गाईजात्रा विशेष : सीधा प्रश्‍न प्रधानमन्त्रीसँग- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाईजात्रा विशेष : सीधा प्रश्‍न प्रधानमन्त्रीसँग

जीतु नेपाल

काठमाडौँ — भोलि मंगलबार गाईजात्रा । यसपालि कोभिड महामारीका कारण गाईजात्रामा सधैं हुने गरेका हास्यव्यङ्ग्यका कार्यक्रम हुन सकेनन् । सधैं यस्ता कार्यक्रम गरेर राजनीति र समाजका विकृतिलाई व्यङ्ग्य–वाण हान्दै दर्शक हँसाउने कलाकारका हात भने यस वर्ष पनि चिलाए । कसैले भर्चुअल गाईजात्रा गरे भने कोही कलम समाएर लेख्न कस्सिए ।

कार्यक्रम गर्न नपाएका जितु नेपाल ‘मुन्द्रे’ले यसपालि व्यङ्ग्य लेखमार्फत त्यो कमी पूरा गर्न खोजेका छन् । त्यो पनि प्रधानमन्त्रीको अन्तर्वार्तामार्फत । यो अन्तर्वार्ताका प्रश्न त जितुका हुन् नै, उत्तर पनि उनकै हुन् ।

प्रश्न : प्रधानमन्त्रीज्यू, कस्तो छ हजुरलाई, सन्चो छ ?

प्रम : सन्चो छ । जडीबुटी कम्पनीले निकालिरहेको छ । सन्चो राम्रै बिक्री पनि भइरहेको छ ।

प्रश्न : हजुरको स्वास्थ्य कस्तो छ ?

प्रम : पार्टी र सरकार चलाउनका लागि पर्याप्त छ ।

प्रश्न : पार्टीभित्रको किचलो कहाँ पुग्यो ?

प्रम : अहिले भैंसेपाटीसम्म पुग्या छ ।

प्रश्न : एक्कासि वामदेवजीकोमा किन जानुभाको ?

प्रम : वामदेवकाँ नगएर रामदेवकाँ जाने त ?

प्रश्न : वामदेवजीलाई प्रधानमन्त्री बनाउँछु भन्नुभएको कुरा साँचो हो ?

प्रम : साँचो होइन, ताल्चा हो । साँचोले खुल्न नि सक्छ, नखुल्न नि सक्छ ।

प्रश्न : अकस्मात् यस्तो कुरा किन गर्नुभएको ?

प्रम : जसलाई जे कुरा गर्दा खुसी हुन्छ त्यही कुरा गर्नुपर्छ भन्नी अहिलेको समयको माग हो ।

प्रश्न : पार्टीमा सहमति कहिले हुन्छ...

प्रम : यो सहमति भनेको लुडोको गोटीजस्तै हो । पोट आउन नि सक्छ, नआउन पनि सक्छ ।

प्रश्न : पार्टीमा तपाईंको राजीनामाको कुरा पनि उठिराको छ नि ?

प्रम : धेरै उठिराख्यो भने निद्रा नपुगेर विभिन्न रोग लाग्न पनि सक्छ । त्यसैले उठाउनेहरुले सुताउनु पनि होला भन्न चाहन्छु ।

प्रश्न : दुई पदमध्ये एउटा छोड्नुपर्छ भन्छन् नि ?

प्रम : मेसीलाई तैंले एक गोलमात्रै हान्नु पर्छ भनेर मान्छ र ?

प्रश्न : स्थायी कमिटीको बैठक किन बस्न सकिरहेको छैन ?

प्रम : स्थायीको मतलब के हो ? घरीघरी बसिरहनलाई अस्थायी कमिटी हो र ? हामी हाम्रो पार्टीको कमिटीलाई अस्थायी बनाउन चाहँदैनौं । यो स्थायी छ, स्थायी नै रहिरन्छ ।

प्रश्न : पार्टी फुट्न पनि सक्छ भन्छन् नि ?

प्रम : पाटीमा लेखेर पढ्ने जमाना एक समयमा थियो । त्यो बेलामा पाटी चर्किन्छ कि फुट्छ कि भन्ने डर हुन्थ्यो । अब अहिले आइप्याड र ल्यापटपमा लेख्ने, पढ्ने युगमा पाटी कसरी फुट्छ ?

प्रश्न : मन्त्रीहरुले सहयोग गरेनन् भन्ने गुनासो पनि आउने गर्छ नि ?

