कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मनोज गजुरेल : मौन स्टेजदेखि तालीको गडगडाहटसम्म

रीना मोक्तान

काठमाडौँ — 'अब आउँदै हुनुहुन्छ नव कलाकार, एउटा सम्भावना बोकेको कलाकार- मनोज गजुरेल' मञ्चमा यसरी आफ्नो नाम उद्घोषण भइसकेपछि मनोजले दर्शकबाट तालीको अपेक्षा राख्नु स्वाभाविक थियो । सभागृहमा उपस्थित दर्शकले अन्य कलाकारको परिचयपछि मज्जाले ताली पिटेका थिए ।

मनोज गजुरेल : मौन स्टेजदेखि तालीको गडगडाहटसम्म

तर, 'गाईजात्रा महोत्सव २०५२' मा जीवनको पहिलो प्रस्तुति दिन मनोज स्टेज उक्लँदा सभागृह सुनसान भयो । नयाँ कलाकारका लागि कसैले ताली बजाएनन् ।

तैपनि हिम्मत नहारी जोशिलो बनेर मञ्चमा उक्लिए मनोज । प्रस्तुति माझिएको थिएन । पहिलोपटक गाईजात्राको माइकमा बोल्न पाउँदा उनको प्रस्तुति लम्बिन थाल्यो । नव-कलाकारले प्रस्तुति दिन थालेपछि दर्शकदीर्घामा उस्तै होहल्ला बढ्यो । त्यत्तिकैमा दर्शकदीर्घाबाट कसैको ठूलो स्वर आयो- 'आउट' ।

'त्यसपछि भने म नर्भस भएँ । जसोतसो नेता गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीको क्यारिकेचर सकाएँ र मञ्चबाट ओर्लिएँ,' गजुरेल विगततिर फर्किए । त्यतिबेला उनी भर्खर २२ वर्षका थिए ।

हास्यव्यङ्ग्यमा नयाँ हुँदा मनोजले यस्ता थुप्रै घटनाको सामना गरेका छन् । तिनै घटना र अनुभवहरुले आफूलाई परिमार्जित हुन हौसला मिलेको उनी बताउँछन् । 'मैले आफूलाई परिमार्जित गर्नुपर्छ, यतिले मात्र दर्शकको मन जित्न सकिँदैन भनेर तिनै दर्शकको डरले मलाई उत्प्रेति गर्‍यो,' पूराना कुरा सम्झँदै उनले सुनाए ।

त्यो बेला हास्य कलाकारका लागि 'गाईजात्रा महोत्सव'मा प्रस्तुति दिनुले निकै महत्व राख्थ्यो । 'गाईजात्रा महोत्सव'मा प्रस्तुति दिनुअघि उनी रंगमञ्चमा काम गर्थे । क्याम्पसका कार्यक्रमहरुमा प्यारोडी गाउँदै हिँड्थे । क्याम्पसका तिनै प्रस्तुति हेरेर उनलाई श्रीओम रोदनले 'गाइजात्रा महोत्सव'को मञ्चमा अवसर दिएका थिए ।

बिस्तारै मनोजले आफ्नो प्रस्तुतिलाई माझ्दै लगे । अहिले उनले स्वागतमा मात्रै होइन प्रस्तुतिको बीचमा समेत ताली बजाउने दर्शक कमाएका छन् । उनको प्रस्तुतिमा तालीले कार्यक्रम हल गुञ्जायमान हुन्छ । उनको प्रस्तुतिमा दिल खोलेर हाँस्ने दर्शक छन् । दर्शकको तालीले कलाकारलाई हौसला दिन्छ । स्टेजमा उक्लेका कलाकारलाई यस्तै तालीले हो उत्साहित बनाउने ।

