कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन पटक नेगेटिभ रिपोर्ट, ४७ दिन क्वारेन्टाइन बसाइ !

‘समाज र घरपरिवारको सुरक्षाका लागि लक्ष्मणरेखा तोड्न सकेनौं ।’
प्रकाश बराल

बागलुङ — भारतको पन्जाबमा २५ वर्षदेखि काम गर्दै आएको होटल बन्द भएपछि रोजगारी गुमाएर उनी घर फर्के । नेपालको सिमानासम्म आउन उनलाई तीन गुणा भाडा लाग्यो । नेपाल बोर्डरमा आएपछि नगरपालिकाले पठाएको गाडीमा उनी गाउँ फर्के । ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय काशीराम अधिकारीले पन्जाबबाट हिँडेको चौथो दिनमा बागलुङको बुर्तिवाङ आएर मात्रै पानी पिउन पाएका थिए ।

तीन पटक नेगेटिभ रिपोर्ट, ४७ दिन क्वारेन्टाइन बसाइ !

त्यही दिन बेलुकी घरछेउको क्वारेन्टाइनमा पुगेर मात्रै खाना खाएका थिए । ५४ जनाको समूह भारतबाट बुर्तिवाङसम्म बस चढेर आएका थिए । उनी चढेको बसमा मात्रै बडिगाड गाउँपालिका–१८, ढोरपाटनका १० जना, गुल्मीको रिडीका ४ जना थिए ।

भोकै भए पनि घर आइपुगेकोले उनी परिवारसँग भेट्न पाउने आशले खुसी थिए । जेठको १७ गते गाउँ फर्केपछि अधिकारीलाई शिवालय मावि सैखोलाको क्वारेन्टाइनमा पठाइयो । उनी घर आउनुभन्दा दुई साताअघि श्रीमतीले सासू बिरामी परेर बुटवल उपचारका लागि लगेकी थिइन् । लकडाउनका बेला १४ वर्षीया छोरी राधिकाले १० वर्षीय भाइ र घर हेरेर बसेकी थिइन् । उनी घर फर्कन लागेकोले छोराछोरी खुसी थिए । भारतबाट आएकोले क्वारेन्टाइन बसेर मात्र घर आउन पाइन्छ भन्ने उनलाई लागेको थियो । ५ मिनेटको दूरीमा रहेको क्वारेन्टाइनमा छोराछोरी भेट्न पुगे । ल्याएका चकलेट पनि उनले दिन पाएनन् । झोलासहित क्वारेन्टाइनको कोठाभित्रै छिरे । दुई सातामा घर आउने भन्दै सम्झाएपछि छोराछोरी फर्के ।

अधिकारीको कोठामा गाउँकै रामु विक र खगेन्द्र विकलाई राखियो । त्यसअघि उक्त विद्यालयमा ७५ जना मानिस थिए । चौध दिन क्वारेन्टाइनमा बस्ने वा नेगेटिभ रिपोर्ट आएपछि घर फर्कन पाउने प्रावधान भएकोले छिट्टै घर फर्कन पाउने उनको विश्वास थियो । सदरमुकामदेखि टाढा भएकोले समयमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मी पुग्न सकेनन् । साता दिनपछि आएका स्वास्थ्यकर्मीले निकालेको स्वाबको पीसीआर रिपोर्ट आउन थप दुई साता लाग्यो । उनको नेगेटिभ रिपोर्ट आएकै दिन सोही क्वारेन्टाइनका एक युवाको पोजििटभ रिपोर्ट देखियो । एउटै भान्छाको खाना खाएको भन्दै नगरपालिकाले उनीहरु तीनै जनालाई घर फर्कन दिएन ।

नेगेटिभ रिपोर्ट आएको दिन छोरी राधिका बाबुको झोला बोक्न भनेर आएकी थिइन् । बाबुलाई नछाडेपछि राधिका रुँदै फर्किन् । ‘आमाबाबा नभएको दुई महिनासम्म भाइको स्याहार गर्ने र घर धानेर बस्नुपरेको थियो, नेगेटिभ रिपोर्ट आएर पनि घर आउन नपाएपछि धेरै नरमाइलो लाग्यो’ राधिकाले भनिन्, ‘त्यो दिन घरमा खाना पकाएर पनि खाएनौं ।’ साता दिनपछि फेरि अधिकारीको दोश्रो स्वाब लिइयो । त्यसको ६ दिनमै रिपोर्ट नेगेटिभ आयो । उक्त दिन पनि सोही क्वारेन्टाइनमा बस्ने दुई युवामा कोरोना पोजिटिभ भेटियो । त्यसपछि उनीहरु घर जान पाउने आश मर्‍यो ।

