मलेसिया गएका श्रीमान्‌को अत्तोपत्तो छैन, दुई छोराको पोखरीमा डुबेर ज्यान गयो

पर्वत पोर्तेल

भद्रपुर, झापा — लकडाउनअघि दुई छोरासँगै बिर्तामोड नगरपालिका–९ गरामनीमा बस्दै थिइन् कमला । श्रीमान् दीपक थामी आठ वर्षअघि मलेसिया गएका थिए । त्यसयता उनको अत्तोपत्तो छैन । न पैसा पठाएका छन् न त सम्पर्क छ ।

मलेसिया गएका श्रीमान्‌को अत्तोपत्तो छैन, दुई छोराको पोखरीमा डुबेर ज्यान गयो

श्रीमानलाई पठाउँदा लागेको ऋण बल्लतल्ल तिरिन् । जसोतसो जिन्दगी चल्दै थियो । बुधबार अचानक बज्रपात आइलाग्यो । दुई छोरा १५ वर्षका करण र १२ वर्षका अर्जुनको भद्रपुर–२ कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ज्यान गयो ।

कमला चार वर्षदेखि स्थानीय विष्णु मैनालीको जमिनमा झुप्रो हालेर अलग्गै बस्दै आएकी थिइन् । सासु–ससुरा पनि मैनालीकै जमिनमा बस्थे । उनीहरूले ६ धुर किनेका थिए । ६ धुर मैनालीले निःशुल्क दिएका थिए । अहिले उनीहरूसँग १२ धुर जमिन र सानो झुप्रो छ । तर, जग्गा मैनालीकै नाममा छ ।

कमला स्थानीय थुक्पा कारखानामा काम गरेर छोराहरू पाल्दै थिइन् । घरै नजिकको देवकोटा आधारभूत स्कुलमा उनीहरू पढ्थे । लकडाउन सुरु भएपछि कारखाना पनि बिर्तामोडको चैतुवारीतिर सर्‍यो । कमला बेरोजगार भइन् । बिहान–बेलुकी हातमुख जोड्नै समस्या भयो । जेठतिर अचानक आएको ठूलो हुरीले भएको ओत लाग्ने झुप्रो भत्कियो । लकडाउनले रोजगार गुमेको पीडा भोगिरहेकी उनले प्राकृतिक विपत्तिको सामना पनि यहीबेला गर्नुपर्‍यो । दुई छोरालाई पनि पाल्नुपर्ने भएकाले गुजाराका लागि विकल्प सोचिन् । अन्ततः जेठको अन्तिम साता कुम्लो कसेर लागिन्, माइतीघर भद्रपुरतिर ।

माइतीमा रहेका बुढा बाआमालाई हेर्ने र छोराहरूलाई पनि पढाउने उनको सोच थियो । स्थानीय चिया बगानमा पत्ती टिप्‍ने काम सुरु गरेपछि जसोतसो गुजारा चलाउने बाटो खुल्यो । जेठो छोरा करण भद्रपुर–२ कै चमेली बस्तीमा ठूली आमा मनमाया थामीसँग बस्थे । बुधबार दिउँसो करण साइकल चढेर मावली घर आइपुगे ।

हजुरआमा धनमाया पनि त्यसै दिन वृद्धभत्ता बुझ्‍न वडा कार्यालयतिर गएकी थिइन् । आमा कमला पनि उनीहरूको विद्यालयको स्थानान्तरणको प्रमाणपत्र लिन गरामनी गएकी थिइन् । छोराहरूलाई नजिकैको सगरमाथा माविमा भर्ना गर्ने उनको योजना थियो । घरमा हजुरबा र अर्जुनमात्रै थिए ।

उनीहरूले माछा मार्ने र पौडी खेल्ने योजना बुनेछन् । यो योजनामा पल्लो घरका १० वर्षीय अंकुश तामाङ पनि सामेल हुन पुगे । अंकुश र अर्जुन बल्छी बोकेर अघिअघि गए । करण साइकल चढेर पछिपछि । ‘घरबाट निस्किएको पत्तै पाइएन,’ हजुरआमा धनमायाले आँसु पुछ्दै सुनाइन्, ‘घरबाट कहीं निस्किँदैनथ्यो, दाजु आएपछि गएछन् ।’

भद्रपुर–२ कमलाधापका अनिल तामाङका छोरा अंकुश स्थानीय एसियन स्टार बोर्डिङ स्कुल पढ्थे । लकडाउनमा स्कुल बन्द भएपछि घरमै टीभीमा भुलेर बस्थे । छोराको मृत्युले तामाङ परिवारमा पनि बज्रपात परेको छ । अनिल वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । असोजमा घर फर्किने योजनामा थिए । छोराको मृत्युको खबर उनले पत्याउनै सकेका छैनन् । ‘छोरा बितेको खबर सुनेर इन्तु न चिन्तु हुनुभएको छ,’ आफन्त विमला तामाङले भनिन्, ‘एक्लो छोरा थियो, धेरै माया गर्नुहुन्थ्यो ।’

पोस्टमार्टमपछि तीनै बालकको देउनिया नदीमा अन्त्येष्टि गरिएको छ । कमला अब बिल्कुल एक्ली भएकी छन् । श्रीमान् र परिवारको साथ नपाएकी उनलाई दुई छोराको आडभरोसा थियो । अब छोराहरू कहिल्यै फर्किएर आउँदैनन् । ‘मेरो त घरै उजाडियो, छोराहरूको मायाले बाँचेकी थिएँ,’ भक्कानिँदै उनले भनिन्, ‘अब कसरी बाँच्ने होला ?’

यो पनि पढ्नुहोस्ः

खाल्डोमा जमेको पानीमा डुबेर झापामा तीन जना बालकको ज्यान गयो

प्रकाशित : श्रावण ११, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?