प्रम : सहयोग गर्नुभाछ । मन्त्रिमण्डलको बैठकमा आउनुभएकै छ । सरकारले दिएको सुविधा स्वीकार गर्नुभएकै छ ।

प्रश्न : स्वास्थ्य मन्त्रीज्यूको के छ ?

प्रम : स्वास्थ्य मन्त्रीज्यू स्वस्थ हुनुहुन्छ ।

प्रश्न : भ्रष्टाचार बढ्यो भन्छन् नि ?

प्रम : चारबाट पाँच पुग्यो र ? हिजो पनि भ्रष्टाचार नै थियो, अहिले पनि चार नै छ । अहिलेचाहिँ भ्रष्ट पाँच भएको छ र ? कि हिजो तीन भएर अहिले चार भएको भए पो बढ्यो भन्नु !

प्रश्न : स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भयो भन्छन् नि ?

प्रम : खरिदमा भए पनि बिक्रीमा त भएको छैन नि !

प्रश्न : प्रक्रिया गलत भयो, आवश्यक मापदण्ड पूरा भएन भन्नी कुरा छ नि ?

प्रम : मापदण्ड पूरा भएको हुनुपर्छ । सोसल डिस्टेन्स कायम गर्दै मास्क लगाएर, सेनिटाइजर लगाएको हुनुपर्छ ।

प्रश्न : विभिन्न अपराधका घटनाहरु घटिरहेका छन् नि ?

प्रम : घटिरहेका छन् । घट्नु नै राम्रो हो । बढी छैन । घटी नै छ नि !

प्रश्न : पछिल्लो समयको अदालतका निर्णयलाई कसरी हेर्नुभाछ ?

प्रम : मैले हेर्न पाएको छैन । त्यतिखेर टीभी बन्द भएको रहेछ । अब युट्युबमा आएछ भने हेरौंला ।

प्रश्न : हत्या अभियोग लागेकालाई आठै वर्षमा छुटाइयो भनेर भन्छन् नि ?

प्रम : हाम्रो देशको अपराध र कोरोना भाइरस उस्तै हो । कुन बेला नेगेटिभ आउँछ, कुन बेला पोजेटिभ आउँछ भन्नी थाहा हुँदैन । कोरोनाको रिपाेर्ट आठ दिनपछि, दस दिनपछि पोजेटिभ आउँछ । कोइरालाको रिपोर्ट आठ वर्षपछि पोजेटिभ आयो, के भो त ?

प्रश्न : गाईजात्राको अवसरमा सरकार र नेताहरुलाई व्यङ्ग्य गर्ने हास्य कलाकारहरुलाई के भन्नुहुन्छ ?

प्रम : व्यङ्ग्य गर्नलाई ढंग चाहिन्छ । व्यङ्ग्य भनेको सनाईजस्तै हो । जान्नीले भाका टिपेर बजाइहाल्छ, सुन्दा नि रमाइलो लाग्छ । नजान्नीले प्याँ‍‍..प्याँ र ट्याँ..ट्याँ गरेर भाका खोज्दैमा बिहे सकिन्छ । त्यसैले भाका नजान्नीले ट्याँ..ट्याँ एकोहोरो सनाई नबजाएकै राम्रो । सनाईले भाका बिगार्नेबित्तिकै दमाहा, ट्याम्के र झ्याम्टाको पनि ताल बिग्रन्छ ।

प्रश्न : हाल कलाकारहरु त बेरोजगार भएका छन् नि ?

प्रम : काँ छन् बेरोजगार ? फेसबुकले, टिकटकले, के जाति ग्रामले रोजगारी देको छ त । सबैलाई व्यस्त देख्छु । सामाजिक सञ्न्जालभरि बोलेर भ्याइनभ्याइ छ । अनलाइनमा कलाकारहरुकै लाइन छ । ऋषि धमलाकामा नि कलाकारै देखिन्छ । खै कुनचाहिँ कलाकारले त १० करोड मागे रे भन्ने पनि सुनिन्छ । अनि यस्ता करोडौंका माग गर्ने, कुरा गर्ने कलाकारहरु कसरी बेरोजगार भए ?

प्रश्न : सिनेमा हल त खुलेका छैनन् नि । बिचरा कतिका फिल्म नै चल्न पाएनन् ?

प्रम : त्यही फिलिम चल्न नपाएर त आ–आफैं चलिराख्या छन् नि ! कलाकारका अभिनय, द्वन्द्व, रुवाइ, हँसाइ सबै मोबाइल–मोबाइलमा, टीभी र ल्यापटपमा आएपछि हल किन चाहियो ?

