बर्मन बुढा : जसले थबाङलाई एकजुट बनाए

एकपटक संसद्‍मा सम्बोधनका लागि राजा वीरेन्द्र आउँदै रहेछन् । संसदीय सचिवले छुट्टै लिएर बुढालाई भनेछन्-‘माननीयज्यू, आज त राजा आइबक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोसाक लगाइदिनुपर्‍यो ।’ यति सुनेपछि बुढा जंगिएछन्—‘के यो अर्राष्ट्रिय पोसाक हो ?’ त्यसपछि संसद्का सचिव पनि केही बोल्न सकेनछन् ।
दुर्गालाल केसी

कुनैबेला थबाङका बर्मन बुढा भनेपछि रोल्पादेखि राजधानीसम्मका मान्छेलाई टाउको दुखाइको विषय हुन्थ्यो । कछाड उनको परिचय हो । बर्मन भनेपछि कछाड जोडिएर आउँछ । उनले कछाड थबाङमा मात्रै लगाएनन् सिंहदरबारमा पनि पुर्‍याए ।

बर्मन बुढा : जसले थबाङलाई एकजुट बनाए

२०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरे । सुरु सुरुमा धेरैले उनलाई पागल नै भने । त्यतिबेला जातीय पहिचानको कुरा त्यति साह्रो उठेको पनि थिएन तर उनलाई लाग्यो सांसद हुनेबित्तिकै आफ्नो संस्कार किन छाड्नु ? त्यसैले त उनी काठमाडौ बसिरहँदा पनि गाउँकै पोसाकमा रहे ।

‘म सँधै यस्तै कछाड र चप्पलसहित संसद्‍मा गएँ,’ उस्तै पोसाकमा सधै‌ं भेटिने गरेका बुढा भन्‍ने गर्थे ,‘मेरो पोसाक नै यही हो त किन अरु खोजुँ ?’ एक वर्षअघिसम्म पनि उस्तै जोश जाँगर र राजनीतिक उत्साहसहित गफिने बुढाको बुधबार बिहान उपचारका क्रममा निधन भएको छ ।

बुढालाई कछाड सामान्य लाग्थ्यो तर अरुका लागि यो अचम्मको विषय भयो । उनलाई सांसद भैरहँदा सबैले कछाडवाला नै भनेर चिने । एकपटक संसद्‍मा सम्बोधनका लागि राजा वीरेन्द्र आउँदै रहेछन् । संसदीय सचिवले छुट्टै लिएर बुढालाई भनेछन्-‘माननीयज्यू, आज त राजा आइबक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोसाक लगाइदिनुपर्‍यो ।’ यति सुनेपछि बुढा जंगिएछन्—‘के यो अर्राष्ट्रिय पोसाक हो ?’ त्यसपछि संसद्का सचिव पनि केही बोल्न सकेनछन् ।

त्यसेला राजा आउनुभन्दा अघि नै बुढा संसद्‍‌भित्र छिरेछन् । कछाड र चप्पल लगाएको मान्छे संसद् भवनमा छिरेपछि सबैले उनलाई नै हेरेछन् । ‘को बहुला आयो भन्ने ठानेछन् । राजालाई भन्दा पनि मलाई नै हेरिरहे,’ २०७१ सालमा कान्तिपुरसँगको कुराकानीमा भनेका थिए,‘तैपनि मैले केही अप्ठेरो महसुस गरेन ।’

‘उतिबेला मैले कुनै जातीय नारा उठाउन होइन । थबाङ जस्ता रोल्पाका विकट मानिसले लगाउने कपडाको बारेमा सबैलाई जानकारी होस् भनेर जे छ त्यही लगाएको हुँ,’ बुढाले भनेका थिए,‘मैले कतै खोजेर लगाएको पनि होइन । मैले घरमा जे लगाइरहेको थिएँ त्यही कपडा लगाएर गएँ । अहिले खोजीखोजी, मागीमागी जातीय पोसाक लगाउने चलन आयो । यस्तो देखावटी कुराको कुनै अर्थ छैन ।’

उनले गाउँदेखि सहर पस्दासम्म कहिलै पनि आफूलाई फरक देखाएनन् । एकपटक राजाको सवारीमा सुर्खेत जानुपर्ने भयो । थबाङबाट तीन जना छानिएका थिए । अरु सबैले दौरा सुरुवाल खोजीखोजी मागेर भए पनि लगाए तर बुढा कछाडमै गए । २०१३ सालमा थबाङमा कम्युनिस्ट पार्टीको स्थापना गरेका बुढा जीवनभर कम्युनिस्ट नै भएर लडिरहे ।

