तीन पटक नेगेटिभ रिपोर्ट, ४७ दिन क्वारेन्टाइन बसाइ !

‘समाज र घरपरिवारको सुरक्षाका लागि लक्ष्मणरेखा तोड्न सकेनौं ।’
प्रकाश बराल

बागलुङ — भारतको पन्जाबमा २५ वर्षदेखि काम गर्दै आएको होटल बन्द भएपछि रोजगारी गुमाएर उनी घर फर्के । नेपालको सिमानासम्म आउन उनलाई तीन गुणा भाडा लाग्यो । नेपाल बोर्डरमा आएपछि नगरपालिकाले पठाएको गाडीमा उनी गाउँ फर्के । ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय काशीराम अधिकारीले पन्जाबबाट हिँडेको चौथो दिनमा बागलुङको बुर्तिवाङ आएर मात्रै पानी पिउन पाएका थिए ।

त्यही दिन बेलुकी घरछेउको क्वारेन्टाइनमा पुगेर मात्रै खाना खाएका थिए । ५४ जनाको समूह भारतबाट बुर्तिवाङसम्म बस चढेर आएका थिए । उनी चढेको बसमा मात्रै बडिगाड गाउँपालिका–१८, ढोरपाटनका १० जना, गुल्मीको रिडीका ४ जना थिए ।

भोकै भए पनि घर आइपुगेकोले उनी परिवारसँग भेट्न पाउने आशले खुसी थिए । जेठको १७ गते गाउँ फर्केपछि अधिकारीलाई शिवालय मावि सैखोलाको क्वारेन्टाइनमा पठाइयो । उनी घर आउनुभन्दा दुई साताअघि श्रीमतीले सासू बिरामी परेर बुटवल उपचारका लागि लगेकी थिइन् । लकडाउनका बेला १४ वर्षीया छोरी राधिकाले १० वर्षीय भाइ र घर हेरेर बसेकी थिइन् । उनी घर फर्कन लागेकोले छोराछोरी खुसी थिए । भारतबाट आएकोले क्वारेन्टाइन बसेर मात्र घर आउन पाइन्छ भन्ने उनलाई लागेको थियो । ५ मिनेटको दूरीमा रहेको क्वारेन्टाइनमा छोराछोरी भेट्न पुगे । ल्याएका चकलेट पनि उनले दिन पाएनन् । झोलासहित क्वारेन्टाइनको कोठाभित्रै छिरे । दुई सातामा घर आउने भन्दै सम्झाएपछि छोराछोरी फर्के ।

अधिकारीको कोठामा गाउँकै रामु विक र खगेन्द्र विकलाई राखियो । त्यसअघि उक्त विद्यालयमा ७५ जना मानिस थिए । चौध दिन क्वारेन्टाइनमा बस्ने वा नेगेटिभ रिपोर्ट आएपछि घर फर्कन पाउने प्रावधान भएकोले छिट्टै घर फर्कन पाउने उनको विश्वास थियो । सदरमुकामदेखि टाढा भएकोले समयमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मी पुग्न सकेनन् । साता दिनपछि आएका स्वास्थ्यकर्मीले निकालेको स्वाबको पीसीआर रिपोर्ट आउन थप दुई साता लाग्यो । उनको नेगेटिभ रिपोर्ट आएकै दिन सोही क्वारेन्टाइनका एक युवाको पोजििटभ रिपोर्ट देखियो । एउटै भान्छाको खाना खाएको भन्दै नगरपालिकाले उनीहरु तीनै जनालाई घर फर्कन दिएन ।

नेगेटिभ रिपोर्ट आएको दिन छोरी राधिका बाबुको झोला बोक्न भनेर आएकी थिइन् । बाबुलाई नछाडेपछि राधिका रुँदै फर्किन् । ‘आमाबाबा नभएको दुई महिनासम्म भाइको स्याहार गर्ने र घर धानेर बस्नुपरेको थियो, नेगेटिभ रिपोर्ट आएर पनि घर आउन नपाएपछि धेरै नरमाइलो लाग्यो’ राधिकाले भनिन्, ‘त्यो दिन घरमा खाना पकाएर पनि खाएनौं ।’ साता दिनपछि फेरि अधिकारीको दोश्रो स्वाब लिइयो । त्यसको ६ दिनमै रिपोर्ट नेगेटिभ आयो । उक्त दिन पनि सोही क्वारेन्टाइनमा बस्ने दुई युवामा कोरोना पोजिटिभ भेटियो । त्यसपछि उनीहरु घर जान पाउने आश मर्‍यो ।

