कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

न्यायका लागि कला : न्याय खोज्दै, चित्र कोर्दै

समानताका खातिर भित्तामा चित्र कोरिरहेका तन्नेरीहरू भन्छन्– ‘चुप बस्नु हुन्न’

काठमाडौँ — नाराबाजी छैन । प्रदर्शन न चर्का स्वर । बरु रङ र ब्रुसले कोरेका चित्रकला भित्ताभरि छन्, ती चित्रकलाले न्याय खोजिरहेका छन् । टन्टलापुर घाम छ, ज्यान पसिनाले निथ्रुक्कै । कसैको हातमा ब्रस छ, कसैको रङ । कोही भित्तामा पोत्दै छन्, कोही टुलमा उभिएर रङ पोतिरहेका साथीलाई तलबाट समातिरहेका छन् । कोही सकिएको कलर र ब्रस किन्न दौडिरहेका छन् । साउनको महिना, कतिबेला मुसलधारे पानी बर्सन्छ, पत्तो छैन । त्यसैले सबैलाई हतारो छ । सडकमा हिँड्नेहरू उभिएर हेरिरहेका छन्, फोटो खिचिरहेका छन्, उनीहरूलाई वास्तै छैन । चित्र कोर्नै दत्तचित छन् ।

न्यायका लागि कला : न्याय खोज्दै, चित्र कोर्दै

शुक्रबार दिउँसो ललितपुर भनिमण्डलमा देखिएको दृश्य हो यो, जहाँ झन्डै २० युवायुवती सदर चिडियाखानाको भित्तो पेन्टिङ गर्न लीन थिए । पेन्टिङका प्रकृति र शैली फरक छन् तर विषयवस्तु एउटै, न्याय । संयोग पनि कस्तो भने शुक्रबार अर्थात् जुलाई १७ ‘अन्तर्राष्ट्रिय न्याय दिवस’ । त्यसो त जुलाईलाई ‘जस्टिस मन्थ’ मान्ने पनि गरिन्छ । यही सन्दर्भमा हामीमाझ मौलाइरहेको अनेक तरहका विभेद र अन्यायको पेन्टिङमार्फत उनीहरूले विरोध गरेका हुन् । मौन तर सशक्त प्रतिरोध । पेन्टिङ गर्दागर्दै पाटनकी जर्जिना जोशीले भनिन्, ‘अहिलेको अवस्थामा आर्टबाटै सामाजिक न्यायको माग गर्नु उपयुक्त देख्यौं । सडकको भित्ताको चित्रले हरेक उमेरका समूहका मान्छेको ध्यान तान्न सक्छ ।’ उनी आफैं भने चित्रकलाकी विद्यार्थी होइनन्, सोसल वर्क पढिरहेकी छन् । ‘मैले जे जति चित्र बनाउन जानेको छु, त्यसैलाई भित्तामा उतार्ने प्रयास गरेको हुँ,’ उनले भनिन् ।

उनीहरू एकै ठाउँमा भेला भएर चित्र कोर्दै छन् तर सबैले एकअर्कालाई चिनेका छैनन्, भर्खरै चिनजान हुँदै छ । यसको माहोल मिलाइदिएको हो, हाइअर ग्राउन्ड नेपालले । मानव बेचबिखन र हिंसाविरुद्ध क्रियाशील यस संस्थाले दीर्घकालीन सामुदायिक विकासको वकालत गर्छ । महिला सशक्तीकरणमूलक कार्यक्रम गर्छ । संस्थाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिलामाथिको शोषण र विभेद अन्त्यको माग गर्दै ‘फाइभ के फन रन’ आयोजना गर्थ्यो, एकसाथ सयौं महिला र पुरुष दौडन्थे तर यो वर्ष यसले निरन्तरता पाउन सकेन । संस्थाकी संस्थापक विमला श्रेष्ठ पोखरेलका अनुसार उक्त कार्यक्रम भर्चुअल रूपमा हुँदै छ । त्यसकै सेरोफेरामा ‘वाल पेन्टिङ’ को अवधारणा विकास भएको हो । ‘यो भित्ता हामी सधैं देख्थ्यौं, नराम्रा शब्द र चित्रहरू थिए,’ विमला भन्छिन्, ‘त्यसलाई हटाएर जस्टिस जुलाईको सन्दर्भमा न्याय र समानता झल्काउने चित्र बनाउन लागिपरेका हौं ।’ चित्रमा न्यायको माग मात्र छैन, आशाको बीजारोपण पनि गरिएको छ ।

