नागरिकमा गहिरिँदै निराशा
काठमाडौँ — कोरोना संक्रमणको प्रभाव रोक्न सरकारले गत चैत ११ गतदेखि लकडाउनको घोषणा गर्यो । १ सय २० दिन लामो लकडाउन ६ गते अन्त्य भएपनि योबीचमा सामाजिक र आर्थिक जनजीवन नराम्रोसँग खलबलियो । संक्रमणको ग्राफसँगै आममानिसको मनोभावना बुझ्नलाई कान्तिपुरले ‘कान्तिपुर कुरा’ सुरु गरेको थियो ।
सुरुवाती ९ दिनमा म्यासेन्जर, भाईबर, हृवाट्सएप र इमेलमार्फत् झण्डै एक सयजना नागरिकले कान्तिपुरसँग आफ्ना कुराहरु साटेका छन् । त्यसमध्ये केही प्रतिनिधि अनुभवहरुले समाजमा निराशा झाङ्दिै गएको र यसले मानसिक समस्याको रुप लिनसक्ने देखिन्छ । तीमध्ये दस प्रतिनिधि नागरिकका कुरा :
१) ऋणको ब्याज बढ्यो, निराश छु
म बताउन सक्दिन, जीवनमा यति धेरै तनाव बढीराको छ । कुनै उपायहरु पनि बचेका छैनन् । दिमागमा नकरात्मक कुराभन्दा केही पनि आउँदैन । म पुरै डिप्रेसनमा गएको छुजस्तो लाग्छ ।
मूख्य त ऋणको ब्याज थपिएर तनाव भएको छ । ब्यापार डामाडोल छ । ऋण लिन बैंक जाउँ, उसले धितो खोज्छ । ब्यक्तिसँग ऋण लिँदा ब्याज सारै चर्को पर्छ । कसैले पनि मेरो समस्या बुभ्दैनन् । उल्टै तनाव थपिदिन्छन् । मजस्ता युवाहरु धेरै छन् तर पीडा अलग भए पनि समस्या सबैको एउटै छ । सरकारले हामीजस्ता युवाको लागि यस्तो अवस्थामा केही सोच्नुपर्ने हो कि होइन ? निराशा बढे पनि म यसलाई जित्ने प्रयासमा छु । तर, कतैबाट सहयोग भएन भने यसलाई कसरी जित्ने ?
नाम उल्लेख गर्न नचाहने युवाले भाइबरमार्फत् पठाएको कुरा
२) आत्मअनुशासित बनें
सानैदेखि दुःखजिलो गरेर पढ्दै, संघर्षको मैदानबाट अघि बढ्दै जाँदा जीवनका निकै अत्यासलाग्दा कठीन र निर्मम बाटो काटियो । कोभिड–१९ ले मलाई धेरैपछि विश्राम लिने समय दिएको छ । साथै समाजमा सहयोग गरि आत्मअनुशासित जीवन जिउने मौका पाएजस्तो पनि लागेको छ ।
हरिभक्त श्रेष्ठ, पर्यटन व्यवसायी
३) हाम्रो कुरा कसले सुन्ने ?
मैले लकडाउन सुरु हुनुभन्दा २ महिनाअघि सानो थिमीमा पसल सुरु गरेको थिएँ । जसमा १७ लाखभन्दा धेरै लगानी भयो । लकडाउन सुरु भएपछि तीन महिना पसल बन्द भयो । पसल भाडा मासिक एक लाख छ । अब भाडा कसरी तिर्ने ? घर धनीले एक महिनाको भाडा मिनाह गर्दा पनि ब्यवासय छोडनुपर्ने स्थिति छ । कहाँबाट ल्याएर भाडा तिर्ने ? यो संकटभरिको ५० प्रतिशत भाडा मिनाहको मेरो प्रस्ताव घरधनीले मानेनन् । अब पसल छोडौं भने त्यो सामान राख्ने ठाउँ छैन । राखौं भाडा तिर्ने क्षमता छैन । हाम्रो कुरा कसले सुन्ने ?