पहिलो पटक कोरोना पोजिटिभ देखिएका युवा निको भएर डिस्चार्ज भइसकेका थिए तर अधिकारीको भने घर फर्कने दिन आएन । तेस्रोपटक पनि अधिकारी र विक दाजुभाइले स्वाब दिए । फेरि परीक्षणका लागि पठाइयो । ‘हामीलाई विद्यालयमा डोरीले घेरा लगाइएको थियो, पुरुष र महिलाको सिमाना मात्र नभई भेट्न आउनेले बोल्ने स्थान पनि त्यही डोरीले छुट्टयाएको थियो,’ अधिकारीले भने, ‘समाज र घरपरिवारको सुरक्षाका लागि लक्ष्मणरेखा तोड्न सकेनौं ।’ कतिपय क्वारेन्टाइनबाट मानिस भागेको, विद्रोह गरेको खबर आइरहे पनि वडाध्यक्ष लक्ष्मण पुनसहितका जनप्रतिनिधिले दैनिक पुगेर उनीहरुलाई सम्झाइबुझाइ गर्थे । पुनले सम्झाएपछि धेरैले विद्रोह गर्ने मनस्थिति हटाएको उनले बताए ।

दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको दिन छोराछोरी दुवै भेट्न गएका थिए । फर्कन नपाएपछि दुवै जना रुँदै फर्केको देखेर उनलाई साह्रै नरामाइलो लाग्यो । ‘दुई पटकसम्म नेगेटिभ आएर पनि घर जान नपाउने भन्दै भागौंझै लागेको थियो, तर समाजबाट भाग्न सकिने थिएन, त्यसैले फेरि कोठाभित्रै पसें,’ अधिकारीले भने, ‘नेगेटिभ रिपोर्ट आइरहेको थियो, त्यसैले मैले छोराछोरीलाई सम्झाएर पठाएँ ।’

उनी छोराछोरीलाई ‘ढुक्क भएर घरमा बस, म अर्को साता आउँछु’ भनेर पठाउँथे । त्यसपछि आफू भने कोठाभित्र पसेर रुन्थे । तेस्रो पटकको रिपोर्ट आउन १९ दिन लाग्यो । त्यतिबेला क्वारेन्टाइनमा बसेकामध्ये एउटा भवनमा बस्ने सबैको नेगेटिभ आएपछि मात्रै उनीहरु घर जान पाए । क्वारेन्टाइनमा बसेको ४७ औं दिनमा असार ३० गते मात्रै उनीहरु घर फर्कन पाए । त्यस दिनसम्म पोजेटिभ आएकाहरु पनि सबै निको भएर घर गैसकेका थिए । बाबुआमाबिनै दुई महिनासम्म घर धानेका बालबालिकाले त्यसदिन बाबुको झोला बोकेर खुसी हुँदै घर फर्के । क्वारेन्टाइनमा नियमपूर्वक बसेको भन्दै वडाध्यक्षले फूलमालाले बिदाइ गरे । घर गएपछि पनि साता दिन घरमै बसिदिन आग्रह गरिएको थियो । अझै पनि अधिकारी र विक दाजुभाइ घरबाट बाहिर निस्केका छैनन् । छोराछोरीले खाना पकाएर दिएका छन् । घरकै कोठामा बसेर खाने र भित्री काम गरेर बसेको उनले बताए ।

‘४७ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि कसैले ‘लक्ष्मणरेखा’ पार गरेनन्’ विकले भने,‘बरु व्यायाम गर्ने, गीत गाएर नाच्ने काम गरेर दिन बिताइयो ।’ भेट्न आएका आफन्तलाई पनि क्वारेन्टाइनमै खुसी साटासाट गरेको देखाएर ढुक्क बनाएर घर पठाएको उनले बताए । ढोरपाटनकै उत्तरगंगा क्वारेन्टाइनमा नियम पालना नभएकोले सेना परिचालन गरिएको छ । सेनाका क्याप्टेनको नेतृत्वमा उत्तरगंगा माविसहितका क्वारेन्टाइनमा ७० जना सेना खटाइएको हो । ढोरपाटन नगरपालिकाका अधिकांश वडामा बाक्लो बस्ती छ ।

‘लकडाउन र होम क्वारेन्टाइनमा बस्ने नियम पालना भएन भने बस्ती नै सखाप हुन्छ भनेर रोक्न बाध्य भयौं,’ पुनले भने, ‘उहाँहरुले नियम मानिदिएकोले अब झण्डै कोरोनामुक्त जस्तै भइसकेका छौं ।’ वडाले स्वयंसेवक खटाएर सुरक्षा व्यवस्था मिलाएको थियो । पटक–पटक गरेर २ सय जना बसेको शिवालय माविसहितका वडा नं. ५ का ४ वटा क्वारेन्टाइन खाली भएको पुनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अब जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ सय ९५ जना मात्रै बाँकी छन् । अहिलेसम्म जिल्लाका २ सय २५ जना संक्रमित भएकोमा २ सय ३ जना निको भएका छन् । ढोरपाटन नगरपालिका ४ का एक युवाको क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण १०, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

