१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुर्व्यवहार गरिएको अभिनेत्री साम्राज्ञीको आरोप, भुवन केसीको प्रतिवाद

साम्राज्ञी भन्छिन्, 'तीनवटा फिल्ममा दुर्व्यवहारमा परें, अभिनेत्रीले धेरै पारिश्रमिक पाउँछन् भन्नु झुटो प्रचार'
रीना मोक्तान

काठमाडौँ — तीन दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाइन् ।

दुर्व्यवहार गरिएको अभिनेत्री साम्राज्ञीको आरोप, भुवन केसीको प्रतिवाद

तीनवटा फिल्ममा काम गर्दा त्यस फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको उनले बताइन् । उनले लगाएको आरोप अभिनेता तथा निर्माता भुवन केसीले सामजिक सञ्‍जालबाट प्रतिवाद गरेपछि साम्राज्ञीले भुवनले नै जापानमा एक अवार्ड कार्यक्रमका क्रममा दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो जारी गरेकी छन् ।

'मैले पाँच वर्षमा ८ फिल्म गरें । यो दौरान धेरै अवस्था अनि परिस्थिति देखें । मलाई त्यो घट्नाप्रति घृणा लागेको थियो,' उनले आफ्नो पीडा पोखेकी छिन्, 'यस्तो पनि समय आयो जब मलाई दुर्व्यवहार (ह्यारेसमेन्ट) गरियो । सबैजनाको अगाडि त्यो व्यक्ति मेरो अनुहारको मजाक उडाएर हाँस्थ्यो । त्यतिबेला मात्र १७ वर्षको थिएँ म। मैले एक व्यक्तिलाई यसबारे सुनाएँको पनि थिएँ। तर, उहाँले यो उद्योगमाथि तीनीहरुकै नियन्त्रण छ जोसँग शक्ति छ, उनीहरुकै गुटबन्दी छ । यदि उनीहरुले तिमीलाई मन पराउँदिनौं भने फिल्मको अफर पाउँदैनौं भनेर बोल्न दिनुभएन ।'

फिल्मको सुटिङ सेटमै अश्लील शब्दहरुले गालीसमेत गरेको कुरा उनले भिडियोमा व्यक्त गरेकी छिन् । 'अर्को फिल्ममा म्यानेजमेन्ट राम्रो परेन । मैले त्यस फिल्मको व्यक्तिलाई समयमा खान नपाएको, पानी पनि पिउन नपाएको भनेर म्यानेजमेन्ट नराम्रो भयो भनेर भनेको थिएँ । ती व्यक्ति एक्कासी ममाथि झम्टिन आएकी थिइन्,' उनले भनेकी छन्, 'अश्लील गालीहरु सुनाएकी थिइन् । म त्यो व्यवहारले एकदमै छक्क परेको थिएँ। बाथरुममा गएर २ घण्टा रोएँ । फेरि अनुहार धोएर मेकअप लगाएर केही नभएझैं सेटमा गएँ ।'

तेस्रो फिल्मको व्यक्तिले भने आफूसँग सँधै झुट बोलिरहेको कुरा उनले भिडियोमा बोलेकी छिन् । यी तीनै फिल्मका व्यक्तिहरुले नै आफ्नोबारे गलत प्रचार गरिदिएको उनी बताउँछिन् ।

'यहाँ सबै नराम्रा छन् भन्न खोजेको होइन । तर, कोही यस्ता नराम्रो व्यक्ति छन् जो शक्तिमा छन्,' उनले भनेकी छिन्, 'मैले तीन व्यक्तिसँग काम गरें । मैले त्यो राम्रो अवसर पाएको थिएँ । तर, मैले उनीहरुसँग काम गर्दा जे देखें त्यो कुरासँग म खुशी थिइन । उनीहरुले पछि मलाई फिल्मको अफर ल्याउँदा मैले गरिनँ । त्यसपछि उनीहरुले मेरो बारेमा झुठो बोल्दै हिँडेछन् । अहिले पनि गर्दै हिँड्छन् ।'

अभिनेत्री साम्राज्ञीले यति भनेपछि उनले झरना थापा र भुवन केसीलाई इंगित गर्न खोजेको भनेर सामाजिक सञ्जालदेखि फिल्मकर्मीबीच चर्चा चल्यो । अभिनेता तथा निर्माता भुवन केसीले सामाजिक सञ्जालमै साम्राज्ञीको भनाइको प्रतिवाद गरेका छन् ।