खडानन्द शिवाकोटी, भक्तपुर
४) प्रधानमन्त्रीको बोली सुनेर रिस उठ्यो
प्रधानमन्त्रीको कोरोनाबारेको भाषण मलाई गालीतुल्य बिझायो । के यो हाछ्युँ गरेर उडाउने रोग हो ? उहाँलाई के देशको माया छैन ? प्रधानमन्त्रीज्यू कुर्सी त जोगाउनुभयो ? तर, जनताको गालीबाट आफूलाई कसरी जोगाउनुहुन्छ ? दुःख लाग्छ मलाई ।
प्रकृति पाण्डे, एसओएस हर्मन माइनर विद्यालय, सानो थिमी, भक्तपुर
५) दैनिक छाक टार्नै गाह्रो
म निजी स्कुलमा पढाउने शिक्षक हुँ । कोरोनाले धेरै कुरामा एकैचोटी असर गरेको छ । मेरो भने स्कुल बन्द हुँदा जिवीकोपार्जनमै समस्या परेको छ । अहिले दैनिक छाक टार्नकै समस्या परेको छ । चाडोभन्दा चाडो स्कुल खोले राम्रो होला कि ?
नाम उल्लेख गर्न नचाहने शिक्षक
६) हाम्रो व्यथा कसलाई के था ?
‘बाल उदय’ केटाकेटीका लागि प्रकाशन गरिएको मासिक बालपत्रिका हो । सोच्छु, यो पत्रिका बन्द भए कसलाई के फरक पर्छ होला ? हामीले सञ्चालन गरिरहेका सिर्जनात्मक कार्यशाला रोकिए कसको मन कुँडिएला र ? यसमा लागिपरेका हामी युवा निस्तेज भए कसको चित्त दुख्ला ?
सहकार्य गरिरहेका साथीहरुलाई तिर्न नसकिएको महिनौंको तलब रकम, भाखा नाघेको ऋणको ब्याज, हर्जना र किस्ता रकम, महिनौंदेखि तिर्न बाँकी घरभाडा रकम, प्रेस र अन्य विभिन्न शीर्षकमा भुक्तानी गर्न बाँकी रकम आदिले थिचिएर किचिएर हाम्रो सिर्जनाशक्ति र काम गर्ने उर्जाको निधन भएमा कसको मन रोला ? हामी हाम्रो कर्मबाट विचलित हुनुपर्दा र सपना पलायन हुँदा पर्ने असर कस्तो होला ?
मास्क लगाउँछु । त्यो पनि पुलिसका लागि । स्यानिटाइजर एकपल्ट खरिद गरेको थिएँ । अब त्यसमा पनि लगानी गर्ने अवस्था छैन । भौतिक दूरीको मतलब कतै कसैले राखेको देख्दिनँ । म पनि छोइएरै हिँडेको छु, बसेको छु, काम गर्न वा काम खोज्न मनपरी डुलेको छु । हु केयर्स कोरोना !
कोरोना संक्रमण भएर अप्ठेरामा परिन्छ कि भन्ने कुराले कहिलेकाहीँ नराम्ररी झस्काउँछ । त्योभन्दा बढी अन्य चिन्ताले विपनामा सपना जसरी र सपनामा विपना जसरी झस्काएको भने कुनै हिसाबकिताब नै छैन ।
प्रश्न सोध्न चाहन्छु– के हामीलाई कसैले देख्दैन ? के हामीजस्ता युवा मानसिक विरामी भए तिमीलाई चाहिँ सञ्चो हुन्छ ?
नरेन्द्र नगरकोटी, सम्पादक, बाल उदय मासिक पत्रिका
७) कोरोनाले दिएको अवसर
कोभिड–१९ ले विश्वसँगै नेपालको आर्थिक सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक पक्षलाई नराम्रोसँग असर पारेको छ । महामारीको समयमा सरकार र जनता दुवैका गतिविधिमा आर्श्चयजनक परिवर्तनहरु देखा पर्ने गर्दछ । के हामी अहिले देखा परेका परिवर्तनबाट उत्पन्न चुनौती स्विकार गर्न सकौंला ? महामारीमा हामी केही परिवर्तन गर्न सक्छौं त ?