प्रश्न : बेसारका कुरालाई त धेरैले गीत गाए नि ? यसमा कस्तो लाग्यो ?

प्रम : सस्तो लाग्यो । दया पनि लाग्यो । धन्न मैले बेसारको कुरा गरिदिएछु र तीजका गीत गाउन पाएछन् । मैले त्यति नभनेको भए त यसपालिको तीज ठन्डाराम हुनेरछ ।

प्रश्न : अबचाहिँ अन्त्यमा एउटा प्रश्न । यदि तपाईंले पार्टी अध्यक्ष छोड्नुभयो भने भावी अध्यक्ष को बन्न सक्लान् ?

प्रम : नेकपाको अध्यक्ष बन्नी भनेको मुन्द्रेको कमेडी क्लबको अध्यक्ष बनेकोजस्तो हो र ? एउटा सिटमा बस्यो, ‘आगो–आगो’ भन्नलाई !

समय दिनुभएकोमा धन्यवाद ।

प्रम : मैले समय दिएको हैन । तपाईंले लिएको हो । दोस्रो ऋषि धमला बन्ने प्रयत्न नगर्नु !

प्रकाशित : श्रावण १९, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्

सांसदहरूलाई पीडितको आग्रह - एसिड आक्रमण गर्ने अपराधीलाई जन्मकैदको कानून बनाइदिनुस् 

'तपाईंहरूलाई बदलाको भावना जस्तो लाग्न सक्छ तर एसिडको बदला एसिड नै भयो भने एकजना पनि महिलामाथि एसिड अट्याक हुँदैन ।'
महिला मन्त्रालय र महिला आयोगका अधिकारीले भने- पीडितको फोन नम्बरसम्म छैन
जयसिंह महरा

काठमाडौँ — 'अरुमाथि एसिड आक्रमण गर्ने अपराधीलाई जन्मकैद हुनुपर्‍यो । हाम्रो कानूनमा एसिड आक्रमण गर्नेलाई ५ देखि ८ वर्षसम्म सजाय हुने व्यवस्था छ । ८ वर्ष सजाय भयो भने पनि रातदिन गिन्ती गरेर चार वर्षमै ऊ निस्किन्छ । तिनीहरूलाई पीडा के हो भन्ने बुझ्दै बुझ्दैनन् । हाम्रो यो दाग छ (हातले अनुहारतिर इशारा गर्दै) नि यो कहिल्यै जादै जाँदैन । यो दाग हाम्रो जीवनभरीको लागि नै बस्छ । त्यै भएर म भन्न चाहन्छु कि अपराधीलाई जन्मकैद हुनुपर्छ,' १४ वर्षको उमेरमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनले सांसदहरूलाई गरेको आग्रह हो यो ।

कानुनी छिद्र प्रयोग गरेर आक्रमणकारीलाई पूरा सजाय नहुने गरेको खातुनको भनाइ थियो । आफूमाथि एसिड छ्याप्ने अपराधी अहिले खुलेआम घुमिरहेको भन्दै उनले प्रतिनिधिसभा महिला तथा सामाजिक समितिमा रहेका सांसदहरूलाई भनिन्, 'ममाथि एसिड अट्याक गर्ने अपराधि बाहिर घुमिरहेको छ । ३-४ महिनामा नै बाहिर निस्किएको छ। उनीहरू त्यसरी घुम्न नपर्ने हो । कोरोनाको कारण बाहिर निस्किएको छ भनिएको छ, त्यो कोरोनाभन्दा ठूलो भाइरस हो ।'

खातुनमाथि गत भदौ २० गते स्कुल जाने क्रममा एसिड आक्रमण भएको थियो । उनले उपचारका क्रममा कीर्तिपूर अस्पतालबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आक्रमणकारीलाई कानूनी कारबाही र उपचार खर्च बेहोरिदिन आग्रह गर्दै पत्र लेखेको तर त्यसबारे केही जवाफ नपाएको पनि सांसदहरूलाई सुनाइन् । 'अस्पतालबाट नै उपचार गरिदिनोस् र कानून कडा गरिदिनुहोस् भनेर प्रधानमन्त्रीलाई चिठी लेखेको थिए । सरकारसम्म मेरो चिठी पुगेको छ कि छैन ! तर केही भएको छैन,' उनले भनिन् ।

