मलेसिया गएका श्रीमान्‌को अत्तोपत्तो छैन, दुई छोराको पोखरीमा डुबेर ज्यान गयो

पर्वत पोर्तेल

भद्रपुर, झापा — लकडाउनअघि दुई छोरासँगै बिर्तामोड नगरपालिका–९ गरामनीमा बस्दै थिइन् कमला । श्रीमान् दीपक थामी आठ वर्षअघि मलेसिया गएका थिए । त्यसयता उनको अत्तोपत्तो छैन । न पैसा पठाएका छन् न त सम्पर्क छ ।

श्रीमानलाई पठाउँदा लागेको ऋण बल्लतल्ल तिरिन् । जसोतसो जिन्दगी चल्दै थियो । बुधबार अचानक बज्रपात आइलाग्यो । दुई छोरा १५ वर्षका करण र १२ वर्षका अर्जुनको भद्रपुर–२ कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ज्यान गयो ।

कमला चार वर्षदेखि स्थानीय विष्णु मैनालीको जमिनमा झुप्रो हालेर अलग्गै बस्दै आएकी थिइन् । सासु–ससुरा पनि मैनालीकै जमिनमा बस्थे । उनीहरूले ६ धुर किनेका थिए । ६ धुर मैनालीले निःशुल्क दिएका थिए । अहिले उनीहरूसँग १२ धुर जमिन र सानो झुप्रो छ । तर, जग्गा मैनालीकै नाममा छ ।

कमला स्थानीय थुक्पा कारखानामा काम गरेर छोराहरू पाल्दै थिइन् । घरै नजिकको देवकोटा आधारभूत स्कुलमा उनीहरू पढ्थे । लकडाउन सुरु भएपछि कारखाना पनि बिर्तामोडको चैतुवारीतिर सर्‍यो । कमला बेरोजगार भइन् । बिहान–बेलुकी हातमुख जोड्नै समस्या भयो । जेठतिर अचानक आएको ठूलो हुरीले भएको ओत लाग्ने झुप्रो भत्कियो । लकडाउनले रोजगार गुमेको पीडा भोगिरहेकी उनले प्राकृतिक विपत्तिको सामना पनि यहीबेला गर्नुपर्‍यो । दुई छोरालाई पनि पाल्नुपर्ने भएकाले गुजाराका लागि विकल्प सोचिन् । अन्ततः जेठको अन्तिम साता कुम्लो कसेर लागिन्, माइतीघर भद्रपुरतिर ।

माइतीमा रहेका बुढा बाआमालाई हेर्ने र छोराहरूलाई पनि पढाउने उनको सोच थियो । स्थानीय चिया बगानमा पत्ती टिप्‍ने काम सुरु गरेपछि जसोतसो गुजारा चलाउने बाटो खुल्यो । जेठो छोरा करण भद्रपुर–२ कै चमेली बस्तीमा ठूली आमा मनमाया थामीसँग बस्थे । बुधबार दिउँसो करण साइकल चढेर मावली घर आइपुगे ।

हजुरआमा धनमाया पनि त्यसै दिन वृद्धभत्ता बुझ्‍न वडा कार्यालयतिर गएकी थिइन् । आमा कमला पनि उनीहरूको विद्यालयको स्थानान्तरणको प्रमाणपत्र लिन गरामनी गएकी थिइन् । छोराहरूलाई नजिकैको सगरमाथा माविमा भर्ना गर्ने उनको योजना थियो । घरमा हजुरबा र अर्जुनमात्रै थिए ।

उनीहरूले माछा मार्ने र पौडी खेल्ने योजना बुनेछन् । यो योजनामा पल्लो घरका १० वर्षीय अंकुश तामाङ पनि सामेल हुन पुगे । अंकुश र अर्जुन बल्छी बोकेर अघिअघि गए । करण साइकल चढेर पछिपछि । ‘घरबाट निस्किएको पत्तै पाइएन,’ हजुरआमा धनमायाले आँसु पुछ्दै सुनाइन्, ‘घरबाट कहीं निस्किँदैनथ्यो, दाजु आएपछि गएछन् ।’