यातायात व्यवस्था कार्यालयले प्रिन्ट भइसकेका र्स्माट लाइसेन्सहरु सेवाग्राहीको ठेगानामा हुलाकबाट एक्सप्रेस रजिष्टर पोष्टबाट पठाउन सके, हुलाकले केही आम्दानी गर्न सक्थ्यो अनि सेवाग्राहीले पनि सहजै घरमा बसेर लाइसेन्स प्राप्त गर्न सक्थे । कार्यालयमा अनावश्यक भीड कम भएर सामाजिक दूरी कायम गर्न सजिलो हुने थियो ।
सपिङ मलहरुमा र त्यहाँका व्यापारिक संस्थाबीचको भाडाको सम्बधमा विवाद भइराखेको देखिन्छ । विश्वभरी ई–कर्मसमार्फत् व्यापार बढिरहेका बेला हामीले पनि त्यस्तै शैली अपनाउन सकौंला ?
भानुभक्त शर्मा, सिर्द्धार्थ नगरपालिका, रुपन्देही
८) मेरो भविष्य के हुन्छ ?
म ३६ बर्षिय महिला हुँ । म ट्राभल एण्ड टुर्स कम्पनीमा सेल्स अफिसरको रुपमा काम गर्थें । कोभिड–१९ ले हस्पिटालिटी क्षेत्र पूरै प्रभावित भएको छ । यो परिस्थितिमा मेरो करिअरको भविष्य के हुन्छ भन्ने प्रश्न खडा भएको छ ।
मैले जुन क्षेत्रमा अनुभव हासिल गरको छु, त्यो जागिर परिवर्तन गर्नुपर्यो भने मैले नयाँ क्षेत्रमा शून्य विन्दुबाट काम सुरु गर्नुपर्छ । काम गरिरहेको क्षेत्रबाट धमाधम कर्मचारी कटौती भइरहेको छ अनि यस्तो बेला नयाँ जागिर पाउने सम्भावना पनि छैन । यतिबेला न भइरहेको जागिरले निरन्तरता पाउने सम्भावना छ न नयाँ काम नै पाउने सम्भावना छ ।
नाम उल्लेख नगर्ने एक महिला
९) अझै अन्यौल छ
कोभिड–१९ महामारीसँगै अधोगति लागेको विश्वको अर्थतन्त्र तत्कालै सुधार हुनसक्ने अवस्था देखिदैन । व्यपार व्यवसाय शिथिल भएको छ । उद्योग धन्दा नचल्दा बेरोजगारी अत्याधीक बढेको छ । ठूलो संख्यामा मानिसहरु दैनिक गुजरा चलाउन नसक्ने अवस्थामा पुगिसकेका छन् । आत्महत्याका समाचारहरु सुनिन थालेका छन् । त्यसमाथि बाढी पहिरोले पीडा थपेको छ । जनधनको क्षति भएको छ । यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नागरिकको अपेक्षा के हुन्छ ? उत्तर सरल छ– दैनिक गुजरा चलाउने आधार र टाउको लुकाउने बलियो छाना । स्थानीय तहसम्म सरकार त पुग्यो तर जनताले सरकार पुगेको महशुस कहिले गर्न पाउने हुन् ?
गोर्कण अधिकारी, भैसेपाटी, ललितपुर
१०) विदेश पढ्न जाने विद्यार्थीको कुरा सरकारले सुनोस्
मजस्तै धेरै विद्यार्थीहरु छन, जो विदेश पढ्न जाने तयारीमा थिए । यतिबेला हामीजस्ता विद्यार्थीलाई पढ्न जाने विषयमा सरकारबाट कुनै पहल हुन सकेन । कोरोना संक्रमण कम भएका र नियन्त्रणमा रहेका देशमा ती देशका सरकारसँग कुरा गरेर भए पनि वा जाने विद्यार्थीलाई पीसीआर परिक्षण गरेर भए पनि पठाउने व्यवस्था गर्न सकिए राम्रो हुने थियो ।
प्रदिप आचार्य, अर्घाखाँची
प्रकाशित : श्रावण ११, २०७७ १८:३८