२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सामाजिक सञ्‍जालका प्रतिक्रियाले तनावमा दीपा, भन्छिन्- नहेरौं भन्दा पनि आँखा गइहाल्छ

रीना मोक्तान

काठमाडौँ — अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ ।

सामाजिक सञ्‍जालका प्रतिक्रियाले तनावमा दीपा, भन्छिन्- नहेरौं भन्दा पनि आँखा गइहाल्छ

३/४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्‍जालमा मानिसहरु खनिन थालेपछि आफ्नो चिन्ता बढ्दै गएको उनी बताउँछिन् । हप्तौं यही विषयउपर खनिएको देख्दा आफू गलेको र डिप्रेसनको नजिक पुगेको उनले कान्तिपुरलाई बताइन् ।

उनले अन्तवार्तामा भनेकी थिइन्, 'राजेश हमाल हुनुहुन्छ र ? राजेश दाइ मात्र महानायक हुनुभयो । त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेल्नुभो । उहाँले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ ।' यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पुर्‍याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो ।

'अस्वभाविक पेलान भो । हो म शब्द चयनमा चुकेको हो । उहाँ मेरो मनपर्ने अभिनेता हो । मैले उहाँलाई चलचित्र क्षेत्रको खम्बा भनेर आदर पनि गरेको छु,' उनले भनिन्, 'कुरा अस्वभाविक किसिमले यसरी मोडियो । १० दिनसम्म यही कुरा ? किन यस्तो घट्ना बढेको हो मैले त तुरुन्तै भोलिपल्ट नै माफी मागेको हो नि ! अहिले मन अलिकति गलेको छ,' उनले भनिन् । उनको अभिव्यक्तिमाथि आएका प्रतिक्रिया शिष्ट र तार्किकमात्रै छैनन्, अश्लिल गालीगलौज पनि उत्तिकै छन् ।

उनी सकेसम्म यस्ता प्रतिक्रिया नहेर्ने प्रयास गर्छिन् । 'तर, नहेरौं भन्दा पनि सामाजिक सञ्जालमा आँखा गइहाल्छ । त्यहाँ आएका कमेन्ट हेर्दा त मैले देशद्रोह नै गरेजसरी गाली गरिएको छ, उनी प्रश्न गर्छिन्, 'म दोशदोह्री हुँ त ?'

हालै फिल्मकर्मी अशोक शर्माले फेसबुकमा स्टाटस लेख्दै यसै कारण दीपा डिप्रेसनमा पुगेको लेखेका थिए । 'भर्खर दीपाश्री बहिनीसँग कुरा भयो । दीपा डिप्रेसनमा गइसकेको छ । सुशान्तसिंह राजपुतको मुम्बईको घट्ना ताजै छ । हुन त मैले दीपा बिहनीलाई तिमी त्यस्तो कुनै कदम नचाल हामी सबै तिम्रो साथमा छौं भनेर उसको घर जाँदैछु ' उनले फेसबुकमा लेखेका थिए । यो स्टाटस अहिले भने उनले हटाइसकेका छन् । दीपाकै टिमका एक सदस्यका अनुसार सोसल साइटमा भएको 'बुलिङ'का कारण उनको टिमका सदस्यहरु पनि चिन्तित छन् । दीपाका बुबा पनि आइपुगेका छन् ।

'अशोक शर्मा दाइले फोन गरेर नआत्त है म छु भन्दा मलाई रुन आयो,' दीपाले सुनाइन्, 'उहाँलाई भने कतिपय कारणहरु यस्तो हुँदो रहेछ दाइ त्यतिकै सुशान्तसिंहले आत्महत्या गरेनन् होला । मलाई त डिप्रेसनमा लग्नेखालको स्थिति भइसक्यो । त्यो स्थितिमा आइसके म त ।'

दीपा आफूलाई यति निम्नस्तरका तुच्छ गाली किन आइरहेका छन् भनेर आफूले सोचविचार गरेको पनि बताउँछिन् । 'यो तुच्छ गाली के कारण होला भनेर सोचें । किन यस्तो भयो भन्ने कुराले चिन्तित छु । एकपछि अर्को आक्रमण । के म सफल हुनु मेरो दोष हो ?,' प्रतिप्रश्न गर्दै दीपाले भनिन्, 'अवस्था असहज भएर गाह्रो भएको हो । मतमा फरक मत राख्न पाइन्छ । तर यस्ता किसिमको गाली गलौजले चाहिँ त्यो बाटोतिर पो उन्मुख भएको हो कि हाम्रो समाज । त्यही भएर पो मलाई डर लाग्यो । जबकि मैले आफ्नो शब्द चयनमा गल्ती भयो भनेर माफी पनि मागिसकेकी छु ।'

