अस्पतालमा मास्कधारीलाई मात्र प्रवेशाज्ञा- फिचर - कान्तिपुर समाचार

अस्पतालमा मास्कधारीलाई मात्र प्रवेशाज्ञा

जितेन्द्र साह

विराटनगर — मास्क नलगाउनेलाई प्रवेशद्वारबाटै फर्काइन्छ । नाकमुख छोपिने गरी कम्तीमा सर्जिकल मास्क लगाउनै पर्छ । तापक्रम जाँचपछि मात्रभित्र जान पाउँछन् । आउजाउ गर्नेलाई निगरानी गर्न सुरक्षा गार्डसहित तीन कर्मचारी तैनाथ छन् । कोरोना महामारीले विराटनगरस्थित कोसी अस्पतालभित्रको फेरिएको दृश्य हो यो ।

विराटनगरस्थित कोसी अस्पतालमा प्रवेशद्वारमा तापक्रम जाँच गरिँदै । तस्बिरः जितेन्द्र साह,कान्तिपुर ।

लकडाउनमा समेत कहिल्यै बहिरंग सेवा बन्द नभएको यो अस्पतालमा सेवाग्राही, चिकित्सक एवं कर्मचारीले अनिवार्य रुपले मास्क लगाउनै पर्छ । ‘सरकारी अस्पताल भएकाले भीड हुनु स्वभाविक हो तर चिकित्सक एवं बिरामी कोरोना संक्रमित नहुने माहोलको निर्माणमा सकेसम्म ध्यान दिइरहेका छौं, ’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले कान्तिपुरसँग भने ।

अस्पतालको यो कदमलाई सेवाग्राहीले पनि स्वागत गरिरहेका छन् । अस्पतालको वार्ड र विभागहरुमा मास्क नलगाउने भेटिन्‍न । पालो कुरेर बसिरहेका बिरामीको नाम बोलाउन खटिएका कर्मचारीले समेत उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । ‘सबैलाई सही तरिकाले मास्क लगाएको देखेर अस्पतालभित्र पनि सुरक्षित महसुस गरिरहेका छौं,’ मोरङको धनपालथान गाउँपालिका–५ का सेवाग्राही युवा अभय कामतले भने,‘एउटा रोगको उपचार गराउन आउँदा अर्को रोग (कोभिड–१९) लिएर फर्कनु भएन ।’

उक्त अस्पतालमा लकडाउन अघि दिनहुँ औसत २ हजार बिरामीको आउजाउ हुन्थ्यो । सार्वजनिक यातायात सञ्चालनमा नहुँदा दिनहुँ औसत १ हजार २ सय सेवाग्राही आएको अस्पतालले जनाएको छ ।

बस र टेम्पोलगायतका सार्वजनिक यातायात नचले पनि मोटरसाइकल, साइकल, विद्युतीय रिक्सा र भ्यानमा महानगरवासी एवं वरिपरिका गाउँबासी अस्पताल पुगिरहेका छन् । जिल्लाभित्र भए पनि सार्वजनिक यातायात खुलेपछि सेवाग्राहीको संख्या बढ्दै जाने अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताए । बसमा चढ्दा मास्कको प्रयोगमा अझ बढी ध्यान दिनुपर्ने उनले सुझाए ।

अब दैनिक जीवनमा मास्क, सामाजिक दुरीको पालन र सरसफाइ पालनको विकल्प नभएको सचेत नागरिक समाजको बुझाइ छ । ‘कोरोनाको त्रास कायमै रहेको हुनाले हुनाले मास्क नलगाउनेसँग भरसक टाढै बसेर बोल्छु,’अस्पतालमा भेटिएका विराटनगर रानीकी सामााजिक कार्यकर्ता गीता महतोले भनिन् । उनले अब मास्क पहिरनु सामाजिक प्रतिष्ठाको विषय एवं असल नागरिकको पहिचान भएको बताइन् । ‘नलगाउनेलाई अशिक्षित,असभ्य, अनौठो र मूर्ख भनेर हेरिन्छ,’ महतोले भनिन् ।