जिजु बाजेदेखि चली आएको भेडी गोठाला जाने चलन । बुढा पनि भेडी गोठतिर जान्थे । त्यतिबेला गाउँमा ठूला ठालुहरुले गरिवहरुलाई निकै हप्कीदप्की गर्थे । तत्कालीन मुखिया तथा कांग्रेस नेता कृष्ण झाँक्रीको दादागिरी थियो गाउँमा । ‘गाउँमा दमन हुने भएपछि लामो समय हामी युवाहरु गोठमै बस्थ्यौं, गाउँ आउन सक्दैनथ्यौं,’ उनले कम्युनिस्ट बन्दाको क्षण यसरी सम्झिएका थिए,‘भेडी गोठमा युवाहरुबीच गाउँका ठूला ठालुलाई कुट्ने सल्लाह भयो । कुटेपछि २०१२ सालमा कम्युनिस्ट भनेर एक महिना जेल हाल्यो । त्यसपछि कम्युनिस्ट भनेको के रहेछ भनेर जान्न मन लाग्यो र कम्युनिस्ट भइयो ।’

जेलमा कम्युनिस्ट नेताहरु मोहनविक्रम सिंह र खगुलाल गुरुङसँग भेट भयो । झगडिया भएका कारण झाँक्री पनि जेलमै थिए । सिंह र गुरुङले बुढा र झाँक्रीलाई कम्युनिस्ट बनाएर थबाङलाई कम्युनिस्ट गाउँ बनाउने योजना बनाए । त्यसपछि २०१३ सालमा जेलबाट छुटेपछि सिंह र गुरुङले बुढा र झाँक्री पक्षका तीन/तीन जना प्रतिनिधि राखेर थबाङमा पहिलोपटक कम्युनिस्ट संगठन बनाए । त्यसपछि बुढा नै नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए ।

बुढाले थबाङलाई एकजुट बनाउन निकै भूमिका खेले । हालसम्म थबाङ एकजुट हुनुका पछाडि उनकै महत्वपूर्ण भूमिका देखिन्छ । २०१५ सालमा गाउँलेले उनलाई मुखिया चुने । २०१५ सालको आम चुनावमा थबाङको सबै भोट कम्युनिस्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे । पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुन थालेपछि सरकारका प्रतिनिधिले जिल्लाका सबै प्रधानपञ्चहरुलाई लिबाङमा बोलाए । सबै पञ्चहरुलाई निर्दलमा भोट हाल्न भनियो । ‘सबैले हात उठाएर हुन्छ भने तर मैले म त जिम्मेवार छैन है । जनताले जे पनि गर्न सक्छन् भनेँ,’ बुढाले जिल्लामा एक्लै राज्यविरुद्ध उभिँदाको क्षण सम्झे,‘चुनावमा थबाङबाट एकमुष्ट बहुदलको पक्षमा भोट गयो । त्यसपछि सरकारले मलाई निशाना बनायो ।’

यही कारण बुढालाई २०३७ मंसिरमा शान्ति सुरक्षा मुद्दा लगाएर जेल हालियो । ‘२७ महिना जेल हाल्यो । प्रधानपञ्चको अवधि नै जेलमा बित्यो,’ उनले भने,‘त्यतिबेला पञ्चायतविरोधी देखिएपछि शान्ति सुरक्षा लगाएर जेल हालिन्थ्यो । म एक्लै मात्र पञ्चायतविरुद्ध उभिएन, सिंगो थबाङलाई नै तयार पारें ।’ सुधारिएको पञ्चायतले २०३८ सालमा आम निर्वाचन गरायो । त्यसलाई पनि थबाङले पूर्ण बहिस्कार गरी शून्य मतदान गरिदियो ।

२०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा चुनाव लड्न थाल्यो । बुढाको निर्वाचन क्षेत्र २ नं. अर्थात थबाङ भए पनि जित्न सजिलो भएकाले कृष्णबहादुर महरा त्यहाँबाट उठे भने बुढालाई क्षेत्र नं. १ बाट टिकट दिइयो । ‘हारे पनि बुढाले हार्छ भनेर मलाई आफ्नो क्षेत्रमा नउठाएर १ नं.मा पठाए तैपनि मैले जितें,’ उनले भने,‘जनताको पक्षमा काम गरे जहाँ पनि जित्न सकिने रहेछ ।’

गाउँमै राजनीति गरिरहेका बुढा सांसद भएपछि राजधानी काठमाडौ छिर्नुपर्ने भयो तैपनि उनको जीवनस्तरमा कुनै फरक भएन । सांसद् भएर उनले एक पैसा कमाउन पनि सकेनन् । ‘मासिक ४ हजार तलब थियो । २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिँदैमा सकियो,’ उनले सम्झिए, ‘तलबले मुस्किलले खान पुग्थ्यो । कमाउने कुरा त कहिलै सोचिएन ।’

सांसदको कार्यकाल सकिएपछि उनी कछाडसहित सिधै थबाङ फर्किए । गाउँमै पुरानै अवस्थामा राजनीति गर्न थाले । गाउँको अगुवाइ गर्दै उनले त्यसपछिका निर्वाचनहरुमा पनि गाउँलाई एकजुट देखाए । २०५१ सालको मध्यावधि निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो । त्यतिबेला चार मत मात्र खसेको थियो ।

