१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

फिल्म सुटिङ सुरु नहुँदा अन्योलमा कलाकार, म्युजिक भिडियोबाट चित्त बुझाउँदै 

रीना मोक्तान

काठमाडौँ — कोभिड-१९ ले गर्दा फिल्म क्षेत्र करिब पाँच महिनादेखि ठप्प छ । हलमा ताला झुन्ड्याएको छ । फिल्मको छायांकन, प्रदर्शन सबै ठप्प । महिनौं फिल्मको काम बन्द भएपछि कलाकारमा नैराश्य पलाएको छ । काम नपाइने हो कि भन्ने चिन्ता भएको पनि केही कलाकारहरु बताउँछन् । 

फिल्म सुटिङ सुरु नहुँदा अन्योलमा कलाकार, म्युजिक भिडियोबाट चित्त बुझाउँदै 

'अरुबेला पनि अन्यौलको क्षेत्र हो हाम्रो, काम पाउन सकिन्छ कि सकिदैन भन्ने । तलबमा काम हुने होइन,' अभिनेत्री केकी अधिकारीले भनिन्, 'आकाशे खेती भन्ने शब्द प्रयोग हुने क्षेत्र हो हाम्रो । त्यहीमाथि कोरोनाको कहरपश्चात त त्यो अन्यौल झन् बढैको छ । काम एक त थोरै भइरहेको छ, त्यसमा पनि कसले पाउने कसले नपाउने भइहेको छ । फिल्म त बनेकै छैन । फाट्टफुट्ट म्युजिक भिडियो बनिरहेको हो ।'

लकडाउन खुकुलिएपछि सानो समूहमा म्युजिक भिडियोको छायाङ्कन हुन थालेको छ । म्यूजिक भिडियोमा सक्रिय कलाकारले मात्र यतिखेर काम पाइरहेको केकी बताउँछिन् ।

अभिनेता विपिन कार्की कलाकारमा कोभिड-१९ ले काम नपाइने चिन्ता बढेको बताउँछन् । '४/५ महिना सबै कामबिहीन भएर बस्नु भएको छ । मेरै साथी सर्कलमा मैले यस्तो अवस्था देखिरहेको पनि छु,' उनले भने ।

फिल्ममै निर्भर भएर बाँच्ने कलाकारलाई लामो समय काम नहुँदा गाह्रो हुने अभिनेता नाजिर हुसेन बताउँछन् । 'फिल्ममै निर्भर भएर काम गर्ने कलाकारलाई गाह्रो हुँदो रहेछ । घरबेटीले घरभाडा नदे भन्दैन । लामो समय यत्तिकै बस्दा अलिकति गाह्रो पर्दोरहेछ,' नाजिर भन्छन्, 'कहिले हल खुल्छ, कहिले कामहरु सुरु हुन्छ भन्ने कुराले मलाई पनि पिरोलेको छ । अरुको जस्तो १०-५ को काम होइन । हो, हाम्रो काममा जोखिम छ । त्यही काम नहुँदा चिन्ता हुँदो रहेछ ।'

नाजिरले यसबीच म्युजिक भिडियोमा काम गरे । यी कामहरुले केही राहत मिलेको उनी बताउँछन् । खाली समय किताब पढ्ने, कविता कोर्ने कुरामा मनलाई अल्झाउँछन् नाजिर । तर, कामको विषयमा सोच्दा चिन्ता बढ्ने उनको भनाई छ । 'कामको कुरा सोच्दाचाहिँ कहिलेबाट कसरी सुरु हुन्छ होला भन्ने कुराले मनमा चसक्क हुन्छ,' उनले सुनाए ।

अभिनेत्री वर्षा राउत पनि एक किसिमको अन्यौलले मनमा डेरा जमाएको बताउँछिन् । 'अलिअलि अन्यौल छ । यो मलाईमात्र भएको होइन, संसारभर यस्तै हो । अहिले त आफ्नो स्वास्थ्यको सुरक्षा हो । तर पनि साथीहरुबीच फिल्मको सुटिङ भइरहेको छैन, कसरी गर्ने होला है भन्ने छलफल हुन्छ,' उनी सुनाउँछिन् ।