मनोजको जीवनमा दर्शकको ताली नपाउँदा कार्यक्रम नै छोडेर भागेका दिन पनि छन् । यो घटना 'गाईजात्रा महोत्सव'मा प्रस्तुति दिएको एक वर्षपछिको हो । एक टेलिभिजन कार्यक्रममा 'लाइभ कमेडी' गर्नु थियो । दर्शकको आमने सामने बसेर कमेडी गर्ने मनोज पहिलोपटक १० वटा क्यामेरा अनि लाइटको अगाडि कमेडी गर्न उभिए । रातिको कार्यक्रम थियो । क्यामेराम्यान अगाडि थिए । क्यामेरा हेर्दै उनले भने, 'नमस्कार दर्शकहरु।' स्टेज कार्यक्रम भएको भए उति नै खेर ताली बजिसक्थ्यो । दर्शकको ताली नसुनेपछि मनोज कार्यक्रममा नर्भस भए ।

'म त बोल्नै सकिनँ । मुख सुक्न थाल्यो । पानी ल्याउनु भनेर भनें । त्यसलाई मेरो कमेडीकै एक भाग होला भन्ठानेर पानी ल्याउने ल्याइदिएनन् । बोल्न नसकेपछि सेट छोडेर भागें । घरमा पुगेपछि तीन दिन ज्वरो आयो,' हाँस्दै मनोजले सुनाए । लाइभ गरिरहेको टिभीले २ मिनेट कार्यक्रम होल्ड गरेछ । २ मिनेटपछि मनोज भागेको कुरा थाहा पाएर कार्यक्रम बन्द गरिदिएको घटना सम्झिँदा आज पनि उनको हाँसो रोकिँदैन ।

अहिले उनी 'स्ट्यान्डअप कमेडी' र क्यारिकेचर विधामा सक्रिय छन् । उनका प्रस्तुतिमा सन्देश र सूचना हुन्छ । त्यसैले दर्शकले आफूलाई रुचाउने गरेको उनको भनाई छ । उनी 'कमेडी च्याम्पियन' सोका निर्णायक पनि हुन् । नियमित हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्छन् मनोज । तिहारमा 'सिस्नु पानी देउसी' भनेर कार्यक्रम गर्छन् ।

यो गाईजात्रामा उनको टिम भर्चुअल गाइजात्रा विशेष कार्यक्रम गर्दैछ । उनी यसपालीको गाईजात्रा कार्यक्रममा पत्रकार ऋषि धमला, भारतीय पत्रकार अर्नव गोश्वामीलगायतका पात्रको रुपमा व्यंग्य गर्दैछन् ।

भर्चुअल गाईजात्राको योजना कसरी बन्यो त ? 'गाईजात्रा एउटा साँस्कृतिक पर्व भएको हुनाले यसपाली पनि गर्नुपर्छ भन्ने भयो । तर यसपटक कोभिडले भीडभाड जम्मा गर्न नमिल्ने भएपछि हामीले यसलाई डिजिटल माध्यमबाट प्रशारण गर्ने सोच्यौं,' उनले भने, 'हामीले एउटा आशा दिन खोजेका हौं । कोभिडले मानिस यसै पनि त्रसित छ । मानसिक रुपमा पनि कमजोर छ । समग्र मानवता कता जाला भनेर मानिस अलमलमा छन् । यस्तो अप्ठ्यारो अवस्था आए पनि आशाका ढोकाहरु बन्द गर्नु हुँदैन भन्ने हिसाबले गरियो ।'

गाईजात्राको इतिहास हाँसोसँग जोडिएकाले यसले मानिसलाई हसाउनुका साथै सचेतना पनि दिने उनी बताउँछन् । 'विज्ञहरुको भनाई अनुसार हाँस्दा, गाउँदा, नाच्दा इम्युन पावर बढ्छ । कोभिड महामारीको बेलामा हामीले त्यही कुरालाई जोडेर कार्यक्रम गर्दैछौं ।'

उनी आफ्नो लागि पनि यो डिजिटल प्लेटफर्म नयाँ रहेको बताउँछन् । तर, कार्यक्रमको टिजरलाई दर्शकले मनपराइदिएपछि हौसला बढेको उनको भनाई छ । 'हाँसोको एउटा भ्याक्सिन जनताले पाउनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं,' उनले सुनाए । भर्चुअल कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस अढ्हानोम गेहब्रेयसस र आदिकवि भानुभक्त आचार्यको नक्कल गरेको टिजर हालै सार्वजनिक भएको थियो ।