आइतबार राति उनले फेसबुकमा एक स्ट्याटस पोस्ट गरे । उनले लेखेका छन्, 'खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !' उनले साम्राज्ञीको नाम भने उल्लेख गरेका छैनन् । तर, धेरैले उनले साम्राज्ञीलाई नै जवाफ दिएको भन्ने टिप्पणी गरेका छन् ।

फिल्म लेखक एवं निर्देशक कुमार भट्टराईले ट्वीटरमा लेखेका छन्, 'जिस थाली मे खाया उसी मैं छेद किया' लाई राम्रै ट्रान्सलेट गर्नु भएछ भुवन दाईले ! तपाईंको फिल्ममा काम गरिन् भन्दैमा एउटी नायिका बोल्नै नपाउने ? ठूलो प्रोडक्सन कम्पनी-जमनाको सुपरस्टार, यही हो तपाईंले प्रयोग गर्ने सार्वजनिक भाषाको स्तर । पर्दामा मात्र हिरो भएर भएन, आफैंलाई हेर्नुस् दाई ।'

सामाजिक सञ्जालमा यो विषय चर्किरहँदा अभिनेत्री शाहले फेरि अर्को भिडियो सार्वजनिक गरेकी छन् । उनले दुर्व्यवहारबारे आफूले बोल्नै पर्ने लागेपछि बोलेको कुरा भिडियोमा बताएकी छन् । 'मलाई त्यो कुरा चित्त बुझेकै थिएन । त्यो अवस्थामा म मात्र थिएँ । मैले भोगेको छु,देखेको छु । मेरो ठाउँमा यदि तपाईहरु कोही हनुहुन्थ्यो भने के थाहा तपाईंहरुले त्यतिबेला नै केही गर्नुहुन्थ्यो होला । तर, त्यतिबेला म बच्चा नै थिएँ । सम्झाउने, बुझाउने थिएन ।'

ती फिल्मका व्यक्तिहरुले आफूलाई गरेको व्यवहार बिर्सनलायक नभएको उनी सुनाउँछिन् । 'उहाँहरुले मलाई जतिसुकै नराम्रो गरे पनि त्यो कुरा मिडियामा बोलिनँ । यदि त्यो समयमा जे-जे कुरा भएको छ नि मैले पुलिसलाई बोलाएको थिएँ भने त्यहीँको त्यहीँ पुलिस पनि आउँथ्यो । केस पनि लाग्थ्यो । त्यतिबेला म सही थिएँ,' उनले भनेकी छिन्, 'एकजनाले के भन्नु भएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ आउँथेन । यो अवस्था आएको नै उहाँले गर्दा हो ।'

अभिनेता भुवन केसीले आफूलाई जापान अवार्डको क्रममा पनि दुर्व्यवहार गरेको साम्राज्ञी दाबी गर्छिन् । 'त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो,' उनले गम्भीर मुद्रामा भनेकी छन्, 'भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार । त्यही परभर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको पन पर्दैन । हस दाई भन्दै धकेलिदिएँ । म जे बोल्दै छु यो सबै सत्य हो।'

दुर्व्यवहारका विषयमा कलाकारहरु कमै बोल्छन् । आफ्नो करियरको डरले पनि बोल्दैनन् । तर, ठूला ब्यानरकै व्यक्तिले यस्तो व्यवहार गर्ने गरेको साम्राज्ञीको अनुभवले भन्छ । 'यदि तपाईंहरु चाहनुहुन्छ यस्तो कुरा मिडियामा नआओस्, कृपया कलाकारको सम्मान गर्नुस् । उनीहरुसँग राम्रो व्यवहार गर्नुस्,' उनले भिडियोमा भनेकी छिन् ।

शाहलाई महगो पारिश्रमिक लिने अभिनेत्रीको ट्याग लगाइन्छ । तर, उनले भिडियोमा भनेकी छिन्, 'हामी अभिनेत्रीहरुलाई सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारको रुपमा प्रचार गरिन्छ तर त्यो सब झुटो हो ।'

प्रकाशित : असार १५, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?