भद्रपुर–२ कमलाधापका अनिल तामाङका छोरा अंकुश स्थानीय एसियन स्टार बोर्डिङ स्कुल पढ्थे । लकडाउनमा स्कुल बन्द भएपछि घरमै टीभीमा भुलेर बस्थे । छोराको मृत्युले तामाङ परिवारमा पनि बज्रपात परेको छ । अनिल वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । असोजमा घर फर्किने योजनामा थिए । छोराको मृत्युको खबर उनले पत्याउनै सकेका छैनन् । ‘छोरा बितेको खबर सुनेर इन्तु न चिन्तु हुनुभएको छ,’ आफन्त विमला तामाङले भनिन्, ‘एक्लो छोरा थियो, धेरै माया गर्नुहुन्थ्यो ।’

पोस्टमार्टमपछि तीनै बालकको देउनिया नदीमा अन्त्येष्टि गरिएको छ । कमला अब बिल्कुल एक्ली भएकी छन् । श्रीमान् र परिवारको साथ नपाएकी उनलाई दुई छोराको आडभरोसा थियो । अब छोराहरू कहिल्यै फर्किएर आउँदैनन् । ‘मेरो त घरै उजाडियो, छोराहरूको मायाले बाँचेकी थिएँ,’ भक्कानिँदै उनले भनिन्, ‘अब कसरी बाँच्ने होला ?’

यो पनि पढ्नुहोस्ः

खाल्डोमा जमेको पानीमा डुबेर झापामा तीन जना बालकको ज्यान गयो

प्रकाशित : श्रावण ११, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

इराकमा छटपटिँदै नेपाली

होम कार्की

काठमाडौँ — कुर्दिस्तान सरकारले कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन र कर्फ्यु दुवै हटाएको छ । तर राजधानी अर्बिलस्थित वकारीमा गोरखाका पूर्ण गुरुङ काम गर्ने क्याफे खुलेको छैन । उनी कोठाबाट बाहिर ननिस्किएको ६ महिना बितेको छ ।

यसबीचमा उनलाई ज्वरो आयो । पेटमा पानी पर्नु हुँदैनथ्यो, बान्ता भइहाल्थ्यो । साथीहरूसँग बोली मिसाउनसमेत गाह्रो भयो । अस्पताल जाने अवस्था थिएन । जसोतसो कोठामै सामान्य औषधि खाएर बसे । ‘साथीहरूले खोले खुवाएर मलाई बचाए,’ उनले सुनाए ।

सिकिस्त बिरामी परेपछि गुरुङलाई तुरुन्तै घर फिर्न मन लाग्यो । अलपत्र वा रोजगारविहीन भएकालाई स्वदेश फर्काउन थालेपछि अर्बिल विमानस्थलमा पनि नेपाली ध्वजावाहक जहाज आउँछ कि भनेर उनले चासो राखे । दूतावासको आधिकारिक सूचना कुरे । तर उद्धार उडान कहिल्यै भएन । ‘हामीलाई कसले हेर्छ र ?’ उनले भने ।

गुरुङलाई कोठाको भाडा र खाने प्रबन्ध क्याफे सञ्चालकले गरिदिएको छ तर काम नहुनाले तलब पाउँदैनन् । त्यही क्याफेमा काम गर्ने अरू १९ नेपालीको अवस्था पनि उस्तै छ । ‘क्याफे चल्दा ५ सय डलर तलब दिन्थे । अहिले त खान पाउनु नै ठूलो कुरा लागेको छ,’ उनले भने, ‘यहाँ त जे भने पनि हाम्रो लागि साहु नै हो । हाम्रो दूतावास पनि छैन ।’

