो भने उनको तीन दिनपछि मात्रै संक्रमण भएको रिपोर्ट आएको थियो ।

तर, सांसद बोगटीको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षणमा भने ढिलाइ भएको छ । सांसद बोगटीका अनुसार उनको सम्पर्कमा आएका संसद सचिवालय र सिंहदरबारमा रहेका व्यक्तिहरूको छिट्टै परीक्षण गरिए पनि उनी बस्दै आएको टीकाथलिका स्थानीयको भने १० दिनपछि मात्रै स्वाब लिइएको थियो ।

'म बस्दै आएको टीकाथलीमा १० दिनपछि कन्ट्याक्ट ट्रेसिङ भयो । मेरो कन्ट्र्यक्टमा आएका २ सय ३८ जनाको स्वाब लिइएको छ । सिंहदरबारमा र अन्य ठाउँमा भेटेका साथीहरू र सांसदहरूले भने गरिसकेका छन् भन्ने जानकारी पाएको छु । उहाँरूको रिपोर्ट नेगेटिभ आयो भन्ने छ,' सांसद बोगटीले भने ।

सांसद डा. यादवले भने आफ्नो सम्पर्कमा आएका सबैले व्यक्तिगत रूपमा स्वाब परीक्षण गराएको बताए । उनीसहित ५ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भेटिएको थियो । पछिल्लो समय सरकारी संयन्त्रका कुनै व्यक्तिले पनि कस्तो भइरहेको छ भनेर आफूलाई सम्पर्क नगरेको उनको भनाइ थियो । नेपाली सेना र नेपाल प्रहरीका अधिकारीले भने अवस्था कस्तो छ भनेर फोनमा जानकारी लिएको उनले बताए ।

के औषधि खाँदैछन् संक्रमित सांसद ?

सांसदद्वय डा. यादव र बोगटी सँगसँगै जस्तो कोरोनाबाट संक्रमित भएका हुन् । उनीहरू आइसोलेसनमा भने फरकफरक समयमा बसेका हुन् । आयुर्वेद अस्पतालको आइसोलेसनमा रहेका सांसद बोगटीले स्वास्थ्यकर्मीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनेर आयुर्वेदिक औषधि दिएको र सोही लिइरहेको बताए ।

आफूमा कोरोनाको कुनै पनि लक्षण नभएको बताउने सांसद बोगटीले भने, 'बिहान, दिउँसो र बेलुका तीन पटक आयुर्वेदिक औषधि दिइरहनुभएको छ । एक पटकमा दुई ट्याबलेट दिनुहुन्छ ।'

सांसद डा. यादवले भने भारतको दिल्लीस्थित मेदान्त अस्पतालको मापदण्डअनुसार औषधि लिइरहेको बताए । उनले भने, 'मेदान्तको प्रोटोकल अनुसार औषधि खाइरहेको छु । भीटामिन डी र भीटामीन सी पनि लिइरहेको छु ।' उनले आफूमा कोरोनाको कुनै लक्षण नभएको जानकारी दिए ।

लकडाउनले कोरोना उन्मुलन हुन्न

सांसदद्वयले लकडाउन र निषेधाज्ञाको सहारामा कोरोना निर्मूल होला भन्ने नसोच्न सरकारलाई आग्रह गरेका छन् । कोरोना फैलिनबाट केही रोकिए पनि यसको निर्मुल गर्नका लागि जनचेतना जगाउनु महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ ।

'कोरोना संक्रमणबाट बच्ने र बचाउने मूख्य उपाय भनेको जनचेतना जगाउने हो । यसबाट जोगिने खालको सुरक्षा मापदण्ड अपनाउनुपर्छ । सामाजजिक दुरी कायम राख्ने, मास्क लगाउने, भीडमा नजाने, भोजभतेर नगर्दा यो फैलिन पाउँदैन,' डा. यादवले भने, 'लकडाउन केही छिनको लागि हो । एकैपटक धेरै व्यक्ति संक्रमित नहुन् र अस्पतालमा बिरामीको भीड नहोस् भनेर हो । लकडाउन र निशेधाज्ञा यो समस्याको समाधान होइन ।'