लकडाउनको सुरुवाती दिनमा बिरामी र उनीहरुका आफन्तलाई सम्झाउन निकै चुनौतीपूर्ण रहेको अस्पतालको मुख्यद्वारमा खटिएका सुरक्षागार्ड आइतबहादुर लिम्बूले अनुभव सुनाए । ‘पहिले सयमा १० जनाले मात्र मास्क लगाउँथे, अहिले ९९ सयले लगाउँछन्,’ उनले भने ।


सचेत नागरिकका कारणले यस्तो महासंकटमा पनि निरन्तर सेवा दिन सकेको अस्पतालका वरिष्ठ दन्त चिकित्सक सुधीर श्रेष्ठले बताए । ‘अहिलेको बेलामा हामीले मात्र बिरामीको ख्याल राखेर भएन, उहाँहरुले पनि हाम्रो स्वास्थ्यको बारेमा सोच्‍नुपर्‍यो,’ उनले भने,‘कतैबाट लापरबाही हुन भएन ।’

मुख्यतः मोरङ,सुनसरी र झापाबासी आइपुग्‍ने यो अस्पतालमा सबैलाई कोरोना मुक्त राख्‍न पूर्वसावधानीका व्यावहारिक उपायहरु अवलम्बन गरिरहेको मेसु डा.दासले बताए ।

‘शरीरमा लुगा झै मास्क जरुरी छ भनेर बिरामीलाई बुझाइरहेका छौं,’ उनले भने,‘सामाजिक दूरी र सरसफाइ बारेमा प्रभावकारी सन्देश दिने प्रयास गरिरहेका छौं ।’ मास्क नलगाई अस्पताल आउने तथा मास्क लगाउन नमान्‍नेलाई सदृश्य बुझाउन छुट्टै परामर्श कक्ष राख्‍ने योजनामा समेत रहेको डा.दासले बताए ।

प्रकाशित : श्रावण ४, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

मनसुनमा सधैं बाढीको पिरलो

जितेन्द्र साह

विराटनगर — तटबन्ध नहुँदा बर्सेनि मनसुनमा खोलाको पानी पसेर स्थानीयको घर डुब्छ । अनि, उनीहरु ज्यान जोगाउन पोकापोकी बोकेर नजिकैको सुरक्षित स्थलमा शरण लिन्छन् । स्थानीय निकाय, प्रहरी र संघसंस्थाले दिएको खान्छन् । जसोतसो रात काट्छन् । पानी सुकेपछि घर फर्कन्छन् ।

बाढीले बगाएर ल्याएको हिलो, माटो, बालुवा र फोहोर पन्छाएर बस्छन् । पुनः बाढी आए पछि सरसमान बोकेर विद्यालयकै शरण लिन्छन् । यो क्रम मनसुन नसकिउन्जेलसम्म चल्छ ।

विराटनगर महानगरपालिकाको सिमराही बखरी, दरैया, ब्रहमपुरा र रामपुर बस्तीबासीले मनसुनमा बर्सेनि भोग्ने पीडा हो यो । यी बस्तीहरुमा मजदुरी गरेर खाने विपन्न समुदायको बाहुल्य छ । ‘यो हरेक वर्षको दुःख हो, हामीले बाढीको प्रकोप खेप्दै आएको ४० वर्ष भइसक्यो,’सिमराही बखरी बस्तीका ६० वर्षीय भुटन ऋषिदेवले भने,‘खोलामा बाँध भयो भने वर्षेनी यो समस्या भोग्नु पर्दैन तर नेताहरुलाई भन्दाभन्दा थाकिसक्यौं ।’

पाँच जनाको परिवारसहित बस्ने ऋषिदेवको घरदेखि केही परबाट केशलिया खोला बग्छ । जलस्तर बढेपछि हुने तीव्र कटानले खोलाको पानी बस्तीमा आउने गरेको उनले बताए ।