मुख्य सचिवको दौडमा आधा दर्जन सचिव

मुख्य सचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिन लागेपछि आधा दर्जन सचिवहरू उक्त पद हात पार्न आ–आफ्ना हिसाबले दौडमा सक्रिय भएका छन् ।
मुख्य सचिव रेग्मीले असोज २२ अघि राजीनामा दिए तीन सचिव दाबेदार : शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी
मुख्य सचिव रेग्मीले पूरै कार्यकाल काम गरे पनि तीनै सचिव दाबेदार : चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी
अब्दुल्लाह मियाँ

काठमाडौँ — निजामती सेवामा शक्तिशाली र सर्वोच्च मानिने मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिन लागेपछि आधा दर्जन सचिवहरू उक्त पद हात पार्न सक्रिय भएका हुन् । 

रेग्मीको कार्यकाल आगामी कात्तिक ३ मा सकिँदै छ । रेग्मी २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त भएका थिए । रेग्मी पूरै कार्यकाल पदमा बस्दा वा असोज २२ अघि (कार्यकाल सकिनुभन्दा करिब दुई साताअघि) नै राजीनामा दिएर जाँदा मात्रैले पनि मुख्य सचिवका आकांक्षीहरूको दौड निकै प्रभावित हुने देखिन्छ ।

स्रोतका अनुसार वरिष्ठ तीन सचिवहरू रेग्मीलाई सेवानिवृत्त हुनुभन्दा करिब दुई साताअघि नै अन्यत्रै नियुक्त गराएर मुख्य सचिव पद आफ्नो पोल्टामा पार्न राजनीतिक शक्ति केन्द्र धाउन थालिसकेका छन् ।

प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्य सचिव पद आकर्षक मानिन्छ । निजामती सेवा ऐनको दफा १९ (२) ‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने उल्लेख छ ।

वैरागी, सापकोटा र अधिकारीको दौड

सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी छन् ।

रेग्मी पूरै कार्यकाल पदमा रहे तीनै जनाको मुख्य सचिव हुने बाटो बन्द हुनेछ । उनीहरू असोज २२ मा पाँचवर्षे सेवा अवधि सकिएर सेवानिवृत्त हुनेछन् । तीनै जना २०७२ असोज २२ मा एकै दिन सचिव नियुक्त भएका थिए ।

‘त्यसैले रेग्मीलाई कतै व्यवस्थापन गराउन सकिए पद हात पार्न सकिने ध्याउन्नमा उहाँहरू हुनुहुन्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले कान्तिपुरलाई भन्यो, ‘उहाँहरू कति सफल हुनुहुन्छ, अहिले नै भन्न सकिने अवस्था छैन ।’

संवैधानिक आयोग वा अन्य कुनै आकर्षक राजनीतिक नियुक्तिको ग्यारेन्टी भए रेग्मीले कार्यकाल सकिनुअघि नै पद छाड्न सक्ने बुझाइ वरिष्ठ सचिवहरूको छ । यसअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले बीचैमा राजीनामा दिएर अन्यत्र नियुक्ति लिएपछि रोलक्रममै नरहेका राजेन्द्रकिशोर क्षेत्रीले मुख्य सचिव पद हात पारेको नजिर छ । राजनीतिक लबिइङकै आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारले क्षेत्रीलाई मुख्य सचिव बनाएको थियो ।

रेग्मीले पदबाट राजीनामा दिए आफूहरूमध्येकालाई मुख्य सचिव बन्न बाटो खुल्ने वैरागी, सापकोटा र अधिकारीको बुझाइ छ । त्यसैले उनीहरू रेग्मीलाई अन्यत्र व्यवस्थापन गराउनमै केन्द्रित रहेको स्रोतको दाबी छ । वैरागी र अधिकारी मुख्य सचिव भए दुवैले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउनेछन् । त्यो अवस्थामा उनीहरूपछिका मुख्य सचिवका मुख्य दाबेदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम हुनेछन् । त्यति बेला सबैभन्दा वरिष्ठ सचिवको सूचीमा रहने उनले २०८० फागुन ६ मा अवकाश पाउनेछन् ।

अघिल्लो पंक्तिका अर्का आकांक्षी सापकोटा मुख्य सचिव भए २०७७ फागुन २५ सम्म मात्रै पदमा रहनेछन् । त्यति बेला उनको ५८ वर्षे सेवाअवधि पूरा हुने भएकाले अनिवार्य अवकाश लिनुपर्नेछ । त्यसैले मुख्य सचिव पद उनको पोल्टामा जाने सम्भावना न्यून रहेको कर्मचारीवृत्तमा चर्चा हुने गरेको छ । उनी राजनीतिक पहुँचका हिसाबले पनि कमजोर मानिन्छन् ।