२०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो । २०५४ को स्थानीय निर्वाचनमा पनि शून्य मतदान भयो । २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो । अरु बाँकी भोट खसेन । युद्धकालमा दुःख पीडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो । २०५८ चैत १५ गते नेपाली सेना थबाङ गाउँमा पसेपछि सबै गाउँलेहरु जंगलतिर भागे । गाउँ खाली भयो ।

भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो । त्यसपछि सेना ४६ दिनसम्म थबाङमै बस्यो । यसक्रममा ३७ घरहरु जलाइए । थबाङबासीहरु सेना फर्केपछि मात्र ४८ दिनपछि घरमा आए । त्यतिबेला २ सय ५० घरधुरीका अशक्त वृद्धवृद्धाबाहेक ४ सय २२ भन्दा बढी मानिसहरुले घर छोडेका थिए । युद्धकालमा थबाङमा ३३ जनाले ज्यान गुमाए ।

यी सबै पीडा र क्षतिका बाबजुद २०६४ को संविधानसभा निर्वाचनमा थबाङले एकमुष्टरुपमा भोट तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हालेर जितायो । दाहाल दुई ठाउँ चुनाव लडेका कारण रोल्पा छोडेपछि उपनिर्वाचनमा थबाङले सन्तोष बुढालाई एकमुष्ट भोट दिएर जितायो । २०७० को दोश्रो संविधानसभामा भने थबाङले एक भोट पनि नखसालेर विद्रोह गर्‍यो । यी सबै घटनाक्रममा बुढाको महत्वपूर्ण भूमिका रह्यो ।

थबाङ २०१२ सालदेखि नै क्रान्तिकारी गाउँका रुपमा परिचित छ । थबाङको फरक परिचय छ । २०१३ सालदेखि नै थबाङ कम्युनिस्ट गाउँका रुपमा एकताबद्ध हुँदै आयो । थबाङलाई धेरै कम्युनिस्ट नेताहरुले सेल्टर बनाए तर अवसर पाउँदा उनीहरुले थबाङलाई भुलिदिए । मोहनविक्रम सिंह २०१३ सालपछि फेरि थबाङमा फर्केनन् । पुष्पकमल दाहाल सिंहसँग फुटेपछि मात्र २०४२ सालमा पहिलोपटक थबाङ गएका थिए । २०४३ सालमा थबाङमा तीन दिन बसेर दहालले ग्रामीण वर्ग संघर्षको खाका तयार पारेका थिए । रोल्पा रुकुम क्षेत्रका मगर समुदाय लडाकु बन्नसक्ने कुराको निष्कर्ष निकाली उनले १० बुँदे दस्ताबेज तयार पारे ।

यही निष्कर्षका आधारमा दाहालले रुकुम रोल्पाका अधिकांश मगर समुदायका लडाकु सामेल गरेर युद्ध लडे । थबाङलाई आधार इलाका बनाएर दश वर्षे युद्ध लडे तर युद्धपछि उनले थबाङलाई जनताको चाहना अनुसार सम्झन नसकेको बुढाको गुनासो छ । दाहालभन्दा अघि नै २०३२ सालमा मोहन वैद्य, २०३६ सालमा कृष्ण सेन र २०३८ सालमा रामबहादुर थापाले थबाङलाई कार्यथलो बनाएर काम गरिसकेका थिए । यी सबै घटनाक्रममा बुढा नै थबाङका अगुवा भए ।

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाइँको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनले मधेसीजस्तो देखिन लुङ्गी लगाए । युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइयो । उनकै छोरी ज्वाइँको खड्कबहादुर घर्तीको ललितपुरको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए । राजाले पनि ज्वाइँ राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए । दुई दिन त्यहाँ बसेर वार्ता गरे तर कुरो मिलेन ।

राजाका प्रतिनिधिले फेरि पनि माओवादीसँग भेट गराइदिन बुढालाई अनुरोध गरे तर उनले 'म सक्दैन' भनिदिए । त्यसपछि सेनाले बुढाका ज्वाइँलाई पक्राउ गरी हत्या गरिदियो । यो पीडाका बाबजुद पनि बुढाले थबाङलाई बिर्सन सकेनन् । युद्धपछि थबाङ फर्के र पुरानै दिनचर्यामा लागे । गाउँ समाजको अगुवाइका काममा सघाउन थाले । पार्टी फुटेपछि दुवै माओवादीले उनलाई तानातान गरे । ‘वैद्य पक्षले मलाई केन्द्रीय सल्लाहकार राखेको छु भन्छ । बादल मलाई भेट्न घरमै आएका थिए,’ उनले भनेका थिए,‘मैले त म कतैको होइन भनें । पार्टी फुटे कमजोर हुन्छ भन्ने सल्लाह दिएँ ।’

पार्टी फुटेको सम्बन्धमा उनलाई पुरानो उखान निकै घत लागिरहेको छ । ‘बाक्लो मकै फल्दैन-बाक्लो भलादमी मिल्दैन’ भने जस्तै माओवादीभित्र धेरै नेता भएकाले नमिलेको उनको बुझाइ थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ७, २०७७ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?