अर्की एसिड पीडित जेनी खड्काले एसिड हान्नेलाई एसिड नै प्रहार गर्ने कानुन बनाउनुपर्ने माग गरिन् । विद्यमान कानूनमा भएको क्षतिपूर्ति, सजायले पीडितलाई राहत नहुने भन्दै सरकारले सबै जिम्मा लिने कानून बनाउन पनि उनको भनाइ थियो । 'एसिड आक्रमणमा परेकाको उपचारको जिम्मा सरकारले लेइदेओस् । तपाईंहरूलाई बदलाको भावना जस्तो लाग्न सक्छ तर एसिडको बदला एसिड नै भयो भने एकजना पनि महिलामाथि एसिड अट्याक हुँदैन,' उनले भनिन् ।

अहिले भएको कानून र अदालती प्रक्रियामा आफ्नो विश्वास नरहेको खड्काको भनाइ थियो । गत जेठमा श्रीमानद्वारा एसिड आक्रमणमा परेकी उनले आफू अदालत नगएको बताइन् । 'मेरो मुद्दा १ वर्ष भइसक्यो, अहिलेसम्म चलिरहेको छ । सुनुवाइ भएको छैन । मलाई अदालत जानै मन छैन, उसलाई सजाय होस् कि नहोस् मतलब छैन,' अदालत नजानुको कारणबारे उनले भनिन्, 'एसिडले अनुहार नै कुरुप बनायो भने ५ देखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ । एसिडले मेरो शरीर, घाँटी, हातभरी घाउ छ । भाग्यले मेरो अनुहार बचेको छ । शरीरमा पर्‍यो भने ३ देखि ५ वर्षसम्म कैद हुने भन्ने व्यवस्था छ । जहाँ परे पनि पीडा त उस्तै नै हो । भाग्यले मेरो अनुहार बचेको छ । उसलाई कारबाही गर्न मेरो अनुहार कुरुप गरेर मैले अदालत जानु ? त्यो त भएन नि ।'

कानून बलियो नभएकाले महिनैपिच्छे एसिड आक्रमणबाट महिलाहरू पीडित भइरहेको पीडित संगीता थापामगरको भनाइ थियो । कानून बलियो बनाउन सांसदहरूलाई आग्रह गर्दै उनले भनिन्, 'ममाथि एसिड आक्रमण भएको ५ वर्ष भइसक्यो । यस्ता घटना लगातार आइरहेका छन् । वर्ष, महिना नबित्दै एसिड आक्रमण भइरहेको हुन्छ । कानुन बलियो बनाइदिएको भए मुस्कान, जेनी खड्का, पवित्रा कार्कीमाथि एसिड आक्रमण हुन्थेन ।' कानूनको अभावले अपराधीको मनोबल बढेको उनको भनाइ थियो ।

एसिड खुलेआम बिक्री वितरण भएकाले पनि आक्रमण बढ्ने गरेको पीडितले बताएका छन् । मुस्कानले भनिन्, 'जसरी रक्सी, साग, फलफूल पाइन्छ त्यसरी एसिड नपाइने कानुन बनाउनुपर्छ ।'

कानुन बनाउनेबारे नबोलेका सांसदले भने- एक लिटर एसिड आक्रमण गर्नेलाई दुई लिटर एसिड हाल्नुपर्छ !

एसिड पीडितले कडा कानून निर्माण गरिदिन आग्रह गरेपछि बोलेका सांसदहरूले भने आवेशमा अभिव्यक्ति दिएका थिए । नेकपाका सांसद खेमप्रसाद लोहनीले 'एक लिटर एसिड आक्रमण गर्नेलाई दुई लिटर एसिड प्रहार गर्नुपर्ने' बताए । 'पश्चिमाको मानवअधिकारको व्याख्या लिएर आएर हामीले अपराधीलाई छुट दिने गरिरहेका छौं । एक लिटर एसिड आक्रमण गर्नेको टाउकोबाट दुई लिटर एसिड खन्याउनुपर्छ,' उनको भनाइ थियो । तर उनले एसिड आक्रमण गर्नेविरुद्ध कसरी कानुन ल्याउने भन्नेबारे केही बोलेनन् ।