सांसद बोगटी भने व्यापक मात्रामा परीक्षण गर्ने, आवतजावत बन्द गर्ने र उपचार गर्नु नै कोरोना उन्मुलन गर्ने उपाय भएको बताउँछन् । ठूला सहरमा टोलपिच्छे र गाउँमा सम्भावित क्षेत्रमा व्यापक मात्रामा पीसीआर परीक्षण गर्नुपर्ने सरकारलाई उनको सुझाव छ । 'भ्यालिभित्रको एउटा परिवारको एक व्यक्तिमा परीक्षण गरौं । प्रत्येक टोल, वडामा कति व्यक्तिमा परीक्षण गर्ने हो त्यो निर्धारित गरेर परीक्षण गरौं । पोजेटिभ देखिएकालाई उपचार गरौं । नेगेटिभ देखिएकालाई पनि सुरक्षति रहन भनौं र सबै पोजेटिभ निको भइसकेपछि मात्रै खुला गरौं । त्यसरी नै अरु जिल्लामा पनि अभियान चलाउँ । यसो गरेमा देशलाई नै मुक्त गर्न सकिन्छ ।' लकडाउन र निशेधाज्ञा लगाइराख्ने र परीक्षणको मात्रा नबढाउने हो भने कोरोना उन्मुलन गर्न नसकिने बरु झन् बढ्ने उनको आशंका छ ।

त्रास फैलाइयो

डा. यादव एक बालकको उपचार गर्ने क्रममा आफूलाई कोरोना संक्रमण भएको बताउँछन् । त्यस्तै, मुलुकका विभिन्न भागमा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमितको उपचार गर्दागर्दै आफै संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीमाथि समाजमा दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भइरहेका छन् । यस्ता घटना रोक्नुपर्ने र कोरोनाबारे फैलिएका भ्रम निवारण गर्न पनि जनचेतना अभियान संचालन गर्नुपर्ने डा. यादवको सुझाव छ ।

कोरोनाबारे भ्रम फैलाउन सामाजिक संजाल दुरुपयोग गरिएको डा. यादवको भनाइ छ । उनले सामाजिक संजालबाट कोरोनाबारे फैलिइरहेका सन्देशले चिन्ता उब्जाएको र त्यसविरुद्ध जनचेतना फैलाउनुपर्ने बताए । कमजोर चेतना भएको समाज भएकाले पनि त्यसलाई तोड्न अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

'मकहाँ दुध पुर्‍याउन एक महिला आउनुहुन्थ्यो । यहाँ छिमेकमा पसल छ । पसलवालाले 'किन दुध दिन जान्छौ ?, तिमी मर्छ' भनेछ । हाम्रो चेतनास्तर यस्तो छ,' उनले आफूले भोगेको कुरा सुनाए ।

'स्वास्थ्यकर्मीमाथि दुर्व्यहार हुनु चिन्ताजनक विषय हो । काठमाडौंजस्तो चेतना भएको ठाउँमा त्यस्तो व्यवहार हुन्छ भने दूरदराजका गाउँ, पहाड, मधेसको त कुरै नगरौं । यसको विरुद्धमा पनि जनचेतना नै जागाउनुपर्छ,' उनले भने ।

समाजमा कोरोनाबारे त्रास बढी फैलाइएको तर आवश्यक सचेतताका कुरा कम गएको बोगटीको भनाइ छ । उनी भन्छन्, 'कोरोनाको डर, त्रास बढी फैलाइयो । सकेसम्म नलागोस् भनेर सचेतता अपनाउने हो । लागिहालेमा पनि डाराउनुपर्ने स्थिति छैन भनेर जनतालाई भन्नुपर्ने हुन्छ । सरकारका अधिकारी र चिकित्सक लगायत आधिकारीक विशेषज्ञले त्यसो गर्नुपर्ने हो ।'

संघीय संसद प्रतिनिधिसभाका तीन जना सांसदलाई हालसम्म कोरोना संक्रमण भएको छ । कोरोनाबाट संक्रमित भएका सांसद प्रदीप यादव भने निको भइसकेका छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : भाद्र १०, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?