१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महिलालाई जतिखेर पनि डर र भय हुने समाजको गीत- 'बदला बरीलै'

धेरैले यो गीतले निर्मला पन्तलाई सम्झाइदियो भन्‍नु भएको छ : प्रकाश सपुत
यो एउटा भिडियोमात्र नभएर अभियान हो, त्यसैले पारिश्रमिक लिइनँ : केकी अधिकारी
रीना मोक्तान

काठमाडौँ — 'बरीलै' मेलोडीमा तीजको गीत बनाउने सोच बुन्दै थिए, गायक प्रकाश सपुत । तीज गीतमा महिलाका विषयवस्तु जोडिन्छन् । महिलाका पीडा गीतमा राख्ने सोच्दै गर्दा बलात्कारको विषय जोडियो । अनि तयार भयो 'बदला बरीलै' । यतिखेर यो गीत निकै चर्चामा छ । गीतको शब्द/संगीतसँगै दृश्यमा देखाएको कथाले दर्शकको मन छुन सफल भएको छ । 

महिलालाई जतिखेर पनि डर र भय हुने समाजको गीत- 'बदला बरीलै'

'गलबन्दी' र 'बोल माया'जस्ता चर्चित गीत दिएका गायक प्रकाशलाई फेरि चर्चामा ल्याइदिएको छ यो गीतले । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय छ । यो गीतको 'वन लाइन कन्सेप्ट' र मेलोडी १ वर्ष अगाडि नै तयार भएको थियो । लकडाउनमा गीतलाई प्रकाशले मुर्तरुप दिए ।

महिलाका मुद्दा उठाउँदै आएकी केकीलाई उनले गीतको म्युजिक भिडियोका लागि छनौट गरे । 'केकीको अभिनय क्षमता अब्बल छ । यस्ता विषयवस्तुमा आवाज उठाउने अभियन्ता पनि भएकाले यो चरित्रलाई न्याय दिन सक्ने कलाकार उहाँ नै होजस्तो लाग्यो,' उनले सुनाए ।

गीतबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेकी केकी 'बदला बरीलै'लाई अभियानको रुपमा लिएको बताउँछिन् ।

बजारमा तडकभडक, रमझमका तीज गीत सार्वजनिक भइरहँदा प्रकाशले फरक स्वादमा गीत लिएर आएका हुन् । आफूले महिलाको बेदना पोख्ने, पीडा पोख्ने,गीत लेख्ने क्रममा यो गीत सिर्जना भएको प्रकाश बताउँछन् ।

केकी यो गीतको शब्द/संगीत नै मार्मिक रहेको बताउँछिन् । 'भिडियोचाहिँ यो गीतको सोचको दोस्रो पक्ष हो । जुन मर्ममा गीत बनेको छ, त्यो आफैंमा शसक्त छ,' उनले भनिन, 'मैले यस्तो विषयमा आवाज उठाउँदै आएकी छु । योभन्दा अगाडि फिल्म 'राज्जारानी'मा दाइजोको निहुँमा जलाइएको युवतीको भूमिका गरें । एसिड अट्याकमा परेकी पात्रको भूमिका म्यूजिक भिडियोमा गर्न पाएँको थिएँ ।'

आफूले आवाज उठाउँदै आएको विषयलाई अभिनयमार्फत प्रस्तुत गर्न पाउँदा निकै उत्साह थपिएको उनी बताउँछिन् । फिल्ममा भने यस्ता भूमिकामा अभिनय गर्न कमै पाएको उनी बताउँछिन् ।

यस्ता विषय फिल्ममा किन उठ्दैन ?