पहिलो पटक कोरोना पोजिटिभ देखिएका युवा निको भएर डिस्चार्ज भइसकेका थिए तर अधिकारीको भने घर फर्कने दिन आएन । तेस्रोपटक पनि अधिकारी र विक दाजुभाइले स्वाब दिए । फेरि परीक्षणका लागि पठाइयो । ‘हामीलाई विद्यालयमा डोरीले घेरा लगाइएको थियो, पुरुष र महिलाको सिमाना मात्र नभई भेट्न आउनेले बोल्ने स्थान पनि त्यही डोरीले छुट्टयाएको थियो,’ अधिकारीले भने, ‘समाज र घरपरिवारको सुरक्षाका लागि लक्ष्मणरेखा तोड्न सकेनौं ।’ कतिपय क्वारेन्टाइनबाट मानिस भागेको, विद्रोह गरेको खबर आइरहे पनि वडाध्यक्ष लक्ष्मण पुनसहितका जनप्रतिनिधिले दैनिक पुगेर उनीहरुलाई सम्झाइबुझाइ गर्थे । पुनले सम्झाएपछि धेरैले विद्रोह गर्ने मनस्थिति हटाएको उनले बताए ।

दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको दिन छोराछोरी दुवै भेट्न गएका थिए । फर्कन नपाएपछि दुवै जना रुँदै फर्केको देखेर उनलाई साह्रै नरामाइलो लाग्यो । ‘दुई पटकसम्म नेगेटिभ आएर पनि घर जान नपाउने भन्दै भागौंझै लागेको थियो, तर समाजबाट भाग्न सकिने थिएन, त्यसैले फेरि कोठाभित्रै पसें,’ अधिकारीले भने, ‘नेगेटिभ रिपोर्ट आइरहेको थियो, त्यसैले मैले छोराछोरीलाई सम्झाएर पठाएँ ।’

उनी छोराछोरीलाई ‘ढुक्क भएर घरमा बस, म अर्को साता आउँछु’ भनेर पठाउँथे । त्यसपछि आफू भने कोठाभित्र पसेर रुन्थे । तेस्रो पटकको रिपोर्ट आउन १९ दिन लाग्यो । त्यतिबेला क्वारेन्टाइनमा बसेकामध्ये एउटा भवनमा बस्ने सबैको नेगेटिभ आएपछि मात्रै उनीहरु घर जान पाए । क्वारेन्टाइनमा बसेको ४७ औं दिनमा असार ३० गते मात्रै उनीहरु घर फर्कन पाए । त्यस दिनसम्म पोजेटिभ आएकाहरु पनि सबै निको भएर घर गैसकेका थिए । बाबुआमाबिनै दुई महिनासम्म घर धानेका बालबालिकाले त्यसदिन बाबुको झोला बोकेर खुसी हुँदै घर फर्के । क्वारेन्टाइनमा नियमपूर्वक बसेको भन्दै वडाध्यक्षले फूलमालाले बिदाइ गरे । घर गएपछि पनि साता दिन घरमै बसिदिन आग्रह गरिएको थियो । अझै पनि अधिकारी र विक दाजुभाइ घरबाट बाहिर निस्केका छैनन् । छोराछोरीले खाना पकाएर दिएका छन् । घरकै कोठामा बसेर खाने र भित्री काम गरेर बसेको उनले बताए ।

‘४७ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि कसैले ‘लक्ष्मणरेखा’ पार गरेनन्’ विकले भने,‘बरु व्यायाम गर्ने, गीत गाएर नाच्ने काम गरेर दिन बिताइयो ।’ भेट्न आएका आफन्तलाई पनि क्वारेन्टाइनमै खुसी साटासाट गरेको देखाएर ढुक्क बनाएर घर पठाएको उनले बताए । ढोरपाटनकै उत्तरगंगा क्वारेन्टाइनमा नियम पालना नभएकोले सेना परिचालन गरिएको छ । सेनाका क्याप्टेनको नेतृत्वमा उत्तरगंगा माविसहितका क्वारेन्टाइनमा ७० जना सेना खटाइएको हो । ढोरपाटन नगरपालिकाका अधिकांश वडामा बाक्लो बस्ती छ ।

‘लकडाउन र होम क्वारेन्टाइनमा बस्ने नियम पालना भएन भने बस्ती नै सखाप हुन्छ भनेर रोक्न बाध्य भयौं,’ पुनले भने, ‘उहाँहरुले नियम मानिदिएकोले अब झण्डै कोरोनामुक्त जस्तै भइसकेका छौं ।’ वडाले स्वयंसेवक खटाएर सुरक्षा व्यवस्था मिलाएको थियो । पटक–पटक गरेर २ सय जना बसेको शिवालय माविसहितका वडा नं. ५ का ४ वटा क्वारेन्टाइन खाली भएको पुनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अब जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ सय ९५ जना मात्रै बाँकी छन् । अहिलेसम्म जिल्लाका २ सय २५ जना संक्रमित भएकोमा २ सय ३ जना निको भएका छन् । ढोरपाटन नगरपालिका ४ का एक युवाको क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण १०, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?