विमलाका अनुसार कलाकारहरू स्वस्फूर्त रूपमा आएका छन्, सबै स्वयंसेवी हुन् । सुरुमा एउटा मात्र पेन्टिङ गर्ने योजना थियो, त्यसका लागि फेसबुक म्यासेन्जर ग्रुप बनाइन्, तर चित्र बनाउँदै गएपछि अरू नयाँ र सचेत कलाकार थपिँदै गए । पेन्टिङको आयतन बढ्दै गयो । एक सातामा चार ठूला चित्र तयार भइसकेका छन् । भन्छिन्, ‘युथहरूको चासो र सक्रियता बढेको छ, चित्रमार्फत आफूभित्रको आक्रोश व्यक्त गर्न लागिपरेका छन् । त्यसैले चिडियाखानाको उज्यालो घर साइडको पूरै वालमा चित्र बनाउने प्रयास गर्दै छौं ।’ पेन्टिङका लागि ललितपुर महानगरपालिका र ४ नम्बर वडा कार्यालयसँग अनुमति लिएको उनले जानकारी दिइन् । यसको खर्च हाइअर ग्राउन्डले नै व्यहोरेको छ, बिस्तारै सहयोग रकम जुट्न थालेको छ ।

भारतको शारदा विश्वविद्यालयमा इन्टेरियर डिजाइनिङमा स्नातक गरिरहेकी प्रतिभा कटुवाल पनि वाल पेन्टिङमा व्यस्त छिन्, उनको समूहले ‘लेट इक्युलिटी ब्लुम’ शीर्षकको चित्र कोर्दै छ । महिलाको टाउकोमा फूल र नक्सा छ । केटीलाई माथि ल्याउनुपर्छ भन्ने सन्देश दिन खोजिएको प्रतिभाले बताइन् । ‘हामीले जति विभेद र अन्याय सह्यौं, उति बढ्दै जान्छ, त्यसैले हामी कुनै न कुनै माध्यमबाट बोल्नैपर्छ,’ उनको भनाइ छ । उनीहरूको चित्रको छेवैकै अर्को चित्रले जोकोहीको आँखा तान्छ ।

पेटमा बच्चा (पृथ्वी) छ, ज्यान शिथिल छ, त्यसमाथि घरमै विभेद र हिंसा भोग्नुपर्छ, अरू आफन्त र छिमेकीले पनि रूखो व्यवहार गर्छन् । तर उनी आमा हुन्, त्यसैले जति पीडा भए पनि छहारी दिनुपर्छ र दिइरहेकी छन् । यो चाहिँ विनोद शाहीको सिर्जना हो । डोल्पामा स्कुल सञ्चालन गरेर चर्चा कमाएका कलाकार विनोद यो ‘वाल पेन्टिङ’ अभियानमा सुरुबाटै सक्रिय छन् । उनीसँगै भिजुअल आर्टिस्टद्वय सरोज लामिछाने र आयुष वज्राचार्यले नयाँ कलाकारलाई ‘मेन्टिरिङ’ गरिरहेका छन् । ‘दलित लाइभ्स म्याटर’ र कानुनी झमेलाका कारण पीडितले न्याय नपाउने विडम्बना व्यक्त गरिएको पेन्टिङ पनि तयार भइसकेको छ । ‘समाजमा जस्तो विभेद र असमानताहरू भोग्नुपरेको छ, त्यसैलाई चित्रमार्फत देखाउने प्रयास गर्दै छौं । यी चित्रहरू नयाँ पुस्ता पनि सामाजिक सवालमा जागरुक छन् र उनीहरू चित्र आक्रोश छ भन्ने प्रमाण हुन्,’ सानेपा, कुपन्डोललगायतका क्षेत्रमा वाल पेन्टिङ गरिसकेका आयुषले सुनाए ।

भनिमण्डलमा चित्र कोरिरहेकामध्ये अधिकांश ‘इनफ इज इनफ’ अभियानमा पनि सक्रिय थिए । भ्रष्टाचार र असमानताको सडकमै ओर्लिएर प्रतिवाद गरे तर सरकारले सुनेन वा सुनेर पनि नसुनेझैं गरिदियो । यसरी सडकका भित्ताहरूमा चित्र कोरेर न्यायप्राप्तिको संघर्ष प्रतिफलउन्मुख होला त ? ‘इनफ इज इनफ’, डा. गोविन्द केसीको सत्याग्रहलगायतका सामाजिक आन्दोलनमा सहभागिता जनाएका कलाकार तथा शैक्षिक अभियन्ता विनोद भन्छन्, ‘अन्याय र दुर्व्यवहार गर्नेको जति दोष हुन्छ, त्यसको प्रतिरोध नगर्नेको पनि त्यत्तिकै दोष हुन्छ । त्यसैले अनेक भाषा र माध्यममा बोलिरहनुपर्छ, चुप बस्नु हुन्न ।’ उनका अनुसार चित्रकारिता पनि त्यही विद्रोहको स्वरूप हो । अगाडि थपे, ‘लडेर जितिन्छ/जितिन्न थाहा छैन तर कर्म गरेर कहिल्यै हारिन्न । पेन्टिङहरू हाम्रा कर्म हुन् ।’

प्रकाशित : श्रावण २, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?