आफू प्रधानमन्त्री निकट रहेको बताएका सांसद कृष्णकुमार राईले 'एसिड आक्रमण गर्नेलाई एसिड नै हान्ने अवस्थामा पुग्न नसकिने' भन्दै पीडित खड्कालाई त्यतातिर नसोच्न आग्रह गरे । एसिड आक्रमण गर्नेलाई आजीवन कारावास गर्नुपर्नेमा सांसदहरूले 'लबिईङ' गर्नुपर्ने भन्दै उनले 'अहिले २० जनामात्रै पीडित रहेकाले कोरोना जसरी बढ्ने होइन । यसको लागि कानुनको व्यवस्था छँदैछ' भनेका थिए ।

एसिड आक्रमणका घटना हेर्ने जिम्मा गृह मन्त्रालयको सुरक्षा महाशाखामा सार्नुपर्ने नेकपाकै सांसद नारायणप्रसाद खतिवडाको थियो । उक्त महाशाखा 'हाइअलर्ट'मा रहने भएकाले एसिड आक्रमण हुनेबित्तिकै पीडितलाई उपचार र आक्रमणकारीलाई पक्राउ गर्नका लागि सहज हुने उनको सुझाव थियो।

आगामी दिनमा एसिड आक्रमणका घटना हुन नदिनका लागि सरकारले सोच्नुपर्ने भनाइ प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद लक्ष्मी परियारको भनाइ थियो । पीडितको जीवनयापन गर्नका लागि सरकारले सहज गर्नुपर्ने उनको धारणा थियो ।

ज्यान मार्ने व्यक्तिलाई लाग्ने कानुन एसिड आक्रमण गर्नेविरुद्ध लगाउनुपर्ने भनाइ नेकपाकी थममाया थापाको थियो । नेकपाकै अमृता थापाले भने आफूहरूले भाषण गर्नमात्रै सक्ने भएकाले अरु काम गर्न नसक्ने बताइन् । 'एसिड आक्रमणका घटनामा एनजिओ अगाडि अगाडि र राज्य पछाडि पछाडि हुने' अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

अन्य सांसदहरूले पनि एसिड आक्रमण गर्नेविरुद्ध कडा कानुनको व्यवस्था नभएकाले यस्ता घटना बढिरहेका बताएका थिए । तर कानुनको निर्माण भने सरकारले गर्नुपर्ने कानुन निर्माता सांसदहरूको भनाइ थियो ।

महिला मन्त्रालय र आयोगका अधिकारीले भने- पीडितको फोन नम्बरसम्म छैन

संसदीय समितिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला आयोगका अधिकारीले एसिड पीडितसँग आफूहरूको कुनै सम्पर्क नरहेको बताए । महिला मन्त्रालयकी सहसचिव मनमाया पंगेनीले एसिड पीडितकोबारेमा मन्त्रालयसँग 'ठ्याक्कै कतिजनालाई राहत दिएको भन्ने तथ्यांक छैन' भनिन् । महिला तथा किशोरीमाथि एसिड आक्रमण भएको तर उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी नभएको सहसचिव पंगेनीको भनाइ थियो । 'बहिनीहरूसँग बस्न खोजेका थियौं । हामीसँग नम्बर थिएन,' उनले पीडितको फोन नम्बर उपलब्ध गराइदिन समितिसँग आग्रह गर्दै भनिन् । पीडितका लागि बजेट विनियोजन गरिएको भने उनले समितिलाई जानकारी दिएकी थिइन् ।

महिला मन्त्रालयकी सहसचिवको जस्तै भनाइ थियो महिला आयोगकी सचिव शान्ता भट्टराईको । पीडितलाई आफूहरूले मनोसामाजिक परामर्श दिनसक्ने बताउँदै उनले भनिन्, 'म पनि महिला भएको नाताले के सहयोग गर्न सकिन्छ सोचिरहेका छौं । पीडितको नम्बर राखिएको छैन । केही रेकर्ड राखिएको छैन । यसबारेमा आयोगमा एउटा रिपोर्ट पनि पाइएन ।' दुवै सहसचिवका कुरा सुनेपछि समिति सभापति निरु पालले असन्तुष्टि पोखेकी थिइन् । उनले पीडितलाई कति रकम छुट्याएको भन्ने आफूलाई मतलब नभएको तर उनीहरूले पायो कि पाएन भन्ने मुख्य कुरा भएको बताइन् ।

समितिले एसिड पीडितको उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्न, सीपमुलक तालिम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा यस्ता व्यक्तिको जिविकोपार्जनलाई सहज बनाउन (आयआर्जनका लागि सक्षम बनाउन) र सामाजिक पुनर्स्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न/गराउन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग एवं सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : श्रावण १९, २०७७ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×