परराष्ट्र सचिव वैरागी मुख्य सचिवमा सम्भावनाकै कारण सरकारलाई चिढ्याउने किसिमका निर्णय गर्नु नपरोस् भन्नेमा सचेत देखिन्छन् । मुख्य सचिव बन्नकै लागि उनी न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगलगायतका अवसर छाडेर बसेको जानकारहरूको दाबी छ ।

वैरागी एक मात्र त्यस्ता व्यक्ति हुन् जसले परराष्ट्रमा लगातार ५ वर्ष सचिवको कार्यकाल पूरा गर्दै पनि छन् । परराष्ट्रका अघिल्ला सचिवहरू छोटो अवधिमै राजदूतका रूपमा र नियोगमा खटिने गरी जान्थे ।

पर्यटन सचिव रहेका अधिकारीले पनि मुख्य सचिवका लागि प्रधानमन्त्री निकटहरूसँग लबिइङ बढाएको स्रोतको दाबी छ । उनी पनि प्रशासन क्षेत्रमा अब्बल मानिन्छन् ।

रेग्मीले राजीनामा नदिए पनि तीन दाबेदार

रेग्मीले कात्तिक ३ सम्मै काम गरे वरिष्ठताका आधारमा मुख्य सचिवको दौडमा पहिलो नम्बरमा हुनेछन्– उद्योग सचिव चन्द्रकुमार घिमिरे । त्यसपछि हुनेछन्, वन तथा वातावरण सचिव विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी । घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिव नियुक्त भएका थिए ।

घिमिरे मुख्य सचिव भए भने करिब पूरै कार्यकाल रहनेछन् । उनी २०७९ साल मंसिर १५ मा ५८ वर्ष उमेर हदका कारण सेवानिवृत्त हुनेछन् ।

घिमिरे बढ्ता प्रशासनिक दक्षता भएका छन् भने ओली र अधिकारी बढ्ता प्राविधिक रहेको जानकारहरूको तर्क छ । ओली वन तथा कृषि समूहका हुन् भने अधिकारी इन्जिनियर सेवाका । ओलीले मुख्य सचिवको सम्भावनालाई ध्यान राख्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई अप्ठ्यारो पर्ने र विवादास्पद निर्णय नगरी सचिवको चार वर्षभन्दा बढी कार्यकाल पार गरिसकेका छन् ।

‘उहाँले मुख्य सचिव पदलाई नै प्रस्थानविन्दु ठानेर मन्त्रालयभित्र गर्नै पर्ने नीतिगत निर्णय पनि विवादको त्रासले रोक्नुभएको छ,’ एक अधिकारीले कान्तिपुरसित भने, ‘सरकारलाई सहयोग गर्नुपर्छ भन्ने मामिलामा उहाँ बढी नै उदार देखिनुहुन्छ ।’

सचिव ओलीलाई कतिपयले प्रधानमन्त्री ओलीनिकट भनेर समेत व्याख्या गर्ने गरेका छन् । स्रोतका अनुसार वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसमेत आफ्नै सचिव ओलीको प्रधानमन्त्रीसँग बढ्दा निकटता भएको बुझेर अलि कडा निर्णय गर्न हच्किने गरेका छन् । अन्तर्मुखी स्वभावका सचिव ओलीले नियमित रूपमा गर्नुपर्ने नीतिगत निर्णयमा समेत आलटाल गर्ने र आफूअनुकूल नभएका सरुवा रोक्ने गरेको वन क्षेत्रका जानकारहरू सुनाउँछन् ।

प्रशासन क्षेत्रका जानकारहरू भने प्राविधिकमा कर्मचारी प्रशासन हाँक्ने क्षमता कम हुने विश्लेषण गर्छन् । प्रशासनविद् भीमदेव भट्ट प्राविधिकभन्दा प्रशासनिक क्षेत्रका प्रशासक बढी सक्षम र निर्णयप्रक्रियामा अग्रसर हुने बताउँछन् । ‘प्राविधिकले आफ्नो क्षेत्रमा मात्र दक्खल राख्छन्,’ उनले भने, ‘प्रशासनकाले समग्र क्षेत्रलाई हेरेर काम गरेका हुन्छन् ।’

मुख्य सचिव भएनन् भने घिमिरे आगामी २०७७ माघ ८ र ओली २०७८ वैशाख ७ मा पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुनेछन् । मुख्य सचिवकै अर्का प्रतिस्पर्धी अधिकारी पनि पाँचवर्षे सेवा अवधि सकेर २०७८ वैशाख २४ मा सेवानिवृत्त हुनेछन् ।

प्रकाशित : श्रावण १०, २०७७ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×