केकी व्यवसायिक दृष्टिकोणले यस्ता फिल्मले लगानी सुरक्षित नगरेका कारण पनि यस किसिमको मुद्दामा कम फिल्म बन्ने गरेको तर्क गर्छिन् । 'हामीले फिल्मलाई मनोरञ्जनसँग जोडेरमात्र हेरिरहेका हुन्छौं । यस्तो गम्भीर विषय उठाउँदाखेरी मनोरञ्जनको महत्व कम हुन्छ भन्ने सोचमा हाम्रा फिल्म बन्छन्,' केकीले भनिन्, 'व्यवसायिक दृष्टिकोणले पनि त्यस्ता खालका कम फिल्मले मात्र लगानी उठाएको देखिन्छ । यस्तो विषय गर्दा जोखिम धेरै भएको कारणले कम फिल्म बनेको हुन सक्छ ।'

यो गीतलाई फिल्मी शैलीमा गायक प्रकाश आफैंले निर्देशन गरेका छन् । आफ्नो कथा भन्ने रुचिले पनि यस्तो भिडियो बनेको प्रकाश सुनाउँछन् । 'अडियोमात्र निकाल्ने जमाना हरायो । अहिले गीतलाई सुन्ने मात्र होइन हेर्ने पनि सकिन्छ भन्ने माध्यम आयो । त्योचाहिँ हाम्रो लागि राम्रो अवसर हो । हामीले हाम्रो कथाहरु देखाउन पायौं,' उनले भने, 'यसलाई कथामा गीत मिसाएको भन्न पनि मिल्छ र गीतमा कथा मिसाएको भन्न मिल्छ । मलाई कथामा रुचि छ । दर्शकलाई नयाँ कुरा देखाउने रुचि छ ।'

आफूले देखाउन खोजेको कथा दर्शकसम्म पुर्यामउन गीत सजिलो माध्यम बन्यो प्रकाशका लागि । सानोछँदा आमाले सुनाएको दन्त्य कथाबाट यो गीतको कन्सेप्ट प्रभावित रहेको प्रकाश बताउँछन् ।

उनका अनुसार यो गीतले धेरैले निर्मला पन्तको सम्झना गराइदिएको छ ।

आफूले देखे, सुनेकै कथा गीतमा प्रकाशले प्रस्तुत गरेका छन् । 'दुर्व्यवहारको विषय देखिरहिएकै हुन्छ । हाम्रै गीतमा पनि अवार्ड दिने बेलामा जुनखालको व्यवहार गरेको छ, त्यो दुर्व्यवहार हो,' उनी सुनाउँछन्, 'सबैजना त्यस्तै हुन्छन् भन्ने हुँदैन । तर, कतिपयको नियतमै त्यो देखिन्छ । कतिपयको व्यवहारमा देखिन्छ । यस्तो व्यवहारमा चाहिँ महिला आफैंले अनुभूत गर्ने कुरा हो मलाई दुर्व्यवहार भयो कि भएन भनेर । म पुरुष भएर त्यसलाई गहिराइमा त्यो देखिरहेको नहुन सक्छु । कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा, काम गर्ने ठाउँमा कोही व्यक्तिले दुर्व्यवहार गरिरहेको छ है भन्ने कुरा देखिरहेको हुन्छौं हामी ।'

दुर्व्यवहार भइरहेको देख्दा आफूलाई बोलिहालौं भन्ने अनुभव पनि हुन्छ प्रकाशलाई । 'बोलौं कि भन्ने हुन्छ । हामीले बोलिदिँदा महिलालाईअसहज पो हुने हो कि छ कि भन्ने डर भइहेको हुन्छ,' उनले आफ्नो अनुभव साटे ।

अभिनेत्री केकी गीतले उठाइदिएको बलात्कार, दुर्व्यवहारबाट महिलाहरु अछूत नरहने बताउँछिन् । 'महिलाहरुले आफ्नो जीवन कालमा कुनै रुपमा काम गर्ने ठाउँमा, विद्यालय जाने ठाउँमा कतै न कतै विभिन्न किसिमको अप्ठ्यारो अनुभव गरेका हुन्छन् । दुर्व्यवहार भनेको कसैले बोलेर, छोएर नै गर्नुपर्छ भन्ने मात्र होइन,' उनी भन्छिन्, 'व्यवहारमा गरिने स-साना विभेद हिँड्दाखेरी जिस्काएर हिँड्न अप्ठ्यारो बनाइदिने कुराले महिलाहरु जहिले पनि डराएर, जोगिएर हिँड्नु पर्ने वातावरण समाजले बनाइदिएको छ । जसको कारणले एउटा महिलामा जतिबेला पनि डर र भय हुन्छ।'