इराकको स्वशासित क्षेत्रीय राज्य कुर्दिस्तानमा नेपाल सरकारको साथ सहयोग चाहिए कुवेतस्थित नेपाली दूतावासलाई गुहार्नुपर्छ । दूतावासले कुवेतमै रहेका नेपाली कामदारलाई नै राहत दिन सकेको छैन । ‘सरकारको नजरमा इराकमा काम गर्नु अपराध गरेजस्तै हो । सरकारले बग्दादलाई मात्रै इराक ठान्छ । बग्दादबाट झन्डै चार सय किमि टाढा कुर्दिस्तान पनि छ । यहाँ बलियो सुरक्षा छ भन्ने कहिल्यै स्वीकार गरेन र देखेन पनि,’ गुरुङले भने, ‘म मलेसियामा काम गरेर यहाँ आएँ । यहाँ मलेसियाभन्दा बढी सुरक्षित लाग्यो ।’

कोरोना महामारीका बेला इराकबाट स्वदेश गएर फेरि फर्कन चाहने नेपाली धेरै छन् । ‘तर गएपछि पुनः आउन नपाउने भएकाले जस्तोसुकै दुःख सहेर भए पनि इराकमै टाँसिन बाध्य हुनुपर्छ,’ गुरुङले भने । उनी भने अन्तर्राष्ट्रिय उडान खुलेपछि घर फर्किने भएका छन् । ‘अरू साथीहरू पनि घर फिर्ने कुरा गर्दै छन्,’ उनले भने ।

सुर्खेतका नरप्रसाद वली युरोप उड्न दिल्ली गएर बसेका थिए । दिल्लीमा एजेन्ट ८ लाख रुपैयाँ लिएर बेपत्ता भएपछि उनलाई घर फिर्ने आँट आएन । दुई लाख रुपैयाँ खोजेर इराक छिरे । ‘त्यत्रो रकमको ब्याज तिर्न गाह्रो हुने देखियो । एक चिनारु साथीले कुर्दिस्तानमा रोजगारीको अवसर छ भनेपछि आएँ । यहाँ काम त पाइयो तर भिसा लागेन,’ उनले भने, ‘घर फिर्न खोजेको तर राहदानी साथमा छैन । दलालले भिसा लगाइदिन्छु भन्दै राहदानी लिएर गयो । त्यो राहदानी माग्दा १९ सय डलर बुझाउनुपर्छ भन्छ । स्वदेश फिर्न प्रत्येक महिनाको ५ सय डलर जरिवाना बुझाउनुपर्छ । कसरी स्वदेश फिर्ने भन्ने चिन्ता छ ।’

वली कानुनी हैसियत नभएपछि सुपरमार्केटमा काम गरिरहेका छन् । ‘प्रहरीसँग नियमितजसो ठक्कर खाइन्छ । चेकिङमा परिएको छैन । यसरी कहिलेसम्म चल्छ, थाहा छैन,’ उनले भने, ‘राहदानीमा कसरी रातो छाप लगाउने उपाय पत्ता लगाउन सकिएको छैन ।’

वलीका अनुसार दलालमार्फत इराक पुगेका सयौं नेपाली काम नपाएर अलपत्र छन् । इराकस्थित गैरआवासीय नेपाली संघका अनुसार कम्तीमा २५ हजार नेपाली त्यहाँ कार्यरत छन् । तीमध्ये झन्डै ६० प्रतिशत घरेलु कामदार महिला छन् । घरेलु काममा बाहेक होटल, रेस्टुरेन्ट, बार र कफी सपमा नेपाली बढी छन् । ‘घरेलु काममा रहेकाले रोजगारी गुमाएका छैनन् । होटल, रेस्टुरेन्ट, बार र कफी सपमा काम गर्नेहरू भने बेरोजगार बनेका छन् । बेरोजगार भएकाहरू घर फिर्न चाहन्छन्,’ एनआरएनए इराकमा सचिव विनोद श्रेष्ठले कान्तिपुरसँग भने ।