काम नपाएर कलाकारहरु चपेटामा परेको बताउँछन् विपिन । उनले यसबीच ४/५ वटा फिल्मको स्क्रिप्ट पढे । कयौंले उनलाई म्युजिक भिडियोको अफर गरे । उनले यसबीच 'डर छैन'बोलको म्युजिक भिडियो गरे । 'हिजो अवस्था मेरो पनि त्यस्तै थियो । भोली पनि हुन सक्छ । म व्यस्त छु भनिरहँदा म सुरक्षित छु भन्ने मात्रै होइन । अरु कलाकारहरु एकदमै चपेटामा पर्नु भएको छ । यतिबेलासम्म त धानिराख्नु भएको थियो होला तर सबैको लागि प्रयाप्त काम गर्ने अवस्था नबनिसकेको अवस्था हो । म्यूजिक भिडियोले पनि धान्दैन सबै कलाकारलाई ।'

उनी यो क्षेत्र चलयमान नभएसम्म यी समस्याको समाधान नहुने बताउँछन् । 'जबसम्म चलचित्र क्षेत्र चलयमान हुँदैन । तबसम्म यो समस्या भइरहन्छ । हरेक क्षेत्रमा यस्तो समस्या भइरहेको बेला नेपाली फिल्म क्षेत्रलाई पनि यो समस्याले केही समय पीरोल्छ नै । किनभने आधा वर्ष जति यसरी नै बितिसकेको छ,' उनले भने ।

चलेका कलाकारलाई म्युजिक भिडियो र विज्ञापनले जोगाए पनि अन्य कलाकारलाई कोभिड-१९ ले समस्यामा पुर्‍याएको विपिन बताउँछन् । उनी थप्छन्,'यतिकै २/४ जनाले म्यूजिक भिडियो गरेर आफू सुरक्षितमात्र भएर हुँदैन । कलाकारहरुको बिजोग त हुनेवाला छ अझै पनि । महामारी पनि आक्रमक भइरहेको छ । त्यसैले अन्यौलपूर्ण छ । मलाई दुख पनि लागेको छ ।'

काम नपाएर निराश कलाकारलाई नआत्तिन सल्लाह दिन्छन् दयाहाङ राई । 'निराश भइहाल्नु पर्ने आवाश्यकता छैन । लगातार काम गरिरहेका कोभिडले गर्दा चुपचाप बसिरहेका छन् । आज सय प्रतिशत व्यक्तिले काम गरिरहेको छ भने भोलि ८० प्रतिशतले मात्र काम पाउला,' अभिनेता राई सुनाउँछन्, 'सबैतिर गम्भीर अवस्था आउँदाखेरी यस्तो सोच आउनु त स्वभाविक हो ।'

अभिनेता तथा निर्देशक निश्चल बस्नेत संकट हटेपछि काम स्वत बढ्ने अनुमान गर्छन् । 'अहिलेको ध्यान भनेको कोरोनाबाट आफू कसरी बच्ने भन्ने हो । त्यसपछाडि कामको कुरा आउँछ । काम हुन थालेपछि कमी हुन्छजस्तो लाग्दैन । तर, अहिले त जस्तो अवस्था छ त्यस्तोमा नै रहनु पर्‍यो । लकडाउन पार भएपछि काम नपाउने भन्ने त हुँदैन होला,' उनले भने ।

अभिनेत्री सुरक्षा पन्त अन्यौलबीच नै विकल्पतिर ध्यान पुर्‍याउनुपर्ने बताउँछिन् । 'प्रमुख त फिल्म क्षेत्र नै चलायमान हुन्छ कि हुँदैन भन्ने चिन्ता भयो । हल खोल्ने हो कि होइन । हल खोले पनि दर्शक जाने हो कि होइनन्,' उनले भनिन्, 'सरकारले पनि अन्तिम प्राथमिकतामा राखेको छ नि यो क्षेत्रलाई । तर अब यही अवस्थामा पनि कसरी काम गर्न सकिन्छ भन्ने विकल्प पनि खोज्नुपर्छ जस्तो लाग्छ ।'

उनी खाली समय सिर्जनशील बन्ने प्रयास गर्नुपर्ने धारणा राख्छिन् ।

कोभिडपछि सुनौलो भविष्यको आश

कोभिडपछि संख्यात्मक भन्दा पनि राम्रा फिल्म बन्ने आशमा छन् दयाहाङ । विपिन पनि यसमा आशावादी सुनिन्छन् । 'लकडाउन अगाडिभन्दा पछि तीव्र रुपमा धेरै फिल्महरु बन्ने कुराहरु सुनिरहेको छु । जब सबै खुल्नेछ नेपालमा झन् धेरै फिल्म बन्नेवाला छजस्तो लागिरहेको छ मलाई,' उनले भने ।