उनी थप्छिन्, 'समाजको डरले आवाजहरु उठाउन खोजेको समयमा उठाउन सकिँदैन । उठेका आवाजहरु पनि दबाइन्छ । मैले पनि मेरो जीवनकालमा कतै न कतै कुनै किसिमको अप्ठ्यारो पक्कै पनि महशुस गरेको छु होला । ओह्हो ! त्यो व्यक्तिले त्यसरी नहेरिदिएको भए त्यहाँ म अझ निर्धक्क भएर प्रस्तुत हुन पाउँथे कि भन्ने हुन्छ । यो किसिमको भोगाई र देखाइबाट कोही अछूत छैनजस्तो लाग्छ हाम्रो समाजमा ।'

गम्भीर विषय भए पनि गीतलाई हरर टोनमा देखाइएको छ । केकी खासमा यस्ता अपराध गर्ने व्यक्तिले कुनै न कुनै समयमा सजाय पाउँछन् भन्ने देखाउन यस्तो गरिएको बताउँछिन् । 'यसले दुर्व्यवहार गर्ने, अथवा अपराधिक सोच आउने व्यक्तिलाई झक्झकाओस्, कानूनबाट छुटे पनि कुनै न कुनै रुपमा जिन्दगीमा यसको सजाय पाउँछु भन्ने डर पनि पैदा गरोस् भन्ने हो,' केकीले भनिन्,'कसैलाई वस्तुको रुपमा लिनु, बलात्कार गर्नु, बलात्कार गरेर हत्या गर्नु, त्यसलाई आत्महत्याको नाम दिनु त्यसमाथि पनि त्यो व्यक्तिको परिवारले कहिल्यै पनि न्याय पाउन नसक्नु यो जत्तिको नराम्रो संसारमा सायदै कुनै कुरा होला । चेतना फैलाउन केही हदसम्म सफल भएको छजस्तो लाग्छ यो गीत ।'

प्रकाश गीतलाई राज्यसँग गुनासोका रुपमा पनि जोड्छन् । राज्यको कानून कति कमजोर छ भन्ने व्यंग्यका रुपमा पनि गीतलाई व्याख्या गर्छन् उनी । 'एउटा घट्ना त घट्यो । कानून त छ तर त्यो कानून अझै प्रभावकारी भएको छैन भन्ने व्यंग्यात्मक चेतना पनि भिडियोले दिन खोजेको हो । त्यो खालको घटना घटाउने व्यक्तिलाई यो भिडियो हेरिहाल्यो भने हिनताबोध हुन्छ होला ।'

लकडाउनले गर्दा कामबिहीन भएकी केकीले यो गीतबाट पारिश्रमिक लिइनन् । भन्छिन्, 'कामले दिने आनन्दचाहिँ पारिश्रमिकभन्दा ठूलो हुन्छ । मैले यसलाई कामभन्दा पनि मनबाट गर्न चाहेको अभियानको रुपमा लिएको हो ।'

पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहारबारे बोलिन् । हाम्रो सामाजमा महिलालाई हिंसाबारे बोल्ने वातावरण बनाइदिनु पर्ने केकीको धारणा छ । साम्राज्ञीको विषयमा भनिन्, 'विषय उठान हुनु हाम्रोजस्तो सामाजिक परिपाटीमा ठूलो क्रान्ति हो । फिल्म क्षेत्रमा काम पाइँदैन कि भन्ने डर हुन्छ । परिवारको चिन्ता हुन्छ । इज्जतको चिन्ता भइरहेको अवस्थामा कसैले आवाज उठाउँछ भने समाजको एउटा जिम्मेवार व्यक्ति अथवा अंश भएको नाताले यस्तो वातावरण बनाइदिनुपर्छ जहाँ आवाज उठाउने व्यक्तिलाई सहजता महशुस होस् । आवाज उठेको बेलामा साथ त दिनुपर्छ ।'

प्रकाशित : श्रावण २१, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?