मनोविद डा. गंगा पाठक कोही व्यक्तिलाई नकरात्मक रुपमा दबाब दिइरहँदा पनि डिप्रेसनमा जाने बताउँछिन् । 'जताततैबाट नकरात्मक चर्चा गर्दा-गर्दा नकरात्मक भाव आउँछ । नकरात्मक रुपले त्यो व्यक्तिलाई दबाब दिइरहन्छ । मर्नु न बाँच्‍न बनाउँछ,' उनले भनिन्, 'दीपाको अवस्था यस्तो हो । नचाहिने दबाब दियो, खाली नकरात्मक कुरा तँ खत्तम, तैंले बिगारिस जस्ता कुराले मानिसमा नकरात्मक भाइभ्स आउँछ त्यसले गर्दा मानिस डिप्रेसनमा जान्छ ।'

डिप्रेसनमुक्त हुनका लागि यस्ता प्रतिक्रियाहरु नहेर्ने र यस्ता कुरामा ध्यान धेरै नदिनु ठीक हुने पाठक बताउँछिन् । 'धेरै ग्लानी महशुस गर्नु हुँदैन । अब त्यो बोलिसकेको कुरा भइ नै सक्यो त्यसको गहिराइमा गएर धेरै प्रतिकारमा उत्रिरह्यो भने व्यक्ति डिप्रेसनमा जान सक्छ,' उनले भनिन् ।

सार्वजनिक माध्यम र सामाजिक सञ्जालमा आउने नकारात्मक र अमर्यादित प्रतिक्रियाबाट बेलाबेला अन्य कलाकारहरु पनि आक्रान्त हुने गरेका छन् । अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले इन्स्टाग्राममा सार्वजनिक गरेको एक भिडियोमार्फत युट्युब अन्तरवार्तामा आउने नकरात्मक कमेन्ट डिलिट गर्नुपर्ने धारणा राखेकी थिइन् । उनको कुरालाई धेरै अभिनेत्रीहरुले समर्थन पनि गरेका थिए ।

'जिरो टोलोरेन्स' अभियान चलाएकी अभिनेत्री निशा अधिकारीले यस विषयउपर बहस गर्दै आएकी छन् । उनका अनुसार यस्ता कमेन्टले आम मानिसमा आफ्नो खराब चरित्रचित्रण हुन्छ र मानसिक तनाव दिन्छ । उनले पछिल्लो समय युट्युब अन्तरवार्तामा आएको कमेन्ट हटाउन अनुरोध पनि गरिन् ।

सहनै नसकिने कमेन्टले परिवारका सदस्यालाई पनि असर परेको अभिनेत्री केकी अधिकारीले फेसबुक स्टाटसमा उल्लेख गरेकी छन् । आफ्नी आमाले अहिले चर्किइरहेको विषयमा केही नलेख्‍न भनी आफूलाई भनेको पनि उनले लेखेकी छन् । 'अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो । सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो,' उनले लेखेकी छन् ।

कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पनि फेसबुकमा 'छ माया छपक्कै'को ट्रेलर पछि आएका कमेन्टले आफूलाई दोस्रो पटक डिप्रेसनमा पुर्‍याउन खोजेको उल्लेख गरेका छन् । 'सुरुमै करिब १२ सय नेगेटिभ कमेन्ट आए, 'यीनीहरुको फिल्म फ्लप भैहालोस्', 'जोकरहरुको फिल्म कस्ले हेर्छ र ? आदी इत्यादि । यहि कारणले म झण्डै दोश्रो पटक डिप्रेसनमा गएको थिएँ,' दीपाको विषय जोड्दै उनले लेखेका थिए । यसअघि 'छक्का पञ्जा'को सुटिङ सकिएपछि आफू डिप्रेसनमा पुगेको उनले बताएका थिए । केदारमात्रै होइन अभिनेत्री नम्रता श्रेष्ठ र श्वेता खड्काले पनि डिप्रेसनलाई जितेका बताएका थिए ।