‘नेताहरुले चुनावको बेलामा जितेमा तटबन्ध गरिदिन्छौं भन्ने आस्वासन दिन्छन्, भोट दिएर जिताए पछि बिर्सिन्छन्,’युवा मजदुर दीपचन्द ऋषिदेवले भने । उनी नवजात शिशुसहित सात जनाको परिवारसँगै यो बस्तीमा बस्छन् । ‘मनसुनसम्म हामीलाई गासको भन्दा बासको समस्या हुन्छ,’उनले भने,‘गासको प्रबन्ध त भइराखेकै छ ।’

बाढीको पानी राम्ररी नसुकेकोले सिमराही बखरी बस्तीको १ सय ५० जनामध्ये धेरैजसो लालाबालासहित स्थानीय बखरी निमाविमा शरण लिइरहेका छन् । महानगरपालिका, वडा कार्यालय र समाजसेवी संघसंस्थाले उनीहरुका लागि भुजा, च्याउच्याउ, भुजिया, दालमोठ र पानीको प्रबन्ध गरिरहेका छन् ।

‘केही घन्टा मौसम सफा भयो भने घर फर्किने आश हुन्छ, पुनः पानी परेपछि घरभित्रै रात काटन कठिन हुन्छ,’स्थानीय गृहिणी कृति ऋषिदेवले भनिन् । उनी दुई लालाबालासहित विद्यालयमा बसिरहेकी छन् । दुई सन्तानसहित चार सदस्यीय परिवारकी बोधीदेवी र ८ सदस्य परिवार भएकी किसनीदेवीको दुखेसो पनि उस्तै छ ।

उनीहरु मंगलबार बिहान विद्यालयको बरन्डामा भुजा र च्याउच्याउ खाँदै भेटिए । बाढीमा घर डुबेर भत्केका विपन्न यादव परिवार पनि विद्यालयमा शरण लिन बाध्य छन् । ‘हामी ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी पनि होइनौं,’४७ वर्षीय मदन यादवले भने,‘नम्बरी जग्गा किनेर घर बनाइ बसेका हौं ।’

सात सदस्यीय परिवार भएका उनले सहरबजारमा महँगो जग्गा किन्न नसकेर यहाँ बस्न बाध्य भएको बताए । महानगर विराटनगरलगायत मोरङको खोला छेउका विभिन्न बस्तीहरुका १ सय १६ घरपरिवार बाढीबाट प्रभावित छन् । खोलाको पानी घरमा पसेपछि उनीहरुले वरिपरिको विद्यालय, छिमेकीकोमा र सुरक्षित स्थानमा शरण लिन्छन् ।

केशलिया नदीकै किनारमा रहेको विराटनगर–६, ब्रहृमपुरामा महानगरपालिकाभरिकै फोहोर थुपारिन्छ । तर मुसलधारे वर्षा र बाढीमा यो पूरा क्षेत्रमा आवागमन अवरुद्ध हुनेगरी डुबान एवं कटान हुन्छ । यसले गर्दा संकलित फोहोर यहाँसम्म ल्याइ पुर्‍याउनलाई बाढीको पानी सुक्नै पर्छ ।

अविरल वर्षाले यहाँको सडक बगाएर बस्ती एवं खेतबारीमा समेत खोलाको पानी प्रवेश गरेर क्षति पुर्‍याएको स्थानीय कृषि मजदूर श्यामानन्द ऋषिदेवले बताए । उनका अनुसार यहाँ मात्र नभएर मोरङभरिका केशलिया, सिंघिया, चिस्याङ र बक्राहालगायतका खोलामा सर्वत्र तटबन्ध नगरिँदा बर्सेनि बाढीले स्थानीयबासीको घरखेतमा ठूलो नोक्सानी हुँदै आएको छ ।

‘खोलामा बाँध हुने हो भने यो समस्या भोग्नु पर्दैन तर कतै बाँध गरिएको छ, कतै छैन, कतै गरिँदैछ, यस्तो गरेको पनि वर्षौं भइसक्यो, कहिले पूरा हुने हो ? कसैलाई थाहा छैन,’ऋषिदेवले भने ।

प्रकाशित : श्रावण १, २०७७ १७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×