अभिनेत्री केकी पनि कोभिडपछि आउने परिवर्तनलाई लिएर सकरात्मक सुनिन्छिन् । 'कोभिडपछि हामीले एकदम राम्रा दिनहरु देख्छौंजस्तो लाग्छ,' उनले भनिन्, 'सबै कुरा फिल्टर हुन्छजस्तो लाग्छ । जो फिल्ममा साँचै लगाव राख्छन्, जो लागिपरेका यो क्षेत्रमा उनीहरुमात्र स्थीर भएर बस्छजस्तो लाग्छ ।'

थप्छिन्, 'अझ राम्रा-राम्रा सिर्जनाहरु आउँछ जस्तो लाग्छ । अहिले अध्ययन गर्ने मौका मिलेको छ, यो समयमा सिँचित रहेको शक्ति पछि बाहिर निस्कन्छजस्तो लाग्छ ।'

दर्शकसम्म पुग्न म्युजिक भिडियो

फिल्मको काम बन्द भएपछि कलाकारले म्युजिक भिडियो गर्न थालेको देखिन्छ । दया, विपिन, केकी र नाजिरले पनि लकडाउन खुकुलिएपछि म्युजिक भिडियोमा काम गरे । फिल्मको काम बन्द भएपछि दर्शकसँग जोडिन म्युजिक भिडियो गरेको उनीहरु बताउँछन् ।

हालै गायक सन्तोष लामाको स्वरमा 'डर छैन' बोलको म्युजिक भिडियोमा देखिएका विपिन दर्शकसँग जोडिन म्युजिक भिडियोमा अभिनय गरेको सुनाउँछन् । 'जुन माध्यबाट भए पनि दर्शकसम्म पुग्न पाएँ । दर्शकसामु आफ्नो काम पोख्न पाएँ । त्यसले थोरै भए पनि राहत मिल्दो रहेछ,' विपिनले भने, 'भिडियोतिर ध्यान जाँदा मनोरोगी भइएन ।'

आफूलाई अफर आएका गीतहरुमध्ये उनले एउटा मात्र गीत रोजेर गरेका हुन् । असोजबाट 'प्रासद २'को छायांकनको तयारीमा जाने तयारीमा थिए उनी । तर, काठमाडौंमा कोरोना संक्रमित बढेसँगै छायांकन निश्चित नभएको उनी सुनाउँछन् ।

लकडाउनपछि अभिनेता पुष्प खड्काले पनि ७ वटा म्युजिक भिडियो गरे । फिल्मको काम नभएपछि म्युजिक भिडियो गरेको उनी बताउँछन् । म्युजिक भिडियोबाट फिल्ममा करियर थालेका पुष्प खड्कालाई यो समयमा कामको अभाव भने भएन । लकडाउनमै एउटा फिल्ममा अनुबन्धित भएका उनलाई पनि काम गर्ने हतारो छ ।

कोरोनाले वाक्क भएका दर्शकलाई मानसिक राहत दिन आफूले म्युजिक भिडियो गरेको दयाहाङ राई बताउँछन् । 'एउटा त सम्बन्धको कारण पनि हो । र अहिलेको समयमा धेरै कुराहरु ठप्प छ । यस्तो समयमा दर्शकसँग जोडिन पनि यो गरें । नयाँ गीतले राहत पनि देला भन्ने सोच आयो,' उनले भने, 'दोस्रो कुरा बजार ठप्प हुँदा आयस्रोत पनि ठप्प नै भयो । मेरो मात्र होइन अरु सबैको त्यस्तै भयो । यी सबलाई हेरेर स्वास्थ्यलाई पनि ख्याल गरेर काम हुन्छ भने गरौं भनेर गरेको हो ।'

सबै काम ठप्प हुँदा आफूलाई नैराश्यको भावना नआएको बताउँछन् दया । कोभिडले गर्दा अध्ययन गर्ने समय पाए उनले । 'विभिन्न कुरा खोज्ने, मनन गर्ने समय पाएको छु,' उनले भने ।

हालै 'डुब्लिकेट माया'बोलको म्युजिक भिडियो गरेका नाजिर ठूलो समूहमा काम गर्ने अवस्था नभएर भिडियो गरेको बताउँछन् । 'हामीलाई दर्शकसँग जोडिरहन लोभ हुन्छ । त्यो धागो हुन्छ नि त्यो नचुडोस् भन्ने हो। मेरो व्यक्तिगत कुरा मलाई यो क्षेत्रमा टिक्नु छ, जसरी हुन्छ । म्युजिक भिडियोबाट हुन्छ वा मेरो कविताबाट,' उनी भन्छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?