कोरोना कहर : साउनमै छैन चुरापोतेको व्यापार

रीना मोक्तान

काठमाडौँ — साउनमा अम्जद खानलाई पोते व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । अवस्था सामान्य हुँदो हो त यतिखेर उनको पसलमा खुट्टा टेक्ने ठाउँसमेत हुन्थेन । तर, यो वर्ष कोरोनाले गर्दा इन्द्रचोकमा रहेको अम्जदको पसल खाली छ । सिजनमै पसल खाली देख्दा तीजमा पनि हालत यस्तै हुने पीरले उनलाई सताउन थालेको छ । 'पहिलाको जस्तो व्यापार छैन । लकडाउनले गर्दा व्यापार शून्य छ । हामी मारमा परेका छौं । अब तीजमा पनि यस्तै हुने होला ।' उनले भने ।

कोरोना कहर : साउनमै छैन चुरापोतेको व्यापार

उनले असार १ गतेदेखि पसल खोलेका हुन् । आइतबार अम्जदको पसल पुग्दा उनका स्टाफहरु पनि खाली बसिरहेका थिए । पोते उन्ने एक स्टाफ मोबाइलमा व्यस्त थिए । पहिला त अम्जदले उपत्यका बाहिर पनि पोते बेच्थे । यसपालि लकडाउनले गर्दा फाट्टफुट्ट ग्राहकमै चित्त बुझाउनु परेको उनले सुनाए ।

उनको पुर्ख्यौली पेसा नै पोते व्यवसाय हो । अम्जद साउनमा पोते व्यापारबाट पाँच लाखसम्म कमाउँथे । तर यसपालि व्यापार शून्य भएको उनी बताउँछन् । 'वर्षभरिको लागि साउनमै कमाइ हुन्थ्यो । यसपालि हामीले तयारी पनि गरेनौं । नत्र साउनका लागि २ महिनाअघि नै राता, हरिया, पहेंला माला बनाएर राख्न सुरु हुन्थ्यो,' उनले भने ।

हरियो पोते लगाउने सिजनमै पोते बिक्री नभएपछि यसपालिको पोते त्यसै थन्किने उनी बताउँछन् । यो वर्ष आफ्नो व्यापार घाटामा गएको उनले बताए । 'यो वर्ष त यतिकै जान्छ होला । घाटा त भइहाल्यो । पोते उनाएको ज्याला अहिलेसम्म उठेको छैन ।'

अम्जदको पसलमा पोते बिक्री गर्ने जिम्मा पाएका अस्लम खान आजभोलि ग्राहक कुर्दैमा दिन बित्ने बताउँछन् । 'पहिला त खाना खाने समय पनि मिल्दैनथ्यो । अहिले त खाली छौं । मख्खी मारेर बस्नु परेको छ,' उनले सुनाए ।

अर्का पोते व्यवसायी सबिर ग्राहक नभएपछि पसलमा पोते मिलाउँदै गरेका भेटिए । १५ वर्ष भयो सबिरले यो व्यवसाय अंगालेको । यसअघि उनका हजुरबुबा, बुबाले त्यही ठाउँमा पोते व्यवसाय गरेका थिए । लकडाउनले गर्दा ‍व्यवसायमा असर परेको बताउने सबिर अवस्था सामान्य हुँदै गए व्यापार पहिलाको जस्तै हुने आशमा छन् ।

'हरियो पोते बिक्नु पर्ने थियो । अहिले त मानिसलाई खानलाई गाह्रो छ । भाडा तिर्न गाह्रो छ । पोते दैनिक उपभोग्य वस्तु पनि होइन । सामान्य भयो भने व्यापार ठिक होला,' उनले सुनाए । सिजनमै व्यापार नभएपछि पोते सफा गर्दै दिन काट्नुको विकल्प नभएको सबिर बताउँछन् ।

पोते खोज्दै आउने ग्राहकमा पनि कोरोनाको डर रहेको उनको अनुभव छ । उनले कोरोनाबाट सतर्कता अपनाउन स्यानिटाइजर राखेका रहेछन् । कोरोनाले गर्दा वैशाख, जेठको व्यापारमा पनि असर परेको उनी बताउँछन् । 'अब अर्को महिना तीज छ । त्यसमा पनि केही नहोला जस्तो लाग्छ,' छेउको हरियो पोते हेर्दै उनले भने । अवस्था सामान्य हुने पर्खाइमा छन् सबिर । 'कोरोना गयो भने हामीलाई राम्रो सबैलाई राम्रो । मार्केटले पिकअप लिन्थ्यो,' उनले सुनाए ।

जुबेर उद्दीनले इन्द्रचोकमा माला उन्न थालेको २० वर्ष भयो । पोते बजारका पसलबाट उनलाई पोते उन्ने काम मिल्थ्यो । घर परिवार यही कामबाट पाल्थे । तर यो वर्ष पसलमा ग्राहक नभएपछि पोते उन्ने काम पनि नभएको उनी बताउँछन् । अरुबेला साउनमा पसलमा ग्राहकको घुइँचो हुँदा माला उन्न उनलाई भ्याइनभ्याइ हुन्थ्यो ।

उनी तिलहरी, नौगेडीलगायतका माला उन्ने गर्थे । एउटा माला उनेको २ सय ५०, ५ सय रुपैयाँ लिन्थे । दैनिक ६ वटा माला उन्ने जुबेर लकडाउनले गर्दा आफ्नो पेसा धरापमा परेको बताउँछन् । 'अहिले त परिवार पाल्ने पैसा पनि उठ्दैन्,' माला उन्दै गरेका जुबेरले भने ।

त्यस्तै ७ वर्षदेखि चुरा गल्लीमा चुरा बेच्न थालेकी संगीता श्रेष्ठको पसलमा अधिकांश सोमबारको व्रत बस्ने दिदीबहिनी चुरा लगाउन आउँथे । अहिले त कोरोनाको डरले उनले चुरा लगाइदिन बन्द गरेकी छिन् । अहिले उनी चुरा बेच्छिन् मात्र, लगाइदिन्निन् । 'अहिले भाइरसले गर्दा ग्राहक नै छैनन् । व्यापार पनि छैन,' उनले भनिन् ।

साउनमा दिनको १५ हजार कमाउने संगीता चुरा अपरिहार्य साम्रागी नरहेको बताउँदै ग्राहकको संख्या घटेको बताउँछिन् । 'अब कतिलाई खानै गाह्रो होला । को चुरा लाउने ?', उनले सुनाइन्, 'अब खानेकुरा भएको भए पो किन्नै पर्छ भन्ने हुन्छ । तर चुरा त कम्पल्सरी छैन नि त ।'

हिजोआज बोहनी गर्न पनि गाह्रो भएको उनले सुनाइन् । लकडाउनले गर्दा यसपालि उनले पसलमा चुरा पनि थपिनन् । 'पहिला त ब्वाइफ्रेन्डले गर्लफ्रेन्डलाई चुरा लगाइदिन आउँथ्ये । यसपालि त कोही आएका छैनन् । अब तीजमा पनि सोचेकोजस्तो व्यापार हुँदैन होला,' उनले भनिन् ।

प्रकाशित : श्रावण ६, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?