महामारीका बेला सयभन्दा बढी नेपालीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षणको संक्रमण देखिएको थियो । ‘परीक्षण सम्भव भएन । डाक्टरसमक्ष पुगेका साथीहरूलाई के औषधि दिइएको छ, बुझेर त्यही किनेर खाएँ । बेसार–तातोपानी पिएँ,’ श्रेष्ठले भने, ‘यसैगरी उपचार पद्धति चल्यो । धन्न, कसैलाई केही भएन । दूतावास भइदिएको भए औषधि उपचारमा पक्कै सहयोग र समन्वय मिल्थ्यो ।’

सिन्धुपाल्चोक घर भएका राजु शेर्पा मार्चदेखि कामविहीन छन् । उनले श्रीमतीको कमाइबाट बाँच्नु परिरहेको सुनाए । बग्दादमा कार्यरत गोरखाका उत्तम घलेले धेरै नेपाली महिला चाहेर पनि फर्कन नसकेको बताए । ‘केही दिदीबहिनीले उद्धार उडानबारे सोधखोज गरिरहेका छन् । उनीहरूले मार्चबाट घर जान चाहेका हुन् । छिटो उद्धार गरिदिए हुन्थ्यो भन्छन्,’ उनले भने । एनआरएनए सचिव श्रेष्ठले इराकलाई सरकारले सधैं प्रतिबन्धित आँखाले हेर्दा नेपालीमाथि समस्या थपिँदै गएको बताए । ‘यहाँ रहेका नेपालीमाथि सधैं भेदभावको हिसाबले हेरियो । इराकको कुर्दिस्तान क्षेत्र सुरक्षित छ भन्ने ढंगले सोचिएन,’ उनले भने, ‘नेपाल सरकारले दृष्टिकोण बदल्नुपर्छ ।’

इराकबाट नेपालसँग सोझो व्यावसायिक उडान छैन । यूएई हुँदै नेपाल आउजाउ गर्नुपर्छ । ‘सरकारले चार्टर उडान नै व्यवस्था गरिदिए त राहत हुने थियो,’ श्रेष्ठले भने । यूएईबाटै नेपाल फिर्न चाहनेको संख्या ४० हजार नाघिसकेको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले इराकमा चार्टर उडानबाट नेपाली ल्याउने कार्य निकै कठिन रहेको जनाएको छ । ‘नेपाली इराकको बग्दाद र कुर्दिस्तान क्षेत्रमा बढी छन् । हामीले उडान गर्दा बग्दाद र कुर्दिस्तानमध्ये एकबाट गर्नुपर्ने हुन्छ,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले कान्तिपुरसँग भने, ‘बग्दादमा थोरै नेपाली छन् । कुर्दिस्तानमा रहेका नेपाली बग्दाद आउन कठिन छ । बग्दादमा रहेका नेपाली फेरि कुर्दिस्तानमा जान कठिन छ ।’ उनले चार्टरभन्दा पनि व्यावसायिक उडानमार्फत नै यात्रा गर्न सहज हुने बताए । ‘मैले कुवेतमा रहेका इराकका राजदूतसँग पनि कुराकानी गरेको छु । उहाँले बिहीबारदेखि नै निश्चित व्यावसायिक उडान सुरु भएको सूचना दिनुभएको छ,’ उनले भने ।

इराकबाट नेपालीले स्वदेश फिर्नका लागि पछिल्लो समय सम्पर्क नगरेको दूतावासले जनाएको छ । ‘इराकबाट फर्किने कति नेपाली छन्, उनीहरूको कानुनी हैसियत के छ, गैरकानुनी हैसियतमा रहेकाहरूले जरिवाना भुक्तानी गरिसकेका छन् कि छैनन् भन्नेबारे दूतावासलाई प्रस्ट सूचना छैन,’ राजदूत भण्डारीले भने, ‘फेरि चार्टर उडानको प्रक्रिया निकै लामो छ ।’

प्रकाशित : श्रावण ११, २०७७ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×