सन् २०१५ मा 'क्लासिक' फिल्मको सुटिङ सुरु हुने बेलातिर नम्रतालाई काम गर्न इच्छा नहुने, कसैसँग बोल्न मन नलाग्ने, भीडभाडमा पस्नै मन नलाग्ने हुन थाल्यो । क्लासिकको सुटिङ सुरु भएपछि उनलाई पहिलाको जस्तो अभिनय गर्न अप्ठ्यारो अनुभव भयो । मनमा विभिन्न कुरा खेलाउँथिन् । रातभरी उनलाई निद्रा पर्थेन । आत्महत्यासम्म गर्ने विचार पनि नआएको होइन । तर, उनले पछि अस्पतालमा गएर डाक्टरको सल्लाह अनुसार औषधि खाइन् । त्यसपछि भने बिस्तारै उनले डिप्रेसनलाई जितिन् ।

बिहे गरेको १ महिनामै श्रीमान श्रीकृष्ण श्रेष्ठको निधनपछि श्वेता पनि डिप्रेसनको शिकार भइन् । त्यतिबेला ढाड दुख्‍ने समस्याले च्याप्यो । त्यसपछि उनलाई क्यान्सर भएर मर्छु कि भन्नेसम्म लाग्थ्यो । चार महिना अमेरिकामा उपचार गराएपछि उनी डिप्रेसन मुक्त भएकी थिइन् ।

०००

पछिल्लो समय कलाकारहरुमा डिप्रेसनको समस्या बढ्दै गएको देखिन्छ । बलिउड अभिनेत्री दीपिका पादुकोण पनि कुनै समय डिप्रेसनको शिकार थिइन् । तर, त्यसबाट बाहिर निक्लिन सफल भइन् । जुन १४ मा बलिउड अभिनेता सुशान्तसिंह राजपुतले मुम्बईस्थित बान्द्राको अपार्टमेन्टमा आत्महत्या गरे । उनको आत्महत्याको कारण पनि डिप्रेसन रहेको समाचारहरुमा जनाइएको छ । सन् २०१४ मा हलिउड कलाकार रोविन विलियम्सले पनि डिप्रेसनको कारण आत्महत्या गरेका थिए ।

कहिलेकाही आशाविहीन हुँदा वा जे गर्दा पनि भएन भन्ने भाव मनमा रहिरह्यो भने पनि मानिस डिप्रेसनमा जाने मनोविद् पाठक बताउँछिन् । जेनरलाइज र एनालाइज गर्ने क्षमता कम हुँदा पनि कलाकार डिप्रेसनको शिकार हुने उनले बताइन् । 'सेलिब्रेटी जहिले पनि दर्शकको सेन्टर अफ अट्रयाक्सन हुन खोज्छन्,' उनले भनिन्, 'तर धेरैले चर्चित भइसकेपछि आफ्नो बारेमा नकरात्मक कुरा सहने क्षमता गुमाउँछन् । सँधैभरि राम्रो-राम्रो त पाइँदैन जीवनमा । जब जीवनमा नराम्रो कुरा आउँछ त्यसलाई स्वीकार्न नसक्ने भइसक्छन् । मेरो कुरा दर्शकलाई मन पर्न सक्छ, मन नपर्न पनि सक्छ भन्ने कुरालाई जेनरलाइज र एनालाइज गर्ने क्षमता कमैमा हुन्छ । एनालाइज र जनरालाइज गर्न सकिएन भने छिट्टै डिप्रेसनमा जान सक्छन् ।'

कलाकार वा सार्वजनिक जीवनमा भएपछि जस्तोसुकै प्रतिक्रियाका लागि मानसिकरुपमा तयार र बलियो हुनुपर्ने पाठकले बताइन् । उनले भनिन्, 'कलाकार, नेताजस्तो सार्वजनिक जीवनको व्यक्ति भइसकेपछि एकदम बलियो हुनुपर्छ । स्टेजमा उत्रिँदा तालीमात्र होइन गाली पनि खानुपर्छ भन्ने वील पावर जन्माउनुपर्छ ।'

अभिनेत्री दीपाश्री पनि यो पीडाबाट आफू अझै दमदार हुनुपर्ने चुनौती थपिएको बताउँछिन् । 'अतिरञ्जित गरेर कुनै पनि कुरालाई अगाडि बढाइन्छ भने त्यहाँ केही न केही घुसपैठ छ त होला,' उनले सुनाइन्, 'तर, अहिले मलाई धेरैजनाले सम्झाइरहनु भएको छ । अलिकति हौसला भएको छ । अर्को फिल्ममा अझ दमदार काम गर्छु भन्ने अठोट गरेकी छु ।'

प्रकाशित : असार २९, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?