पात्रहरु नयाँ खोज्ने क्रममा आफूले टेड्रोसलाई सकारात्मक रुपमा प्रस्तुत गरेर सन्देश दिनका लागि छानेको उनको तर्क छ । उनले भने, 'विश्वलाई प्रभाव पार्न सक्ने, यो मान्छेले भनेको कुरा तथ्यसंगत हुन्छ भनेर र उहाँको आभामण्डल हेरेर पनि यो पात्रमार्फत् शक्ति राष्ट्रहरुलाई पनि व्यङ्ग्य गर्न सकिन्छ भनेर सुरु गरियो ।'

हाँस्य गर्दा मानमर्दन नहोस् भनेर डब्लूएचओको ठाउँमा डबलयूएचओ नाम राखेका छन् । 'डबलयूएचओको अर्थ युएस अन्डरस्टिमेटेड हल्ला अर्गनाइजेसन भन्या छौं । त्यसको अध्यक्ष चाहिँ टेड्रोस अढ्हानोम गजुरेलसस् भन्ने हुनुहुन्छ,' मुसुक्क मुस्कुराउँदै सुनाए ।

यसपालीको गाईजात्रामा ७ जना पात्रहरुको नक्कल गर्दैछन् गजुरेल । लामो समय स्ट्यान्डअप कमेडी गरेका गजुरेल र अन्य कलाकारलाई पछ्याउँदै पछिल्लो समय युवाहरु पनि यो विधामा होमिएका छन् । स्ट्यान्डअप कमेडी गर्ने थुप्रै कार्यक्रम छन् । पछिल्लो समय युवा पुस्ताको स्ट्यान्डअप कमेडीमा स्ल्याङ शब्दहरु प्रयोग भएको भन्दै टिप्पणी गर्नेहरु बढेका छन् । मनोज यस्ता शब्दहरुलाई सेल्फ एडिट गर्नुपर्ने धारणा राख्छन् । 'मलाईचाहिँ के लाग्छ भने सेल्फ एडिट गर्नुपर्छ कलाकारले । कुन चिज भन्नुहुन्छ कुन भन्नु हुँदैन । किनकि अभिव्यक्ति स्वतन्त्रता हो । प्रजातान्त्रिक मुलुक छ । कला प्रस्तुत गर्न पाइन्छ । समातीहाल्यो भने पनि २/३ थुनेर छोडिदिन्छ,' उनले भने, 'त्यतातिर जानुभन्दा आफैले सम्पादन गर्नुपर्छ । म कुन समाजमा जाँदैछु, मैले कुन वर्गका दर्शक लक्षित गरेर या त मेरो हाँस्यव्यङ्ग्यको लक्ष्य के हो भनेर बुझ्नुपर्छ । विशुद्ध मनोरञ्जन मात्र हो कि या दर्शकलाई उत्तेजित बनाउनु हो कि, त्यसमार्फत भड्किएका मनलाई शान्त बनाउने अनि दुखी आत्मालाई खुसी बनाउने हो या क्षणीक ताली पाउन हो यो चिज स्व-सम्पादन गर्नुपर्छ ।'

उनी आफैं भने अश्लील शब्दको प्रयोग नगरेको दावी गर्छन् । 'म सकेसम्म मेरो प्रस्तुति हेरेर मैले जसलाई व्यङ्ग्य गर्छु त्यो पनि नरिसाओस् लजाओस् मात्रै भन्छु, उसको मृत्यु नहोस् चसक्क चिमोटिओस् मात्रै । घाउ नलागोस् हास्यव्यङ्ग्यले । अथवा सुरुवालको तुना खोलिओस् तर सर्वाङ्ग नदेखिओस् भन्नेमा ध्यान दिनुपर्छ,' उनले भने ।

भिडियो

प्रकाशित : श्रावण ४, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?